काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले मंगलबार बिहान रसुवाको भोटेकोसीमा आएको बाढीका कारण २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको जनाएको छ ।
आफ्नो सय दिनको कार्यप्रगतिका बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाढीका कारण प्राधिकरणको २३० मेगावाट र निजी क्षेत्रले मैलुङ खोलाबाट उत्पादन गर्दै आएको १० मेगावाट गरी २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको जानकारी दिए ।
बाढीका कारण सबै भन्दा क्षति १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा उनले जानकारी दिए । त्यस्तै ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत् आयोजनामा पनि धेरै क्षति पुगेको शाक्यले बताए ।
अन्य आयोजनाबाट बाढी घट्नेबित्तिकै उत्पादन सुरु हुने भए पनि रसुवागढी र त्रिशूली थ्री ए बाट विद्युत् उत्पादन गर्न केही समय लाग्ने देखिएको उनले जानकारी दिए ।
त्यस्तै आफ्नो सय दिनको कार्यका बारेमा जानकारी गराउँदै कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको १४ अर्ब भुक्तानी दायित्व रहेकाले छोटो समयका लागि केही लिन लागिएको बताए । उनले रकम अभावकै कारण हेटौडा–ढल्केबर प्रसारण लाइन निर्माणको कार्य अघि बढाउन नसकिएको जिकिर गरे ।
उनले आफ्नो कार्यकालको सय दिनमा प्राधिकरणको आधारभूत सुधार र दीर्घकालीन योजनाको थालनी गरेको भन्दै यसलाई तीव्र गतिमा अघि बढाइने बताए ।
त्यस्तै गुणस्तरीय विश्वसनीय र भरपर्दो विद्युत् आपूर्तिको व्यवस्था मिलाउन निजगढ-पोखरीया, बालाजुदेखि महराजगंज हुँदै सिंहदरबार, दुधकोशी प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु गरिएको उनले उल्लेख गरे ।
प्रतिक्रिया