काठमाडौँ – रसुवाको ल्हेन्दे खोलामा हिजो मङ्गलबार चलेको विनाशकारी बाढीबारे स्याटेलाइट इमेजरी एनालाइसिस (भूउपग्रह तस्बिर विश्लेषण) बाट नयाँ तथ्य खुलेको छ ।
खबरहबले यूरोपेली सङ्घको सेन्टिनेल–२ स्याटेलाइटको मद्दतमा गरेको सटिक भू–अनुगमन र विश्लेषणमा एक साता अघि तिब्बतस्थित प्युरेपु हिमनदी क्षेत्रमा पानी परेको, उक्त पानीले हिमनदी माथिको पर्माफ्रोस्ट (हिमोट) पग्लिएर ताल बनेको, पानी पर्न छाडेपछि उक्त ताल पुनः हराएको, पछिल्लो दिन तापक्रम बढेपछि उक्त ताल फुटेको देखिएको हो ।
प्युरेपु हिमनदीमाथि असार १८ (जुलाई २) सम्म कुनै ठूलो ताल देखिएको छैन । त्यहाँ बरफ र हिमाली गेग्रान (डेब्रिज) जमेर बनेको हिमोढ नै देखिएको छ ।

असार १९ गते (गत बिहीबार- जुलाई ३ मा) भने प्युरेपु र पोराङ हिमनदी क्षेत्रलाई बादलले ढाकेको देखिएको छ ।

यसरी बादलले छोपेको प्यूरेपु क्षेत्रमा असार २० (जुलाई ४) गते कम्तिमा चार घण्टा मध्यमदेखि हल्कादेखि मध्यम वर्षा भएको जुमडटअर्थको भूउपग्रह तस्बिरमा देखिन्छ ।

बादल नाचेको भोलिपल्ट परेको वर्षाले प्युरेपु हिमक्षेत्रमा फरक अवस्था बनेको देखिन्छ । ईयूको सेन्टिनेल–२ स्याटेलाइटले उपलब्ध गराएको भूउपग्रह तस्बिरअनुसार, हिउँ पग्लेर सन् २०२३ डिसेम्बरदेखि नै बन्न थालेका स-साना पोखरी असार २० गतेको वर्षापछि हराएका छन् ।

अर्थात् बङ्गालको खाडीबाट आउने तातो मनसुनी वायुबाट परेको तातो पानी मिसिँदा ती हिमपोखरी जमिनभित्रै हराएका छन् । पानी जमिनभित्र हराउँदा सतहमा गेग्रानमात्रै देखिएको छ ।

तर, जुलाई ५ (असार २१ गते) भने प्युरेपु हिमनदीमाथि ठूलो ताल बनेको देखिएको छ । त्यो तालमा भरिएको पानीको परिमाण पनि कुनै विनाशकारी बाढी निम्त्याउन पर्याप्त देखिन्छ ।

असार २२ (जुलाई ६ मा) हराएको उक्त ताल भोलिपल्ट जुलाई ७ मा पुनः देखिन्छ । उक्त तालमा खासै परिवर्तन पनि देखिँदैन ।

तर, जुलाई ८ मा उक्त ताल उस्तै रहँदैन । नारायणी जलाधारको त्रिशुली उपजलाधार अन्तर्गत ल्हेन्दे खोलामा विशाल बाढी निम्त्याउनेगरी हिमनदीमाथि बनेको उक्त सुप्राग्लेसियल लेक फुटेको देखिन्छ । फुटेको तालबाट तल्लो तटीय क्षेत्रतर्फ पानीको विशाल परिमाण बगिरहेको देखिन्छ ।

यसरी तातो वर्षाले हिमनदीमाथि बसेको हिमोट पगाल्दा बनेको ठूलो अस्थायी ताल फुटेपछि आएको बाढीले नेपालतर्फ भारी क्षति गर्यो ।
बाढीले बगाउँदा हालसम्म नौ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको सरकारी अधिकारीहरूले बताएका छन् । रसुवागढीमा नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ । टिमुरेमा नदी मिचेर बनाइएको सुख्खा बन्दरगाहमा पसेको बाढीले अर्ब रुपैयाँभन्दा बढीको सवारीसाधन र धनमाल बगाएको छ । ल्हेन्दे र त्रिशुली बेसिनमा निर्माण गरिएका आधा दर्जनभन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
विनाशकारी बाढीको स्रोत प्युरेपु हिमनदी माथिको ताल फुट्नुमात्रै थियो या मङ्गलबार राति त्यसभन्दा तलका हिमोट तथा हिमताल पनि फुटेको थियो भन्नेबारे थप जानकारी प्राप्त भएको छैन । बाढी चलेको दिन प्युरेपुभन्दा तलको क्षेत्रमा बादल लागेकाले स्याटेलाइट इमेजरी एनालाइसिस हुन सकेको छैन ।
तीन संस्थाको अध्ययन निष्कर्ष : हिमनदी माथिको ताल एकै दिनमा रित्तियो
ल्हेन्दे जलाधारको माथिल्लो भागमा अवस्थित प्युरेपु हिमनदीबाट बाढी चलेको बाढीबारे अध्ययन गरेका भूगर्भविद् तथा अनुसन्धाताहरूको संस्थाले तथ्याङ्कसहित द्रूत जोखिम मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेका छन् ।
इन्स्टिच्युट अफ माउन्टेन हाजार्ड एण्ड इन्भायरोमेन्ट (आइएमएचइ), अमेरिकास्थित युनिभर्सिटी अफ अलास्का फेयरब्याङ्क र हाइरिस्कडटओआरजीले ल्हेन्दे बाढीबारे ‘र्यापिड हाजार्ड असिस्मेन्ट (आरएचए)’ रिपोर्ट सार्वजनिक गरेका हुन् ।
रिपोर्टमा समुद्री सतहदेखि ५,१६० मिटर माथि रहेको प्युरेपु हिमनदीमा हिमताल विस्फोट (ग्ल्यासिएर लेक आउटब्रस्ट) पछि बाढी चलेको उल्लेख छ । प्युरेपु हिमदीको सतहमा बनेको ताल एकै दिनमा खाली भएको देखिएको पनि अनुसन्धाताहरूले बताएका छन् ।
उक्त रिपोर्टमा लेखिएको छ :
घटना अघि (७ जुलाई) र पछि (८ जुलाई) को समयमा उपग्रहबाट लिइएको तस्बिरहरूले चीनमा पर्ने लन्धे जलाधारको माथिल्लो भागमा अवस्थित प्युरेपु हिमनदी (सीमा नाकाबाट ३५ किलोमिटर माथिल्लो भाग) को सतहमा रहेको ताल एकै दिनमा खाली भएको देखाउँछ।
उक्त ताल मार्च २०२५ देखि विस्तारै बन्ने क्रममा थियो। मार्च २०२५ अघि कुनै उल्लेखनीय मात्रामा ताल देखिएको थिएन। मार्चदेखि हिमनदीको सतहमा पोखरीहरू विस्तार हुन थाले र मध्य मेसम्म बढ्दै गए । त्यसपछि ६ जूनसम्म ती पोखरीहरूमा तीव्र वृद्धि भयो र २८ जूनमा क्षेत्रफल ५२५,००० वर्ग मिटर पुगेको थियो ।

७ जुलाईमा ती पोखरीहरू मिलेर ६३८,००० वर्ग मिटर क्षेत्रफल भएको ठूलो ताल बनेको थियो । ८ जुलाईमा तालको क्षेत्रफल तीव्र रूपमा घटेर ४३५,००० वर्ग मिटरमा झरेको थियो । ८ जुलाईमा पनि हिमनदीको सतहमा पानीको निकास देखिन्थ्यो, जसले कम्तिमा केही पानी सतहमा बनेका खोल्चाहरूबाटै बाहिरिएको पुष्टि गर्छ ।
तालको उत्पत्ति हिमनदीको अग्रभागको लगभग मध्य भागमा, करिब ५१०० मिटरको उचाइ (समुद्र सतहदेखि) मा भएको थियो ।

हिमनदीदेखि सीमा नाकासम्मको करिब ३५ किलोमिटरको दूरीमा ठूलो परिमाणमा नयाँ मलवा (गेग्रान) थुप्रिएको पनि प्रतिवेदन उल्लेख छ ।
कारण जलवायु परिवर्तन
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) का पूर्व अनुसन्धान विश्लेषक अमृत थापा समेत सङ्लग्न भइ तयार पारिएको यो प्रतिवेदनमा बाढीको कारण जलवायु परिवर्तन नै भएको उल्लेख छ ।
प्युरेपु हिमनदी क्षेत्रको तापक्रम विगत केही दशकयता निरन्तर रूपमा वृद्धि हुँदै गएको र जलाधारको उत्तरी क्षेत्रमा हिमनदीको अगाडि बनेका तालहरूको आकार बढेको अनुसन्धाताहरूले बताएका छन् ।
‘दक्षिणतर्फ रहेका हिमनदीको सतहमा बनेका पोखरीहरू पनि बढेको अध्ययनहरू स्पष्ट रूपमा दस्तावेज गरिएको र यस्ता हिमनदीको सतहमा बनेका साना पोखरीहरू अन्ततः हिमनदीको अग्रभागको माथिल्लो भागसम्म फैलिँदै आपसमा जोडिएर ठूलो तालमा परिणत हुने सम्भावनाबारे परिकल्पना पहिले नै गरिएको थियो’, प्रतिवेदनमा लेखिएको छ ।
तर, त्यसरी आकलन गरिएभन्दा पनि तीव्र गतिमा तालको आकार बढेको र उक्त क्षेत्रमा पूर्वसूचना प्रणाली हालसम्म स्थापना नगरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

नेपालका सरकारी अधिकारीहरूले भने हालसम्म पछिल्लो विपत्तिको कारणबारे आधिकारिक जानकारी दिन सकेका छैनन् ।
यो पनि :
प्रतिक्रिया