धरानका संस्थापक 'सुब्बा रत्नप्रसाद' का नाति विक्रमप्रसाद बने बीपी प्रतिष्ठानका उपकुलपति | Khabarhub Khabarhub

धरानका संस्थापक ‘सुब्बा रत्नप्रसाद’ का नाति विक्रमप्रसाद बने बीपी प्रतिष्ठानका उपकुलपति



सुनसरी– अन्ततः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएको छ । बीपी प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. विक्रमप्रसाद श्रेष्ठलाई उपकुलपतिमा नियुक्ति दिएको हो । प्रा.डा. श्रेष्ठले आज (बुधबार) नियुक्ति लिएका छन् ।

चारदिन अघिमात्र सर्च कमिटीले बीपी प्रतिष्ठानको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको थियो । उक्त सिफारिसमा प्रा.डा. श्रेष्ठको नाम थिएन । कमिटिले बीपी प्रतिष्ठानबाटै केही महिना अघिमात्र कार्डियोलोजी विभागका प्रमुख प्रा.डा. प्रह्लाद कार्की, सहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका प्रा.डा. रामेश कोइराला र विराट मेडिकल कलेजका प्रा.डा. रोहित यादवको नाम सिफारिस गरेको थियो । तर प्रा.डा. श्रेष्ठको नाम नपरेपछि बीपी प्रतिष्ठान भित्रैबाट कर्मचारी र चिकित्सकहरूले व्यापक दबाब दिएपछि भोलिपल्ट उनको नाम पनि समावेश गरेर प्रधानमन्त्रीकहाँ सिफारिस पठाइएको थियो ।

बीपी प्रतिष्ठानमा गत चैतमा डा. ज्ञानेन्द्र गिरीको कार्यकाल सकिएपछि करिब साढेचार महिनादेखि उपकुलपतिको पद रिक्त थियो । त्यसैबेलादेखि बीपी प्रतिष्ठानको उपकुलपतिमा राजनितिक नियुक्ति खान दर्जन बढीले कसरत गरेका थिए ।

प्रा.डा. श्रेष्ठ पनि उक्त दौडमा सामेल भए पनि राजनीतिक पहुँच खासै नभएकाले सुस्तगतिमा लबिङ गरिरहेका थिए । अन्तमा उनको योग्यता, क्षमताले मात्र काम नगरेर स्वच्छ छवि भएका र हालसम्म कुनै पनि विवादमा नआएका, इमान्दार, आर्थिक पारदर्शिता मन पराउने र सबैसँग समान व्यवहार गर्ने कार्यकशुलताको कारण प्रा.डा. श्रेष्ठले उपकुलपतिको दौडमा बाजी मारे ।

सर्च कमिटिले उपकुलपति बन्नका लागि योग्यता, दक्षता र निर्णायक क्षमता मापन गर्न अन्तर्वार्ता लिएको थियो भने बीपी प्रतिष्ठानलाई थप उचाईमा पु¥याउन गर्न सक्ने तत्कालीन र दीर्घकालीन योजनाका बारेमा प्रस्तुति दिन पनि लगाइएको थियो ।
बीपी प्रतिष्ठानमा राजनितिक नियुक्ति पाएर उपकुलपति भएका सबैजना विवादित, आर्थिक अपचलन र हिनामिनामा फसेको इतिहास छ । कतिपयले बिगो जरिमाना तिरेका छन् । कतिपय उपकुलपति निलम्बनमा परेका छन् ।

प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा नमारेको कुनै वर्ष थिएन । बेथितिको दलदलमा फस्नुको मुख्य कारण राजनीतिक नियुक्तिलाई मानिएको थियो । धरानमा स्थायी बसोबास नभएका जो कोहीलाई बीपी प्रतिष्ठानको साख र गौरव बढाउनु भन्दा उपकुलपति पदलाई प्रयोग गरेर बीपी प्रतिष्ठानलाई ‘दुहुनो गाई’ बनाएर पैसा कमाउनुसँग मात्र सरोकार राख्छन् भन्ने मान्यताले ठाउँ पाएको थियो ।

बीपी प्रतिष्ठानमा उपकुलपतिको राजनीतिक नियुक्ति लिनका लागि बिचौलियाको सहारामा स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसम्म करोडौं रुपैयाँको ब्रिफकेस बुझाउनु पर्छ भन्ने चर्चाले पनि उतिकै ठाउँ पाएको थियो ।

पछिल्लो समयमा उपकुलपति हुनका लागि कम्तिमा १० करोड देखि १५ करोड रुपैयाँसम्म खर्च गर्नुपर्छ भन्ने अर्को चर्चा चलेको थियो । कतिपयले आफैंले करोडौं रुपैया निकाल्न नसके मेडिकल माफिया (मेडिकल उपकरण र औषधि आपूर्तिकर्ता) जस्ता बिचौलिया खर्च व्यहोरी दिने र उक्त खर्च मेडिकल उपकरण आपूर्ति गर्दा ‘हिसाब मिलान’ गर्नेदेखि कमिसन लिने गरेको ‘चर्चा’ बीपी प्रतिष्ठानको हकमा सामान्य भएको थियो ।

करोडौं रुपैयाँका मेडिकल उपकरण खरिद गर्दा होस् वा अर्बौं लागतको भौतिक पूर्वाधार निर्माण गर्दा ठेकेदार कम्पनीले उपकुलपतिलाई १५ देखि २५ प्रतिशत कमिसन माग्नै नपरी दिने चलन पनि सामान्य भएको थियो । यस्तै कारणले बीपी प्रतिष्ठानको साख गुम्दै गएको आशङ्का गरिएको थियो ।

आर्थिक अनियमितताको सवालमा बीपी प्रतिष्ठानको साख गुम्न थालेको करिब डेढ दशकदेखि हो । त्यसबेला प्रा.डा. बलभद्रप्रसाद दास अस्पताल निर्देशक थिए । पछि उनी नै उपकुलपति भए । दास उपकुपति हुँदा प्रा.डा. श्रेष्ठ शिक्षाध्यक्ष थिए । बीपी प्रतिष्ठानमा करोडौं रुपैयाको भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक छापा मार्दा भ्रष्टाचार हुनुमा प्रा.डा. श्रेष्ठको कुनै भूमिका नदेखिएपछि आरोप खेप्नबाट बच्दै आएका थिए ।

उनका प्रतिस्पर्धीहरूले राजनीतिक पहुँच बनाए पनि इमान्दार छविका भएकैले यसपटक बीपी प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. श्रेष्ठले बाजी मारेको स्थानीय बुद्धिजीवि डा. राजेन्द्र शर्मा बताउँछन् ।

धरानका संस्थापक सुब्बाका नाति हुन् प्रा.डा. श्रेष्ठ

चिन्नेले प्रा.डा. श्रेष्ठलाई हाडजोर्नीका चिकित्सक भनेर चिन्छन् । वि.सं. २०२४ साल फागुन २७ गते धरानमा जन्मेका श्रेष्ठको परिचय धरानको संस्थापकसँग जोडिन्छ । धरान बजारको संस्थापक राणाकालका सुब्बा रत्नप्रसाद हुन् । तिनै सुब्बा रत्नप्रसादका नाति हुन् प्रा.डा. श्रेष्ठ ।

त्रिभुवन शिक्षण अस्पतालबाट एमबीबीएस गरेका उनले हाडजोर्नी विषयमा भने एमएस अर्थोपेडिक्स पोस्ट ग्राजुएट मेडिकल इन्स्टिट्युट लाहोर, पाकिस्तानबाट सन् २००० मा गरे । सन २०१२ देखि २०१७ सम्म बीपी प्रतिष्ठानको शिक्षाध्यक्ष, बीपी प्रतिष्ठानको योजना, अनुगमन र मूल्याङ्कन कमिटिका संयोजक दुई पटक, हाडजोर्नी विभाको विभागीय प्रमुख दुई पटक, गुणस्तर नियन्त्रण संयोजक, कार्यकारिणी सदस्य, एकेडेमिक कमिटि सदस्य भए ।

उनले सन् २००१ मा सिनियर रेजिडेन्सीको पदमा नियुक्त भएर बीपी प्रतिष्ठानको हाडजोर्नी विभागमा जागिर सुरु गरेका हुन् ।

बीपी प्रतिष्ठानमै कार्यरत रहँदै उनले अर्थोपेडिक ट्रमा इन्स्टिट्युट सानफ्रान्सिस्को (युएसए), जटिल फ्र्याक्चरको उपचारबारे तालिम अमेरिका, सिरिन्धोर्न नेश्नल मेडिकल रिहाबिलिटेशन सेन्टर थाइल्याण्ड, ट्रमा सिस्टम एवं मास क्याजुअल्टी म्यानेजमेन्ट कोर्स, राम्बाम हेल्थ केयर क्याम्पस इजरायल, हाडजोर्नी सम्बन्धी वार्षिक कार्यशाला युगाण्डाको कम्पाला, हाडजोर्नी सम्बन्धी चिकित्सा शिक्षा बेल्जियम र दक्षिण कोरियालगायतमा सहभागिता, प्रस्तुति र नेतृत्व गरेका छन् ।

०७० सालदेखि धरानमा स्वास्थ्य जनचेतना कार्यक्रम नियमित सञ्चालन गर्दै आएका प्रा.डा. श्रेष्ठले आमा साधनादेवीको नाममा सन् २०१४ देखि नगद १ लाख रुपैयाँ राशिको ‘साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार’ बर्सेनि प्रदान गर्दै आएका छन् । उनले आफ्नो बाबु भागवतप्रसाद श्रेष्ठको नाममा धरान बाहिरबाट आएका कुरुवाका सुविधाका लागि बीपी प्रतिष्ठानभित्र ०६७ सालमा २ करोड २५ लाख रुपैयाँ लागतमा भागवतप्रसाद श्रेष्ठ स्मृति धर्मशाला निर्माण गरिदिएका छन् ।

उनले जेहेन्दार तथा गरिब विद्यार्थीका लागि पिण्डेश्वर संस्कृत माविमा २ लाख रुपैयाँको अक्षयकोष, महेन्द्र बहुमुखी क्याम्पसमा दुई लाख रुपैयाँको अक्षयकोष, धरानका ५० जना छात्राका लागि ‘भागवत प्रसाद श्रेष्ठ स्मृति छात्रवृत्ति कोष समेत स्थापना गरेका छन् ।

बीपी प्रतिष्ठानमा उत्कृष्ट शिक्षक पुरस्कारले सम्मानित श्रेष्ठ धरानका दर्जन बढी संघसंस्थामा क्रियाशील छन् । उनको हाडजोर्नी सम्बन्धी साढे तीन दर्जन अनुसन्धानात्मक लेखहरू स्वदेश र विदेशका जर्नलमा प्रकाशित छन् ।

नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठले खबरहबसँग भने,– ‘बीपी प्रतिष्ठानको उपकुपतिमा नियुक्ति हुन पाउनु मेरो लागि चुनौती र अवसर दुवै हो । बीपी प्रतिष्ठानभित्र देखिएका तमाम समस्यासँग विगत दुई दशकदेखि म आफैं पनि अवगत छु । ती तमाम समस्या सामाधान गर्नु नै मेरो पहिलो प्राथमिकता हो । बीपी प्रतिष्ठानको साख थप उच्च बनाउन गुणस्तरीय पठनपाठन, सहज उपचार सेवा र चिकित्सा विज्ञानको अनुसन्धानमा अब्बल ठहरिँदै आर्थिक अनियमिताको जालो चिर्न सबैको साथ र सहयोग आवश्यक छ ।’

नयॉ उपकुलपतिका चुनौती

बीपी प्रतिष्ठानमा उपकुलपति नियुक्ति पाउने मध्ये पछिल्ला चार जना पदाधिकारीको अन्तिम समय धमिलिएको अवस्थामा बहिर्गमन हुनुपरेको इतिहास छ ।

प्रा.डा. बलभद्रप्रसाद दास, प्राडा राजकुमार रौनियार, कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्की र डा. ज्ञानेन्द्र गिरी विवादित रहे । उनीहरूको मुद्दा अख्तियार र विशेष अदालतसम्म पुग्यो ।

दुई अर्ब रुपैयाँ बढी बेरुजुको चाङ, आर्थिक सङ्कट, भ्रष्टाचार र कमिसनको बेथिति, मेडिकल माफियाको घेरालाई चिर्न नयाँ उपकुलपति प्रा.डा. श्रेष्ठले निर्मम हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने स्थानीय बुद्धिजीवि डा. राजेन्द्र शर्माको राय छ ।

डा. शर्मा भन्छन्,– ‘बीपी प्रतिष्ठान सुधार्नका लागि अबको उपकुलपतिले चिकित्साशास्त्रको पठनपाठनमा मात्र गुणस्तर सुधार गर्नुपर्ने जिम्मेवारी छैन ।

समग्र उपचार सेवा, ल्याब र प्रयोगशालाको गुणस्तरमा समेत वृद्धि गर्नु पहिलो प्राथमिकता हुनुपर्छ । प्रतिष्ठानले जारी गरेको शैक्षिक क्यालेण्डर अनुसार विद्यार्थीको परीक्षा र पठनपाठन गर्नु जरुरी छ ।’

आर्थिक अनियमितता नियन्त्रण प्रणालीलाई बीपी प्रतिष्ठानमा चुस्तदुरुस्त र कठोर पार्दै नीतिगत आर्थिक एवं जवाफदेहितासँग सम्बद्ध अनियमितता रोक्नु पनि नयाँ उपकुलपतिको चुनौती भएको डा. शर्मा बताउँछन् । धरानभित्रै बीपी प्रतिष्ठान रहे पनि धरानको स्थानीयसँग सम्बन्ध समन्वय पातलो भएकाले त्यसलाई नियमित अन्तक्रियामार्फत् कसिलो बनाउनु पर्नेमा पनि डा. शर्माको जोड छ ।

करिब निर्माण सम्पन्न भएको २ अर्ब ७५ करोड रुपैयाँ लागतको ४ सय शैयाको आमा तथा शिशु उपचार केन्द्रको भवन (एमसिएच) सञ्चालनका लागि भौतिक र मेडिकल उपकरण खरिद र जडान, दक्ष जनशक्ति भर्ना गर्ने जिम्मेवारी पनि नयाँ उपकुलपतिको काँधमा आइपरेको छ ।

यस्तै सङ्घीय सरकार, प्रदेश सरकार, बीपी प्रतिष्ठानको कार्यकारिणी समिति (कास) र सञ्चालक परिषद (सिनेट) बाट डिपिआर तयार गरेर लागत अनुमान इस्टिमेट भइसकेको दुई सय शैया क्षमताको करिब ४ अर्ब रुपैयाँ लागतको मुटु उपचार केन्द्र (कार्डियोलोजी सेन्टर), दुई सय शैया क्षमताको करिब ९ अर्ब रुपैयाँ लागतको क्यान्सर उपचार केन्द्र (अंकोलोजी सेन्टर) को भवन निर्माण, दक्ष जनशक्ति नियुक्त र परिचालन गर्ने जिम्मेवारी पनि उपकुलपतिको काँधमा आइपरेको छ ।

बीपी प्रतिष्ठानका एक प्राध्यापक डाक्टरले भने, ‘उपकुलपति हुनलाई जजसले निवेदन दिएका थिए उनीहरूका तुलनामा प्रा.डा. श्रेष्ठ काइदा नियम पछ्याउने र आर्थिक सवालमा इमान्दार त छन्, अब्बल पनि हुन् । तर कुर्सीमा बसेपछि मेडिकल माफियाले थाहै नपाई फसाउन सक्छन् कि भन्नेमा पनि ध्यान दिनु पर्छ । अबको नयाँ उपकुलपतिले यो प्रतिष्ठानमा हाजिर गर्ने तर एकरतिको काम नगर्ने अनि मासिक २ लाख रुपैयाँ तलब पचाउने प्रा.डा.हरूलाई तह लगाउन खुट्टा कमाउनु हुँदैन ।’

ती प्राध्यापक डाक्टरका अनुसार कामै नगरी (नपढाई, उपचार सेवामा सहभागी नभई) मासिक तलब भत्ता सुविधाको नाममा २ लाख रुपैयाँ लिने प्रा.डा. र प्रा.डा. हुने लाइनमा रहेकाहरू बीपी प्रतिष्ठानमा करिब ३० जनाभन्दा बढी छन् । त्यस्ता ‘कामचोर’ का कारण पनि बीपी प्रतिष्ठान आर्थिक रूपमा कमजोर हुँदै गएको र बिरामीले पनि गुणस्तरीय उपचार सेवा पाउन सकेका छैनन् ।

दैनिक करिब ३५ सयदेखि ४ हजार बिरामी उपचारका लागि आउने गरेका छन् । इमर्जेन्सी कक्षमा दैनिक ३ सय बढी ल्याइन्छन् । बिरामीको चाप अत्यधिक हुन्छ । बिरामीको चाप व्यवस्थापन हुन सकेको छैन । सूचनामा तीन घण्टामा कुनै पनि ल्याब रिपोर्ट प्राप्त गर्न सकिने बताइए पनि २४ घण्टा लाग्छ । एमआरआई त छँदैछैन । भएको सिटीस्क्यान मेसिन महिनामा चारपटक बिग्रन्छ । दक्ष जनशक्ति अभावले भिडियो एक्सरे र सिटी स्क्यानको रिपोर्ट प्राप्त गर्न बिरामीलाई तीन दिनदेखि एक साता लाग्छ । स्वास्थ्य बीमाको रकम स्वास्थ्य बीमा बोर्डबाट प्रतिष्ठानले करिब ८० करोड रुपैयाँ प्राप्त गर्न सकेको छैन । आईसीयू, एनआईसीयू, पीआईसीयू कक्षमा शैय्या अभावले अन्यत्र जानुपर्ने अवस्था छ । भिडियो एक्सरे, शल्यक्रिया र सिटीस्क्यान गर्न एक महिनासम्म पालो पर्खिनु पर्छ । ल्याब टेस्ट र कतिपय उपचार सेवा शुल्क प्राइभेट अस्पतालमा भन्दा बढी राखिएको छ । बीपी प्रतिष्ठानको आफ्नै फार्मेसी भवन र औषधि छ भनिए पनि चिकित्सकले लेखिदिएको प्रेस्किप्सन अनुसारका औषधि प्रतिष्ठानकै फार्मेसीमा १० प्रतिशत पनि पाइन्न । यस्ता समस्यालाई तत्काल सम्बोधन गर्नु नवनियुक्त प्रा.डा. श्रेष्ठको चुनौती हो ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  २ : ४१ बजे

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

कञ्चनपुर– सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका

जया बच्चनको सेल्फी विवाद: कंगनाको प्रतिक्रिया, सामाजिक सञ्जालमा हलचल

मुम्बई – समाजवादी पार्टीकी सांसद तथा बलिउड नायिका जया बच्चन

एन्फाविरुद्ध थापाले दायर गरेको रिट खारेज

काठमाडौं – पुनरावेदन अदालत पाटनले पूर्व अध्यक्ष गणेश थापा र

एन्फा महिला लिग छनोट आजदेखि, उद्घाटन खेलमा छहारी एफसी र एफसी रियल भिड्ने

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आज (बिहीबार)देखि

गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु

गाजा – गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा सय जनाको ज्यान