तिब्बतमा हिमोट फुट्दा ल्हेन्दे खोलामा बाढी | Khabarhub Khabarhub

तिब्बतमा हिमोट फुट्दा ल्हेन्दे खोलामा बाढी

‘ट्रान्स–हिमालयको झरीमा सिंहदरबार उदासीन बस्दा क्षति बढ्यो’



काठमाडौँ – आज मध्यराति रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ र चीनको स्वशासित क्षेत्र तिब्बत (जिजाङ) सीमा भएर बग्ने ल्हेन्दे खोलाको बाढी स्रोत तिब्बतमै फुटेको पर्माफ्रस्ट (हिमोट) भएको खुलेको छ ।

नेपालको मौसम सर्वेक्षण निकाय, स्याटेलाइट इमेजरी, बाढी चलेको सीमावर्ती क्षेत्रका जनप्रतिनिधि र भूगर्भविद्हरूले खबरहबलाई उक्त बाढी आउनुको कारण तिब्बत मुहान रहेको ल्हेन्देको उपल्लो बहाव क्षेत्रमा रहेका हिमोट फुट्नु रहेको बताएका छन् ।

ढुङ्गामाटो र हिउँ चट्टानझैँ जमेको क्षेत्र नै हिमोट हो । यस्तो क्षेत्रको तापमान वर्षभर नै शून्य डिग्री सेल्सियसभन्दा कम हुन्छ । सानो वर्षाले पनि यस्तो हिमोट फुटाएर विपत्ति निम्त्याउँछ ।

‘तल (नेपालतिर) भोटेकोशी भनिने ल्हेन्दे खोलाको शीर तिब्बत हो, त्यहाँ नै हिउँ जमेको ठाउँ एक्कासी भत्किएर नदीमा खस्दा ठूलो बाढी आएको हो’, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष उर्केन छिरिङ तामाङले भनेका छन्, ‘तिब्बतमा पनि पानी त धेरै परेको होइन, तर थोरै पानीले पनि जमेको हिउँ पगाल्न थालेको सुनेका थियौँ, नेपालतर्फ ल्हेन्दे थुन्नेगरी कतै हिमपहिरो गएको छैन ।’

ल्हेन्दे खोलाको कम्तिमा चारवटा जलाधार क्षेत्र तिब्बतमै पर्छ । नेपालतर्फ पनि साङ्बु रि र लाङटाङ लिरुङबीचको हिमोट क्षेत्र हुँदै दूधकुण्ड घट्टेखोलासम्मको क्षेत्र पनि ल्हेन्देका जलाधार क्षेत्र हुन् ।

यो खोला रसुवागढीस्थित नेपाल–चीन मितेरी पुल (जो बाढीले बगायो) बाट केही तल त्रिशुली नदीमा मिसिन्छ । त्रिशुली दोभानभन्दा केही माथि तिब्बतको साले गाउँ हुँदै एउटा हिमनदी ल्हेन्देमा मिसिएको छ ।

ल्हेन्दे खोलाको जलाधार क्षेत्र ।

त्यसभन्दा उत्तरपूर्वी क्षेत्रको टिबु हिमनदी, त्यसभन्दा माथि पुरेपु, त्यसभन्दा माथि लाङटाङ हिमालको उत्तरपश्चिमतर्फ अर्को हिमनदी पनि ल्हेन्देका सहायक नदी (ग्लासियल ट्रिब्यूटरीज) हुन् ।

यी चारवटै ट्रिब्युटरिजका मुहान तिब्बतमै पर्छ । ल्हेन्देका यी जलाधार क्षेत्रमा कम्तिमा सातवटा हिमताल पनि छन् । नेपालतर्फ भने दूधकुण्डको दायाँतर्फ एउटा सानो हिमताल देखिन्छ ।

पृथ्वीमा तापमान वृद्धिका कारण यी हिमोट रहेका क्षेत्रमा केही वर्षदेखि निरन्तर पानी परिरहेको छ । आकाशबाट परेको तातो पानीले बालुवा र हिउँ मिसिएर वर्षौंदेखि शून्य डिग्री सेल्सियसभन्दा कम तापक्रममा जमेको हिमोटलाई तीव्र गतिमा पगाल्छ ।

