काठमाडौं- गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका– २ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद्मा घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएको जानकारी दिए ।
मन्त्री लेखकले बेपत्ताको खोजीका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए ।
‘हालसम्म धादिङस्थित त्रिशुलीको किनारमा नाम, थर, वतन नखुलेको २ वटा शव फेला परेको छ । रसुवा, धादिङ्ग र नुवाकोटमा गरी ३ वटा शरीरको अंग फेला परेको छ । नुवाकोटको बिदुर नगरपालिका–३, शिरखाली नयाँ पुलस्थित त्रिशुली किनारामा दाँया खुट्टा नभएको अवस्थामा पुरुषको शव फेला परेको छ’ उनले भने, ‘धादिङ्गको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी स्थित त्रिशुली नदी किनारमा अन्दाजी ४०/४५ वर्षका पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोस्थित त्रिशुली किनारमा ईलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको छ ।’
मन्त्री लेखकले हालसम्म हवाई उद्दारबाट ३० जना नागरिकको सफलतापूर्वक उद्दार गरिएको जानकारी दिए ।
‘बिदुर नगरपालिकाको इन्द्रेणीघाटमा किस्पाङ– ४ घर भई हाल बिदुर–९ बस्ने पाल्तेन तामाङ र निजकी श्रीमती मंगली तामाङ दाउरा खोज्ने क्रममा खोलाको किनारमा पुग्दा एक्कासि ठूलो बाढी आई फसेको अवस्था थियो,’ उनले भने–‘हाम्रा सुरक्षाकर्मीले ठूलो बहादुरीपूर्वक निज दम्पत्तीलाई हवाई उद्दारमार्फत् सुरक्षित स्थानमा पुर्याउन सफल भएका छन् ।’
संकटमा फसेका दुई जनाको जीवन उद्दार मात्र हैन विपद्मा परेका नागरिकलाई सरकार हाम्रो साथमा छ भन्ने आशाको संचार गराएको उनले बताए ।
त्यसैगरी, स्थलगत उद्दारमार्फत् रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेको २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई सुरक्षाकर्मीको सयुंक्त टोलीले उद्धार गरेको छ ।
त्यही घटनामा रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका चिनीया पुरुष– १ जना, नेपाली पुरुष–१५ जना र नेपाली महिला २ जना गरी जम्मा १८ जनालाई सकुशल उद्धार गरिएको थियो ।
नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको, सडक खण्डमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको छ ।
‘मानिस र सवारी साधन आवत जावत बन्द भएको अवस्था छ । सवारी साधनतर्फ सुख्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि राखिएका २३ वटा मालबाहक कन्टेनर ट्रक, ३५ वटा विद्युत्तीय गाडी र ६ वटा सिनो ट्रकलाई बाढीले बगाएको छ’, मन्त्री लेखकले भने, ‘रसुवागढी हाइड्रोपावरको ड्याम, त्रिशुली ३ बगाइलगेको र अन्य थप क्षतिको विवरण संकलन भइरहेको छ ।’
विपद्को सूचना प्राप्त भएपछि आफूले सुरक्षाकर्मीलाई परिचालित हुन निर्देशित गर्दै राजधानीबाट आवश्यक समन्वय, सहजीकरण र सहायतामा निरन्तर क्रियाशिल रहेको उनले बताए।
‘मन्त्रालय अन्तर्गतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय प्रशासनलाई सक्रियतापूर्वक क्रियाशिल गराएको थिए,’ लेखकले भने,‘घटनापश्चात तत्काल विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा, केन्द्रीय कमाण्ड पोष्ट र मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कक्षलाई पूर्ण क्रियाशिल रहेको थियो ।’
मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विपद् प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिएका बताए ।
‘उक्त स्थलगत अवलोकनपश्चात सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसी विभिन्न राहत, उद्दार तथा प्रतिकार्य सम्बन्धी महत्वपूर्ण निर्णयहरू भएका थिए’, उनले भने ।
परिषद्को बैठकले उक्त घटनामा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरुको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन गृह मन्त्रालय र सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले नेपाल र चीन जोड्ने नाका रसुवागढीस्थित मितेरी पुल बगाएकाले आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हुँदा उक्त पुलको पुनर्निर्माण गरी नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत मित्रराष्ट्र चीन सरकारलाई अनुरोध निर्णय भएको उनले बताए ।
‘उक्त घटनाका मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानूनबमोजिम तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय भएको छ’, लेखकले भने, ‘भोटेकोशी बाढीका कारण बेपत्ता र मृत्यु भएकाहरूको खोज तथा उद्दारमा अनवरत रुपमा खटिनु भएका सबै सुरक्षाकर्मी लगायत सम्पूर्ण खोज तथा उद्दारकर्मीहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद दिने निर्णय गरिएको छ ।’
त्यसैगरी परिषद्को बैठकले मित्रराष्ट्र चीनसँग समन्वय गरी भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण पहिचान गर्ने र मनसुनको समय रहेकोले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइ पूर्वतयारी तथा प्रतिकार्यका लागि तयार रहन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको मन्त्री लेखकले जानकारी दिए ।
प्रतिक्रिया