बागलुङका १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’ भेटियो « Khabarhub

बागलुङका १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’ भेटियो


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङका खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म भेटिएको हो ।

जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ । यस पालिकामा १०६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए ।

उनका अनुसार गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गरिएकोमा ४० मुहानमा कोलिफर्म फेला परेको छ ।

बागलुङ नगरपालिकामा २४ वटा मुहान परीक्षण गर्दा चार, काठेखोला गाउँपालिकामा ४७ वटा मुहान परीक्षण गर्दा २७, बडिगाड गाउँपालिकामा ६८ स्थानमा परीक्षण गर्दा १० वटा मुहानमा कोलिफर्म फेला परेको आचार्यले जानकारी दिए ।

ढोरपाटन नगरपालिकामा पाँच वटा गर्दा कुनै पनि मुहानमा कोलिफर्म नदेखिएको उनको भनाइ छ । निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने मुहान परीक्षण नगरिएको आचार्यले बताए ।

उनले भने, ‘अघिल्लो वर्ष परीक्षण गर्दा १०३ वटा मुहानमा कोलिफर्म देखिएको थियो, यस वर्ष बढेर १२५ पुग्यो, धेरै ठाउँबाट परीक्षण गर्नका लागि आग्रह गरिएको छ, हामीहरूले सबै पालिकामा परीक्षणको दायरा बनाउँदै जानेछौँ, धेरै ठाउँका मुहानमा कोलिफर्म देखिएको छ ।’

धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारीले कोलिफर्म मिसिएको पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपाटाइटिस बी, पिसाबको सङ्क्रमण, रगतमा सङ्क्रमणसँगै कडाखालको रोग लाग्न सक्ने उनको भनाइ छ । कोलिफर्म फेला परेको मुहानबाट आएको पानी उमालेर मात्रै प्रयोग गर्नुपर्ने डाक्टर तिवारीले बताए ।

सबैभन्दा बढी कोलिफर्म भेटिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पालिका मुहान सरसफाइ र संरक्षणमा लागेको बताए । कोलिफर्म देखिएको मुहानलाई व्यवस्थित गरी आम नागरिकलाई पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जनचेतना फैलाउने उनको भनाइ छ ।

पालिकाले ‘वास प्लान’ बनाएको र सोहीअनुसार नागरिकलाई सहज रूपमा शुद्ध पिउने पानीको व्यवस्थापन मिलाउन थालेको उपप्रमुख शर्माले बताए । (रासस)  

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ८ : ०७ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि