'जबज'को रट लगाएर नबसौँ, एमालेको नाम फेरौँ | Khabarhub Khabarhub

दस्तावेज

‘जबज’को रट लगाएर नबसौँ, एमालेको नाम फेरौँ

बहुदलीय जनवादी कार्यक्रमले विचारको अंगभंग गरेको छ


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 12 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपा एमालेभित्र फेरि जनताको बहुदलीय जनवाद (जबज) र पूर्वमहासचिव मदन भण्डारीको विषय बहसमा तानिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा जबजको सिद्धान्तअनुसार काम हुन छाडेको गुनासो गरेकी छन् । सँगसँगै मदन भण्डारी फाउन्डेसनमा ओली र भण्डारी समूहबीच फुट देखा परेको छ ।

विद्या भण्डारी र केपी शर्मा ओलीबीच अन्तरसंघर्ष चर्किएसँगै जबजको सिद्धान्तले चर्चा पाउन थालेको हो ।

एमालेले तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रस्तावित जबजलाई पार्टीको राजनीतिक कार्यक्रमका रुपमा ०४९ सालको पाँचौं महाधिवेशनबाट पारित गरेर लागू गर्दै आएको छ । एमाले अध्यक्ष ओली जबजको वकालतकर्ताका रुपमा चिनिँदै आए पनि अहिले विद्या भण्डारी पक्षधर नेताहरुले ओलीमा विचलन देखिएको आरोप लगाउन थालेका छन् ।

यसै सन्दर्भमा अहिले शिक्षामन्त्रीको भूमिकामा रहेका नेकपा एमालेका नेता रघुजी पन्तले ०४९ को पाँचौँ महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको रोचक दस्ताबेज खबरहबले फेला पारेको छ । उक्त प्रस्तावमा पन्तले कम्युनिस्ट पार्टी संसारमा बदनाम हुँदै गएकाले एमालेले आफ्नो नाम फेरेर कम्युनिस्ष्ट पार्टीको साटो सामाजिक जनवादी (सोसल डेमोक्रेटिक) राख्नुपर्ने प्रस्ताव गरेका थिए ।

पाँचौँ महाधिवेशनमा मदन भण्डारीले ‘नौलो जनवाद’लाई छाडेर ‘जनताको बहुदलीय जनवाद’ प्रस्ताव गरेका थिए । त्यस्तै सीपी मैनालीले ‘परिमार्जित नौलो जनवाद’ प्रस्ताव गरेका थिए । पन्तले भने कम्युनिष्ट नाम हटाएर ‘सामाजिक जनवाद’ प्रस्ताव गरेका थिए । ‘जबज’ ले विचारलाई अंगभंग बनाएको पन्तको आरोप थियो ।

हाल शिक्षामन्त्री रहेका एमालेका वैचारिक नेता पन्तले ३३ वर्ष अगाडि नै किन ‘कम्युनिस्ट पार्टी’ जबजको विरोध गरेका थिए ? एमालेमा अहिले पुनः जबजको बहसमा तातिएको सन्दर्भमा एकपटक रघुजी पन्तको पुरानो अस्वीकृत प्रस्ताव स्मरण गरौं–

कम्युनिस्ट आन्दोलनले खाएको धक्का र त्यसका पाठहरु

जहाँ–जहाँ कम्युनिष्टहरु सत्तामा पुगे, त्यहाँ कम्युनिष्टहरुले शुरु–शुरुमा राम्रै काम गरेका थिए र देशको बिकास पनि भएको थियो । तर सर्वहारा वर्गको अधिनायकत्वको नाममा चलाइएको कम्युनिष्ट पार्टीको शासन बिस्तारै पछि गएर सर्वहाराको नाममा कम्युनिष्ट पार्टीको, कम्युनिष्ट पार्टीको नाममा केन्द्रीय समितिको, केन्द्रीय समितिको नाममा पोलिटब्यूरोको र कतिपय देशमा त पोलिटब्यूरोको नाममा पार्टी महासचिबको एक व्यक्ति तानाशाहीको रुपमा परिणत भयो ।

सत्ताको संघर्षले आ–आफ्नै कामरेडहरुबीच काटाकाट र गोली हानहानसम्म भयो । पार्टी जनताको सेवक नभएर जनतामाथि हुकुम चलाउने मालिक हुन थाल्यो । सर्वहारा वर्गको नाममा सर्वहारा लगायत सम्पूर्ण जनताको अधिकार खोसेर केही नेताहरुको तानाशाही लाद्न थालियो । जनता शासनमा सहभागी हुन सकेनन् बरु लाटा दर्शकहरु मात्र बनाइए । शासन दिन परदिन भ्रष्ट र विकृत हुँदै जान थाल्यो । विकासको गति अवरुद्ध भयो । समानताका नाममा मानिसको जाँगर र इच्छा मार्ने आर्थिक शैली अपनाइयो । यी सबै कुराबाट आजित भएका जनताले जब मौका पाए, तब सडकमा उत्रेर कम्युनिष्टहरुलाई सत्ताबाट हुत्याइदिए।

कम्युनिष्ट आन्दोलनले खाएको धक्का खाली आर्थिक सामाजिक मोडेलको मात्र असफलता थिएन । त्यो त कम्युनिष्ट पार्टीहरुले लिएका केही विश्वव्यापी सैद्धान्तिक मान्यता र राजनीतिक व्यवस्था तथा मोडेलको समेत असफलता थियो । सर्वहारा वर्गको नाममा मुट्ठीभर कम्युनिष्ट नेताहरुको अधिनायकत्वको पराजय थियो, सम्पूर्ण जनताको नाममा जनतामाथि नेताहरुको आकांक्षा लाद्ने परिपाटीको समाप्ति थियो र सर्वहारा बर्गको पार्टीको नाममा अरु कुनै पनि राजनीतिक पार्टी खोल्न नदिने सर्वसत्तावादी एकदलीय व्यवस्थाको स्वाभाविक मृत्यु थियो ।

इतिहासको एउटा युगमा कम्युनिष्टहरुले शासन चलाउने जुन मौका पाएका थिए, त्यसलाई स्वयं कम्युनिष्टहरुले नै आफ्नो दुर्बुद्धि र अदूरदर्शिताका कारण गुमाएका छन् । आज कम्युनिष्ट आन्दोलन धक्का खाएर पछारिएको छ । पछारिएको ठाउँबाट उठ्नु पर्छ र अघि बढ्नु पर्छ तर पुरानो तरिकाले हैन, नयाँ तरिकाले, नयाँ रुपमा, नयाँ ढङ्गले र नयाँ परिवर्तनका साथ ।

सामाजिक र आर्थिक विकासलाई हामीले चाहँदैमा रातारात आफ्नो हातमा पार्न सक्दैनौं । त्यसको लागि मानिसलाई उत्प्रेरणा दिनसक्ने बाताबरण चाहिन्छ, जाँगर र क्षमता देखाउने अवसर दिनुपर्छ अनि प्रतिद्वन्दिता र महत्वाकांक्षाको खोजी हुनु पर्दोरहेछ । तर, कम्युनिष्ट प्रणालीले यी अवसरहरु दिन सकेन त्यसैले भित्रभित्रै आर्थिक रुपमा त्यो अत्यन्त खोक्रो भएर गयो । एकपक्षीय रुपमा समानता र आदर्शको पक्षमा मात्र जोड दिँदा सिङ्गो समाज नै अल्छी र अकुशल हुन पुग्यो ।

त्यसैले आज बाँकी रहेका कम्युनिष्ट देशहरु आफ्ना नागरिकहरुलाई कम्युनिष्ट हैन धनी बनाउन थालेका छन्, वर्गको उन्मूलन हैन, वर्गको सिर्जना गर्न थालेका छन् र नाफा कसरी गर्ने, पैसा कसरी कमाउने भनेर सिकाउन थालेका छन् । यसो गर्नु ती देशहरुको रहर हैन, बाध्यता हो । यो तीतो सत्यबाट पनि हामीले पाठ सिक्नैपर्छ । आर्थिक, सामाजिक र साँस्कृतिक पछौटेपनलाई समाप्त पार्न खोज्दा बलजफ्ती र केवल सैद्धान्तिक एकोहोरोपनले मात्र नभएर प्रजातान्त्रिक क्रान्तिकारी ढंगले व्यवहारवादी हुँदै सन्तुलित ढंगले जानसक्नु पर्दोरहेछ भन्ने कुरा हामीले बुझ्नु परेको छ ।

इतिहासले मात्र हैन व्यवहारले साबित गरिदिएको छ, अब कुनै पनि प्रकारका एकदलीय व्यवस्थाहरुको जमाना गयो । कुनै बादशाह आओस् या क्रान्तिकारी कम्युनिष्ट अब जनता एकदलीय तानाशाही स्वीकार्न तयार छैन ।

लेनिनको नेतृत्वमा भएको महान् अक्टूबर क्रान्तिबाट आरम्भ भएको एकदलीय समाजवादी मोडेलको युग यसरी अब समाप्त भएको छ । सर्वहारा वर्गको अधिनायकत्वको सैद्धान्तिक मान्यतालाई अत्यन्त जोड दिने र त्यसलाई व्यवहारिक रुपमा स्थापित गर्ने व्यक्तित्व पनि महान लेनिन नै हुनुहुन्थ्यो र सर्वहारा वर्गको अधिनायकत्व स्वयं सर्वहारा र काम गरी खाने जनताकै लागि समेत कति प्रत्युत्पादक भयो त्यो पनि हामीले देखिरहेका छौं ।

त्यस्तै कम्युनिष्ट क्रान्तिले शुरुमा आर्थिक, साँस्कृतिक र सामाजिक जीवनमा ठूलो परिवर्तन ल्याएको कुरा सत्य थियो । तर, पछि कम्युनिष्ट देशहरुमा रहेको आर्थिक र प्राविधिक पछौटेपन, अकुशलता र भ्रष्टाचारले त्यसलाई ध्वस्त पारिदियो ।

आज चीन जस्तो ‘‘समाजवादी’’ देश विदेशी लगानी निम्त्याउन बाध्य भएको छ र बजार अर्थतन्त्र तथा नयाँखालका आर्थिक सुधार गरेर नयाँ प्रकारले आर्थिक विकास गरिरहेको छ भने भियतनाम पनि यसै दिशातिर सोचिरहेको छ । के यस्ता यस्ता ज्वलन्त परिवर्तनहरु हुँदा हुँदै पनि र आफ्नै आँखा अगाडि घटिरहँदा पनि हामीले उही नौलो जनवाद वा बहुदलीय जनबादको रट लगाएर बसिरहन सुहाउला त ?

