कमैया मुक्तिको २५ वर्ष : पुनर्स्थापनाको अवसरबाट अझै बाहिर  | Khabarhub Khabarhub

कमैया मुक्तिको २५ वर्ष : पुनर्स्थापनाको अवसरबाट अझै बाहिर 

अनुहारमा उमंग, मनमा पीडा 


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनगढी– २०५७ साउन २ कमैया समुदायका लागि खुसीको दिन । नीतिगत रूपमै न्याय र मुक्ति पाएको दिन । कैलाली, कञ्चनपुर, बाँके बर्दिया, दाङसहितका जिल्लामा बसोबास गर्ने कमैयाहरूलाई तत्कालीन श्री ५ को सरकारले मुक्त भएको घोषणा गरेको थियो ।

सबै कमैयाको जीवन सुधार र सहजका लागि पुनर्स्थापनादेखि सुरक्षासहितको ग्यारेन्टी गर्ने गरी मुक्तिको घोषणा गरेको थियो । जुन घोषणाले कमैयाहरू खुसी थिए । उनीहरूले साउन २ लाई उत्सवका रूपमा मुक्ति दिवस मनाउने सुरु गरे । तर मुक्त भएको अढाई दशक पुग्दा पनि अझै सबै कमैयाले मुक्तिको आभास गर्न पाएका छैनन् । उनीहरूले सरकारबाट न्याय पाउन सकेका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ र लुम्बिनी प्रदेशमा एक हजार २९३ गरी दुई हजार ३७५ मुक्त कमैयाको अझै पुनर्स्थापना हुन नसकेको मुक्त कमैया समाजले जानकारी दिएको छ । ‘राज्यले गर्छौ भन्दा भन्दै अढाई दशक बितायो, तर अझै मुक्त कमैयालाई पुनर्स्थापना गर्न सकेको छैन’, कमैया मुक्त समाजको आक्रोश छ । 

समाजका अनुसार परिचयपत्र पाएर जग्गा नपाएका, परिचयपत्र बदर भएका र सट्टाभर्ना गर्नुपर्ने कमैयाको संख्या अझै धेरै छुटेको देखिन्छ । ती कमैयाहरू पुनर्स्थापनाको पर्खाइमा बसेका छन् । कयौँले पुनर्स्थापनाको आशमै जीवन गुमाइसकेका छन् ।

जमिनदारको घरमा बँधुवा मजदुरका रूपमा काम गर्दै आएका चौधरी र थारु समुदायसहित कमजोर तथा विपन्न परिवारका व्यक्तिहरूले कमैया बस्नु पर्ने बाध्यता थियो । घोषणा लगत्तै सरकारले पुनर्स्थापना र जीविकोपार्जनका लागि काम अगाडि बढाएको बचन दिएको थियो । त्यस अनुरूप केही काम पनि भयो । धेरैले पुनर्स्थापनाको अवसर पनि पाए । तर केहीले अझैसम्म आशै आशमा बस्नु परेको छ । 

कमैया मुक्त समाजका अनुसार सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको बर्दिया, बाँके, दाङ गरी पाँच जिल्लामा जग्गा पाउने मुक्त कमैया (रातो र पहेँलो परिचयपत्र पाएका) को संख्या २७ हजार ५ सय ७० रहेका थिए । जसमध्ये हालसम्म २५ हजार १९५ मुक्त कमैयाको पुनर्स्थापना भइसकेको छ । भने दुई हजार ३७५ मुक्त कमैया पुनर्स्थापनाको पर्खाइमा छन् ।
 
पुनर्स्थापना हुन नसकेका धेरै जसो मुक्त कमैया शिविर र बाटोको वरिपरि बस्दै आइरहेका छन् । उनीहरूको जीवन मुक्त हुनु भन्दा अहिले समस्याग्रस्त छ । त्यो बेला उनीहरूले साहुको जमिनमा काम गर्ने र आफू र आफ्नो परिवारका लागि पेट भर्न सहज थियो । अहिले अरूकोमा काम पाइँदैन, पाए पनि उचित ज्याला छैन, जताबाट पनि समस्या भोग्नु परेको गुनासो मुक्त कमैया आशाराम चौधरीको छ । 

उनी दशक लामो समय कमैया बसेका थिए । आशाराम सँगैका अरुले पुनर्स्थापनाको प्याकेज पाइसकेका छन् । उनीहरूले बासको व्यवस्था भइसकेको छ । कमाऊ र बस्न सहज स्थिति छ । तर मेरो समस्यामा कुनै बदलाव नआएको दुख उनी पोख्छन् । 

उसो त बाँकी मुक्त कमैयाको भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत पुनर्स्थापना हुने भनिएको थियो । त्यो पनि अहिले आएर कमैया पुनर्स्थापनाको काम आयोगको टिओआरभित्र नपरेको भन्दै टार्न खोजिएको छ । 

सुरुमा भूमि समस्या समाधान आयोग मार्फत काम हुने भनिएको थियो, अहिले आएर त्यो पनि आलटाल नै गरिएको छ । यो कार्यक्षेत्र बाहिरको विषय भनिँदै छ, कमैया समाजका अध्यक्ष पशुपति चौधरीले बताए ।

उसो त सुदूरपश्चिम प्रदेशमा मुक्त कमैया, हलिया तथा कमलरी पुनर्स्थापना कार्यविधिमार्फत केही हदसम्म पुनर्स्थापनाको काम अगाडि बढेको चौधरीले बताए । 

’कैलालीको लम्कीचुहा नगरपालिकाको डम्मरियामा १४ र बर्दगोरिया गाउँपालिकाको खैरेनीमा २१ घर बनिरहेको छ,’ त्यो त्यही अन्तर्गत हो, समस्या हल हुने आश गरेका छौ, चौधरीले भने ।   

त्यो बेला सरकारका तर्फबाट कैलालीमा नौ हजार ७६२ जना मुक्त कमैयाले परिचयपत्र पाएका थिए । हालसम्म आठ हजार २२ जनाको पुनर्स्थापना भएको छ । 

सट्टाभर्ना गर्नुपर्ने चार सय, परिचयपत्र बदर भएका १७३ र विशुद्ध जग्गा नपाएका ३८० गरी ९५३ मुक्त कमैयाको पुनर्स्थापना हुन बाँकी रहेको छ । 

कार्यविधिमा टेकेर बाँकी मुक्त कमैयाको पुनर्स्थापनाको काम अगाडि बढ्ने जनाइएको छ । विभिन्न पालिकाले पनि यो कार्यविधि बनाइरहेका छन् । 

यसै गरी कञ्चनपुरमा परिचयपत्र पाएका चार हजार ५०६ मुक्त कमैयामध्ये हालसम्म चार हजार २८९ को पुनर्स्थापना भएको छ । भने १२९ जनाको पुनर्स्थापना गर्न बाँकी रहेको छ । ब

र्दियामा १४ हजार ४९९ जनाले परिचयपत्र पाएकामध्ये ११ हजार ५५१ जग्गा पाउने सूचीमा थिए । हालसम्म १० हजार ३०६ जनाको पुनर्स्थापना गरिएको छ । 

जग्गा नपाएका शुद्ध ८३ र परिचयपत्र नलिएका एक हजार ७८ गरी सो जिल्लामा अझै एक हजार २४५ मुक्त कमैयाको पुनर्स्थापना हुन सकेको छैन ।

बाँकेमा दुई हजार ३१६ जनाले परिचयपत्र पाएका थिए । जसमध्ये दुई हजार २१६ जना जग्गा पाउने सूचीमा थिए । एक हजार ९२१ जनाको पुनर्स्थापना भएको छ । यसै गरी दाङमा एक हजार ४२६ जनाले परिचयपत्र पाएका थिए । जसमध्ये ७०५ जना जग्गा पाउने सूचीमा रहेकामा हालसम्म ६५७ जनाको पुनर्स्थापना भएको छ । 

सट्टाभर्ना गर्नुपर्ने ४८ जना मुक्त कमैया भने पुनर्स्थापनाको पर्खाइमा रहेका छन् । सरकारले कमैया मुक्ति घोषणा गरेको २५ वर्ष पुगेको छ तर अझै धेरै वास्तविक कमैया पुनर्स्थापनाबाट वञ्चित रहेको अध्यक्ष चौधरीले बताए । उनले मुक्त कमैया पुनर्स्थापनादेखि लिएर जीविकोपार्जनको समस्या झेलिरहेको जानकारी दिए । 

कमैया मुक्तिको २५ वर्ष पुगे पनि कतिपय मुक्त कमैयाले लालपुर्जा नपाएको अवस्था छ । धेरैले अझै लालपुर्जा समेत नपाएको सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले बताए ।

कमैया पुनर्स्थापनाको कार्यलाई प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेकोले त्यसै अनुसार पुनर्स्थापनाको काम हुने सभापति पाठकको विश्वास छ । यो सरकारको समस्या हो, सरकारकै माध्यमबाट समाधान गरिने पाठकको तर्क छ । 

२५ औँ मुक्ति दिवस पनि धनगढीमा भव्य मनायो । मुख्यमन्त्री कमलबहादुर शाह देखि मन्त्रीहरू पनि सहभागी बने । पुनर्स्थापना गर्ने आशा फेरि बाँडे र कार्यक्रम सकिएको छ । कार्यान्वयनको ढिलाइ प्रति कमैयाहरूको आपत्ति छ । मुक्तिको दिन उनीहरूको अनुहार खुसी उमंग देखिए पनि मनका पीडा देखिएको थियो । 

कमैया प्रथाबाट यहाँका धेरै नागरिक पीडित छन् । उनीहरूले आफ्नो उर्वर समय अरुकै कामका लागि खर्चिएर अहिले घर न घाटको भएका छन् । न सीप छ । न पढाइ र योग्यता नै उनीहरूलाई समेत समस्या देखिन्छ । राज्यकै आश र भरोसामा रहेका उनीहरूको पुनर्स्थापनामा ढिलाइ गर्न नहुने दबाब पनि अधिकारकर्मीहरूको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : १८ बजे

शाकाहारी र मांसहारी हुनुले क्यान्सर संक्रमणमा कति फरक पर्छ ?

पछिल्लो समय क्यान्सर रोग नेपाल लगायत विश्वकै लागि प्रमुख स्वास्थ्य

इन्द्रजात्राका सारथीलाई पाँच लाखसम्मको बीमा

कीर्तिपुर– यस वर्षको इन्द्रजात्रामा रथ थान्नेलगायतका भूमिकामा रहने व्यक्तिलाई पाँच लाख

सङ्घीय लोकतान्त्रिक मोर्चाद्वारा जनजागरण अभियान सुरु

काठमाडौं– तराई–मधेशकेन्द्रित दलहरूको संयुक्त मोर्चा ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ ले ‘वर्तमान

सरकारले १२ बजेसम्म विद्युतीय सामाजिक सञ्जालको मेल कुर्ने, नआए बन्द गर्ने

काठमाडौँ – सूचीकरण नभए बन्द गर्ने चेतावनी दिएको सरकार विद्युतीय

समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न प्रचण्डको आह्वान

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी