काठमाडौं – क्याप्टेन रामेश्वर थापा बायोपिक ‘क्याप्टेन साब’ बन्ने भएका छन् । निर्देशक दीपेन्द्र के खनालले उक्त बायोपिक बनाउने भएका हुन् ।
काठमाडौंको गौरीघाटमा बिहीबार फिल्मको शुभमूहर्तसमेत सम्पन्न भएको छ । यही कार्यक्रममार्फत् निर्माण पक्षले फिल्मको शीर्ष कलाकारमा अभिनेता खगेन्द्र लामिछाने र नायिका सुरक्षा पन्त शीर्ष भूमिकामा रहेको जानकारी दिएको हो ।
यस बायोपिकमा आफू क्याप्टेन थापाको भूमिकामा रहेको खगेन्द्रले खुलासा गरेका छन् ।
निर्देशक खनालका अनुसार यस फिल्मको छायाङ्कन भदौंको पहिलो साताबाट सुरु हुने भएको छ । चितवन र काठमाडौंमा यसको छायाङ्कन हुने बताइएको छ ।

यस फिल्मको कथा पनि निर्देशक खनाल आफैँले लेखेका हुन् ।
फिल्मबारे उनी भन्छन्, ‘यो फिल्म फरक खालको बन्नेछ । क्याप्टेनले आकाशमा भोग्ने समस्या, स्थानीयस्तरमा पाउने सम्मान, व्यवसायिक र व्यक्तिगत जीवन कथामा समेट्दा फिल्म गज्ज्बको बन्ने हाम्रो विश्वास छ ।’
‘क्याप्टेन साब’ पटकथा प्रोडक्सनको प्रस्तुतीमा यो फिल्म बन्न लागेको हो । यो फिल्मका निर्माता निर्देशक खनाल, करण श्रेष्ठ र श्रृष्टि खनाल हुन् ।
क्याप्टेन थापा सञ्चार व्यवसायी समेत हुन् । उनी माओवादी द्वन्द्वकालमा घाइते तथा बिरामीको हेलिकोप्टरबाट उद्धार गर्न जोखिम मोल्ने क्याप्टेनमका रुपमा चिनिन्छन् ।
उनी नेपालका तीन शीर्ष दल माओवादी, नेकपा एमाले र नेपाली कांग्रेसमा समानान्तर सम्बन्ध राखेर आफ्नो प्रभाव देखाउन सफल मानिन्छन् ।
०८१ असार १७ गते बूढानीकण्ठस्थित उनकै निवासमा सत्ता समीकरण हेरफेरका लागि कांग्रेस-एमालेले सात बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया