केएमसी गएकी मनिताको एभरेष्ट अस्पतालमा प्राणान्त ! | Khabarhub Khabarhub

अस्पताल Vs अदालत

केएमसी गएकी मनिताको एभरेष्ट अस्पतालमा प्राणान्त !

एभरेष्ट अस्पताल र डाक्टर ज्योत्सनाविरुद्ध उपभोक्ता अदालतमा मुद्दा


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन पहिले सांसद सुनील शर्माले उपभोक्ता अदालतको आलोचना गरेको टिप्पणी सार्वजनिक भयो । उपचारमा लापरवाही गर्ने चिकित्सक र तीनवटा अस्पतालविरुद्ध उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने फैसला सुनाएपछि सांसद शर्माले डाक्टरको ज्ञान न्यायाधीशलाई नहुने भन्दै त्यसरी कारवाही गर्न उचित नहुने धारणा व्यक्त गरेका थिए ।

आखिर सांसद सुनील शर्माले किन उपभोक्ता अदालतको निर्णयको आलोचना गरे ? कानून निर्माण गर्ने प्रतिनिधिसभाको सदस्य भएता पनि उनी किन अदालतविरुद्ध सडकमा उत्रेका डाक्टरहरुको समर्थनमा प्रस्तुत भए ? यसका पछाडि दुईवटा कारण छन् :

एक त सांसद शर्मा आफैं मेडिकल व्यवसायी हुन् । बिराटनगरको नोबेल अस्पताल र काठमाडौं सिनामंगलको केएमसी अस्पताल लगायतका निजी अस्पतालहरु चलाउँदै आएका सांसद शर्मा उपभोक्ताको अधिकारप्रति भन्दा पनि निजी अस्पतालको बचाऊमा लाग्नुको पहिलो कारण यही हो ।

दोस्रो– बिरामीको उपचारमा लापरवाही गरेको भन्दै शर्माकै अस्पतालमा कार्यरत एक उच्चपदस्थ डाक्टरका विरुद्ध समेत उपभोक्त अदालतमा उजुरी परेको छ । आफ्नै अस्पतालको डाक्टर मुद्दामा तानिएपछि सांसद शर्मा आवेगमा आएका हुन् ।

सांसद शर्माको अस्पतालको गाइनो डिपार्टमेन्ट प्रमुख पदमा कार्यरत डा. ज्योत्स्ना शर्मा तिवारीविरुद्ध उपभोक्ता अदालतमा उजुरी परेको छ ।

डा. शर्मा तिवारी नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीकी पत्नीसमेत भएकाले चिकित्सक संघको नेतृत्वबाटै यो घटनालाई दबाउन खोजिएको पीडित पक्षको आरोप छ ।

अझै दुःखद पक्ष त के छ भने बच्चालाई जन्मदिने उद्देश्यले केएमसी अस्पताल पुगेकी मनिता पराजुलीलाई डा. ज्योत्स्नाकै जोडबलमा नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा पु¥याएर अप्रेसन गरिएको थियो, जहाँ उनको मृत्यु भयो ।

स्मरण रहोस् नयाँ बानेश्वरको एभरेष्ट अस्पताल त्यस्तो अस्पताल हो, जहाँ केही वर्षअघि एकजना तत्कालीन सांसदकी पत्नी पेट दुखेर भर्ना भएकी थिइन् । १५ वर्षअघि नै एपेन्डिक्स झिकिएकी उनको एपेन्डिक्स फुट्नै लागेको भनेर डाक्डरले हतार–हतार अप्रेसन गरेका थिए ।

करिब ७ घण्टाको अपरेशनपछि शरीरमा एपेन्डिक्स नभेटिएको भन्दै टाँका लगाइएको थियो । त्यसबेला एमालेका नेतासमेत रहेका ती सांसदले एभरेष्ट अस्पतालको गम्भीर लापवाहीमाथि माफी दिने निर्णय गरेका थिए । अस्पतालको लापरवाहीमाथि कुनै कारवाही भएको थिएन ।

एभरेष्ट अस्पताल र डाक्टर ज्योत्सनाविरुद्ध मुद्दा

उपचारमा गरिएको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै काठमाडौंको नयाँ बानेस्वरस्थित एभरेष्ट अस्पताल र त्यहाँ कार्यरत चिकित्सक विरुद्ध उपभोक्ता अदालतमा उजुरी परेको छ ।

