स्याङ्जा – वालिङ नगरपालिका–१ यवादीस्थित कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो ।
कृषि अनुसन्धान परिषद् (नार्क)बाट प्रजनन बीउ ल्याएर कार्यालयले मूल बीउ उत्पादन गरी बीउ उत्पादक समूह सहकारी तथा फार्मलाई उपलब्ध गराउँदै आएको कार्यालयका बाली विकास अधिकृत पुकार खनालले जानकारी दिए । उनका अनुसार कार्यालयले विभिन्न प्रजातिका धान, मकै, बोडी, सिमी, भटमास, कोदोलगायत खाद्यान्न, दलहन तथा तेलहन बालीको प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्दै आएको हो ।
“नार्कबाट ल्याइएको प्रजनन बीउलाई एक वर्ष यहाँ लगाएर मूल बीउ बनाइन्छ, यहाँ बनाइएको मूल बीउ प्रमाण्पत्र (लाइसेन्स) प्राप्त बीउ उत्पादक समूह, सहकारी वा फार्महरूलाई ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउँछौँ”, उनले भने, “कार्यालयले उपलब्ध गराएको मूल बीउबाट लाइसेन्स प्राप्त बीउ उत्पादकहरूले उन्नत बीउ उत्पादन गर्नेछन् ।”
बीउ उत्पादकद्वारा उत्पादित उन्नत बीउको नियमित निरीक्षण, अनुगमन गर्ने, भण्डारणका लागि टिनका बाकसहरू बनाउने, बिक्रीका लागि बोरा, विषादी तथा उत्पादित बीउको विवरण समेटिएको ट्याग, बोरा सिलाउने मेसिन, बीउको चिस्यान मापन गर्ने मेसिन कार्यालयले उपलब्ध गराइने बाली विकास अधिकृत खनालले बताए ।
उनका अनुसार आवश्यकता हेरी प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण कार्यालय पोखराबाट प्रयोगशालामा बीउको गुणस्तर परीक्षण गरेपछि मात्रै उन्नत बीउका रूपमा बजारमा पठाउने गरिएको छ । कार्यालयले उत्पादित बीउको डेसिस प्रणालीमार्फत समूह, सहकारी, फार्म र बीउ बिक्रेता व्यवसायी तथा कृषकलाई जोडेर बजारीकरणमा सहजीकरण गर्दै आइरहेको उनको भनाइ छ ।
बीउ उत्पादकलाई रामधान, सावित्री, हर्दिनाथ, सावा मन्सुली सव–१, मकैको मनकामना–३, गहुँ, बोडीको मालेपाटन–१, चौमासे सिमी, भटमासको खजुरे भटमास–१, कोदोको सैलुङ्गे–१, काभ्रे–१ र ओख्ले जातका मूल बीउ उपलब्ध गरिँदै आइएको बाली विकास अधिकृत खनालले जानकारी दिए।
कार्यालयले मूल बीउ उपलब्ध गराएसँगै बीउ उत्पादक समूह, सहकारी र फार्ममार्फत स्याङ्जामा धान, मकै, कोदो, सिमी, बोडी, गहुँलगायत खाद्यान्न तथा तरकारी बालीहरूको ठूलो परिमाणमा उन्नत बीउ उत्पादन हुँदै आएको छ । पर्वतमा जेठो बुढो धान, भक्तपुर लोकल काँक्रो, मसुरो र तोरीको उन्नत बीउ उत्पादन भइरहेको जनाउँदै उहाँले म्याग्दीमा सिमी, केराउको उन्नत बीउ उत्पादन भइरहेको बताए ।
“नवलपुरमा बोडी, रामधान, सावित्री, हर्दिनाथ–६ जातका खाद्यान्न तथा तरकारीको उन्नत बीउ उत्पादन गरिएको छ । तनहुँको भिमादमा डल्ले कोदो, घिरिङमा राम धान, सावित्री, हर्दिनाथ र सावा मन्सुली सव–१ जातका खाद्यान्न बालीको उन्नत बीउ उत्पादन थालिएको छ”, खनालले भने ।
गोरखामा सिमी र तोरी, बागलुङका तीन ठाउँमा मनकामना–३ जातको उन्नत मकैको बीउ उत्पादन भइरहेको जनाउँदै खनालले लमजुङ, कास्की, मनाङ र मुस्ताङमा कार्यालयमार्फत अहिले काम सुरु भइनसकेको बताए ।
प्रतिक्रिया