त्यसैले विगतका मनोवैज्ञानिक हाम्रा ग्रन्थीहरुलाई हामी स्वयंले फेर्नु परेको छ । हाम्रा मनभित्र बिगतका सैद्धान्तिक मान्यता र मूल्यहरुले निकै गहिरो रुपमा जरा गाडेका छन् । हामीले ती सिद्धान्त र मूल्यहरुलाई आफ्नो जीवनभन्दा पनि बढ्ता माया गरेकोले हाम्रा मनभित्र तिनले गहिरो र मूल्यवान ठाउँ पाउनु पनि स्वाभाविकै हो ।

तर कुनै पनि मान्यता र मूल्य साश्वत हुँदैन भनेर द्वन्द्वात्मक भौतिकवादले भन्छ भन्ने कुरालाई हामीले नबिर्सने हो भने हाम्रा कैयौं मान्यता, मूल्य र शैलीहरुको आयु सकिएको कुरालाई पनि हामीले द्वन्दात्मक भौतिकवादी भएर स्वीकार्नै पर्छ । हामीले समय अनुसार आफ्ना चिन्तन, प्रस्थापना र व्यवहारलाई नवीकरण गर्नैपर्छ । यसको कुनै विकल्प छैन ।

आज नेपालका कम्युनिष्टहरुको काँधमा नेपाली जनताको आर्थिक समानताको सपना मात्र हैन, शोषण–उत्पीडनबाट मुक्त हुने नेपालका भोका, नागा र कंगाल हरुको चाहना मात्र हैन, नेपालमा आएको नवजात प्रजातन्त्रलाई खल्बलिन नदिनका लागि प्रजातन्त्रलाई क्रमशः बलियो पार्दै, संस्थागत पार्दै, आवश्यक परिवर्तन र परिमार्जन गर्दै सम्पूर्ण रुपमा जनताको प्रजातन्त्रमा परिणत गर्ने दायित्व समेत आएको छ ।

जनतालाई एक पेट भात, बास र कपासको मात्र हैन, तिनले पूर्ण प्रजातन्त्र र बहुदलीय व्यवस्थाको प्रयोग गर्न पाउने अधिकार अक्षुण्ण रहने छ भन्ने ग्यारेण्टी दिने समय समेत आएको छ । मानिस पशु हैन, जो भातले मात्र अघाओस् र मानिस विचार र मस्तिष्क बोकेको कुनै त्यस्तो जीव पनि हैन, जो हावा मात्र खाएर बाँच्न सकोस् । उसको शरीरमा पेट पनि छ र दिमाग पनि, उसलाई दुबै कुरा चाहिन्छ, भात पनि र राजनीतिक स्वतन्त्रता पनि ।

यी दुईवटै कुराको लागि हामीले आफ्नो नाम र नीतिमा समेत समयानुसार केही परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ । कम्युनिष्ट आन्दोलनले खाएको धक्का र त्यसका असफलताहरुबाट सिक्नुपर्ने पाठ के यो हैन र ?

पार्टीको नाम किन फेर्ने ?

कम्युनिष्ट पार्टी मूलतः मजदूर बर्गको पार्टी हो । यूरोपमा सामन्ती भूमि व्यवस्थाको विस्थापन र नयाँ औद्योगिक क्रान्तिसँगै जन्मेको मजदूर बर्ग, सर्वहारा अर्थात सबैथोक छोडेर सम्पत्तिको नाममा केबल दुई पाखुरा मात्र रहेको वर्ग थियो । यो शुरुमा अत्यन्त क्रान्तिकारी थियो र मार्क्सले साम्यवादसम्म पुग्ने आर्थिक राजनीतिक र सामाजिक क्रान्तिको नेतृत्व यही वर्गले गर्ने घोषणा गर्नु भएको थियो । त्यसैले कम्युनिष्ट घोषणापत्रको शिरानमै “संसारभरका मजदुरहरु एक होऔं’’ भन्ने नारा लेखेर मजदुर वर्गको जात र नागरिकता हुँदैन, ऊ अन्तर्राष्ट्रियतावादी हुन्छ भन्ने अवधारणाको विकास पनि गरियो । तर मार्क्सको यो परिकल्पना यूरोपमै फेल भयो ।

उहाँले सबभन्दा पहिले ब्रिटेनमा क्रान्ति हुने घोषणा गर्नु भएको थियो तर त्यसो नभएर औद्योगिकरुपले युरोपमा सबैभन्दा पिछडिएको मान्न सकिने रुसमा क्रान्ति भयो । मजदूर वर्ग मार्क्सको पालामा जति सर्वहारा र क्रान्तिकारी थियो, त्यति पछिसम्म रहन सकेन । पुँजीवादको विकास हुँदै जाँदा र नयाँ नयाँ प्रौद्योगिकीको विकास हुँदै जाँदा मजदूर सर्वहारा मात्र रहेन । युरोपमा मजदूरले कारखानामा काम गरे बापत पाएको ज्यालाले कार, फ्ल्याट र टेलिभिजन समेत सजिलै जोड्ने स्थिति बन्यो । नयाँ नयाँ उद्योगको विकास र प्रौद्योगिकी विकासको गतिसँगै युरोपका मजदूरहरु फेरिए र स्वयं कम्युनिज्मको जन्मभूमि युरोपमै कम्युनिष्ट आन्दोलनले माधार गुमाउँदै गयो ।

हाम्रो देशमा कम्युनिष्ट आन्दोलनले शुरुदेखि नै क्रान्तिकारी धाराका साथसाथै राष्ट्रियता, देशको अखण्डता र स्वाधीनताको सवाललाई पनि आफ्नो आन्दोलनसँग जोडेर आएको पाइन्छ । यो आन्दोलनमा कैयौं मानिसहरु यही कारणले पनि सामेल भए, थिए र छन् । नेपालमा मजदूर आन्दोलनको जगमा कम्युनिष्ट आन्दोलन शुरु भएको थिएन । अहिले पनि देशको ९० प्रतिशत जति श्रमशक्ति जीवनयापनको लागि कृषिमै निर्भर छ र देशको कूल उत्पादनको ६० प्रतिशत क्षिले नै ओगटेको छ। घरेलु उद्योग समेत मिलाउँदा पनि उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १० प्रतिशत भन्दा कम छ र देशको कूल श्रमशक्तिको केबल दुई प्रतिशतलाई मात्र औद्योगिक क्षेत्रले रोजगारी प्रदान गर्न सकेको छ । मुलुकको कूल श्रमशक्तिको केबल दुई प्रतिशत मात्र मजदूर रहेछन् भन्ने तथ्यलाई यस तथ्याङ्क, ले देखाएको छ । यही दुई प्रतिशत पनि मार्क्सले व्याख्या गरे जस्तो ‘‘सबथोक हारेको’’ वा गुमाएको सर्वहारा वर्ग होइन ।

युरोपमा सम्पूर्ण खेती गुमाएर र भूमिसँगको सम्बन्ध पूर्णरुपमा बिच्छेद गरेर मजदूर बन्न बाध्य भएको स्थिति नेपालमा छैन । त्यसैले मार्क्सले व्याख्या गरे अनुसारको क्रान्तिकारी चरित्र पनि नेपालका अधिकांश मजदूरहरुमा पाइँदैन । नेपालमा अधिकांश मजदूरहरु किसान र निम्न मध्यम वर्गको तल्लो श्रेणीको परिवारका सदस्य छन् । अधिकांश किसानहरुकै छोरा हुन् र तिनीहरुको भूमिसँग पूर्णरुपले सम्बन्ध विच्छेद भएको पाइँदैन । त्यसैले सबैथोक गुमाएको युरोपको “प्रोलेटारियट” र नेपालका मजदूरहरुबीच थुप्रै भिन्नताहरु छन् र यो स्वाभाविक कुरा पनि हो ।

कम्युनिष्ट पार्टी भनेको मजदूरवर्गीय दृष्टिकोण अनुसार चल्ने राजनीतिक पार्टी हो । मजदूर वर्गको पार्टी हो । यो वर्ग नेपालमा अझै परिपक्व ढङ्गले हुर्किसकेको छैन र बलियो सामाजिक आधार प्राप्त गर्न सफल भएको छैन । गुणात्मक रुपले यो कलिलो र काँचो छ भने संख्यात्मक रुपले पनि यो अझै निकै कमजोर र असंगठित स्थितिमा छ ।

फेरि, नेपालका मजदूर वर्गको स्थिति सामान्य रुपमा र सरल ढङ्गले हेरेर पुग्ने तथा व्याख्या गर्ने खालको मात्रै छैन । यसलाई विभिन्न ढङ्गमा तथ्यमूलक ढङ्गले विश्लेषण गर्ने काम अझै भएको छैन । यद्यपि मजदूर आन्दोलनको इतिहास हामीसँग नभएको होइन तर मजदूर वर्गबाट मजदूर आन्दोलनभित्रै हुर्केर आएको कुनै प्रतिष्ठित नेता वा इतिहास बोकेको व्यक्ति हाम्रो कम्युनिष्ट आन्दोलनमा छैन । कम्युनिष्ट पार्टीमा थोरबहुत हुनेखाने वर्गकै छोराहरु, बुद्धिजीवीहरु र निम्न मध्यम तथा मध्यम वर्गकै मानिसहरुको बोलबाला हिजो पनि थियो र आज पनि छ । त्यसैले मजदूर वर्गको भनिए पनि मजदूर वर्गीय स्टाइल हाम्रो देशका कम्युनिष्ट पार्टीहरुमा हिजों पनि थिएन र आज पनि छैन । यो तथ्यलाई हृदयङ्गम गर्दै हामीले आज नयाँ बिन्दूबाट सोच्नुपर्ने भएको छ ।

कुनै पनि राजनीतिक पार्टी कुनै सानो र अल्पसंख्यक वर्गको पक्षधर मात्र भयो भने त्यसले मुलुकलाई हाँक्न सक्दैन । कम्युनिष्ट पार्टीले शोषित पीडित सबैको लागि लड्ने पार्टीका रुपमा आफूलाई उभ्याए पनि माक्र्सवादको एउटा प्रमुख स्थापना मानिएको वर्गीय दृष्टिकोण अनुसार हेर्ने हो भने त्यो मजदूर वर्गको पार्टी हो र त्यसले मजदूर बर्गको नेतृत्वलाई स्वीकार्नु पर्दछ ।

यसरी हेर्दा हाम्रो देशमा कम्युनिष्ट पार्टी भनेको केबल दुई प्रतिशत मजदूरहरुको वर्गीय दृष्टिकोण अनुसार चल्ने पार्टी भनेर बुझ्नु पर्ने हुन्छ । तर केबल मजदूर वर्गको मात्र हित नहेरेर आज देशमा रोजगारी र कामको लागि औद्योगिकीकरणको आवश्यकतालाई पनि हामीले स्वीकारेका छौं । केवल राष्ट्रिय पूँजीपतिहरुलाई मात्र नभएर विदेशी पूँजीलाई समेत हामी बोलाइरहेछौं । हामीले मजदूर वर्गको मात्र नभएर पूँजीपति वर्गको समेत सहयोग लिनुपरेको छ पनि भन्ने अनि एक अर्काको आर्थिक विरोधीका रुपमा चिनिएका एउटा बर्गको मात्र आफूलाई पार्टी भन्ने जस्तो परस्पर विरोधी काम गर्न मिल्छ ? अहँ मिल्दैन।

मजदूर वर्गसँग मात्र प्रतिवद्ध नभएर उत्पादक शक्ति र उत्पादन सम्बन्धको परिवर्तनमा मद्दत पु¥याउने सबै वर्गको सहयोग लिनु आज हाम्रो राष्ट्रिय आवश्यकता हो । कृषि क्षेत्रमा अर्धबेरोजगार र पूर्ण बेरोजगारका रुपमा रहेका लाखौंको जनशक्तिलाई उद्योगको क्षेत्रमा स्थानान्तरण नगरी हामी मुलुकको विकास गर्न सक्दैनौ र आफ्ना जनतालाई काम दिन पनि सक्दैनौं । यसका लागि देशभित्रको निजी पूँजीले नपुगेर बिदेशी पूँजीलाई गुहार्नु समेत परिरहेको छ हामीले । विदेशी पूँजीको सुरक्षा गर्नेछौ भनेर बचन दिनुपरेको छ। के माक्र्सवादले देखाएको सैद्धान्तिक मार्गले यस्तो कुरा भन्छ ? भन्दैन ।

मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तले त निजी पूँजी र कारखानाहरुको राष्ट्रियकरण गरेर तिनीहरुलाई मजदूरको (या राज्यको ) स्वामित्वमा ल्याउने कुरा उल्लेख गरेको छ । तर आज चीन जस्तो “समाजवादी“ भनिने देश लगायत धेरै ठाउँमा सरकारको स्वामित्वमा रहेका अधिकांश कारखानाहरु घाटामा गएकोले तिन्लाई निजी स्वामित्व र निजी क्षेत्रमा लगिन थालेको छ । हामी कहाँ त कारखाना नै धेरै छैन । खोल्नै बाँकी छ ।

हाम्रो काम त आज सामन्ती, अर्धसामन्ती भूमि व्यवस्थालाई समाप्त पार्दै राष्ट्रिय पूँजीवादको विकासतर्फ अघि बढ्नु रहेको छ । राष्ट्रिय पूँजीवादको विकासको हाम्रो चरण निकै लामो हुनेछ । थोरैमा पनि यसले चार पाँच दशक खान सक्छ । के पूँजीबादको विकास कम्युनिष्टहरुको लक्ष्य हो त ? हैन । समाजवाद र साम्यबादको कल्पना गरे पनि त्यो हाम्रो स्थितिबाट निकै धेरै टाढा छ ।

समाजवादी भनेर आफूलाई घोषणा गरिसकेको चीन त आज १९४९ मा माओको नेतृत्वमा भएको नौलो जनवादी क्रान्तिभन्दा अघिको चरणमा फर्केर सन यात सेनको कोमिन्ताङले राखेको भन्दा पनि दक्षिणपन्थी दिशातिर लाग्न थालेको छ भने, हामीले के आधारमा कम्युनिष्ट पार्टीको नेतृत्वमा नौलो जनवादको सपना देख्ने ? पार्टीको नाम कम्युनिष्ट पार्टी राख्ने तर पुँजीवादको विकास गर्ने काम गर्न मिल्छ कि मिल्दैन ? यसो गर्दा सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर भए कि भएन ?

त्यसैले सिद्धान्त, कार्यक्रम र पार्टीको नाममा साम्यता ल्याउन हाललाई हामीले आफ्नो पार्टीको नाम बदलेर यसको चरित्रमा पनि थोरै परिवर्तन गर्नु वाञ्छनीय देखिन्छ । मजदूर वर्गको एक मात्र नभएर उत्पादन सम्बन्धको परिवर्तन र विकासमा सकारात्मक तथा प्रगतिशील भूमिका खेल्न सक्ने किसान, धनी किसान, डाक्टर, प्राध्यापक, शिक्षक, कर्मचारी, प्राबिधिक क्षेत्रसँग सम्बन्धित विभिन्न बौद्धिक समुदाय लगायत राष्ट्रबादी पूंजीपतिहरुको समेत प्रतिनिधित्व हुने राजनीतिक पार्टीका रुपमा कम्युनिष्ट पार्टी स्वयंलाई रुपान्तरण गरेर ‘सामाजिक जनबादी पार्टी’ बनाउनु पर्छ ।

यी उल्लेखित सबै शक्तिहरुको सामुहिक महाअभियानबिना न यो मुलुकको औद्योगिकीकरण हुनसक्छ न यसको विकास नै हुन्छ । मजदूर र किसानहरुको मात्र सहयोगले राष्ट्रको औद्योगिकरण सम्भव छैन र औद्योगिकरणविना न कृषिको विकास सम्भव छ, न त मजदूर किसानको उन्नति नै । मजदूर बर्गको कम्युनिष्ट पार्टीले मात्र यो काम गर्न सम्भव छैन । त्यसैले पार्टीको नाम फेरेर मुलुकको चार पाँच दशकसम्म लगातार चल्ने राष्ट्रिय पूँजीवादको विकासलाई नेतृत्व दिन हामी स्वयं अघि बढ्नु पर्छ ।

पुँजीबादको विकास गर्ने कुरा पनि स्वीकार्ने तर पार्टीको नाम चाँही कम्युनिष्ट पार्टी नै राख्ने जस्तो द्वैध मनस्थितिमा हामी कतिन्जेल बसिरहने ? जुनबेला समाजबादतर्फ संक्रमण गर्नुपर्छ, त्योबेला आएपछि पुनः पार्टीको नाम र विचारलाई परिवर्तन गरे भैहाल्यो, कम्युनिष्ट पार्टी राखे भैहाल्यो । चालीस–पचास वर्षसम्म जे गर्ने हो त्यो अनुसार पार्टीको नाम आज नराखेर चालीस पचास वर्षपछि सोच्ने काम सुहाउँदो नाम आज राख्नु के उल्टो भएन र ?

राष्ट्रिय पूँजीवादको विकास गरेर उद्योग धन्दाको विस्तार गर्दै मुलुकको पूँजीवादीकरण गर्नु नै आजको आर्थिक लक्ष्य मानिसकेपछि राजनीतिक नेतृत्व पनि र विचार पनि यही आर्थिक सामाजिक लक्ष्य अनुसारको हुनुपर्छ । त्यसैले राजनीतिक विचार र कार्यक्रम पनि सामाजिक–आर्थिक परिवर्तनसँग मिल्ने तथा त्यसलाई नेतृत्व दिन सक्षम हुने तरिकाले फेर्न पार्टीको नाममा पनि परिवर्तन आवश्यक भएको छ ।

संसारभर आज जुन प्रजातान्त्रिक लहर चलेको छ, त्यो लहरको श्रृजनामा केबल मजदूर बर्गको मात्र भूमिका छैन । तेस्रो विश्वमा चलेको सम्पूर्णजसो प्रजातान्त्रिक, राष्ट्रवादी र मुक्ति आन्दोलनमा ग्रामीण क्षेत्रकोभन्दा वर्तमान समयमा शहरका जनताहरुको भूमिका बढेको छ ।

२०४६ सालको नेपालको जनआन्दोलनको प्रभाव ग्रामीण क्षेत्रमा नगण्य रुपमा मात्र थियो । शहर र शहर वरपरका बस्तीहरुमा चलेको आन्दोलन, अझ खास गरेर भन्ने हो भने राजधानीको प्रभावकारी आन्दोलनले नै २०४६ सालको संघर्ष सफल भएको थियो । यस्तै स्थिति हामी एक दशकयताका विभिन्न देशका जन–आन्दोलनहरुमा बुद्धिजीवीहरु, शिक्षकहरु, विद्यार्थीहरु र सार रुपमा भन्ने हो भने निम्नमध्यम वर्ग र मध्यम वर्गका जनताहरुको अत्यन्त महत्वपूर्ण भूमिका रहेको छ । यही वर्गबाट अधिकांश बुद्धिजीवीहरु पैदा हुन्छन् । जनमतको निर्माणमा यही बर्गको भूमिका सबभन्दा अगाडि रहेको छ । यही वर्ग अहिले सबैभन्दा प्रवर र मुखर भएर देखापरेको छ ।

नेपालका सबैजसो राजनीतिक पार्टीको नेतृत्व र कार्यकर्ताहरुमध्ये अधिकांश यही वर्गबाट उत्पन्न भएका छन । यो वर्ग क्रान्तिकारी र देशभक्त पनि छ । सामाजिक र सांस्कृतिक मूल्यको सबैभन्दा चिन्ता पनि यही वर्गले गर्ने गरेको पाइन्छ ।