कतिपय अवस्थामा तातो पानी भित्र छिरेर हिमोटलाई पलाग्दै ठूलो परिमाणमा लेदोसहितको बाढी निम्त्याउँछ । यसरी परेको पानीले जमिनभित्र गुफा र ओढार बनाउँदा हिमोटको सर्फेस (सतह) पनि भासिँदै खाडल (थर्मोकास्र्ट) देखिन थाल्छ । त्यस्तो खाडलमा पुनः दोस्रो झरीको पानी पस्दा थर्मोकार्स्ट पनि फुटेर ठूलो बाढी चल्छ ।

यस्तो हिमोट हिमताल नजिक छ भने त त्यसले झनै ठूलो विपत्ति निम्त्याउँछ । हिमोट खसेर ताल नै फुटाइ भयानक बाढी आउने गर्छ । हिमोट तीव्र गतिमा पग्लिएर तालमा झरेकै कारण गत साउन ३२ मा सोलुखुम्बुको थामे हिमबाढी आएको थियो ।

नेपालको जल तथा मौसम विज्ञान विभागले भोटेकोशी (ल्हेन्दे खोला) बाढीबारे सार्वजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार, पछिल्लो २४ घण्टामा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्याञ्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट वर्षा भएको थियो ।

बाढी पूर्वानुमान महाशाखाको प्रारम्भिक प्रतिवेदनको अंश ।

विगत तीन दिनमा रसुवाको क्याञ्जिङ हिम केन्द्रमा अधिकतम तापक्रम १३.९ डिग्री सेल्सियससम्म पुगेको थियो । आइतबार १३.५ डिग्री रहेको तापक्रम सोमबार १३.९ डिग्री पुगेको थियो ।

‘यसअघि थामे र हुम्लाको तिल्जुङ खोला लगायतमा आएको बाढीको कारण नियाल्दा, दुई दिनभित्र रसुवाका मौसमी केन्द्रमा मापन गरिएको बढ्दो तापमान र फाटफुट वर्षा नै ल्हेन्देमा विपत्तिजनक बाढी निम्त्याउन पर्याप्त हो’, जल तथा मौसम विज्ञान विभागका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा खबरहबलाई भने, ‘विभागले पछिल्लो २४ घण्टामा भोटेकोशी (ल्हेन्दे) को जलाधार क्षेत्रमा पानी नपरेको भनेको छ, तर हिमोट फुट्न त्यसअघि परेको पानी र बढ्दो तापक्रम नै पर्याप्त हो ।’

ट्रान्स हिमालयमा सरकारले नदेखेको झरी

ल्हेन्देको बाढीबाट थेग्नै नसकिने विपत्ति निम्तिएपछि मात्रै ‘भिजिबल’ देखिने प्रयास गरेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओली सेनाको हेलिकोप्टर चढेर रसुवातर्फ लागेका छन् ।

७४ वर्षीय वृद्ध प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा पुग्ने प्रयास गरिरहँदा उनै नेतृत्वको सरकारले भने ट्रान्स हिमालय क्षेत्रमा पछिल्ला वर्ष परिरहेको झरीलाई नजरअन्दाज गरिरहेको छ ।

भौगर्भिक प्रकोप विज्ञ श्रीकमल द्विेदी हिमालय क्षेत्रमा बढ्दो तापमान र वर्षाले हिमताल विस्फोट, लेदोबाढी (मेलम्ची नदीमा आएको जस्तो), हिमनदी पग्लने र हिमोट खस्ने समस्या निम्तिरहेको बताउँछन् ।

‘त्यस्तो क्षेत्रमा हिउँले नै सबै कुरा जमाएर राखेको हुन्छ, तापक्रम बढिरहँदा विपत्ति निम्तिन धेरै पानी पर्नुपर्दैन, थोरै वर्षाले पनि विध्वंस निम्त्याउँछ’, द्विवेदीले भने, ‘पछिल्ला वर्षहरूमा तिब्बती क्षेत्रमा पनि पानी पर्न थालेको छ, यसपटक त मनसुनको बादल नै तिब्बततिरबाट घुमेर नेपालतर्फ आइरहेको देखिन्छ, त्यसैले तराईतिर पर्याप्त पानी परेको छैन ।’

स्याटेलाइट तस्बिर उपलब्ध गराउने जुमडटअर्थबाट नुवाकोट–रसुवा–सिन्धुपाल्चोक र सटिएको तिब्बततर्फको क्षेत्र नियाल्दा त्यहाँ पछिल्ला दिनमा ठूलो पानी परेको देखिँदैन । त्यसमाथिको आकाशमा पनि ठूलो बादल देखिएको छैन ।

मङ्गलबार बिहान २ः२० मा ल्हेन्दे जलाधार क्षेत्रमा पानी परेको देखिँदैन । नवलपरासीदेखि सिन्धुलीको कमलामाइ क्षेत्रमा भने वर्षा भएको थियो । स्क्रिनसट : जुमडटअर्थ ।

‘तर, लामो समयदेखि तिब्बती क्षेत्रमा पानी परिरहेको छ, हाम्रा हिमाली क्षेत्रमा पानी पर्नुमात्रै सङ्कट होइन, अब स्रोत तिब्बत भएका नदीका जलाधार क्षेत्रले पनि हामीलाई तर्साउन थालिसक्यो’, ऊर्जा मन्त्रालय स्रोतले भन्यो, ‘ल्हेन्दे खोला बाढीको कारण नियाल्दा एकमाथि अर्को हिमोट खस्दा एकैपटक ठूलो बाढी आएको देखिन्छ । यस्तो विपत्ति आउँछ भन्ने पूर्वआकलन हामीलाई पहिल्यै थियो, तर पूर्वतयारी फिटिक्कै भएन ।’

प्रधानमन्त्री अध्यक्षताको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरकारका गृहमन्त्री नै कार्यकारी समिति अध्यक्ष हुन्छन् । गृहमन्त्री रमेश लेखकले यसअघि पटकपटक विपद् नियन्त्रणमा सरकारले नागरिकसँग हातेमालो गर्ने र निकायहरूलाई तयार हालतमा राख्ने बताउने गरेका थिए । तर, मङ्गलबार राति बाढी आएपछि उद्दार प्रयासमा समेत भएको ढिलाइले विपत्तिप्रति सरकारी संयन्त्रको उदासीनता उजागर गरेको छ ।

के हुँदैछ हिमालमा ?

नेपालमा ६००० हजारभन्दा बढी नदी छन् । यी नदीको कुल लम्बाइ ४५ हजार किलोमिटरभन्दा बढी छ ।

उत्पत्तिका आधार नेपालका नदीलाई तीनवटा श्रेणीमा विभाजन गरिन्छ । हिमाली क्षेत्रमा हिउँ पग्लेर उत्पत्ति भएका या तिब्बत मुहान भएर नेपालको हिमाली प्रदेश हुँदै दक्षिणतिर बग्ने नदीहरुलाई पहिलो श्रेणीको नदी भनिन्छ । नेपालका प्रमुख तीन सप्तकोशी, सप्तगण्डकी र सप्तकर्णालीका अधिकांश सहायक नदीहरू पहिलो श्रेणीकै हुन् ।

यी नदीमा बाढी आउँदा हिमालदेखि तराईसम्मकै क्षेत्र प्रभावित हुन्छ, सबैभन्दा बढी असर पहाडी क्षेत्रको नदीकिनार र बेँशी क्षेत्रमा पर्छ ।

पश्चिममा दार्चुलादेखि पूर्वमा ताप्लेजुङसम्म फैलिएको नेपालका तीनवटै (ग्रेटर, बोर्डर र इनर) हिमालय क्षेत्रमा झण्डै एक दशकदेखि अस्वाभाविक वर्षा हुन थालेको छ ।

तिब्बतसम्म फैलिएको इनर हिमालय क्षेत्रको अधिकांश पानीढलो पनि नेपालतर्फ नै फर्किएको छ । ग्रेटर हिमालय क्षेत्रमा तिब्बतको पानी नेपालतर्फ आउँछ । बोर्डर हिमालयको दक्षिणतर्फ बगेको पानी पनि नेपालतर्फ नै आउँछ ।

इनर हिमालय क्षेत्रमा पर्ने नेपालको भोट क्षेत्रको धरातलीय उचाइ धेरै भएकाले यसअघि कम वर्षा हुने गरेको थियो । हिमालय पर्वत र पहाडले मनसुनी वायु छेक्नेबित्तिकै वर्षा कम हुने गर्थ्यो ।

तर, जमेर बसेको हिमालय क्षेत्र बढ्दो तापमान वृद्धि र वर्षाले अब पग्लिन थालेको छ । थामेको बाढी, थासाङ हिमपहिरो, तिल्जुङ खोला बाढी लगायतका घटना र रसुवा हुँदै बग्ने ल्हेन्दे खोलामा आज आएको विनाशकारी बाढीले सुन्दर हिमाली क्षेत्र जोखिमयुक्त बन्दै गएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ३ : ५२ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका