आफ्नो गाउँ आफैँ बनाउँदै सामुदायिक वन | Khabarhub Khabarhub

आफ्नो गाउँ आफैँ बनाउँदै सामुदायिक वन


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीमा सामुदायिक वनहरुले विकास निर्माणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । ती सामुदायिक वनहरुले आफ्नो आम्दानीबाट विकास निर्माणका काम गर्न सक्षम भएको उदाहरण प्रस्तुत गरेका छन् । 

सामुदायिक वनले विभिन्न प्रकारका रोजगारी सिर्जना गरेपछि वैदेशिक रोजगारीबाट समेत युवाहरू फर्केर गाउँमा काम गर्न थालेका छन् । शितगङ्गा–११ मा रहेको गैँडे सामुदायिक वनले घाट गद्दी व्यवस्थापन, खोलमा तटबन्ध निर्माणलगायतका विकासका काम गर्दै आएको छ ।

शितगङ्गा नगरपालिकामा रहेका सामुदायिक वनहरुले सडक निर्माण, मोटरबाटो कालोपत्र, विद्यालय भवन निर्माण, कुलो निर्माण, बिजुलीबत्ती बाल्नेलगायतका विभिन्न सामाजिक सेवाका कार्य गर्दै आएको सिनियर डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठले बताए। सामुदायिक वनले विकास निर्माणका काम मात्र हैन, विभिन्न रोजगारी सिर्जना गरेको उहाँको भनाइ छ । युवाहरू वैदेशिक रोजगारी र भारतबाट फर्केर विभिन्न रोजगारीमा लागेका छन् ।

मजुरेडाँडा सामुदायिक वन शीतगङ्गा–१२ पत्थरकोटले स्थानीय सरकारसँग सहकार्य गरेर सडक कालोपत्र गरेको छ । सामुदायिक वनको रु १५ लाख र शीतगङ्गा नगरपालिकाको रु १० लाख गरी रु २५ लाखमा सडक कालोपत्र गरेको सामुदायिक वनका अध्यक्ष प्रदीप विसीले बताए। शीतगङ्गा नगरपालिका–१४ मा रहेको पावर सामुदायिक वनले पातपतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन गर्न सुरु गरेको छ ।

 गाउँमा अर्गानिक खेती विस्तार गर्न डिभिजन वन कार्यालयको सहकार्यमा डढेलो नियन्त्रण तथा रोजगारी सिर्जना गर्न अन्य सामुदायिक वनको समेत पातपतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन सुरु गरेको हो ।

शितगङ्गा–१४ मा रहेको गौडे सामुदायिक वनले कुलो निर्माण, सडक निर्माण, खोला कटान संरक्षण, पहिरो नियन्त्रण, घाट गद्दी व्यवस्थापनलगायतका काम गर्दै आएको छ । यस्तै धीरेखोला सामुदायिक वन उपभोक्ता समूह शीतगङ्गा–१३ ले सामुदायिक वनको आम्दानीबाट गाउँमा बिजुलीबत्ती बलेको छ । 

कृषि पेसालाई व्यावसायिक र आधुनिक बनाउन मिनी टिलर वितरण, चाप कटहर वितरणलगायतका कार्य सामुदायिक वनको आम्दानीले गर्दै आएको सामुदायिक वनका अध्यक्ष नारायण पौडेलले बताए। विकासका लागि कुनै तहका सरकारको मुख ताक्नु नपर्ने उनको भनाइ छ ।

शितगङ्गा नगरपालिका–१२ मा रहेको डोहोटे सामुदायिक वन उपभोक्ता समूहले विद्यालयमा शिक्षकको तलबदेखि, सडक निर्माण, समूहको सदस्यलाई आयआर्जनमा वृद्धि गर्न बाख्रा वितरण, शौचालय निर्माणलगायतका विभिन्न विकास निर्माणका काम गर्दै आएको समूहका अध्यक्ष रेशमराज बन्जाडेले बताए। उनले नेपालमा विदेशी काठ आयात बन्द गरेर स्वदेशी काठको प्रयोग गर्नसके सामुदायिक वनमा रहेको काठ बिक्री वितरणको समस्या नरहने उल्लेख गरे। 

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारसहितको टोलीले हालै शीतगङ्गाका विभिन्न सामुदायिक वनले गरेका कार्यको निरीक्षण गरेको छ । सो अवसरमा मन्त्री कलवारले विदेशी काठको आयात तत्काल रोकी नेपाली काठको उच्चतम् प्रयोग गर्नुपर्नेमा जोड दिंँदै एकातिर वनमा काठ कुहिएर खेर गइरहेको र अर्कोतिर मुलुकमा आवश्यक पर्ने काठ किन्नुपर्ने बाध्यता रहेको बताए। वन क्षेत्रको दिगो व्यवस्थापन गरी व्यावसायिक उपयोग गर्ने घोषणा गरेको नेपाल वर्षौँदेखि काठमा परनिर्भर भएकाले अब स्वदेशी काठलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । 

‘पैँतालीस प्रतिशतभन्दा बढी वन क्षेत्र भएको मुलुक नै काठमा परनिर्भर हुनुपर्ने अवस्था र काठ उत्पादन र प्रयोगको स्पष्ट नीति नहुँदा बर्सेनि अर्बौँ रुपैयाँ काठ खरिदमा बाहिरिने गरेको छ’, मन्त्री कलवारले भने। उनले मुलुकमा छ वर्षयता मात्रै ३८ अर्ब बढीको काठ आयात भएको जानकारी दिए । सो अवसरमा लुम्बिनी प्रदेश सरकारका वन महानिर्देशक प्रभात सापकोटाले सामुदायिक वनमार्फत वनको दिगो व्यवस्थापन गर्दै व्यावसायिक प्रयोगलाई प्राथमिकता दिने नीति अगाडि बढाउने बताए। 

उनले विकास निर्माणमा सामुदायिक वनको भूमिका नमुनायोग्य रहेको छ भने । अनुगमनमा अर्घाखाँची डिभिजन वन प्रमुख मोहनप्रसाद श्रेष्ठ, भू तथा जलाधार व्यवस्थापन कार्यालय प्रमुख शम्भु झालगायत वरिष्ठ वन अधिकृतहरु सहभागी थिए। 

रासस

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ३ : ३० बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं