नून भुटुन साट्न चतरा, अक्करको जीवन खतरा ! | Khabarhub Khabarhub

स्थान विशेष

नून भुटुन साट्न चतरा, अक्करको जीवन खतरा !


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-

शिर फूल शिरमा
थप्पडी मार्दै लै लै अक्करे भीरमा …

मित्रराज राई (६८) अक्करे भीरमा गुञ्जिने गीत मधुरो गरी सम्झन्छन् । जीवनका पाँच दशक अक्करे भीरमा ओहोर–दोहोर गरेका उनी अक्करे भीरको सम्झना सुनाउँछन् ।

नून भुटुन साट्न चतरा
अक्करको जीवन खतरा
सिमली सै सै
कहाँ गई ढल्ला हौ जोवन लै लै !

म सानै थिएँ । ठूला मान्छे यस्तै गीत गाउँथे । अहिले त बिर्सी पनि सकेँ । २०२७ सालदेखि म चतरा आउन थालेँ । १३–१४ वर्षको उमेर हुँदो हो । चतरा झरेर नून लानु पर्थ्यो । हाम्रो घर अहिलेको हतुवागढी–३ सिन्द्राङ । घिउ लिएर चतरा आइपुग्थ्यौं । घिउ हर्पेमा हुन्थ्यो । घिउसँग नून साट्दा त्यही हर्पेले नापेर साट्थ्यौं ।

चतरादेखि पारी पट्टि पुरानो बजार थ्यो । अहिले कृष्णदास, बालसन्तहरू बसेका ठाउँतिर । त्यतिबेला एक जना तेली भन्ने मधेसी बनिया थिए, उसैकहाँ हामी नून भर्थ्यौं । नून भर्ने भाँडो माना र हर्पे हुन्थ्यो । ३० देखि ३४ भर्नीसम्म साट्थ्यौं । अनि भारी लगाएर लाग्थ्यौं उकालो ।

अक्करे भीरमा धेरै मान्छे लाइन लागेर हिंड्थे । बिहेको जन्ती जस्तै । टेप्रिकेट भन्ने निस्केको थियो । टेप्रिकोट बोक्ने मान्छेलाई पछ्याउँदै अरु हिँड्थे । आउने जाने उत्तिकै हुन्थ्यो । जहाँ अप्ठ्यारो त्यहीँ तीन खप्टेरो लागेर हिँड्नुपर्थ्यो ।

पहाडबाट आउँदा रुद्राक्ष लिएर ल्याउँथ्यौं । अक्करे भीर पार गर्न भारी बोकेर ४ घण्टासम्म लाग्थ्यो । सुनाखम्बी बास बस्थ्यौं । कहिले बोकाबुक्ताङ (बोकाको मुख जस्तो ओडार) मा बास पर्थ्यो । भारी बोकेर अक्करे भीरको बाटो लाग्दा पानीछाँगा भन्ने ठाउँ निक्कै अप्ठेरो थियो । त्यहाँ छाँगाबाट पानी खस्थ्यो । त्यो छाँगामा पुगेपछि कहाली लाग्थ्यो । पानीछाँगाले धेरै मान्छेको ज्यान पनि लियो ।

आम्तेक भन्ने ठाउँमा तेल बिक्री गर्ने एक जना मान्छे थियो । त्यही पानीछाँगा तलतिर झरी मर्‍यो । उसले बोकेको ढाकर कोशी किनारमा देखिन्थ्यो । टाङ्केरादेखि ओर्तिर सनम भन्ने एउटा मान्छेलाई चोरले काटिमार्‍यो । उसले चतरासम्म भारी ल्याउने काम गथ्र्यो । अक्करेबाट कति मान्छे लडी मर्थे । कतिलाई चोर फटाहाले काटी मार्थ्यो । ती दिन सम्झँदा आँङ सिरिङ्ङ हुन्छ ।

घुम्ती खोला नजिक एउटा गाउँ थियो । अब त्यो गाउँ रहेन । त्यहाँ ढाक्रे बास बस्थे । बाटो हिंड्ने मान्छे किनी खान्थे । अहिले अक्करेको बाटो हिंडेको पनि छैन । ०५०–५५ सालसम्म मान्छे हिँडे । जब माथितिरै दोकान खुल्न थाले । बाटो खुल्न थाले, अक्करेको बाटो मान्छे हिँड्न छाडे । अक्करेको सिरानदेखि बाटो बनेपछि अक्करेको बाटो मेटियो । अहिले फेरि मर्मत गरेको छ भन्ने सुन्छु । अब ता बूढो पनि भइयो ।

**

‘अक्करे भीर ! सम्झँदै पनि हाम्रा दुःख र पीरका तस्बिर आँखामा झल्झली नाच्छन् ।’ भोजपुर हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले अक्करे भीरका पुराना सम्झनाहरू पोखिटोपले– कयौंले अकालमा ज्यान फ्याल्नु परेको अक्करे भीर ।

हाम्रा अग्रजहरूले यही सप्तकोशीको छेवै छेउ भीरको गोरेटो बाटो हिँडे । यही बाटो हुँदै भोजपुर, खोटाङ, ओखलढुङ्गासम्मका मान्छे गाउँमा नुन, तेल, चामल ढाकरमा बोकेर पुर्‍याउँथे । यही कर्मले हाम्रा पुर्खा बाँचे । अनि, हामीलाई बचाए ।

अक्करे भीरको बाटो पोथ्रा, कुइनेटो, अग्लो होचो, अनगिन्ती पटक नापेको छौं हामीले । सायद जुत्ता चप्पलको भन्दा धेरै नाङ्गा पाइतालाका डामहरू असङ्ख्य होलान यो अप्ठ्यारो गोरेटोमा । जो अझै यहीँ छ । धरान– चतरा– बराहक्षेत्र, अक्करे भीर, घुम्ती खोला, टाङकेरा, त्रिवेणी, सिम्ले– कोप्चे हुँदै माथि–माथिका थुप्रै गाउँ बस्तीसम्म पुग्ने यो बाटाको सम्झनामा ताजै छ ।’

अक्करे भीर, धनकुटाका आहाले, छिन्ताङ, भोजपुर, खोटाङलगायतका पूर्वी पहाडको ‘लाइफ लाइन’ थियो । भोजपुरको पनि दक्षिणी भेगका मान्छे, हतुवा, आमचोक, रामप्रसाद गाउँपालिकाका लागि त अक्करे भीरको बाटो त जीवन नै जस्तो थियो ।

त्यही बाटो ढाकर बोकेर, तोक्माले अड्याएर नून तेल बोकेर गाउँमा आइपुगिन्थ्यो । यहाँका उत्पादन बेचेर गर्जो टार्ने चलन थियो । अध्यक्ष राई भन्छन्, ‘हाम्रा पितापुर्खाको त्याग र योगदान अक्करको भीरसँग जोडिएको छ ।’

‘भीरले ज्यान लिएको छ । पुर्खाहरुको रगत पसिना र ज्यान पनि लिएको बाध्यात्मक परिस्थितिबाट हामी गुज्रियौँ,’ अध्यक्ष राई थप्छन्, ‘समाज विकासका क्रमका क्रममा अन्य बाटाहरू पनि बने । तर हामीलाई अझै पनि पुलले जोडेको छैन । हामीले टुक्रे बाटो हिँडेर अक्करे भीरलाई बिर्सनुपर्ने बाध्यता छ । इतिहास भने कसै गरी बिर्सन सक्दैनौं ।’

राजेन्द्र कार्की विराटनगर जुट मिलका अध्यक्ष हुन् । भोजपुरको पात्लेधारा घर भएका उनी पुराना कुरा सम्झेर रोमाञ्चित बन्छन् । सुनसरीको वराहक्षेत्रस्थित पुलाहामा खेती थियो । पात्लेधारा घर । खेतीमा जानुपर्ने बाध्यता पनि थियो । कुरा ०४५ सालतिरको हो । त्रिवेणीबाट वराहक्षेत्र पुग्न दुई–तीन घण्टै लाग्थ्यो । अक्करको बाटो । एकातिर झोर–जङ्गलको डर । अर्को तिर भीरको पीर ।

उनी भन्छन्, ‘डरैडरले दौडिन्थेँ, डरले दौडाउँथ्यो । दुई तीन घण्टाको बाटो एक घण्टा जतिमा बराहक्षेत्र निस्कन्थेँ ।’ यस्तै अर्को प्रसङ्ग सुनाउँदै उनी भन्छन्, ‘उमेर १२–१३ वर्षको हुँदो हो । पुलाहाबाट १० केजी चामल ढाडमा बोकेर पात्लेधारा जान भनेर लागेँ । साँझमा घर पुग्दा त ढाडभरि फोका उठेको थियो । अक्करे भीर हाम्रो जीवनशैली थियो ।’

अलपत्र अक्करे

सुनसरीको प्रसिद्ध तीर्थस्थल बराहक्षेत्र हुँदै कोका खोला तरेपछि सुरु हुन्छ अक्करे भीरको यात्रा । धनकुटा जिल्लाको साविक आहाले गाविस हाल साँगुरीगढी गाउँपालिकाको वडा नं. १० र ९ मा पर्ने यो भीरको बाटो सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गालगायतका मान्छेको जीवनपद्धतिसँग जोडिएको छ ।

२०२६ सालसम्ममा धरानबाट धनकुटा बजारसम्म सडक सञ्जाल पुगिसकेको थियो । त्यसको ३० वर्षपछि अर्थात् २०५६ सालदेखि धनकुटा हिले– लेगुवा हुँदै भोजपुर जोड्ने सडक सञ्जालको विकास क्रम सुरु भयो ।

२०६९ सालमा अरुण नदीमा पुल बनेपछि भोजपुरवासीलाई धरान– धनकुटा– लेगुवा हुँदै भोजपुर सदरमुकामसम्म पुग्न सिधा पहुँच भयो । भोजपुरदेखि लेगुवासम्म ६६ किलोमिटर र लेगुवा, धनकुटा हुँदै धरानसम्म कुल १५४ किलोमिटर सडक निर्माण भएको छ । हाल कालोपत्रे गरिएको यो सडक निर्माण नहुँदासम्म नून– भुटुनको जोहो गर्न स्थानीय चतरा आइपुग्थे । उदयपुरको बेलटारसमेत मुख्य बजार थियो । चतरा आइपुग्न अक्करे भीरको कहाली लाग्दो यात्रा गर्न स्थानीय बाध्य थिए ।

कोशी नदीमा मोटर बोट पनि चल्न थाल्यो । हिउँदमा मान्छे बोटमै यात्रा गर्छन् । बर्खामा हिँड्ने वैकल्पिक बाटो पनि खुले । गाडी घोडा चल्न थाले । कोशी नदीमा पुल बनेपछि कोठु हुँदै मैनामैनीदेखि बाटो खुल्यो । चुहारमा पक्की पुल बनेपछि त गाडीमै मान्छे आवत जावत गर्न सक्छन् ।

‘व्यवसायिक बस्तीको अवशेष मात्र’

अक्करे भीरको बाटो हुँदै वराहक्षेत्रदेखि सिम्लेबीचमा गाउँ थिए । घुम्ती खोलामा केही घर थिए । सुनाखम्बीमा समेत भरिया बसोबास गर्ने गर्थे । त्यहाँ व्यापार व्यवसाय पनि हुन्थ्यो । अक्करेको बाटो मान्छे हिँड्न छाडेपछि ती घरहरु उजाड बने ।

एउटा बस्ती नै विस्थापित बन्न पुग्यो । मान्छेको ओहोरदोहोर नै नभएपछि व्यवसाय हुने कुरा भएन । अनि त मान्छे बसाइँ सरेर जान बाध्य भए ।

हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई अक्करे भीरलाई भावी सन्ततिहरूले देख्न पाउनुपर्ने बताउँछन् । भावी सन्तानलाई पुर्खाहरूको जीवनयापन बुझाउन सक्ने इतिहासका रुपमा अक्करे भीर रहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘हाइकिङ मार्गका रुपमा यसको विकास गर्नुपर्छ । पदमार्गका रुपमा विकास गर्दा सुरक्षाको अवस्था अपनाउनुपर्छ । ज्यान जाने गरी हिँड्ने होइन । सुरक्षित तरिकाले निर्माण गर्नुपर्छ ।’ पर्यटन मन्त्रालयबाट बराहक्षेत्रको सिरान हुँदै बाटो निर्माण भएको छ । अक्करेको बाटो बिग्रिएपछि माथि वैकल्पिक बाटो खोलिएको छ । अध्यक्ष राई भन्छन्, ‘योजना बनाएर काम गर्नुपर्छ । भावी सन्ततिलाई पुर्खाको जीवन यापनबारे बताउनुपर्छ । कुनैबेला भोजपुरदेखि दिक्तेलसम्मका मान्छेको जीवनपद्धति अक्करेसँग जोडिएको थियो ।’

ग्रेटर मुन्धुमको अवधारणामा अक्करे !

किरात राई जातिको मुन्धुमी शक्ति केन्द्र खुवालुङको पहिचान भएपछि अक्करको बाटोलाई पनि स्तरोन्नति गर्ने अवधारणा अगाडि आएको छ ।

हिउँदमा मोटरबोटबाट त्रिवेणीस्थित खुवालुङ पुग्न सके पनि बर्खामा अप्ठ्यारो छ । भोजपुरको दक्षिणी क्षेत्र जोड्ने र खुवालुङसम्म पुग्नलाई पनि अक्करे भीरको बाटो निर्माण गर्नुपर्ने स्थानीय रमेश राई बताउँछन् । ग्रेटर मुन्दुम ट्रेलको बाटो यहीँबाट आउनेमा उनी आशावादी छन् ।

उनी भन्छन्, ‘हाम्रा हजारौँ पुर्खाहरूको रगत पसिना बगेको यही भीरलाई अब पर्यटकीय प्रोडक्टको रुपमा विकास गर्ने योजना छ, जुन पूर्वी नेपालको ठूलाठूला सहरको नजिक एडभेन्चर फिल गराउने पद यात्रा गर्ने र सजिलै खुवालुङसम्म आइपुग्ने गरी विकास गर्ने दिशामा अघि बढ्नुपर्छ । भीरको जोखिम खण्डहरूमा रेलिङ लगाउने र यसको विकास गर्ने योजना अघि सार्नुपर्छ ।

साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राई अक्करे भीरको बाटोमा प्रदेश सरकार र गाउँपालिकाले पनि बजेट विनियोजन नगरेको बताउँछिन् । धनकुटा जिल्लामा ग्रेटर मुन्धुम ट्रेलको योजना यसपाली नपरेकाले पदयात्राका रुपमा विकास गर्न पनि समस्या भएको उपाध्यक्ष राईको भनाइ छ ।

‘डीपीआर गरेर खुवालुङदेखि ध्वजे डाँडासम्म पदमार्ग निर्माणका लागि काम सुरु भएपनि अक्करे क्षेत्रमा काम गर्न सकिएको छैन ।’ उपाध्यक्ष राईले भनिन् ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ९ : ३५ बजे

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन