बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि... | Khabarhub Khabarhub

बागमतीमा सरकार फेरबदल

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

आफूले नियुक्त गरेका मन्त्रीलाई सपथ खुवाउने आश्वासन पाएपछि जुटेको थियो सहमति


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती प्रदेश सरकार सञ्चालन गर्ने आश्वासन दिएपछि निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा समूहले नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिएका छन्‌ ।

प्रदेश राजधानी हेटौंडा (मकवानपुर)मा मंगलबार बेलुकी बसेको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका मुख्यमन्त्री बानियाँले आफ्नै दल नेपाली कांग्रेसका असन्तुष्ट सांसदहरूसमेतको गरी ६३ मत पाएका छन् ।

यसअघि असन्तुष्ट लामा समूहमा रहेका सांसदहरू आफूहरूको माग पूरा नभएसम्म विश्वासको मत दिन हेटौंडा नजाने अडान राखेर काठमाडौंमा एकत्रित भएर बसेपछि प्रदेशसभा बैठक बस्न ढिलाइ भएको थियो ।

काठमाडौँको बुद्धनगरमा रहेको एक होटलमा बिहानैबाट आन्तरिक छलफलमा रहेका निवर्तमान मुख्यमन्त्री लामा र अन्य सांसदहरूलाई सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले फोन गरेर सम्झाएका थिए ।

लामा समूह राजीनामा दिनअघि बूढानीलकण्ठमा सभापति देउवाको रोहबरमा भएको सहमतिअनुसार आफ्नो समूहका तीन जनालाई मन्त्री नियुक्त नगर्दासम्म विश्वासको मत नदिने अडानमा बसेको थियो ।

लामापक्षीय सांसद गीता गुरुङले आन्तरिक छलफलमै रहेका बेला सभापति देउवाको रोहबरमा भएको सहमति कार्यान्वयन हुनुपर्ने आफूहरूको माग रहेको प्रतिक्रिया खबरहबलाई दिएकी थिइन् । आफूहरू काठमाडौंमा आन्तरिक छलफलमा रहेको र माग पूरा नभएसम्म हेटौंडा नजाने अडान आफूहरूको रहेको उनको भनाइ थियो ।

‘लामा र बानियाँ दुबै हाम्रा सम्मानीत नेता हुनुहुन्छ । अहिले देखिएको हाम्रो आन्तरिक समस्या हो । लामाले मुख्यमन्त्रीबाट राजीनामा दिँदै गर्दा सभापतिज्यूका अगाडि भएको सहमति कार्यान्वयन गर्ने कुरा हो,’ सांसद गुरुङले खबरहबसँग भनेकी थिइन्, ‘सहमति कार्यान्वयन गरे विश्वासको मत दिइहाल्छौँ नि । बानियाँ हाम्रो मुख्यमन्त्री भइहाल्नुहुन्छ । तर, त्यसका लागि सभापतिज्यूका अगाडि गरेको सहमति कार्यान्वयन हुनुपर्छ ।’

तर, शीर्ष तहका नेताहरूले पालैपालो फोन गरेर निवर्तमान मुख्यमन्त्री लामा र उनीसँगै रहेका केही सांसदहरूलाई सम्झाएपछि उनीहरू नवनियुक्त मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन हेटौंडातर्फ लागेका बताइएको छ ।

लामा समूहमा रहेका बागमतीको निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले नेतृत्वले सहकार्य गरेर सरकार सञ्चालन गर्ने भनेपछि आफूहरू विश्वासको मत दिन हेटौंडा गएको प्रतिक्रिया दिए ।

‘नीतिगत कुराका लागि हो हामीले यो सबै गरेको । लिडरसिप सबैले मिलेर, सहकार्य गरेर सरकार सञ्चालन गर्ने कुरो गर्नुभएको छ,’ उनले खबरहबसँग भने, ‘त्यहीअनुसार अगाडि बढ्ने कुरो भएको छ ।’

प्रदेशसभा सदस्य काफ्लेले सभापति देउवा, उपसभापति खड्का तथा महामन्त्रीद्वय थापा र शर्माले फोन गरेको पनि पुष्टि गरे । ‘सभापति, उपसभापति, महामन्त्रीहरू सबैले भन्नुभएको छ,’ उनले, ‘सिनियर नेताहरू धेरैले भन्नुभएको छ ।’

‘सिनियर’ नेता को–कोसँग कुरा भयो भन्ने बारेमा भने काफ्लेले खुलाएनन् । ‘क–कसको नाउँ लिनु, सबैले गर्नुभएको छ,’ उनले भने, ‘मिलेर, सहकार्य गरेर संयुक्त निर्णय गरेर अगाडि बढ्ने कुरो भएको छ ।’

यसअघि मुख्यमन्त्रीमा बहाल रहँदा लामाले साउन १४ गते मन्त्रीमा नियुक्त गरेका प्रदेशसभा सदस्यहरू पुनः मन्त्रीमा नियुक्त नहुँदासम्म मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नसकिने अडान लिएका थिए ।

लामाले प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन, माया श्रेष्ठलाई युवा तथा खेलकुद र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका थिए ।

प्रदेश संसदीय दलको नेतामा पराजित लामाले मुख्यमन्त्रीबाट राजीनामा दिनुअघि सभापति देउवाको निवास बूढानीलकण्ठमा बानियाँसँग आफूले नियुक्त गरेका मन्त्रीहरूलाई शपथ खुवाउनुपर्ने प्रस्ताव गरेका थिए ।

सभापति देउवाकै अघि राखिएको उक्त प्रस्ताव बानियाँले स्वीकार गरेको लामा पक्षीय नेताहरूको दाबी थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ८ : ५९ बजे

चक्रे मिलन र जितबहादुरसहित १९ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित १९

खेर गइरहेका काठ उपभोग गर्ने प्रक्रिया सुधार्छौ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले खेर जाने काठ उपयोगमा

गोली चलाएर लागूऔषध कारोबारी नियन्त्रणमा

काठमाडौं– प्रहरीले धनुषाकाे मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली चलाएको

प्रहरीले भन्यो- काठमाडौंमा गत वर्ष १२ हजार ९ सय १५ अपराधका घटना दर्ता

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक वर्ष २०८१/८२ मा काठमाडौंमा

मन्त्रालयको काम प्रभावकारी बनाइएको छ : उद्योगमन्त्री

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सङ्घ, प्रदेश र