काठमाडौं– नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन आयोजना हुने भएको छ ।
नेपाल पक्षघात संघ र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा साउन ३१ गतेदेखि भदौ १ गतेसम्म यो सम्मेलन चल्नेछ । सम्मेलनमा नेपालसहित ११ देशका विज्ञहरूले प्रस्तुति दिने नेपाल पक्षघात संघका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिस्ट डा.राजु पौडेलले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गर्ने यस सम्मेलनको पहिलो दिनको वैज्ञानिक सत्रमा २८ अन्तर्राष्ट्रिय र ३२ राष्ट्रिय विज्ञहरूले प्रस्तुति दिनेछन् । यसमा क्लिनिकल प्रगति, अनुसन्धानका नयाँ जानकारी र नीतिगत दिशानिर्देशबारे छलफल हुनेछ ।
दोस्रो दिन भने सीपमा आधारित तालिम तथा कार्यशालाहरू हुनेछन् । यसमा एनआईएच स्ट्रोक स्केल, स्ट्रोक अनुसन्धान विधि, थ्रोम्बोलाइसिस, मेकानिकल थ्रोम्बेक्टोमी, बोटोक्स थेरापी, मौखिक र पोस्टर प्रस्तुतिजस्ता विषयहरू समेटिनेछन् ।
सम्मेलनको मुख्य उद्देश्य नेपालमा स्ट्रोकको वास्तविक अवस्था प्रस्तुत गर्नु र यससम्बन्धी चासोलाई उजागर गर्नु रहेको डा. पौडेलले बताए । यस सम्मेलनले नेपालमा स्ट्रोकको पछिल्लो अवस्था, निदान र व्यवस्थापनका प्रयासबारे स्पष्ट पार्नेछ, उनले भने, यसले नेपालका सात वटै प्रदेशमा स्ट्रोकको अवस्था र उपचारको पाटोलाई समेत उजागर गर्नेछ ।
यो सम्मेलन ज्ञान आदानप्रदान, क्षमता विकास तथा सहकार्यका लागि महत्त्वपूर्ण मञ्च बन्ने विश्वास नेपाल स्ट्रोक प्रोजेक्टकी प्रोजेक्ट म्यानेजर तथा सम्मेलनकी सचिव डा रचना नकर्मीले व्यक्त गरिन् ।
त्यसैगरी, यो सम्मेलनले नेपाल र सम्पूर्ण हिमालय क्षेत्रमा स्ट्रोकको रोकथाम, उपचार र अनुसन्धानलाई थप सुदृढ बनाउने लक्ष्य राखेको नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिस्ट डा। लेखजंग थापाले बताए ।
‘ नेपालमा स्ट्रोकको यथार्थ चित्र उतार्न यो सम्मेलन एउटा कोसेढुङ्गा साबित हुनेछ’, उनले भने ।
सम्मेलनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, डब्लूएचओ नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, वर्ल्ड स्ट्रोक अर्गनाइजेसन, एसिया प्यासिफिक स्ट्रोक अर्गनाइजेसन र एन्जल इनिसिएटिभले सहयोग गरेका छन् ।
सम्मेलनमा सहभागी हुन वर्ल्ड स्ट्रोक अर्गनाइजेसनका अध्यक्ष डा.जयराज पाण्डियन, निवर्तमान अध्यक्ष प्राध्यापक क्रेग एन्डर्सन, युरोपियन स्ट्रोक अर्गनाइजेसनका प्राध्यापक भालेरिया कासो, न्युजिल्यान्डकी प्राध्यापक अन्ना रान्टा, र एसिया प्यासिफिक स्ट्रोक अर्गनाइजेसनका पूर्व अध्यक्ष प्राध्यापक ब्युन्ह वु युन नेपाल आउँदैछन् ।
प्रतिक्रिया