शल्यक्रियामार्फत स्वस्थ शिशुलाई जन्म दिएकी ४१ वर्षीया मनिता शर्माको अस्पताल प्रशासन र प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. ज्योत्स्ना शर्मा तिवारीको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकका श्रीमान सुवास पराजुलीले ५ करोड रुपैयाँ क्षतिपूर्ति मागसहित उपभोक्ता अदालतमा मुद्दा दायर गरेका हुन् ।

पिडितले दायर गरेको उजुरीमा भनिएको छ, ‘उपभोक्ता संरक्षण ऐन २०७७ को दफा ३ (छ), (ज), दफा (५०), (५१) समेत बमोजिम विपक्षीहरुसँग मागअनुसारको क्षतिपूर्ति दिलाई पाउँ ।’

काठमाडौं महानगरपालिका वडा नं ३२ घर भएका पराजुली अहिले ७ महिनाकी छोरी स्याहार्दै बसिरहेका छन् । उनका अनुसार नेपाल बैंकमा उप–प्रबन्धक पदमा कार्यरत मनितालाई कुनै किसिमको रोगव्याधि नभएर उनी स्वस्थ एवं स्फूर्त थिइन् ।

आर्थिक र पारिवारिक स्थिरतापछि ०८० सालमा बच्चा जन्माउने र परिवार वंश अघि बढाउने योजनाअनुसार गर्भ रहेबाटै काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी अस्पताल) मा डा. ज्योत्सना शर्मासँगै चेकजाँच र परीक्षण गरिएको थियो।

गर्भमा रहेको बच्चामा समस्या देखिएको भन्दै डा. शर्माकै सुझावमा ०८० असार १५ मा गर्भपतन गराइएको पीडितको भनाइ छ ।

उक्त गर्भपतन पश्चात आमा मनिताको मृगौला, रगत, पिसाबजस्ता विभिन्न परीक्षण गर्दा स्वास्थ्य सामान्य देखिएको थियो ।

पहिलो गर्भपतनपछि अर्को बच्चा जन्माउने सल्लाह गर्दा डा. शर्माले केएमसीको साटो एभरेष्ट अस्पतालमा बोलाएपछि ०८० असार २९ मा अस्पताल गएर एउटा सन्तान गुमाइसकेका पराजुली दम्पतीले अर्को सन्तान जन्माउनका लागि परामर्श लिएका थिए ।

अर्को सन्तान जन्माउँदा बच्चा र आमाको स्वास्थ्यमा कुनै किसिमको कमी नहोस् भनेर उनीहरुले बच्चा पेटमा बसेदेखि नै डा. शर्माले भने अनुसार गरिरहेका थिए । उनै डाक्टरले भनेअनुसारको औषधीहरु सेवन गरेको तथा बोलाएको बेलामा नियमित फलोअपमा गइरहेको पीडितको भनाइ छ ।

फलोअपकै क्रममा मिति ०८१ कात्तिक २५ मा मनितालाई २ दिनसम्म एभरेष्ट अस्पतालमा भर्ना गरी भ्रुणको फोक्सोको विकासका लागि डेक्सामेन्थासोन ६ एमजी र १२ एमजी भन्ने स्टोरोइड दिइएको थियो । साथै लिभर फङशन टेष्ट गर्दा लिभरमा समस्या देखिसकेको भए पनि आफूहरुलाई अस्पताल प्रशाशन र डाक्टर शर्माले कुनै जानकारी नगराएको पीडितको आरोप छ।

बच्चा जन्मने समय नजिकिँदै गएकाले ०८१ मंसिर १६ मा डेलिभरी गरौं भन्दा डाक्टर शर्मा पोखरा जानुपर्ने र आमाको स्वास्थ्य अवस्था सामान्य रहेकाले मंसिर २५ गते दिउँसो ३ बजेको समय दिएर एभरेष्ट अस्पताल बोलाइएको थियो । सोही अनुरुप आफूले टिकट लिएर ३ बजेका लागि तयारी गरेको मनिताका पतिले अदालतमा दायर गरेको फिरादपत्रमा जनाइएको छ ।

अस्पताल लैजानेबेलामा अत्यधिक पेट दुख्न थालेपछि दिउँसो साढे १ बजे नै डा.लाई फोन गर्दा नउठेको पीडितको गुनासो छ । डा. शर्मासँगै केही महिनाअघि भएको सल्लाहबमोजिम आफूहरु केएमसी अस्पतालमा गएको मनिताका पतिले बताएका छन् ।

डा.शर्मा केएमसी अस्पतालको गाइनो डिपार्टमेन्ट प्रमुख भएको र सोही अस्पतालमा उपस्थित हुँदाहुँदै पनि आफूहरुलाई फेरि एभरेष्टमै जान भनेपछि बिरामीलाई २ः१५ मा एभरेष्टमा ल्याएर लिभर जाँच लगायत विभिन्न परीक्षणहरु गरिसकेपछि ४ः३० मा मात्रै डाक्टरले अस्पतालमा आएर ५ः १७ मा सर्जरी गरेपछि छोरी सान्विका पराजुलीको जन्म भएको पीडितको भनाइ छ ।

बच्चालाई २४ घण्टा एनआइसीयूमा राख्न सल्लाह दिएर आमाको अवस्था ठिक छ भन्दै पोष्टअप वार्डमा सारियो । त्यसको केही समय पछि साँझ ६ः४५ मा मनिताले टाउको र माथिल्लो पेट दुखेको भनिन् र साँझ ७ बजे उनी बेहोस भइन् ।

त्यसलाई पनि सामान्य हो औषधी दिएको छु ठीक हुन्छ भन्दै ८ः३० मा डा. शर्मा भोलि आउँछु भनेर अस्पतालबाट निस्केपछि रातिको १० बजे एभरेष्ट अस्पतालका सुरक्षा गार्ड र सरसफाई कर्मचारीले बिरामीलाई वार्डबाट निकाल्दै इमर्जेन्सीमा आइसीयुमा लगेको परिवारका सदस्यको भनाइ छ ।

बेहोस पत्नीसँगै आफू पनि जान खोज्दा आफूलाई रोकिएको र उनलाई आइसीयुमा भर्ना गरिएको पतिको गुनासो छ । यति हुँदासम्म पनि कुनै जाँच, परीक्षण, उपचारको विधि प्रक्रिया र विरामीको रिपोर्टको सन्दर्भमा डा. ज्योत्सना शर्माले बिरामीका आफन्तलाई केही जानकारी दिने वा मन्जुरी लिने जस्ता कार्य नगरी गम्भीर चिकित्सकीय लापरबाही गरेको निवेदकको आरोप छ।

मनिताका पतिले भनेका छन्, ‘बच्चा जन्मिएको भोलिपल्ट मिति ०८१ मंसिर २६ गते १० बजे र १२ बजेको रिपोर्ट झन खराब आएको रहेछ तर पति र परिवारका सदस्यलाई समेत जानकारी नदिई ऋएच् दिने अवस्था आएपछि मात्रै तिम्रो बिरामीलाई अब हामी हेर्न सक्दैनौँ भनेर अन्यत्र रिफर गर्न लगाइयो ।’

उपभोक्ता अदालतमा दर्ता भएको उजुरीमा भनिएको छ, ‘काठमाडौँ मेडिकल कलेज सीनामंगलमा डेलिभरी गर्ने पूर्वसहमतिअनुसार डा. शर्मासँगै स्वास्थ्य परीक्षण गर्दै आएको र बच्चालाई जन्मदिने बेलामा मलाई बाहेक कसैलाई तपाईको श्रीमतीको स्वास्थ्य अवस्था जानकारी छैन, त्यसैले एभरेस्ट अस्पताल नयाँ वानेश्वर ल्याए म डेलिभरी गराउँछु नत्र म हेर्दिनँ भनेर डा. भनेपछि अन्तिम अवस्थामा आपतमा परी विपक्षले भनेको अस्पतालमा जान बाध्य भइयो ।’

पत्नी मनिताको मृत्युपछि डा. शर्मालाई भेट्न खोज्दा आफूहरुलाई समय नै नदिएर भाग्न खोजेको मृतकका पतिको गुनासो छ । न्यायका लागि नेपाल मेडिकल काउन्सिल, केएमसी अस्पताल, मानव अधिकार आयोग, लगायत विभिन्न निकायमा निवेदन गरे पनि कुनै सुनुवाई नभएपछि उपभोक्ता अदालतमा मुद्दा दायर गरेको उनले बताएका छन् ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  २ : ०० बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक