स्वास्थ्यमन्त्री पौडेलले भने- बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ « Khabarhub

स्वास्थ्यमन्त्री पौडेलले भने- बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नवलपुर– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्ने तयारी गरिरहेको बताएका छन् । 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा उनले सात वटै प्रदेशमा सेवा सञ्चालनको तयारी गरिरहेको बताएका हुन्। 

‘बालबालिकामा हुने मधुमेह परीक्षण र उपचारका लागि सात वटै प्रदेशमा निःशुल्क गर्नेगरी हामीले काम अगाडि बढाइरहेका छौँ’, स्वास्थ्यमन्त्री पौडेलले भने, ‘बुढ्यौलीतर्फ उमेर ढल्किँदै गएपछि मधुमेह हुन्छ भन्ने मानसिकता समाजमा रहेको छ, तर बच्चाहरूलाई पनि यो रोग लाग्ने रहेछ ।’ नेपालको स्वास्थ्य व्यवस्थामा बालबालिकामैत्री विशेष कार्यक्रम ल्याउनु जरुरी रहेको मन्त्री पौडेलको भनाइ छ । 

वंशानुगत रोगसहितका अन्य रोगका बारेमा विशेष कार्यक्रम ल्याएर बालबालिकालाई सम्बोधन गर्नुपर्ने उनले बताए । ‘पछिल्लो समय समाजमा बालबालिकाका विषयमा थुप्रै समस्या देखिएका छन्’, उनले भने, ‘मोबाइल, टिभी, ल्यापटपसहितका डिजिटल उपकरण प्रयोग गर्न स्क्रिनमा हेर्ने विषयले समस्या निम्त्याउँदै गएको छ ।’

बच्चाहरूलाई हुनसक्ने समस्याका बारेमा सबैले सावधानी अपनाउनुपर्ने र सरकारले उपचारमा सहजीकरण गर्नुपर्ने मन्त्री पौडेलले बताए । बालबालिका र ज्येष्ठ नागरिकको उपचारलाई निःशुल्क कसरी बनाउन सकिन्छ भन्नेतर्फ राज्यले नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ । 

‘वृद्धवृद्धा र बच्चाका सन्दर्भमा यसको भार राज्यले बहन गर्नुपर्ने हुन्छ’, उनले भने, ‘यस विषयमा विभिन्न संस्था बनाएर अन्यत्र जिम्मा लगाउन मिल्दैन ।’ राज्यले स्वास्थ्योपचारमा सहयोग पुर्‍याउन सक्दैन भने त्यो लोककल्याणकारी राज्य नभएको उनले जिकिर गरे । 

कार्यक्रममा नुरा हेल्थ फाउन्डेसनका देशीय निर्देशक डा सुशील कोइरालाले मधुमेह दुई प्रकारको हुने उल्लेख गर्दै बालबालिकालाई लाग्ने यस रोगलाई ‘मधुमेह टाइप १’ नामकरण गरिएको बताए ।  

‘पाका उमेरका व्यक्तिलाई हुने मधुमेहमा शरीरले उत्पादन गर्ने इन्सुलिनको मात्रा थोरै हुने तथा औषधि खाएर पनि नियन्त्रण गर्न सकिने हुन्छ’, उनले भने, ‘बालबालिकामा हुने मधुमेहमा शरीरले इन्सुलिन उत्पादन गर्दैन, जीवनभर सुइबाट इन्सुलिन दिएर जीवनरक्षा गर्नुपर्ने हुन्छ ।’

मधुमेह टाइप १ लागेका बालबालिकाको सङ्ख्या धेरै भएको हुनसक्ने भन्दै उनले नेपालमा अहिले ६०० बिरामी सूचिकृत रहेको बताए । ‘कति बिरामी उपचारका लागि आउनुभएको छैन, कतिले भारतमा गएर समेत उपचार गराइराख्नुभएको छ’, उनले भने, ‘मधुमेह लागेका बालबालिकाको एकिन तथ्याङ्क हामीसँग छैन ।’

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  २ : १४ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका