काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले घुस लेनदेन सम्बन्धी अडियोमा आफ्नो नाम मुछेर चरित्र हत्या गर्ने प्रयास भएको बताएका हुन् । उनले आफूले गल्ती गरेको प्रमाण आए जस्तोसुकै कारबाही भोग्नसमेत तयार रहेको स्पष्ट पारे ।
मन्त्री अधिकारीले अडियोमा बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफू सम्बन्धित नभएको दाबी गरे । आफ्नो नामका साथै परिवारसँग समेत मुछेर स्वार्थ समूहले आफ्नो अभीष्ट पूरा गर्ने प्रयास गरेको उनको भनाइ छ ।
त्यस्तै मन्त्री अधिकारीले कर्मचारी सरुवाको विषय सरकारको नियमित काम भएकाले यसमा आफ्नो कुनै संलग्नता नरहेको धारणा राखे ।
उनले एक वर्ष पछि मन्त्रिपरिषद् पुनर्गठन हुने सहमति भएकाले पुनर्गठन हुन लागेको भन्दै आफू पदमा रहेसम्म देश र जनताका लागि जिम्मेवारी पुरा गर्ने बताए ।
त्यस्तै आफ्नो कार्यकालमा भएका कामकारबाहीका बारेमा जानकारी दिँदै मन्त्री अधिकारीले भूमिसम्बन्धी ऐन संशोधन विधेयक सदनमा पेश गरिएको, भूमि बैंक सञ्चालनका सन्दर्भमा कार्यान्वयनको मोडालिटी तयार भएको जानकारी दिए ।
त्यसैगरि विभिन्न जिल्लामा २२ हजार ८ सय ८ जना जग्गाधनीलाई दर्ता प्रमाणपत्र उपलब्ध गराइएको उनले बताए ।
प्रतिक्रिया