घुसकाण्डमा गुप्ता कामरेडको बहिर्गमन, राजीनामाको सूचीमा मन्त्रीको लामै लर्को | Khabarhub Khabarhub

घुसकाण्डमा गुप्ता कामरेडको बहिर्गमन, राजीनामाको सूचीमा मन्त्रीको लामै लर्को


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 7 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चौथोपल्ट प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिएको ठीक एक वर्ष पुगेकै दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ता पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन् ।

कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा ७८ लाख रुपैयाँ घुसको ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि उनले मंगलबार राजीनामा दिएका हुन् । 

एमाले सांसद गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । अख्तियारले उनीमाथिको छानविन र कारवाही अगाडि बढाएको अवस्थामा कांग्रेस सांसद मोहनबहादुर बस्नेतको जस्तै उनको सांसद पद नै निलम्बन हुने स्थिति नआउला भन्न सकिँदैन । तर, विगतमा गोकुल बाँस्कोटाको अडियो प्रकरणजस्तै यो केस यत्तिकै ढिसमिस हुने खतरा पनि उत्तिकै छ ।

विपक्षी दलका सांसदहरुले गुप्तामाथि छानविन र कारवाही हुनुपर्ने माग गर्दै आएका छन् ।

मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्न २५ लाख रुपैयाँ घुसको ‘डिल’ गरेको अडियो सार्वजनिक भएको थियो । 

सार्वजनिक अडियोसहित उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन अघि बढाएपछि मन्त्री गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामाको घोषणा गरेका हुन् ।

उनले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएको बताएका छन् । मन्त्री गुप्ताले ‘नखाएको विष पनि लाग्दो रहेछ’ भन्दै आफू ‘शिकार’ भएको जिकिरसमेत गरेका छन् ।

‘प्रविधिको उच्चतम् प्रयोगको शिकार अब अरु कोही पनि नबनून् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रूपले आफूलाई सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ फेसबुकमा मन्त्री गुप्ताले लेखेका छन् । 

कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा ७८ लाख रुपैयाँ घुसको ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तालाई राजीनामा दिन चौतर्फी दबाब परेको थियो ।

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापादेखि एमालेका सांसदहरूले प्रतिनिधिसभा बैठकमै सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए । तर, ओलीले उनलाई बर्खास्त गर्न छाडेर राजीनामा दिन लगाएका छन् । 

ओली नेतृत्वको सरकार १० औँ महिनामा प्रवेश गर्दैगर्दा जेठ पहिलो सातादेखि गृहमन्त्री रमेश लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले भिजिट भिसामा गर्दै आएको अवैध असुलीमा मुछिए । 

गत जेठ ७ गते अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिन पुगेका थिए ।

 भिजिट भिसा प्रकरणमा मुछिएपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसँगै अन्य प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जेठ १३ गतेदेखि गृहमन्त्री लेखकको राजीनामा माग्दै संसद् अवरूद्ध गर्न सुरु गरेका थिए । तर, पछि माओवादी केन्द्र एकाएक राजीनामाबाट पछि हटे पनि संसद्का चौथो र पाँचौँ ठूला दल रास्वपा–राप्रपा लगातार भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय वा न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै आएका छन् । 

उनीहरूले गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने सुरुवाती एजेन्डालाई पनि छाडेका छैनन् । रास्वपा र राप्रपाले संसद्मा लगातार अवरोध गर्दै आएको ५० दिन पुगिसक्दा पनि न त सरकारले माग पूरा गरेको छ, न त गृहमन्त्री लेखकले राजीनामा नै दिएका छन् । 

भिजिट भिसा प्रकरणमा सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमाले कर्मचारी पक्राउ पर्दैमा मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन आवश्यक नभएको भन्दै लेखकको बचाउ गरिरहेका छन् ।

गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनु-नदिनु उनको व्यक्तिगत विषय हो । तर, नेपाली सत्ता राजनीतिमा प्रधानमन्त्रीदेखि मन्त्रीहरूले विवादमा पर्दा नैतिकताका आधारमा पदबाट राजीनामा दिएका कयौँ  उदाहरणहरू छन् । यसरी विवादमा पर्दा पद गुमाउने मन्त्रीहरूको सूची लामै छ । 

जनार्दन शर्मादेखि शैलजा आचार्यसम्म

  आर्थिक वर्ष ०७९-८० को बजेट निर्माणका क्रममा विवादित बनेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले विवादमा परेपछि राजीनामा दिनु परेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका तत्कालीन अर्थमन्त्री शर्माले बजेट निर्माण क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोप लागेको थियो । 

प्रमुख प्रतिपक्षी एमालेले अर्थमन्त्री शर्माको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गरेर संसद् अवरुद्ध गरेको थियो । प्रतिपक्षको दबाबपछि सरकारले ११ सदस्यीय छानबिन समिति गठन गर्नुपरेको थियो ।

 समिति गठन भएकै दिन शर्माले संसद्लाई सम्बोधन गर्ने क्रममा छानबिनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनामाको घोषणा गरेका थिए । उनी रोस्ट्रमबाट  सम्बोधन गर्दैगर्दा एमालेले संसद् बहिष्कार गरेको थियो ।समितिबाट सफाइ पाएपछि प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका सांसद शर्मालाई फेरि अर्थमन्त्रीमै नियुक्त गरेका थिए ।

त्यसअघि २०७६ फागुनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्यूरिटी प्रेस खरिदमा कमिसनका लागि ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि पद गुमाउनु परेको थियो । अडियोअनुसार उनले विजयप्रकाश शर्मा मिश्र नाम गरेका व्यक्तिसँग ७० करोड रुपैयाँको कमिसनमा डिल गरेका थिए । 

अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले बाँस्कोटाको राजीनामा माग गर्दै ०७६ फागुन ८ गते संसद् बैठक अवरुद्ध गरेको थियो । अडियो सार्वजनिक हुँदा सुदूरपश्चिम भ्रमणमा रहेका मन्त्री बाँस्कोटाले त्यसै दिन पदबाट राजीनामा दिएका थिए । 

सामाजिक सञ्जालमा सक्रिय रहने एमाले नेता बाँस्कोटाले त्यो बेला ट्वीटरमा लेखेका थिए, ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी पराउँछु । धन्यवाद ।’

 बाँस्कोटा अघि २०७४ केपी शर्मा ओली नेतृत्वको सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेश अध्ययनका लागि जाने नेपाली छात्राबारे विवादास्पद अभिव्यक्ति दिएपछि पद गुमाउनु परेको थियो । 

उनले बंगलादेश अध्ययन गर्न जाने नेपाली छात्राले सर्टिफिकेट पाउन ‘कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको चर्को आलोचना भएको थियो । प्रष्टिकरण दिँदा पनि आलोचना मत्थर नभएपछि तामाङ मन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारमा एमालेका तर्फबाट कृषिमन्त्री बनेका हरि पराजुलीले महिलामाथि अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए । 

उनी धान दिवसका दिन (०७२ असार १५) महिलामाथि अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि विवादमा परेका थिए । विवादमा परेको भोलिपल्टै कृषिमन्त्री पराजुली राजीनामा दिन बाध्य भएका थिए । 

त्यसअघि २०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका भूमिसुधार मन्त्री प्रभु साहलाई विश्व हिन्दु संघका अध्यक्ष काशीनाथ तिवारीको हत्याकाण्डमा मुछिएपछि राजीनामा दिन कर लागेको थियो । 

 भट्टराई नेतृत्वको सोही सरकारका रक्षामन्त्री शरतसिंह भण्डारीले ‘तराईका २२ जिल्लाका जनताले छुट्टिने निर्णय गरे संविधान र कानुनले रोक्न सक्दैन’ भनेर विवादास्पद अभिव्यक्ति दिएपछि पदमुक्त हुनुपरेको थियो ।

कांग्रेसका तर्फबाट अर्थमन्त्रीको जिम्मेवारी सम्हाली सकेका नेता महेश आचार्यले पनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका थिए । 

अर्थमन्त्री आचार्यको असहमतिका बीच २०५६ माघमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले तिलक रावललाई गभर्नर नियुक्त गरेका थिए । नियुक्तिमा असन्तुष्टि जनाउँदै अर्थमन्त्री आचार्यले राजीनामा दिएका थिए । उनले राजीनामा दिएको तीन महिना नपुग्दै भट्टराई नेतृत्वको सरकार ढल्न पुगेको थियो । 

भट्टराई सरकार गिरेपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । कोइराला नेतृत्वको सरकारले उनै आचार्यलाई फेरि अर्थमन्त्रालयको जिम्मेवारी दिएको थियो । 

हालसम्मका अर्थमन्त्री मध्येकै सफल मानिने कांग्रेस नेता डा. रामशरण महतले आफूमाथि प्रश्न उठेपछि ०५३ साउन १६ मा पदबाट राजीनामा दिएका थिए । तत्कालीन प्रतिपक्षी एमालेले विदेशी बैकमा रकम जम्मा गरेको भन्दै उनको राजीनामा मागेको थियो ।  
 
तत्कालीन समयमा नेपाली नागरिकले विदेशी बैंकमा रकम राख्न नपाउने कानुनी व्यवस्था थियो । एमालेले संसद्मा पेस गरेको विवरणअनुसार महत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को जागिरे छँदा अमेरिकाको केमिकल बैंकमा खाता खोलेका थिए । यूएनडीपीमा जागिर खाँदासम्म उनले सोही खातामार्फत् आर्थिक कारोबार गर्दथे ।

 तर, अर्थमन्त्री महतले नेपालको कमाइ भने अमेरिकी बैंकमा राखेका थिएनन् । उनी अमेरिकी बैंकमा खाता खोल्नुको पृष्ठभूमिसहित आफ्नो बचाउमा उत्रिएका थिए । तर एमालेले दिनदिनै सदन अवरुद्ध गर्दै गएपछि महतले राजीनामा दिएका थिए । 

राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा निर्दोष देखिएपछि महत त्यही वर्षको कात्तिक १ गते फेरि अर्थमन्त्रीमा नियुक्त भएका थिए । एमाले सांसद कृष्णगोपाल श्रेष्ठले संसद्मा उनीमाथि विदेशी बैंकमा रकम जम्मा गरेको आरोप लगाएका थिए । 

पञ्चायती शासन ढलेपछि गठन भएको पहिलो जननिर्वाचित गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारकी कृषिमन्त्री शैलजा आचार्यले २०४९ साउन ११ गते राजीनामा दिएकी थिइन् ।  प्रतिनिधिसभा बैठकमा आफू मातहतको मन्त्रालय कमिसनखोरहरूको जालोमा जेलिएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री कोइरालाले उनीसँग राजीनामा मागेका थिए ।

 

०४९ साउन ६ गते संसद् बैठकमा कृषिमन्त्री आचार्यले भनेकी थिइन्, ‘शासन गर्ने क्रममा मन्त्रालयभित्र जालोझैं छरिएर बसेका कमिसनखोरहरुले घेरिएर बस्नुपर्ने स्थिति छ । कृषि मन्त्रालय पनि त्यस्तै कमिसनखोरहरुको जालोमा जेलिएको छ ।’

उनी रासायनिक मल खरिद प्रक्रियामा विवादमा परेकी थिइन् । टेन्डर प्रक्रियाबाट इन्डोनेसिया ‘कन्ट्री अफ ओरिजिन’को मल ल्याउने प्रक्रिया अघि बढिसकेको थियो । तर, मल नेपाल आउन सकेको थिएन । मल आउन नसकेपछि बंगलादेशबाट ल्याउन खोजिएको थियो । पछि भारतबाट महंगोमा मल खरिद गर्नु परेको थियो । जसका कारण उनीमाथि सार्वजनिक रुपमा प्रश्न उठेको थियो । 

 संसद् बैठकमा आफूमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री आचार्यले कमिसनको प्रसङ्ग उठाएकी थिइन् । जसले प्रतिपक्षी झन् आक्रामक बन्न पुगे । उनीहरूले मन्त्रीको अभिव्यक्तिबारे थप प्रष्टिकरण मागे । तत्कालीन सभामुख दमननाथ ढुंगानाले साउन ९ गतेकै बैठकबाट ११ गतेको बैठकमा जवाफ दिन रुलिङ गरेका थिए । तर, मन्त्री आचार्यले नबोल्ने अडान लिइन् । प्रधानमन्त्री कोइरालाले मागेकै दिन उनले पदबाट राजीनामा दिइन् । 

पञ्चायतकालमै ०४४ फागुन २९ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्चिएको भागदौडमा परी ७० जनाको मृत्यु भएपछि तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टले राजीनामा दिएका थिए । 

त्रिभुवन च्यालेन्ज शिल्डको उपाधिका लागि फाइनल खेल चलिरहँदा चलेको हवाहुरीपछिको असिना–पानीका कारण रंगशालामा भागदौड मच्चिएको थियो । जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धा क्लबबीचको खेल हेर्न पुगेका दर्शकको रंगशालामा भीड थियो । 

खेलको २५ औँ मिनेटपछि भागाभाग मच्चिएको थियो । रंगशालाका ढोकाहरू बन्द गरिएका कारण दर्शकहरूलाई बाहिरिन निस्कन अप्ठ्यारो भएको थियो । तत्कालीन सरकारले उक्त घटनाको छानबिन गर्न भैरवप्रसाद लम्सालको संयोजकत्वमा आयोग गठन गरेको थियो । 

लम्साल आयोगले रंगशालाको भौतिक संरचना र आपतकालीन सुरक्षा प्रबन्धमा देखिएको कमजोरीले घटना भएको प्रतिवेदन सरकारलाई बुझाएको थियो । आयोगको प्रतिवेदनमा खेलकुद परिषद्लाई दोषी ठहर गरिएको थियो । 

शिक्षा तथा संस्कृति मन्त्री नै परिषद्को अध्यक्ष हुने प्रणाली थियो । सोही कारण घटनाको नैतिक जिम्मेवारी लिँदै मन्त्री विष्टले ०४५ जेठ ७ गते राजीनामा दिएका थिए । पञ्चायती शासनमा प्रधानमन्त्री कीर्तिनिधि विष्टले मुख्य प्रशासनिक भवन सिंहदरबारमा आगलागी भएपछि नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

वि.सं. ०३० असार २५ गते राति लागेको आगोले भवनको पूर्वी मोहडा ध्वस्त भएपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । 

 सिंहदरबारमा आगलागी भएको खबर पाएलगत्तै प्रधानमन्त्री विष्ट राति नै बालुवाटारबाट सिंहदरबार पुगेका थिए । उनले आगलागी भएको भोलिपल्ट नै तत्कालीन राजा वीरेन्द्र शाहसँग भेटेर राजीनामा पत्र बुझाएका थिए । राजा वीरेन्द्रले राजीनामाको पत्र फर्काए पनि विष्टले लिन मानेनन् । फिर्ता दिएको राजीनामा पत्र लिन नमानेपछि तत्कालीन राजा र प्रधानमन्त्रीबीच विवाद भएको बताइन्छ । 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ७ : ४४ बजे

इयूको अदालतद्वारा ले पेनका उत्तराधिकारीले दायर गरेको मुद्दा खारेज

लक्जेम्बर्ग– युरोपेली संसद्को निर्णयविरुद्ध युरोपेली सङ्घ (इयू) को एक अदालतले

जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केपी शर्मा

नगरसभामा बालेनलाई प्रश्न- हामीले बोल्ने मात्रै हो कि कार्यान्यवन पनि हुन्छ ?

काठमाडौं- काठमाडौं महानगरपालिकाको १७ औँ नगरसभाको दोस्रो बैठक बुधबार बसिरहेको

बुधबार ५५ वटा कम्पनीको घट्यो शेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा ५५

दानव नदीमै बगिरहेको छ बुद्धकालीन रोहिणी

लुम्बिनी– विश्वभर शान्तिको मुहानका रूपमा चिनिने बुद्ध जन्मस्थल लुम्बिनी एक