नेपालका विद्यमान सबै जसो कम्युनिष्ट पार्टी पनि मजदूर र किसान समुदायबाट मात्र नभएर यही वर्ग र यही वर्गको सहयोगबाट सञ्चालित छन् । त्यसैले यो वर्गको भूमिकालाई सैद्धान्तिक र बैचारिक मान्यता दिनु आजको आवश्यकता हो ।

कम्युनिष्ट पार्टी र कम्युनिष्ट दृष्टिकोण लिएर यसो गर्न मिल्दैन त्यसैले कम्युनिष्ट पार्टीको नाम परिवर्तन गरी निम्नमध्यम र मध्यम बर्गका बहुसंख्यक जनताको सैद्धान्तिक र वैचारिक धारालाई पनि राजनीतिक धरातल प्रदान गर्नुपर्दछ । यो वर्गको स्वार्थ मजदूर वर्गसँग टकराउँदैन बरु सहयोगी नै हुन्छ ।

सामाजिक जनवादले मजदूर, किसान, बुद्धिजीवी लगायत निम्न मध्यम वर्ग, मध्यम वर्ग र राष्ट्रिय पू ’जीपतिहरुको समेत सामुहिक स्वार्थ र संश्रयलाई सुसंगठित पार्दछ । यी नै वर्गहरुको हित गर्ने साझा आर्थिक सामाजिक कार्यक्रम नै आजको कार्यक्रम हुनसक्छ र यसको लागि कम्युनिष्ट भएर हैन सामाजिक जनवादी भएर मात्र अघि बढ्न सकिन्छ। यी सबै वर्गहरूको साझा राजनीतिक पार्टी कम्युनिष्ट पार्टी हुन सक्दैन ।

सामाजिक–आर्थिक रुपमा माने पनि पार्टीभित्र निम्नमध्यम, मध्यम र राष्ट्रिय पूँजीपतिहरुलाई राजनीतिक भूमिका नदिने हो भने उनीहरु अर्को पार्टीतिर जान्छन्, राजनीतिक भूमिका दिने हो भने कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी नरहेर स्वतः सामाजिक जनबादी पार्टी हुन जान्छ ।

त्यसैले अन्योल र भ्रममा रहनु हुँदैन । आजको युगको आवश्यकता अनुसार हामीले समाजवादोन्मुख नौलो जनवादको आर्थिक–राजनीतिक कार्यक्रममा परिबर्तन गरेर त्यसैलाई पूँजीवादोन्मुख बनाउन हुन्छ भने पार्टीको नाम फेर्न चाँहि किन हुँदैन ?

कम्युनिष्ट पार्टीको काम निजी सम्पत्ति र पूँजीको विकास हैन कि निजी सम्पत्तिको समाप्ती तथा त्यसको सामाजिक र सामुहिक रुपान्तरण हो। तर बहुमतको कार्यक्रमले यो दिशालाई समात्न सकेको छैन र पूर्ण रुपमा पूँजीवादको विकास गर्ने दिशा समातेको छ भने अल्पमतको कार्यक्रम पनि यसैतिर उन्मुख छ । यस अर्थमा वर्तमान अल्पमत र बहुमतको कार्यक्रम माओको नौलो जनवाद भन्दा भिन्न छ ।

माओले दलाल–नोकरशाही पूँजी र बिदेशी पूँजीको उन्मूलनको कुरा गर्नु भएको छ तर यहाँ विदेशी पूँजीलाई स्वागत गर्दै भित्र्याउने कुरा गरिएको छ । माओले चिनियाँ कम्युनिष्ट पार्टीले लागू गर्ने जनवादी अधिनायकत्वको कुरा गर्नु भएको छ र बहुपार्टी व्यवस्था तथा खुला समाजको प्रयोग गर्नु भएको छैन, तर पार्टीमा प्रस्तुत बहुदलीय जनवाद र अल्पमतको नौलो जनवादले खुला समाज र बहुपार्टी व्यवस्थाको कुरा गरेको छ ।

नौलो जनवादको सारवस्तु नै त्यागेपछि त्यो कसरी नौलो जनवाद हुन सक्छ ? नौलो जनवाद एउटा समग्र चिन्तन हो र त्यो चिन्तनभित्र राजनीतिक, आर्थिक र सामाजिक कार्यक्रम तथा प्रणालीबारे स्पष्ट व्याख्या गरिएको छ । नौलो जनवाद राजनीतिक व्यवस्था वा प्रणाली मात्र होइन न त सामाजिक – आर्थिक कार्यक्रम मात्रै हो ।

राजनीतिक, आर्थिक र सामाजिक कार्यक्रमको समग्र तथा साङ्गोपाङ्गो रुप हो नयाँ जनवाद । नयाँ जनवादबाट त्यसको राजनीतिक फ्रेम र मान्यता झिकेर त्यसमा बहुदलीय व्यवस्था जड्दो त्यो राँगोको जिऊमा खसीको टाउको लगेर जोडिदिए झै हुन्छ भने त्यसको आर्थिक वा सामाजिक पक्षमा अस्वाभाविक परिवर्तन गर्दा सक्कली खुट्टा काटीदिएर काठको नक्कली खुट्टा जोडिदिए झैं हुन्छ ।

मान्यताहरुमा परिवर्तन गर्ने नाममा कुनै पनि राजनीतिक मान्यता वा विचारलाई अङ्ग भंङ्ग पार्ने हदसम्म जानु हुँदैन । अहिले बहुमत र अल्पमत पक्षको नयाँ जनबादी र बहुदलीय जनवादी कार्यक्रमले यही गरेको छ । यो परिवर्तन न क्रान्तिकारी छ, न समय सुहाउँदो ।

यस्तो राजनीतिक कसरत गर्नुपरेको कारण एउटै छ र, त्यो हो पुरानो तथा सामयिकता गुमाईसकेको नयाँ जनवादलाई अल्पमत पक्षले सुधारेर काम चलाउन खोजेको छ भने बहुदलीय जनवाद पक्षधर बहुमत पक्षले “नयाँ जनबाद“ ले अब काम चल्दैन भनेर बुझ्दा बुझ्दै पनि कार्यकर्ताले मानेर पास गर्दैनन् भन्ने अनुमानबाट तर्सेर अवसरवादी नीति लिँदै नयाँ जनवादलाई त्यागिसकेर पनि त्यागेको छैन भन्ने देखाउन खोज्दैछ ।

अल्पमत पक्षको कार्यक्रममा संकीर्णताले जरो गाडेको छ र त्यहाँ संकीर्णता बढी र अवसरवाद थोरै छ, बहुमतको बहुदलीय जनवादले धेरै कुरा फेरि सकेर पनि केही मात्रै नयाँ थप्नु परेको हो, सारमा नयाँ जनवाद नै छ भनेर कार्यकर्तालाई झुक्याउन खोजेको छ । यस पक्षमा केही सामयिक सुधारका कुरा भए पनि तिन्लाई अबसरबादले छोपेको छ ।

दुवै पक्षले पार्टीको संरचना, सिद्धान्त तथा कार्यक्रमको बारेमा देशमा विद्यमान वर्तमान समयका यथार्थहरुलाई बिर्सेर परम्परालाई मात्रै अघि बढाउन खोजेकोले अहिलेको संकट भोगिरहनु परेको हो ।

दोधारे मनस्थिति, परम्परागत मान्यता प्रतिको शंकाग्रस्त मोह तर नाँ मान्यता र संरचना ग्रहण गर्न हिच्किचाउने प्रवृतिले गर्दा आज बहुमत पक्ष संशयग्रस्त देखिएको छ भने अल्पमत पक्ष पनि अलमलिएको र संकिर्णतामा बाँधिएको छ । यस्तो कुण्ठित, अन्यौलग्रस्त, परस्पर विरोधी र पुरानो मान्यता बोकेर बस्यौं भने के हामीले यो मुलुकलाई क्रान्तिकारी बाटोमा हिँडाउन सकौँला ? के हामीले अहिले पाएकै जनविश्वासलाई पनि धानिरहन सकौँला ? के हामी यस्तै तरिकाले मुलुकको वैकल्पिक शक्तिका रुपमा अझ अघि बढ्न सकौँला ? आज यी प्रश्नहरु हामीले स्वयं आफैलाई सोधेर इमान्दारीपूर्ण उत्तर दिएर आश्वस्त पार्नुपर्ने बेला आएको छ ।

भ्रम, पूर्वाग्रह र पुराना चिन्तनप्रतिको मोह त्यागेर नयाँ चिन्तन, नाँ मान्यता र नाँ शब्दावलीहरुको खोजी गर्दै अघि बढ्न आज हामीले हाम्रो कार्यक्रम र हाम्रो पार्टीको नाममा सामयिक परिवर्तन गर्नु आवश्यक भैसकेको छ । त्यसैले समय सुहाउँदो कार्यक्रम बनाऔं र त्यही कार्यक्रमलाई व्यवहारमा साँच्चै लागू गर्ने काम र नाम भएको क्रान्तिकारी संगठनको रुपमा बर्तमान हाम्रो कम्युनिष्ट पार्टीलाई नै रुपान्तरण गरौं । कम्युनिष्टबाट “सामाजिक जनबादी“ बन्नु रहर हैन, समयले दिएको दायित्व हो भन्ने कुरालाई बुझौं ।

(साभार : नेकपा एमालेकाे पाँचौं महाधिवेशनमा नेता रघुजी पन्तद्वारा प्रस्तुत फरक मत पृ.७-१२)

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ४ : १० बजे

उत्पादकत्व बढाउन नगद अनुदान

गोरखा– गोरखाको धार्चे गाउँपालिकाले उत्पादकत्व बढाउन किसानलाई नगद अनुदानको व्यवस्था

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

कञ्चनपुर– सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका

जया बच्चनको सेल्फी विवाद: कंगनाको प्रतिक्रिया, सामाजिक सञ्जालमा हलचल

मुम्बई – समाजवादी पार्टीकी सांसद तथा बलिउड नायिका जया बच्चन

एन्फाविरुद्ध थापाले दायर गरेको रिट खारेज

काठमाडौं – पुनरावेदन अदालत पाटनले पूर्व अध्यक्ष गणेश थापा र

एन्फा महिला लिग छनोट आजदेखि, उद्घाटन खेलमा छहारी एफसी र एफसी रियल भिड्ने

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आज (बिहीबार)देखि