च्यासल र भंगालका नाममा एमालेभित्र बढ्दो टकराव | Khabarhub Khabarhub

च्यासल र भंगालका नाममा एमालेभित्र बढ्दो टकराव

सार्वजनिक रुपमै नेतृत्वको विरोध र आलोचना


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार साँझ केही घण्टाको बीचमा नेकपा एमालेसम्वद्ध दुई नेताका अन्तर्वार्ता सार्वजनिक भए । पहिलो अन्तवार्ता एमाले महासचिव शंकर पोखरेलले नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेललाई दिइरहेका थिए ।

त्यसको केही घण्टापछि एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएपछि दुई कार्यकाल राष्ट्रपतिका रुपमा रहेर बिदा भएकी विद्या भण्डारीको अन्तर्वार्ता ईमेज टेलिभिजनमा बज्यो ।

पहिलो अन्तर्वार्तामा महासचिव पोखरेल पूर्वराष्ट्रपति भण्डारीबारे भनिरहेका थिए, ‘उहाँले जे भन्नु भा’छ, त्यही कुरा राख्नुभयो भने सत्य कुरा हुन्छ । विद्या भण्डारीले म एमाले आन्दोलनबाट हुर्केको हुँ, एमाले आन्दोलनमा जोडिएँ भनेर भन्नुभयो । तर, मेरो कुनै आकांक्षा छैन भन्नुभएको छ । उहाँले सदस्यता नवीकरण गरेको एक वर्ष पहिले नै हो । उहाँले घोषणा त्यो दिन (असार १४ गते) गर्नुभयो । त्यसअर्थमा एक वर्ष पहिले नवीकरण गर्दा के भयो ? केही पनि भएको छैन । आन्तरिक रुपमा हामीलाई जानकारी भएको विषय थियो, त्यसलाई असार १४ गते सार्वजनिक गर्नुभयो ।’

भण्डारीले असार १४ मै एमालेको राजनीतिमा फर्किएको घोषणा गरिरहँदा पनि पोखरेलले कुनै आकांक्षा नराखेको जिकिर बिहीबार उक्त अन्तर्वार्तामा पनि गरे । उनैले त्यसअघि असार १८ मा ११ औँ राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वबारे बहस नगर्न निर्देशन दिएका थिए ।

बागमती प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसहितको बैठकलाई ‘भर्चुअल’ रुपमा सम्बोधन गर्दै उनले अहिले नेतृत्वको विषयमा छलफल नगरी विधि र विधानबारेमा बहस गर्नुपर्ने बताएका थिए ।

पोखरेलले नयाँ नेतृत्वबारे कुनै किसिमको बहस नगर्न निर्देशन दिइरहेको अवस्थामा भण्डारीले बिहीबार राति नै ईमेज टेलिभिजनमा दिएको अन्तर्वार्तामा आफू एमालेको अध्यक्ष हुनकै लागि राजनीतिमा फर्किएको प्रष्टसँग घोषणा गरिन् ।

नेकपा एमालेको सदस्यता नवीकरण गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी महाधिवेशनबाट आफू पार्टी अध्यक्ष बन्ने दाबी गरेकी छिन् । पार्टीको सर्वोच्च नेतृत्व अध्यक्ष पद सर्वसम्मत चुनिनु पर्ने र आफूलाई केपी शर्मा ओलीले साथ दिने विश्वाससमेत भण्डारीले व्यक्त गरेकी छिन् ।

जगदीश खरेलसँगको अन्तर्वार्तामा भण्डारीले एमाले अध्यक्षको अनौपचारिक दाबी गरेर महासचिव पोखरेलको भनाइको सिधै खण्डन गरिदिएकी छन् । उनले ‘भावी प्रधानमन्त्री’का रुपमा पनि आफू खुला रहेको जनाऊ उक्त कार्यक्रममा दिइन् ।

अन्तरवार्ताका क्रममा पत्रकार खरेलले सोधेको ‘तपाईं अब एमालेको अध्यक्ष बन्ने हो ?’ भन्ने प्रश्नमा भण्डारीको जवाफ थियो, ‘तपाईंको बुझाइमा सत्यता छ तर पार्टीको ११ औँ महाधिवेशन तोकिएको छैन । त्यसैले म अहिले नै कुन पदमा, के भनेर नभनौँ । तर, यो कुरा त सार्वजनिक बहसकै एजेण्डा भइसक्यो नि । यति अनुभव लिएर आइसकेपछि मैले लिने जिम्मेवारी भनेको त तपाईंहरूले सोचेको त्यही लाइनतिरै जान्छ । एकदम । यसमा त कुनै सन्देह छ र ?’

भण्डारी आफैंले यति घोषणा सार्वजनिक रुपमा गरिदिएपछि आगामी भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनअघि नै एमालेमा नेतृत्वको बहस छेडिएको छ । यससँगै महासचिव पोखरेलले ११ औँ महाधिवेशन मिति तय नभएको अवस्थामा नेतृत्वबारेको बहस नगर्न दिएको निर्देशन पनि बेकामे हुने निश्चित भएको छ ।

बिहीबार मात्रै एमालेको जनसंगठन समन्वय संयन्त्र संयोजक एवम् स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेतृत्वको विरोध नगरी नेता भइन्न भन्ने मानसिकता त्याग्न दिएको निर्देशन उनकै लागि ब्याक फायर हुने अवस्थामा पुगेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा जनसंगठनहरूका पदाधिकारी भेला गरेर ढकालले संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको चेतावनी दिएसँगै एमालेभित्रको दुई लाइन संघर्ष झन् खुल्दै गएको छ ।

‘पार्टीका नीति, विधिमाथि तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुस्,’ ढकालले चेतावनीसहित भनेका थिए, ‘पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसिकता केही संगठनका पदाधिकारीहरूमा देखिन्छ । यस्तो प्रवृत्ति पार्टीको नोटिसमा छ ।’

उनले पार्टीको महाधिवेशनबाट पारित भएको विधानबारे टिप्पणी नगर्न चेतावनी पनि दिएपछि एमाले बृत्तमै अर्को बहस छेडिएको छ । ‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरूबारे विचार गरिन्छ, नोटिस गरिएको छ,’ ढकालले बिहीबार महासचिव पोखरेलले बोल्नुअघि भनेका थिए ।

पछिल्लो समय गत असार १४ गते राष्ट्रिय सभागृहमा आयोजित मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको राजनीतिमा फर्किने घोषणा गरेसँगै दुई लाइन विवाद बढेको छ ।

नेकपा एमालेका वर्तमान अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिने गरी राजनीतिमा फर्किने उनको घोषणाले एमालेमा संघर्ष बढाएको हो ।

खासगरी पछिल्लो समय एमाले केन्द्रीय कार्यालय च्यासलबाट महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय संन्यत्रका संयोजक भानुभक्त ढकालसहितले नेता-कार्यकर्तामाथि लगाम कस्न खोजेका छन् ।

नेतृत्व र संगठन सुदृढीकरणको बहस चुलिँदै जाँदा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई खुला चुनौती दिने ढंगमा देखिएका नेताहरूको सक्रियताले आन्तरिक संघर्षलाई नयाँ मोड दिएको छ। पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्किने संकेत दिएपछि च्यासल केन्द्रित शक्ति संरचनामा तरंग उत्पन्न भएको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले नेता–कार्यकर्तामाथि नियन्त्रण गर्ने प्रयास गरेको आरोप लाग्दै आएको छ। उनीहरूले नयाँ नेतृत्वबारे बहस नगर्न भने पनि एमाले कार्यकर्ता दुई ध्रुवमा देखिएका छन् । च्यासलबाहिरबाट नेता-कार्यकर्ताहरूले काउन्टर गर्न थालेपछि एमालेको दुई लाइन संघर्षले गहिरो रुप लिएको छ ।

नयाँ नेतृत्वबारेमा बहस र विवाद नगर्न भनिरहे पनि नेता-कार्यकर्ताहरूले च्यासल बाहिर बसेर चुनौती दिँदा एमालेको आन्तरिक राजनीतिक रोचक बनेको छ । जनसंगठनको नेतृत्वबाट बाध्यतावश पाखा लगाइएकाहरू खुलेर बोल्न थालेपछि जनसंगठन समन्वय संयन्त्रका संयोजक ढकाललाई तनाव भएको छ ।

संयम हुन योगेशको सुझाव

दुई लाइन संघर्ष बढ्ने अवस्थामा एमाले सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत च्यासलभित्र र बाहिर रहेका नेताहरूबीचको ललकार र आरोप–प्रत्यारोप रोक्न आह्वान गरेका छन्। अहिलेसम्म अध्यक्ष ओली र पूर्वराष्ट्रपति दुवैतिर प्रष्टसँग खुलिनसकेका उनले विवादमा मुछिनु उचित नहुने बताएका हुन् ।

‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने तरिका बन्द गरौं, आपसमा विमर्श गरौं, सहकार्यबाट समाधान खोजौं’, उनले शुक्रबार सामाजिक सञ्जालमा भनेका छन् ।

अरूले के भने ?

तर, भट्टराईको उक्त अपीललाई लिएर केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले प्रतिवाद गरेकी छन् । उनले राजावादी र एकनाथ ढकाल बोक्नेको समीक्षा हुनुपर्ने तर्क गरेकी छन् । उनी २०८१ पुस १० गतेदेखि यही असार १० गतेसम्म ६ महिने निलम्बनमा परेकी नेतृ हुन् ।

‘राजावादी बोकेर हिँड्नेहरूको पनि समीक्षा गरौं’, उनले भनेकी छन् । उषाकिरणले पार्टी विगत ११ वर्षदेखि एउटै ढर्रामा चलेको र अहिले नेतृत्वप्रतिको आक्रोश बढेको पनि बताएकी छन् ।

तिमल्सिनाले एमाले नेतृत्वको ‘राजावादी र दक्षिणपन्थी शक्तिसँग’ गठबन्धनबारे कडा प्रश्न उठाएकी छन् । दुर्गा प्रसाईं, एकनाथ ढकाल, राजेन्द्र लिङ्देन, कमल थापा, धवल शमशेर र दीपक बोहरासँग गरिएको सहकार्यको कारण र परिणामको पुनरावलोकन आवश्यक रेहको पनि उनले बताएकी छन् ।

त्यस्तै, डा. भीम रावललाई प्रतिनिधिसभा चुनावमा टिकट नदिएको, सदस्यता खोसेर पार्टीबाट निकालेको निर्णयको पनि आलोचना गर्दै भनेकी छन्, ‘यी सबै ध्वस्तताको विषयमा समीक्षा गरौं।’

गोकुलको व्यंग्य

उता एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेतृत्वको अडान र शैलीप्रति शुक्रबार नै कडा व्यङ्ग्य गरेका छन् । उनले भानुभक्त ढकालको बिहीबारको अभिव्यक्तितिर इंगित गर्दै ‘नोटिस’ भएको भनेर कटाक्ष गरेका छन् । ‘बजारमा नोटिस हिट भएछ, तर मान्छेहरू ‘नो नीड टु टिच’ पो भन्न थाले छन्’, उनले ढकाललाई लक्षित गर्दै पाठ सिकाउनु आवश्यक नरहेको बताउँदै भनेका छन् ।

पूर्वराष्ट्रपति भण्डारीतिर खुलिसकेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पनि पार्टी कार्यालयलाई गुटबन्दी र षड्यन्त्रको केन्द्र नबनाउन चेतावनी दिएका छन् ।

‘पार्टी कार्यालय गुटबन्दी र षड्यन्त्रको केन्द्र होइन, देशभरका कार्यकर्ताको आशा र विश्वासको प्रतीक हो’, उनले शुक्रबार भनेका छन् ।

उता युवासंघको चुनावमा अध्यक्ष पदका प्रतिस्पर्धी एवम् युवा नेता सुमन पुरीले भानुभक्त ढकाललाई पेटी ठेकेदारको संज्ञा दिएका छन् ।

एमाले नेतृत्व र संयन्त्र संयोजक ढकालप्रति कटाक्ष गर्दै पुरीले भनेका छन्, ‘पेठी ठेकेदारज्यू, पार्टी तपाईंको बिर्ता होइन, अब हामीले पनि नोटिस गर्न थालेका छौँ।’

अर्का युवा नेता प्रेम दाहालले आफूहरूले पनि नेताहरूको एमआरआई गरेर बसिरहेको उल्लेख गरेका छन् । ‘नोटिस मात्र होइन, भिडियो यक्सरे होइन, पूरा एमआरआई गरेर हेरिरहेका छौँ’, काठमाडौं वडा नम्बर ५ का अध्यक्ष दाहालले भनेका छन् ।

उता ढकाल र पोखरेलको भनाइलाई लिएर प्रेस चौतारीका पूर्वनेता राजेश राईले घमण्डको संज्ञा दिएका छन् । ‘अहो ! घमण्डको कत्रो पहाड ?’, ढकालले बिहीबार दिएको अभिव्यक्तिर लक्षित गर्दै उनले भनेका छन् ।

एमाले परित्याग गरी डा. भीम रावलनिकट मातृभूमि जागरण अभियानमा जोडिएका एकिन्द्र कुँवरले महासचिव पोखरेल र संयोजक ढकालमाथि व्यङ्ग्य गरेका छन् । ‘मंगलग्रहमा जनता र गुगलमा भूगोल भएका दुईथान फ्याउरा मानव बस्तीभित्रै कराइरहेका छन्’, उनले कडा शब्दसहित भनेका छन् ।

कुँवरले भण्डारीको सक्रियताले महासचिव पोखरेललाई अप्ठेरो परेको बताएका छन् । ‘विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकै दिनदेखि शंकर पोखरेलको हालत ‘आउँ’ लागेको मान्छेको जस्तै देखिएको छ’, उनले कटाक्षसहित भनेका छन् ।

एमालेभित्र नेतृत्वको आलोचना, संगठनात्मक बहस र विचारगत समीक्षा तीव्र बन्दै गर्दा पार्टी गहिरो द्वन्द्वमा फस्न थालेको छ। एमालेमा च्यासलको नेतृत्वमाथि असन्तुष्टि चुलिँदै गएको देखिएको छ। यो विवादबीच पार्टीले आन्तरिक बहसको बाटो रोज्ने हो वा आलोचकलाई चुप लगाउन अरू रणनीति अपनाउला प्रतिक्षाको विषय बनेको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ५ : ३९ बजे

काठमाडौं महानगरले २५ अर्ब बढीको बजेट ल्याउँदै, कार्यपालिकाबाट पारित 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को

आदिकवि भानुभक्तकाे जन्मजयन्तीमा प्रभातफेरी (तस्बिरहरू) 

काठमाडौं– नेपाली साहित्यमा आदिकविको रुपमा परिचित भानुभक्त आचार्यको जन्मजयन्ती आज

एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज

काठमाडौं– नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज (आइतबार) हुँदैछ

काठमाडौं महानगरले आज बजेट ल्याउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को

आदिकविबाट नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र