चीनमा हुने विश्व मिलिटरी खेलकूदमा नेपाली सेनाले भाग लिने « Khabarhub

चीनमा हुने विश्व मिलिटरी खेलकूदमा नेपाली सेनाले भाग लिने


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा आयोजना हुने सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम) मा नेपाली सेनाले भाग लिने भएको छ ।

इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो । चीनको उहानमा कात्तिक १ देखि १० गतेसम्म प्रतियोगिता हुँदैछ ।

ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहने यो प्रतियोगितामा विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । उक्त प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिने सैनिक मुख्यालयमा जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख महासेनानी शशीकिरण रायमाझीले जानकारी दिनुभयो ।

नेपालले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङ खेललाई रोजेको छ ।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उक्त प्रतियोगिताका लागि सेनाले छनोट गरेको छ । प्रतियोगितामा पहिलो पटक भाग लिए पनि अनुभवी खेलाडी भएका कारण निकै राम्रो नतिजाको अपेक्षा गरिएको पनि उहाँले जानकारी दिए ।

उक्त प्रतियोगिताका लागि छनोट भएका खेलाडी १५ महीनादेखि अभ्यासमा रहेको जानकारी दिइयो । प्रतियोगितामा भाग लिने ४० जना खेलाडी र प्रशिक्षकसहितको नेपाली प्रतिनिधिमण्डल असोज २५, २८ र २९ गते त्यसतर्फ प्रस्थान गर्नेछ ।

विशिष्ट पाहुनाको रुपमा उक्त खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सहभागी हुनुहुनेछ ।

नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुल पनि सदस्य राष्ट्र पाहुनाका रुपमा सहभागी हुनु हुनेछ । उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगिता सञ्चालन हुने सबै स्थानमा मोटरबाट ४० मिनेटभित्रै पुग्न सकिने दुरीमा रहने छन् । ट्राइथलन भने ७९ किलोमिटर क्षेत्रसम्म सञ्चालन हुनेछ । प्रतियोगिता स्थलमा असोज ३० गते सहभागी मुलुकका खेलकूदको नेतृत्व गर्ने पदाधिकारीबीच समयन्वय बैठक हुनेछ ।

के हो यो प्रतियोगिता ?

खेलकूदको माध्यमबाट मित्रता भन्ने नारालाई आत्मसात गरेको इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल सन् १९४८ फेब्रुअरी १८ मा स्थापना भएको हो । नेपालसहित विश्वका १४० देशका सेनाका सङ्गठन सदस्य रहेको उक्त काउन्सिलमा अमेरिकी महादेशका १९, अफ्रिकी महादेशका ४७, युरोपका ४२ र एशिया महादेशका ३२ मुलुक सदस्य छन् ।

काउन्सिललाई विश्व ओलम्पिक कमिटीले मान्यता दिएको छ । काउन्सिलको सबैभन्दा महत्वपूर्ण संरचनाको रुपमा गभर्नर परिषद छ भने प्रत्येक खेलको विकासका लागि प्रिसिडेन्ट परिषद्ले नेतृत्व गर्दछ ।

काउन्सिलले विभिन्न पाँच प्रतियोगिता गर्दैआएको छ । काउन्सिलको सदस्यता नेपाली सेनाले सन् २०१८ प्राप्त गरेको हो । ओलम्पिक प्रतियोगिताको ठीक अघिल्लो वर्ष प्रत्येक चार/चार वर्षमा काउन्सिलले समर गेम गर्दै आएको छ । यो प्रतियोगिता ओलम्पिकपछिको खेलक्षेत्रको अर्को ठूलो कुम्भ मेला हो । समर गेमको ठिक दुई वर्षपछि विन्टर गेम पनि चार/चार वर्षमा हुँदै आएको छ ।

महादेशस्तर तथा विभिन्न मुलुकबीच मिलिटरी वल्र्ड च्याम्पियन प्रत्येक वर्ष हुन्छ भने आवधिक रुपमा प्रत्येक चार वर्षमा विश्वका सेनाबीच फुटबल प्रतियोगिता हुँदै आएको छ ।

विश्वका कयौँ चर्चित खेलाडी तत् देशको सेनाको पृष्ठभूमिसँग जोडिएका पाइन्छ । काउन्सिलले वल्ड क्याडेट गेम पनि प्रत्येक दुई वर्षमा सञ्चालन गरिरहेको छ ।

यसअघि उक्त गर्मीयामको प्रतियोगिता सन् १९९५ रोम, सन् १९९९ क्रोएसिया, सन् २००३ इटली, सन् २००७ भारत, सन् २०११ ब्राजिल, सन् २०१५ मा कोरियामा भएको थियो ।

विश्व शान्ति कार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजको रुपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पिन’ हो ।

नियमितरुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरी खेलाडी उत्पादन र खेलकूदको विकासका लागि नेपाली सेनाले महत्वपूर्ण योगदान दिँदै आएको महासेनानी रायमाझीले बताए । सैनिक पेशा र कौशलसँग सम्बन्धित खेललाई प्राथमिकतामा राखेर सेनाले खेल संरचना निर्माण गर्दै आएको छ ।

समग्र मुलुककै खेलकूद क्षेत्रको विकास र विस्तारका लागि नेपाली सेनाले ‘सैनिक खेलकूद भिजन २०३०’ समेत तयार गरेको छ । विश्व खेलका माध्यमबाट मुलुकलाई चिनाउनका साथै सम्पूर्ण खेलाडीको खेल कौशल र आत्मविश्वास बढाउन यो प्रतियोगिता कोसेढुङ्गा सावित हुने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ५ : ०६ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका