चितवन– भरतपुर आँखा अस्पतालले स्थानीयस्तरमा सेवा केन्द्रमार्फत आँखा उपचार गर्न थालेपछि नगरप्रमुखहरूले प्रशंसा गरेका छन् ।
नेपाल नेत्रज्योती सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले शुक्रबार सौराहामा आयोजना गरेको वार्षिक समीक्षा एवं कार्य योजना तर्जुमा कार्यक्रममा सहभागीहरूले सेवालाई अझै विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।
सङ्घले चितवनसहित आठ जिल्लाका २५ ठाउँमा अस्पताल र आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । सर्लाहीको कविलाशी नगरपालिकाका प्रमुख ब्रह्मदेव रायले गाउँमा उपचार सेवा पुगेको भन्दै खुसी व्यक्त गरे । उनले आगामी दिनमा प्रभावकारी सेवा विस्तार गर्दै लैजानुपर्ने सुझाव दिए ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिकाका प्रमुख हिमलाल अधिकारीले ग्रामीण क्षेत्रका नागरिकले आँखासम्बन्धी सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने बाध्यता केन्द्रको सेवामार्फत अन्त्य भएको बताए । गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले गाउँगाउँमा सेवा विस्तार गरेर आम नागरिकलाई सहजता भएको बताए।
नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपसभापति ऋषिराम पौडेलले पालिकाहरूको सहकार्य र समन्वयमा आँखा उपचार केन्द्र र अस्पतालहरू विस्तार गर्दै लैजानुपर्ने प्रतिबद्धता जनाए । सङ्घ चितवनका कार्यवाहक सभापति तेजेन्द्र खड्का र मेडिकल डाइरेक्टर डा पुष्पा गिरिले गत वर्षका कार्यक्रम र भावी कार्यक्रमका बारेमा जानकारी गराएका थिए । उनीहरूले पालिकाहरू र आँखा अस्पताल सहकार्य गरेर नागरिकलाई सहज रूपमा आँखा उपचार गर्दै आएको बताए ।
सो अवसरमा नेपाल नेत्रज्योती सङ्घ नवलपरासीका सभापति होमनाथ जैसी, रत्ननगर आँखा उपचार केन्द्रका संयोजक प्रताप डल्लाकोटी, भरतपुर आँखा अस्पतालका व्यवस्थापक दयाशङ्कर चौधरीलगायत वक्ताले धारणा राखेका थिए ।
अस्पतालको भरतपुरमा सबै खाले उपचार हुने आँखाको टर्सरी अस्पताल छ भने भरतपुर हाइटमा सिटि क्लिनिक सञ्चालित छ । पर्साको ठोरी र नवलपरासीको कावासोतीमा शल्यक्रिया सहितको सेवासहितको अस्पताल छ भने २१ ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा छन् ।
विसं २०४४ चैत १८ गते भरतपुरमा स्थापना भएको आँखा अस्पतालले सेवा विस्तार गर्दै आठ जिल्लामा पुर्याएको हो । चितवन, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) पर्सा, बारा, धादिङ, सिन्धुली, तनहुँ र सर्लाहीमा अस्पताल र क्याम्पमार्फत सेवा दिँदै आएको छ । रासस
प्रतिक्रिया