काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न | Khabarhub Khabarhub

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत सञ्चालित ‘काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना’ को पहिलो चरण सम्पन्न भएको छ ।

काठमाडौं उपत्यकाका दशकौंदेखिकापुराना र जीर्ण भएका खानेपानीका पाइपलाइनहरूलाई नयाँ वितरण प्रणाली निर्माण गरी विस्थापित गर्ने र चुहावटरहित किसिमले स्वच्छ एवम् सफा खानेपानी उपत्यकावासीका घरघरमा समानुपातिक रूपमा वितरण गर्ने उद्देश्यले सञ्चालनमा भएको आयोजनाको पहिलो चरणको काम सम्पन्न भएको हो ।

आयोजनाको पहिलो चरणमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नयाँ पानीपोखरी निर्माण, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रदेखि विभिन्न स्थानमा रहेका पानीपोखरीहरूसम्म थोक वितरण प्रणाली निर्माण, उपभोक्ताका धाराहरूमा पानी पुर्‍याउन खानेपानी वितरण प्रणाली निर्माण र दुई वटा फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

जसअनुसार, काठमाडौंका विभिन्न स्थानमा कूल ७४ हजार पाँच सय घनमिटर पानी भण्डारण क्षमताका १० वटा नयाँ पानी पोखरीहरूको निर्माण कार्य सम्पन्न भएको छ । 

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका पानी पोखरीहरूमा थोकरूपमा खानेपानी पठाउन प्रतिदिन २२ करोड लिटर क्षमताका करिब ७७ किलोमिटर नयाँ ‘थोक वितरण प्रणाली’ निर्माण गरिएको छ ।

त्यस्तै, पानी पोखरीहरूबाट उपत्यकावासीका धाराहरूमा खानेपानी पुर्‍याउन कूल १ हजार १० किलोमिटर ‘खानेपानी वितरण प्रणाली’ को निर्माण कार्य सम्पन्न भएको र यससँगै नयाँ पाइप लाइनबाट उपत्यकावासीका धाराहरूमा खानेपानी वितरण हुँदै आएको निर्देशनालयले जनाएको छ ।

साथै, नेपाल सरकारको आफ्नै स्रोतबाट स्वयम्भु, बालुवाटार, महाराजगञ्ज, धुम्बाराही, मण्डिखाटार, कपन, चाबहिल र बौद्धको दक्षिणी भेग लगायतका क्षेत्रमा थप करिब आठ सय किलोमिटर खानेपानी वितरण प्रणाली निर्माण गरिएको आयोजना उपनिर्देशनक इन्जिनियर विकेश वधानथाछेले बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पानीपोखरीस्थित शाखा कार्यालयमा निर्माण गरिएको नियन्त्रण कक्षबाट एससीएडीए प्रणाली मार्फत हाल स्वचालित रूपमा सबैपानीपोखरीहरूको व्यवस्थापन र वितरण प्रणाली संचालनको कार्य हुँदै आएको छ । साथै, एससीएडीए प्रणाली मार्फत सबै पानी पाखरीहरूमा पानीको धमिलोपना र क्लोरिन कन्टेन्ट परीक्षण गरी गुणस्तर मापन गर्ने व्यवस्था समेत गरिएको वधानथाछेले बताए ।

यसैगरी, आयोजना कार्यान्वयन निर्देशनालयबाट काठमाडौं, ललितपुर र भक्तपुरमा निर्माण थालिएका फोहोरपानी प्रशोधन केन्द्रहरूमध्ये दुई वटा फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न भएको उनको भनाइ छ ।

जसअनुसार, काठमाडौंको गुहेश्वरीमा प्रतिदिन ३ करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको ‘गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्र’ निर्माण सम्पन्न गरी संचालनमा ल्याइएको छ । पशुपति क्षेत्रभन्दा उपल्लो तटीय क्षेत्रबाट आउने फोहोरपानी प्रशोधन गरी सफा र स्वच्छ पानी बागमती नदीमा प्रवाह गर्ने उद्देश्यले केन्द्र निर्माण गरिएको हो । ललितपुरको धोविघाटमा निर्माणाधीन दुईवटामध्ये प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको एउटा फोहोरपानी प्रशोधन केन्द्रको पनि निर्माण सम्पन्न भएको छ ।

धोविघाटकै अर्को फोहोरपानी प्रशोधन केन्द्र सहित कोड्कु र भक्तपुरको सल्लाघारीमा पनि फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण कार्य जारी रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयकाअनुसार निर्माणाधीन केन्द्रहरूमध्ये धोविघाटकै अर्को केन्द्रको फोहोरपानी प्रशोधन क्षमता प्रतिदिन ३ करोड ७० लाख लिटर, कोड्कुको प्रतिदिन एक करोड ७५ लाख लिटर र सल्लाघारीको प्रतिदिन एक करोड ४२ लाख लिटर रहनेछ ।

यसैगरी, ललितपुर महानगरपालिकाको समेत सहयोगमा ऐतिहासिक पाटन दरबार क्षेत्र र आसपासका क्षेत्रमा युनेस्कोको मापदण्डमा रहेर ढल प्रणाली निर्माण गरिएको निर्देशनालयले जनाएको छ । सो कार्यबाट उक्त ऐतिहासिक क्षेत्रमा वर्षायाममा सडक जलमग्न हुने र ढल तथा मङ्गाल जाम हुने समस्या समाधान भएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण सम्पन्न भएका पानीपोखरीहरू, थोक वितरण प्रणाली र त्रिभुवन विश्वविद्यालय सहित कूल ३३ वटा खानेपानी वितरण प्रणाली (डीएमए) मध्ये १४ वटाको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको जनाएको छ । 

कीर्तिपुर र आरूबारीमा निर्माण गरिएका थप दुई वटा पानीपोखरी तथा बाँकी रहेका १९ वटा खानेपानी वितरण प्रणालीमध्ये ११ वटाको स्वामित्व हस्तान्तरण गर्न तयारी अवस्थामा छ भने बाँकी ८ वटा वितरण प्रणालीहरू पनि निकट भविष्यमै बोर्डलाई हस्तान्तरण गर्ने गरी तयारीका कार्य भइरहेको उपकार्यकारी निर्देशक इन्जिनियर बधानथाछेले बताए ।

बोर्डले आफ्नो स्वामित्वमा आएका सबै खानेपानी संरचनाहरूको संचालन र मर्मत सम्भारको जिम्मा केयुकेएललाई दिए अनुसार हाल ती संरचनाहरूको संचालन एवम् मर्मत सम्भारको कामकेयुकेएलबाट हुँदै आएको छ ।

यसैगरी, आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकामा आगलागी नियन्त्रणका लागि सबै खानेपानी वितरण प्रणाली (डीएमए) हरूबाट दमकलमा पानी भर्न तथा सिधै पाइप जोडेर आगलागी नियन्त्रण गर्न सकिने गरी कूल ३४८ वटा फायर हाइड्रेड प्रणालीको व्यवस्था गरेको जनाएको छ ।

जुन प्रणालीहरू परीक्षण कार्य समेत सम्पन्न भई काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकालाई हस्तान्तरणका लागि हाल आवश्यक प्रक्रिया अगाडि बढाइएको उपकार्यकारी निर्देशक इन्जिनियर बधानथाछेको भनाइ छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ३ : ३६ बजे

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको

मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु 

मकवानपुर–  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकखण्डमा ट्रकले ठक्कर दिँदा

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरूङको अन्त्येष्टि

भरतपुर– गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरूङको

‘प्रकाश मानव अधिकार पुरस्कार’ यादवलाई प्रदान गरिने

काठमाडौं– अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले यस वर्षको ‘प्रकाश मानव

प्रहरीमा जागिर छाड्नेको लर्को, एक वर्षमै फुकाले २३ सय ६९ जनाले बर्दी

काठमाडौं- नेपाल प्रहरीमा केही वर्षयता जागिर छाड्नेको लर्को लागेको छ