संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूको आग्रह « Khabarhub

संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूको आग्रह


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूले आग्रह गरेका छन् । 

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनीहरूले तोकिएको समयभित्र निर्माण सम्पन्न नभए पनि अब  थपिएको म्यादभित्र विलम्ब नगरी भवन निर्माण गर्न आग्रह गरेका छन् ।

बैठकमा सहरी विकास तथा भवन निर्माण विभागसँग निर्माणाधीन संसद् भवनको पछिल्लो अवस्थाबारे छलफल भएको थियो । 

त्यस क्रममा सांसद मदनकुमारी शाह गरिमाले सिंहदरबारभित्रै समयमा भवन निर्माण सम्पन्न नहुनु दुःखद रहेको बताइन् । 

उनले भनिन्, ‘सिंहदरबारभित्रै यस्तो हालत छ भने अरूतिर के होला ? समितिले पटक पटक निर्देशन र ‘फलोअप’ गर्दा पनि संसद् भवन निर्माणले गति लिन सकेन । सबैको चासो हुँदा पनि काम नहुनुले हाम्रो काम गर्ने शैली र प्रतिबद्धतामाथि नै प्रश्न उठेको छ ।’

सांसद पदमबहादुर परियारले थपिएको म्यादभित्र पनि भवनको काम सम्पन्न हुनेमा विश्वस्त हुन सक्ने आधार नदेखिएको धारणा राखे । 

‘निर्माण कम्पनीले एक वर्षको समय माग गरेको थियो, तर ६ महिना म्याद थपिएको छ । के यो समयभित्र साँच्चिकै काम सकिन्छ त ? समयभित्र काम हुन्छ भन्ने विश्वास गर्न कठिन छ’, उनले भने। संसद् भवनको डिजाइन पनि अपाङ्गतामैत्री नभएको सांसद परियारको भनाइ थियो ।

सांसद रेणु चन्दले संसद् भवन निर्माण गरिराख्दा सदनमा प्रतिनिधित्व गर्ने ३३ प्रतिशत महिलालाई ध्यान राखेर बनाउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘भवन निर्माण गर्दा अपाङ्गमैत्री, महिलामैत्री छ वा छैन त ? स्तनपान कक्ष, शौचालयमालगायत उपयुक्त सुविधा हुनुपर्छ ।’ 

भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर मचाकाजी महर्जनले निर्धारित म्यादभित्र निर्माण सम्पन्न गर्न प्रयास भइरहेको बताए । उनले निर्माण व्यवसायीबाट क्रमिक रूपमा जनशक्तिको सङ्ख्या बढाउँदै लगिएको जानकारी दिए । निर्माण कार्यमा आएका समस्या छिटो समाधान गर्न आयोजना कार्यालय, परामर्शदाता र निर्माण व्यवसायीबीच साप्ताहिक रूपमा त्रिपक्षीय बैठक बसेर काम अगाडि बढाउने गरिएको महानिर्देशक महर्जनको भनाइ थियो । 

विसं २०७६ असोज १६ गते भवन निर्माण सम्झौता हुँदा अन्तिम म्याद २०७९ असोज १६ गते रहेको थियो । उक्त अवधिमा निर्माण सम्पन्न हुन नसक्दा २०८२ पुस १६ गतेसम्म पाँचौँ पटक म्याद थपिएर काम भइरहेको छ । 

भवनको हालसम्म भौतिक प्रगति ८६ प्रतिशत रहेको छ भने भवन ‘इन्टेरियर’ गर्ने कार्यको भौतिक प्रगति २१ प्रतिशत मात्र रहेको छ ।

बैठकमा सिंहदरबार ग्यालरी बैठक पुनर्निर्माणको अवस्थाबारे पनि छलफल भएको थियो । ग्यालरी बैठक पुनर्निर्माणका लागि विसं २०८१ जेठ ६ मा सम्झौता भई आगामी मङ्सिर ६ सम्म निर्माण सम्पन्न हुने लक्ष्य छ । 

विभागका अनुसार हालसम्म २५ प्रतिशत भौतिक प्रगति र २२ प्रतिशत वित्तीय प्रगति रहेको त्यस अवसरमा जानकारी दिइयो । 

विभागका उपमहानिर्देशक सुनिलकुमार ठाकुरले ‘रेट्रोफिटिङ’ कार्य सुरु गर्न गारो प्लास्टर निकालिएको र जगको प्रबलीकरणका लागि ‘माइक्रोपाइलिङ’को काम सम्पन्न भई अन्य कार्य भइरहेको जानकारी गराए । 

‘निर्माण कार्यबाट निस्केको माटो तथा अरू नचाहिने सामग्रीको उचित व्यवस्थापन गर्न कठिनाइ भएको छ । रेट्रोफिटिङ कार्य आफैँमा जटिल कार्य हो । ग्यालरी भवनको मौलिकतालाई कमभन्दा कम क्षति पुर्‍याएर काम गर्नुपर्ने भएकाले सोचेकोभन्दा धेरै समय लाग्ने देखिन्छ’, उनले भने ।  

काठमाडौं उपत्यकाका विभिन्न राणाकालीन सभ्यता, कला र वास्तुकला र प्रविधिलाई प्रतिनिधित्व गर्ने यस भवनको ऐतिहासिक महत्त्व र मौलिकपना कायम हुने गरी भवनको प्रबलीकरण गरिने विभागले जनाएको छ । 
 

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ६ : ०७ बजे

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई

रास्वपा महाधिवेशन : पार्टी सदस्य ५ लाख २३ हजार 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कुल सदस्य संख्या