काठमाडौं- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन नदिने गरी पार्टीले निर्णय गरिसकेकाले अब कुनै किसिमको बहस र छलफलको अर्थ नभएको बताएका छन् ।
धनकुटाको हिलेमा मंगलबारदेखि जारी कोशी प्रदेश कमिटीको बैठकलाई बुधबार सम्बोधनका क्रममा उनले पूर्वराष्ट्रपतिबारे अब बहस र छलफल गरेर अलमलिनु उचित नहुने बताएका हुन् ।
‘पार्टी केन्द्रीय कमिटीको बैठकले एउटा विषयमा, छलफल, बहस, मतमतान्तर गरिसकेको छ । त्यो विषय भनेको पूर्वराष्ट्रपतिको हो’, उनले भने, ‘एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपतिबारे पार्टी गरेको निर्णय राजनीतिक हो । त्यो निर्णय एउटा थिति र एउटा प्रणालीका लागि लिएको हो, कुनै व्यक्तिलक्षित होइन ।
एउटा व्यक्ति विशेष भन्दा पनि हामीले राष्ट्रपति संस्थालाई कसरी बुझ्ने, कसरी लैजाने भन्ने हो । यसबारे पार्टीबाट निर्णय भइसकेको छ ।’
उनले थिति र नीतिमा अगाडि देखिएको एमाले नै भएकाले अरूलाई पनि सिकाउन उक्त निर्णय गर्नुपरेको बताए । ‘त्यो निर्णयलाई हामीले कसरी बुझ्ने, यसमा हामीले बुझ्ने भनेको नेपालको गुरू पार्टी एमाले नै हो, अरूले एमालेबाट सिक्दै जाने हुन्’, उनले भने, ‘एउटा नीति र एउटा प्रणालीका लागि पार्टीले राजनीतिक निर्णय गरेको सन्दर्भमा अब थप अरू विषयहरू जोडेर उहाँलाई बहसको पात्र बनाउनु, विवादमा जोड्नु राम्रो हुँदैन ।’
उनले केन्द्रीय कमिटीले निर्णय गरेर अन्तरपार्टी निर्देशन पनि जारी भइसकेको अवस्थामा अब यो विषयमा बहसको आवश्यकता नभएको बताएका हुन् ।
‘यसरी बहस गर्दा पार्टी र उहाँ (पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी) लाई पनि राम्रो गर्दैन । पार्टीले निर्णय गरेको कुरा अपानिमै लेखिएको छ’, उनले भने, ‘त्यसैले यसमा केन्द्रीय कमिटी, प्रदेश कमिटी र बाहिर पनि छलफल र बहसको विषय बनाउने कुराले कसैलाई राम्रो गर्दैन।’
उनले यो विषय भदौ २०-२२ को विधान महाधिवेशनमा मतहरू आउन सक्ने बताए । ‘विधान महाधिवशेशनमा बहस हुन सक्छ । तर एमालेले सबै विषय सर्वसम्मत गर्दै आएको छ’, उनले भने, ‘पूर्वराष्ट्रपतिको विषयमा पनि सर्वसम्मत निर्णय भइसकेकाले अब हामी बहसतिर अल्झिनु उचित हुँदैन ।’
उनले पूर्वराष्ट्रपतिको सन्दर्भमा एकजना नेताले नोट अफ डिसेन्ट राखेको सुनेको बताए । ‘एकजना कमरेडले नोट अफ डिसेन्ट राख्नु भएको भन्ने आएको छ । त्यो अन्तरपार्टीको हो कि के हो थाहा छैन । हामीले यी कुरालाई समेत जनतालाई बुझाउनुपर्छ’, उनले अर्का स्थायी कमिटी सदस्य कर्णबहादुर थापातिर लक्षित गर्दै भने ।
राई र विद्या भण्डारीको गृहजल्ला एकै अर्थात् भोजपुर हो । भण्डारी राष्ट्रपतिबाट बिदा भएपछि कोशी भ्रमणमा जाँदा राईले सुरूदेखि नै साथ दिएका थिए ।
एमालेमा रहँदा उनी भण्डारनिकट थिए । भण्डारीकै जोडबलमा उनले राजनीतिक छलाङ मारेको निकटस्थहरू बताउँछन् । तर अहिले कोशी प्रदेश इन्चार्जकोसमेत भूमिकामा रहेका राईले भण्डारीलाई छाड्दै अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा उभिने गरि भनाइ सार्वजनिक गरेका हुन् ।
फरक प्रसंगमा उनले मिसन ०८४ लाई अनिवार्य कार्यान्वयन गर्नुपर्ने बताए । ‘जनताको घरदैलोमा पार्टी नजाने हो भने हाम्रो मिसन ०८४ सफल हुँदैन’, उनले भने, ‘हामी अब विधान महाधिवेशनमा केन्द्रित हुन्छौँ ।’
प्रतिक्रिया