प्रचण्डले अन्तिमसम्म आत्मालोचना गर्न भनिरहे, टसमस नभएका जनार्दनले अड्डी कसिरहे | Khabarhub Khabarhub

प्रचण्डले अन्तिमसम्म आत्मालोचना गर्न भनिरहे, टसमस नभएका जनार्दनले अड्डी कसिरहे

सर्कुलरमा भनिएको छ- अध्यक्षमाथि लगाइएका सबै आरोप खारेज


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्डले साउन १७-१९ मा बसेको स्थायी समितिको बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले आत्मालोचना गर्न नमानेको बताएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देवप्रसाद गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा प्रभाकरले आत्मआलोचना नगरेको विवरण मातहतका कमिटीलाई पठाएका छन् ।

पेरिसडाँडास्थित केन्द्रीय कार्यालयबाट तल्लो तहका कमिटीलाई पठाइएको सर्कुलरमा उपमहासचिव शर्माले पार्टीको आग्रह नमानेको उल्लेख गरिएको छ।

शर्माले पार्टी अध्यक्ष ‘प्रचण्ड’माथि लगाएका आरोप पनि खारेज भएका सर्कुलरमा उल्लेख गरिएको छ।

आत्मालोचना गर्न बैठकमा अन्तिमसम्म मौका दिँदा पनि शर्माले माइन्युटमा हस्ताक्षर नगरेकोबाहेक अन्य कुनै विषयमा गल्ती नस्वीकारेको सर्कुलरमा भनिएको छ ।

‘छलफलका क्रममा विशेषतः पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रूपमा माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दीजन्य गतिविधिहरू सञ्चालन गर्ने कार्यहरू पार्टी नीतिविपरीत भएको ठहर गर्दै प्रभाकरलाई आत्मालोचना गर्न र गल्ती कमजोरी सच्याउन स्थायी समितिका सदस्यहरूले जोड दिएका थिए’, सर्कुलरमा भनिएको छ।

अध्यक्ष प्रचण्डले बैठकको अन्तिमसम्म प्रभाकरलाई आत्मालोचना गर्न आग्रह गरेका थिए । तर प्रभाकरले माइन्युटमा हस्ताक्षर नगरेबाहेक अन्यमा आत्मालोचना नगरेको सर्कुलरमा लेखिएको छ ।

माओवादीको सर्कुलरमा उपमहासचिव शर्माले अध्यक्ष दाहालप्रति निराधार आरोप लगाएकाले तिनलाई खारेज गरिएको उल्लेख छ।

‘अत: स्थायी समिति बैठकले पार्टी नेतृत्वविरुद्ध लगाइएका निराधार आरोपलाई खारेज गर्दै क. प्रभाकरलाई कडा आलोचनासहित भविष्यमा त्यस्ता अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको छ’, सर्कुलरमा भनिएको छ, ‘स्थायी समिति बैठकले भिन्न मत भए कमिटीमा विधिसम्मत छलफलको स्वतन्त्रता रहने विश्वास दिलाउँदै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न जोड दिएको छ।’

स्थायी समिति बैठकमा फरक मत दर्ता गराएका शर्माले नेतृत्वप्रति अनेक प्रश्न गरेका थिए। बैठकको अन्तिममा प्रचण्डले शर्मालाई आत्मालोचना गर्न भनेका थिए ।

तर, शर्माले पार्टी र आन्दोलनलाई यहाँसम्म ल्याइपुर्‍याउनुमा आफ्नो मात्रै हात नरहेको जिकिर गरे । उनले आत्मालोचना नगर्ने अडान राखे । त्यही कुरा व्याख्यासहित माओवादीले उक्त कुरा सर्कुलरमार्फत् मातहत कमिटीमा पठाएको हो ।

शर्माले चार वर्षअघि काठमाडौंमा भएको आठौँं महाधिवेशनमा महासचिवका दाबेदार रहेका उनले आफूलाई छेकिएको भन्दै त्यसयता माइन्युटमा हस्ताक्षर गर्न मानेका थिएनन् । तर उनले स्थायी समितिको बैठकमा लामो छलफलपछि पार्टी माइन्युटमा सही गर्न तयार भएका पार्टी प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताएका थिए ।

‘उहाँले माइन्युटमा हस्ताक्षर गर्छु भन्नु भएको छ। छलफलपछि उहाँले त्यसबारे महसुस गर्नु भएको छ’, सापकोटाले साउन १९ मा भनेका थिए, ‘उहाँले स्थायी समितिका सदस्यहरू र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका कुरामा महसुस गर्नु भएको छ।’

जनार्दनले गत साउन ६ गते मनमोहन अधिकारीबाहेक अरू सबै कम्युनिस्ट प्रधानमन्त्रीहरू लुटमा लागेको भनेर दिएको अभिव्यक्तिबारे छलफल गर्दै जाने कुरा भएको सापकोटाले बताएका थिए । ‘साउन ६ गते दिएको अभिव्यक्तिबारे आत्मआलोचना त गर्नु भएको छैन । त्यसबारे उच्च जनवादी वातावरणमा छलफल गर्दै जाने कुरा भएको छ’, सापकोटाले भनेका थिए ।

यसअघि प्रचण्डले पार्टीभित्र कुरा गरी बाहिर छताछुल्ल गर्दै हिँड्ने भए निस्केर जान चेतावनी दिएका थिए । यो बैठकमै जनार्दनमाथि कारबाहीको तयारी पनि भएको थियो ।

तर पार्टीका गुट-उपगुट विघटनको घुमाउरो बाटो अपनाउँदै प्रचण्डले जनार्दनलाई रोक्ने प्रयास गरे । उक्त बैठकमा कारबाहीको कुरा नउठेको बताइए पनि सर्कुलरमा भने जनार्दनले गरेको गल्तीका लागि उनले पश्चाताप गर्न तयार नभएको लेखिएको छ ।

जनार्दन धेरै पर पुग्नु भयो : अग्नि सापकोटा

उता माओवादी उपाध्यक्ष अग्नि सापकोटाले पार्टी उपमहासचिव शर्माले आत्मालोचना नगरेकोबारेमा बिहीबार बोलेका छन् । पार्टीले तयार पारेको भिडिओ अन्तर्वार्तामा बोल्दै उनले स्थायी समिति सर्वसम्मत भएको बताए ।

‘स्थायी कमिटी सर्वसम्मत भएको छ, एकाधबाहेक। अध्यक्षसहितका नेताहरूले तपाईंबाट बेठिक भएको स्वीकार गर्नुपर्छ भनेर सुझाव दिनुभएको छ’, सापकोटाले भने, ‘उहाँले विगतको जस्तो स्पष्टीकरण दिने जमर्को गर्नुभएन। तर सकारात्मक सङ्केत देखिन्छ। उहाँ अलिक पर पुग्नुभएकाले फर्किन अलिक समय लाग्छ। मलाई विश्वास छ, स्थायी समिति बैठकको बहस उहाँको मनमा परेको छ।’

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ८ : ०० बजे

बञ्चरो प्रहार गरी भाइले गरे दाइको हत्या

सप्तरी – सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र

बडीमालिका फर्कने क्रममा भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा – बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९

‘अर्थतन्त्रमा नयाँ चुनौती थपिए, सुधारले गति लिन सकेन’

काठमाडौँ – अर्थतन्त्रले अझैपनि अपेक्षित सुधारको दिशा ग्रहण गर्न नसकेको