सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो वितरण गरिएको छ ।
वडाले १० लाख रुपैयाँको बजेटबाट चमार, डोम र साफी समुदायका १२६ घरपरिवारलाई ग्यास चुलो, सिलिण्डर, पाइप र लाइटर प्रदान गरेको हो ।
वडाध्यक्ष विनोदकुमार यादवका अनुसार दैनिक ज्यालादारीमा गुजारा चलाउने दलित समुदायको चुलो धुँवामुक्त बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।
चमार टोलकी विन्दादेवी रामले ग्यास चुलो पाएपछि जीवनमै ठूलो राहत मिलेको बताइन् । ‘अब धुँवामा बस्नुपर्दैन’, उनले खुसी सुनाइन् ।
वडाध्यक्ष यादवका अनुसार आगामी आर्थिक वर्षमा पनि १० लाख रुपैयाँ बजेट छुट्याइएको छ । उक्त बजेटबाट मण्डल र मुखिया परिवारलाई चुलो वितरण गरिनेछ । उनले भने, ‘त्यसपछि वडाभरका सबै दलित बस्तीमा ग्यास चुलो पुग्नेछ ।’
यसअघि वडा कार्यालयले मुसहर बस्तीका ९९ घरपरिवारलाई पनि चुलो वितरण गरिसकेको छ ।
आर्थिक वर्ष ०८०–०८१ मा नौ लाख रुपैयाँ खर्चेर रामपुर पिप्रा र तिलैया क्षेत्रका मुसहर बस्तीमा ग्यास चुलो जडान गरिएको थियो । (रासस)
प्रतिक्रिया