लागूऔषधविरुद्ध अभियान : झापामा ५५९ जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधविरुद्ध अभियान : झापामा ५५९ जना पक्राउ


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

झापा– खुला सीमाका कारण झापामा लागूऔषधको कारोबार बढेपछि प्रहरीले कारोबारी र प्रयोगकर्ताविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ ।

लागूऔषधको ओसारपसार, बिक्री वितरण र भण्डारणविरुद्ध आक्रामक कारबाहीमा उत्रिएको प्रहरीले पछिल्लो समय बिर्तामोड–५ मा एक लाख क्याप्सुलसहित ठूलोमात्रामा लागूऔषध भण्डारण गरिएको गोदाम फेला पारेको छ । त्यसलाई प्रहरीले अभियानको उपलब्धिका रूपमा हेरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ५५९ जनालाई लागूऔषधको कारोबार गरेको अभियोगमा पक्राउ गरिएको छ भने ३४६ मुद्दा दर्ता भएका छन् ।

बर्सेनि यस्तो सङ्ख्या बढ्दै गएको छ । प्रहरीले गत आव २०८०/८१ मा ४६२ कारोबारी पक्राउ गरेको थियो । पछिल्लो आवमा यो सङ्ख्या १६ दशमलव पाँच प्रतिशतले बढेको छ । 

‘की जेलमा की सुधार केन्द्रमा’ भन्ने प्रहरी अभियानको उद्देश्य छ । विगत एक वर्षमा जिल्लाको सीमावर्ती नाका, राजमार्ग र भित्री सडकमा जाँच गर्दा पक्राउ परेका १४० प्रयोगकर्तालाई अभिभावकको सहयोगमा सुधार गृहमा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

प्रहरीले लागूऔषधले व्यक्ति, परिवार, समाज र मुलुकलाई पुर्‍याउने हानिबारेमा जनचेतनामूलक कार्यक्रममार्फत विद्यालय र समुदायमा जानकारी गराउँदै आएको छ । यसका लागि प्रहरी र समुदायबिच साझेदारीमार्फत कार्यक्रम सञ्चालन भइरहेका छन् ।

समुदायसँग मिलेर दुर्व्यसनमुक्त समाज निर्माण गर्ने कोशी प्रदेश प्रहरी कार्यालयकै अभियान रहेको छ । त्यसअन्तर्गत ‘दुर्व्यसनविरुद्ध आमाहरू’ र ‘फाइट एगेस्न्ट नारकोटिक’ नामक अभियान प्रदेशमा जारी रहेको प्रहरीका सूचना अधिकारी खड्काको भनाइ छ । 

उनका अनुसार आव २०८१/८२ मा झापामा एक हजार ६५१ किलो गाँजा र दुई किलो ८८२ ग्राम ब्राउनसुगर बरामद भएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये लागूऔषधको समस्याबाट सबैभन्दा बढी प्रभावित जिल्लाको रूपमा झापा चिनिएको छ ।

कोशी प्रदेशमा आव २०८१/८२ मा लागूऔषधविरुद्धको अभियानमा दुई हजार ३७ व्यक्तिमाथि कानुनी कारबाही भएको छ । यसैगरी २२ हजार किलो गाँजा र चार किलो ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । 

जिल्लाका मेचीनगर, बिर्तामोड, भद्रपुर, दमक, बुद्धशान्ति र कचनकबलमा लागुऔषधको कारोबार अधिक हुने गरेको छ । पूर्वी नाका भएकाले मेचीनगरको काँकडभिट्टामा प्रहरीले दिनहुँ लागूऔषधसहित कारोबारी र प्रयोगकर्ता पक्राउ गर्दै आएको छ । 

प्रहरी सीमावर्ती क्षेत्रको जाँचमा सक्रिय हुन थालेपछि कारोबारीहरूले बिर्तामोडमा गोदाम नै खडा गरेर धन्धा चलाउन थालेको पाइएको छ । बिर्तामोड नगरपालिका– ५ स्थित मनकुमार सङ्ग्रौलाको दुई तले घरको भुइँतलामा दुई कोठा भाडामा लिएर लागूऔषध र प्रतिबन्धित औषधि ठूलोमात्रामा भण्डारण गरेको पाइएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताए । 

औषधि पसलले नै लागूऔषधको भण्डारणका लागि गोदाम राखेको प्रहरीले फेला पारेको हो । स्थानीयले लागूऔषध र प्रतिबन्धित औषधि भण्डारण गरिएको कोठा विनोद घिमिरे र भानुभक्त खरेलको रहेको बताएका छन् । खरेलले बिर्तामोडमा ‘सनलाइट फर्मा’नामक औषधि पसल सञ्चालन गर्दै आएका छन् ।

अभियुक्तहरूले बिर्तामोडको गोदाममा भण्डारण गरिएका ती सामान पहाडी जिल्ला इलाम, पाँचथर, ताप्जेजुङ र तेह्रथुमसम्म आपूर्ति गर्दै आएको अनुमान छ । 

भारतसँग १४४ किलोमिटर लामो खुला सिमाना भएका झापामा लागूऔषधको रोकथाम र नियन्त्रण चुनौतीपूर्ण बनेको हो । खुला सीमा र अनेक बहानामा भारतबाट लागूऔषध भित्र्याउने र कारोबार गर्ने गतिविधि बढ्दै गएको अवस्थाले नागरिक समाजसमेत चिन्तित पाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ४ : ४९ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो