फर्स्याइला भरत, ठट्टेउला मुन्धुमविद् | Khabarhub Khabarhub

संस्मरण

फर्स्याइला भरत, ठट्टेउला मुन्धुमविद्



भरत तुङघङ र मेरो पहिलो प्रत्यक्ष भेटघाट संयोगले भएको थियो, त्यो पनि अप्रत्यासित र हाँसउठ्दो तरिकाले । आज पनि म सम्झन्छु– त्यो भेटघाट निकै रोमाञ्चक थियो । सायद त्यो हाम्रो भेट त्यस्तै तरिकाले हुनु थियो होला ।

भेटको त्यो क्षण सम्झदा हाँसो पनि उठ्छ अनि कताकता एक तमासले मन अमिलो भएर आउँछ । वास्तवमा भनौं भने भरत र मेरो प्रत्यक्ष भेट झण्डै फिल्मी शैलीमा भएको थियो ।

करिब ७ बर्षअघिको कुरो हो– छोराको ल्यापटपमा समस्या आएकाले धरानको अनलाइन कम्प्युटर्सको तीनतला माथि उक्लिएँ । काउण्टर छेउमा पुगें, यसो हेरें– एकजना खाइलाग्दो जिउडाल भएको, चक्लेटी रंगको कुर्था र सेतो धोक्रे सुरुवाल लगाएको भुँडे मान्छे आफ्नो ल्यापटप देखाएर भन्दै थिए, ‘छोरीको ल्यापटप हो, आजै नबनाई नहुने रे ।’

मनमनै सोचें– यो भुँडेले छोरीलाई निकै माया गर्दाे रहेछ ।

मैले पनि काउण्टरका अर्का भाइलाई ल्यापटप देखाउँदै भनें, ‘मेरोचाँहि छोराको ल्यापटप हो, बिगारेछ…बनाइदिनुपर्‍यो !’

मेरो कुरा सुनेर त्यो मोटे मान्छे मतिर फर्किए, मैले पनि उसलाई हेरें– दुवैका आँखा जुधे । उनका आँखामा एक प्रकारको विशिष्ट चमक थियो । निकै आश्चर्य मान्दै हँसिलो मुद्रामा उनलेसोधे, ‘सायद…तपाईं फलानो हो ?’

मैले पनि पूरा आत्मविश्वासका साथ भनें, ‘सायद तपाईंं पनि फलानो हो ?’

हामी दुवैले स्वीकारोक्तिका रुपमा मुन्टो हल्लायौं । हात मिलायौं अनि हाँस्यौं । ठट्टा गर्दै हामी आफैंले आफैंलाई सोध्यौं, ‘हामीले एक अर्कालाई कसरी चिन्यौं ?’

हलमा ठूलो हाँसो भयो, हाम्रो ठट्टालाई रमाइलो मान्दै वरिपरि रहेका मानिसहरुले पनि हाँसो थपिदिए ।

हाम्रो भेटले रमाइलो वातावरण बनाएको थियो । ठट्टा ठट्टैमा हामीले एक अर्काको जानकारी तुरुन्त लियौं, दियौं । जानकारीका लिनेदिने क्रममा मैले थाहा पाएँ– उनी त मेरो मावली घर (म्याङ्लुङ बजार, तेह्रथुम, जहाँ मेरी माईली ठूलीआमा बस्नुहुन्थ्यो) को छेवैको घर गर्जमान निङलेकुकी साईंली छोरी मथुराका छोरा रहेछन् । हामी दुवैजनाका आमा छिमेकी, आफन्त र साथी रहेछन्। चिनजानकै क्रममा साइनो पनि केयायौं । उनी मेरा मावली साइनोबाट नाति र ससुराली (कान्छी श्रीमती) को साइनोले बहिनी–ज्वाइँ पर्ने रहेछन् ।

त्यही भेटकै दिन उनले मलाई आफ्नी कान्छी श्रीमती टीका सुहाङ (नाताले चेलीकी चेलीपट्टीकी बहिनी) को धरानकै स्टेडियम छेउको माइतीघरमा लगे, जहाँ हाम्रो नाता सम्बन्धबारे विस्तृत छलफल भयो । साँझमा उनले मलाई उनकै सवारीमा मेरो कोटरीसम्म पुर्‍याए । मेरी आमासँग पनि चिनजान भयो । आपसी नातागोताका बारेमा घरेलु र अनौपचारिक कुराहरु भए ।

भरत त्यतिबेला निकै भावुक र हर्षविभोर भए, जब मेरी आमाले आफ्नो वृद्धकाल(त्यतिबेला ७८ हाल ८५ बर्ष) को उमेरमा लेख्नुभएका दुई पुस्तक ‘सावरमती र पुर्खाका कीर्तिहरु’ उपहार दिनुभयो ।

शुरुमा त उनले आश्चर्य मान्दै सोधे, ‘बोजु आफैंले नै लेख्नु भएको हो त ?’ मेरी आमाले ‘वैशाली’ नामको अर्काे कथासंग्रह पनि प्रेसमा गइसकेको जानकारी दिनुभएपछि त झनै अविश्वासपूर्ण भावमा आफ्ना दुई हातलाई नमस्कार शैलीमा टाउकामाथि लाँदै भने– ‘हे, भगवान ! म आफूलाई निकै ठूलो मान्छे ठान्थें । एउटा पुस्तक लेख्दैमा मैले आफूलाई विद्वान ठानेको थिएँ, म गलत रहेँछु !

भाषा तथा मुन्धुमविद भरत तुङघङ

भरत कति महान थिए, एकजना बूढीआमाको मन राख्न आफूलाई सानो मान्छे बनाइरहेका थिए । उनले वृृद्धा हजुरआमाका ती दुई पुस्तक पढेर आफूले पनि त्यस्तै कथा, कविताहरु लेख्ने ईच्छा जाहेर गर्दा मेरी आमा फुरुङ्ग हुनुभयो ।

भरतका सरल, निष्कपट, आत्मीय कुरा सुनेर म मनमनै एक विद्वान, मुन्धुमविद र लिम्बू इतिहासका जानकारको प्रशंसक बनिसकेको थिएँ । साँच्चै त्यो हाम्रो भेटघाटले हामी दुईजनालाई अत्यन्त नजिक मात्र बनाई दिएन, हामी दुवैको रुचि र खोजीको विषयहरु लिम्बूवानको इतिहास, धर्म, संस्कृति र मुन्धुमबारे सघन छलफलको बाटो खोलिदिएको थियो । त्यस भेटपछि त हामी एक अर्काको घरमा निसंकोच आउने जाने गर्न थाल्यौं ।

हामी दुई जना भेटघाटका क्रममा मात्र नभई फोनमा समेत घण्टौंसम्म लिम्बू, लिम्बूवान र लिम्बूवानी इतिहास एवम् मुन्धुमबारे छलफल गथ्र्यौं । मैले एकजना असल आफन्त र मित्रका अतिरिक्त लिम्बू जातिको भाषा, संस्कृति, परम्पराका ज्ञाता एवम् महान मुन्धुमविदको संगत पनि प्राप्त गरेको थिएँ ।

वास्तवमा हामी दुईजना निकै अघिदेखि नै सामाजिक सञ्जालको माध्यमबाट परिचित त थियौं, तर आमने–सामने भेट भने भएको थिएन । चिनजानको प्रमुख माध्यम चाहिँ अर्जुन माबोहाङसंगँ सहलेखन गरेको ‘हज्सन पाण्डुलिपिमा गोर्खा, खम्बुवान र लिम्बूवान युद्ध’ नामक कृतिमा उद्धृत गरिएका मसँग सम्बद्ध विविध कागजातहरु, उद्धरण र प्रसंगहरुले उनले मलाई अप्रत्यक्ष रुपमा त चिनेकै थिए ।

उनको सो पुस्तक प्रकाशनअघि मेरोबारे सामान्य जानकारी लिएका रहेछन् । खासगरी वि.सं. २००७ सालको जनक्रान्तिमा लिङथेपहरुको भूमिकाबारे उनका ससुरालीबाट धेरै कुरा सुनेका रहेछन् । त्यसबेलाको चर्चित लिम्बूवानी सहर चैनपुर र तेह्रथुममा मुक्तिसेनाले कसरी कब्जा गर्‍यो भन्ने विवरणहरु पनि सुनेका रहेछन् । ती दुवै स्थानको युद्धको नेतृत्व गर्ने मुक्तिसेनाका कमाण्डर क्याप्टेन रत्नबहादुर लिङथेप (गोदबा) ले गर्नुभएको कुरासमेत उनले मलाई मज्जाले सुनाए । कप्तान रत्नबहादुर मेरो आफ्नै हजुरबुवा हुनुहुन्थ्योे ।

भरतका बाजे र मेरा बाजेको धनकुटा गौंडामा कामकाज गर्दा राम्रै परिचय रहेछ । उनले बाजेबाट हाम्रो परिवारबारे धेरै कुरा सुनेका रहेछन् । उपर्युक्त कारण र अनेक जिज्ञासाहरुले पनि भरत र मेरो सानिध्यलाई अझ कसिलो बनाउन मद्दत गरेको थियो।

हाम्रो भेटघाट प्रायः म पहाडबाट धरान झरेका बेला भइरहन्थ्यो । भेटको स्थान कि त भरतकै घर, कि त मेरै घरमा हुने गथ्र्याे । कहिलेकाहीँ चिया पसलमा हामी घण्टौंसम्म विविध विषयमा छलफल गरिरहन्थ्यौं ।

हाम्रा छलफलका विषयहरु हामी दुवैका रुचिका साझा विषयहरु हुन्थे । खासगरी लिम्बू, लिम्बूवान र लिम्बूवानी भूगोल तथा इतिहासबारे हाम्रा चासो र चिन्ता व्यक्त गर्नुका अतिरिक्त आपसका ज्ञानहरु पनि साटासाट गर्ने गर्थ्यौं ।

भरत र मेरो चिया पिउने पसलको कुनै नाम छैन, १२ बर्षअघि खोलिएको यो पसल छाताचोकमाथिको भित्री गल्लीमा छ । हिजोआज भरतबिनाको यो चिया पसल मेरा अनन्य मित्र डा. कमल तिगेला र मेरो भेटघाट थलो बनेको छ ।

अहिले पनि त्यो चिया पसलमा कहिलेकाहीं म एक्लै चिया पिउन बस्छु । चिया पसलकी बैनी भन्छिन्– ‘सारै असल मान्छे हुनुहुन्थ्यो, भरत दाइ । अनाहकमा एउटा असल मान्छे लगेर दैवले पापै गरेको हो ।’

भरतले हाम्रो भेटघाट र छलफलका क्रममा इतिहास र मुन्धुमलाई भाषण, गोष्ठी र सेमिनारमा सुनाउनुको सट्टा लेख र पुस्तकका रुपमा प्रस्तुत गर्ने मनसाय जाहेर गर्थे । लिम्बू जातिको इतिहास, मुन्धुम तथा संस्कृति बारे लेखिने पुस्तकका लागि आफू स्रोत व्यक्तिका रुपमा रहेर यो पंक्तिकारसँग सहलेखन गर्ने ईच्छा व्यक्त गर्थे ।

भेटका क्रममा नाम नखोल्ने शर्तमा एक–दुई नाम चलेका लिम्बू विद्वानप्रति आक्रोश पोख्थे र भन्थे– ‘मलाई लिम्बू जातिको इतिहास र मुन्धुम लेखन र अनुसन्धानका क्षेत्रमा लाग्ने मानिसहरु पनि स्वार्थी, लोभी, पापी र धोकेबाज पनि हुन्छन् भन्ने थाहा थिएन । जान–अन्जान धेरै धोका खाइयो ।’

पछिल्लो समय उनले आफ्ना दुईवटै नम्बरका मोवाइल स्वीच अफ गर्न थालेका थिए । हाम्रो सम्पर्क तेस्रो नम्बरबाट हुन्थ्यो । विविध कारणहरुले गर्दा भरत विरक्त हुन थालेका थिए । पारिवारिक झमेला, लिम्बू मित्रहरुबाटै हुने खिसीटिउरी एवं धाकधम्की, बिग्रँदो स्वास्थ्य अवस्था र आर्थिक कठिनाई आदिका कारण ज्यादै निराश हुन थालेका थिए ।

उनी भन्थे, ‘लिम्बू जातिको इतिहास र मुन्धुम सम्बन्धी आफूसँग भएका ज्ञान र जानकारीलाई लिपिबद्ध गर्न आफूले चाहेको तर त्यो ईच्छा अपूरो हुने सम्भावना छ ।’

भरतको यही ईच्छालाई मैले एक साँझ धरान घण्टाघरको चिसो सिमेन्टको बेन्चमा तातो चिया पिउँदै मेरा हितैषी मित्र कमल तिगेलालाई भनें, ‘भरतको लिम्बू समुदाय बारेको अथाह ज्ञानलाई लिपिवद्ध गर्न सके समग्र लिम्बू जातिका लागि इतिहास र मुन्धुमलगायत विविध विषयका अमूल्य उपहार दिन सकिन्छ । कमसेकम तपाई र म यस कार्यमा लागौं ।’

हतार हतारको हाम्रो त्यस भलाकुसारीमा हामी दुवैले यस कुरामा सहमति त जनायौं तर हाम्रो सहमति गर्न ढिला भइसकेको रहेछ । हाम्रो सल्लाह र सहमतिले सार्थक रुप लिन पाएन । यसको केही समयपछि नै भरतसँगको असामयिक बिछोडले यो कार्य अधूरो नै रह्यो ।

भरतका बारेमा म धेरै कुराहरु सम्झन्छु ।

एकदिन भरतका घरमा हामी दुईजना मात्र थियौंं । उनको पुख्र्यौली फलामे सेफबाट सयौं बर्ष पुराना कागजातहरु निकालेर हामी दुईजनाले केल्याइरहेका थियौंं । कुरैकुरामा उनले भने, ‘बाजे, मलाई यी कागजपत्रहरु व्यर्थैमा संकलन गरेँछु जस्तो लागिरहेको छ । यी कागजातहरुकै कारण मैले अपमान सहनु परिरहेको छ । कहिलेकाहीँ त यी सबै कागजपत्रहरु फाल्न मन लाग्छ । बरु बाजेलाई कुन कुन चाहिन्छ, कति चाहिन्छ, छानेर लानुहोस् ।’

मैले उनको अनुहारतिर हेरें । उनी भावुक मुद्रामा आफ्ना कुरा भनिरहेका थिए । उनी निकै निरास देखिन्थे । मैले उनलाई सान्त्वना दिँदै ती कागजपत्रहरु उनकै घरमा रहन स्वाभाविक हुने र योग्य विद्वानका साथमा रहँदा मात्र ती महत्वपूर्ण ऐतिहासिक कागजात, पुराना मोहर, पुराना मुद्रा, लिम्बू जाति सम्बद्ध विविध सामग्री तथा नगरानिशान (हातहतियार युद्ध सामग्री) आदिको संरक्षण हुने कुरा राखें ।

उनले भने कतिपय लिम्बू विद्वतजन ठान्नेहरुले नै खिसीटिउरी गर्दै नक्कली कागजहरु पोका पारेको भन्दै गिज्याउने र होच्याउने गरेको बताए । मैले उनलाई आफैँले राख्न मन नभए कुनै व्यक्तिलाई बाँड्नु वा उपहार दिनुभन्दा लिम्बू जातिको साझा संस्था किरात याक्थुङ चुम्लुङलाई दिनु उपयुक्त भएको कुरा सुझाउँदा त्यही प्रस्ताव केही सालअघि आफँैले राखेको र धनकुटाको कियाचु कार्यक्रममा सहभागी पनि भएको, तर आफ्नो चित्त दुखाएका कारण एक दुई सामग्री मात्र दिएर पठाएको दुःखेसो व्यक्त गरे ।

उनले छथरे समाजलाई पनि केही सामग्री दिएको उल्लेख गर्दै बाँकी सामग्रीहरुको संरक्षणका लागि अन्य उपाय सुझाउन आग्रह गरे ।

मेरो काठमाडौं भ्रमणका क्रममा ६ अक्टोबर २०१७ मा किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालयको संग्रहालय अवलोकन गर्दा लिम्बू जातिसँग सम्बद्ध सामग्रीहरुको संकलन थोरै मात्र रहेको देखेको थिएँ । यसर्थ, मैले उनलाई कियाचु केन्द्रीय कार्यालयलाई वा सो नभए धरानकै शाखालाई भए पनि दिन आग्रह गरें ।

विकल्पका रुपमा तपाईं वा तपाईंकै वंशका नाममा एउटा ट्रष्ट सञ्चालन गरेर पनि पनि राख्न सकिने बताएँ । तर, उनी यस कुरामा पनि सहमत भएनन् । अन्त्यमा ती सम्पूर्ण कागजात तथा संग्रहमा रहेका विविध सामग्रीहरुको विद्युतीय भण्डारण र डकुमेन्ट्री बनाउने कुरामा चाहीँ हामी दुवैको राय मिल्यो । तर, सक्कल सामग्री चाहीँ कसरी सुरक्षित गर्ने भन्ने कुरा त्यसै थाती रह्यो ।

हामी दुई जना करिब दुई बर्षदेखि एउटा प्रोजेक्टमा काम गरिरहेका थियौं । म लिङथेप वंशावली संकलन, लेखन र सम्पादनको कार्य गरिरहेकोे थिएँ । खासगरी पुराना लेखोट पढ्न, लेखोटमा प्रयुक्त शब्दहरुको शाब्दिक अर्थ पहिल्याउन, तिथि मितिहरुको क्रमवद्धता र सुदीवदी आदिको गणनाका साथै तुलनात्मक पुस्तावधि कायम गर्न हामीबीच छलफल भइरहन्थ्यो ।

संक्षेपमा भन्नु पर्दा– हामीहरु लिम्बू जातिको इतिहास, संस्कृति, परम्परा लगायत विविध विषयहरुमा विस्तृत बहस गर्थ्यौं । भरतसँग रहेका करिब एक सयभन्दा बढी लालमोहर, मोहर, रुक्का, सनद, ईस्तिहार, ढड्डा–तिर्जा, चिठ्ठी/तमसुक, अंशबण्डा, मुद्दा/मिलापत्र, सुभाङ्गी तथा राई पगरी खारेजी/बहाली आदिको डीएसएलआर क्यामेराबाट डिजिटाइजेसन गरिरहेका थियौं । उनले आफूसँग रहेका कागजातहरुलाई आधुनिक विधिबाट सुरक्षण र भण्डारण गर्न थालेका थिए ।

साँच्चै भन्नुपर्दा उनको घर एउटा सङग्रहालय नै मान्न सकिन्छ । पुराना मुद्रा, हातहतियार, काष्ठकलाका सामान, गहना, मूर्ति, पुराना कागजात आदिको अमूल्य संकलन रहेको छ ।

लिम्बूवान अध्ययन केन्द्र धरानको एक छलफलमा आफ्नो विचार राख्दै पंक्तिकार र सबैभन्दा छेउमा कालो जवाहरीकोट लगाएका भरत तुङघङ ।

वास्तवमा भरत तुङघङ इतिहासकारभन्दा बढी मुन्धुम र लिम्बू भाषाका जानकार थिए । अर्काे शब्दमा उनलाई मुन्धुमविद र भाषाविद भन्न सकिन्थ्यो । उनको छथरे भाषामा विशेष दख्खल थियो । उनले छथरे भाषा र अन्य लिम्बू भाषाबारे तुलनात्मक अध्ययन गर्दै थिए । उनी स्वयं नेपाली भाषा विज्ञानका विद्यार्थी भएकाले यस कार्यमा थप मद्दत पुगेको थियो । उनी छथरे भाषालाई लिम्बू भाषाको जननी भन्थे ।

उनको दावी यस्तो हुन्थ्यो–

“लिम्बू भाषा मध्येमा छथरे लिम्बू भाषा जेठो हो भन्ने हामी छथरेहरुको दावी हो । भाषाविद माइकलोभ्स्कीका अनुसार– ‘त’ ध्वनि ‘थ’ ध्वनिमा परिणत हुन्छ । अहिले छथरेले ‘तो’ (माथि)लाई ‘तो’ नै भन्छन् तर अन्यले माथि भन्नु पर्दा ‘थो’ भन्छन् । तर ‘तो’बाट (निर्माण) भएको ‘तोगु’(जित्यो)लाई अन्यले पनि थोगु नभनेर तोगु नै भन्छन्, किनकि (तोगु) शब्द निर्माण भइसक्यो ।

माइकलोभ्स्कीकै अनुसार– शुरु अक्षर ‘छ’ र ‘ब’ ध्वनि अन्य लिम्बू भाषामा पाइँदैन । ‘ब’ अक्षर ‘प’ भइसक्यो भने ‘छ’ ध्वनि ‘स’ भइसक्यो, तर छथरे भाषामा शुरु अक्षर ‘छ’ र ‘ब’ छँदैछ, जस्तै– शुरुको ‘ब’ अक्षर बा?मो= यता तल, बाङ्= यसको, बारिक= यति, बक्थाँ= यस्तो आदि । ‘छ’ बाट ‘छाम्बा’ र अन्यमा ‘साम्बा’ भइसक्यो । छाप्मा(गडेला) अन्यमा साप्मा, छिछिम्मा(काकी) सुमा, छा(बच्चा)बाट सा (भएको छ) ।

घरलाई छथरेमा ‘पाङ’ अन्यले ‘हिम’ तर घरैघर(भएको गाउँलाई) ‘पाङभे’ तर अन्यले ‘हिम्भे’ नभनेर छथरेकै ‘पाङ’ लाई समाएर ‘पाङ’ नै भन्छन् । छथरे(भाषा) जानेपछि सबै लिम्बू भाषा सजिलै बुझ्न र बोल्न सकिने तर अन्य लिम्बू भाषाका पारंगतले छथरे नबुझ्ने, लखले बुझे पनि बोल्न संभव नहुने (हुन्छ)।

संस्कृत (भाषा)बाट विकसित जुनसुकै भाषा पनि संस्कृतका सम्पूर्ण विधाको जानकारी भएपछि सजिलै बोल्न, बात मार्न सक्षम हुने तर संस्कृतबाट विकसित नेपाली, हिन्दी, मैथिली आदि भाषाका विद्वानले संस्कृत भाषा लखले बुझे पनि बोल्न नसक्ने (हुँदा) यी आदि कारणले छथरे भाषा अन्य लिम्बू भाषाको माउ (भाषा) हो भन्ने मेरो दावी हो ।” (६ मे २०१७ को फेसबुक पोष्ट)

वास्तवमा एउटा इतिहासकारले आफुले प्राप्त गरेको कुनै घटनाको जानकारीका तथ्य, सत्य, कथ्यलाई इमान्दारितापूर्वक तरिकाले प्रस्तुत गरेन भने सो गलत इतिहास सम्वन्धित व्यक्ति, वंश, जाति वा राष्ट्रका लागि अभिशाप बन्न सक्छ ।

यद्यपि भरत तुङघङको लिम्बू जातिको इतिहासको जानकारीप्रति साँच्चैको इमानदारिता थियो । उनले आफुले बुझेको इतिहासलाई कहिल्यै बंग्याउने कोशिस गरेनन् । उनले जे जाने, बुझे र विश्वास गरे, त्यही नै उनको सत्य ज्ञान थियो । उनले आफ्नो वंशका बारेमा पनि कहिल्यै झुट्टा कुरा गरेनन् । कुनै लिम्बू वंशको इतिहास बारे गलत कुरा संप्रेषण गरेनन्, यो नै उनको इमान्दारीपन थियो ।

उनले आफ्नै वंशका बारेमा लेखेको यो एउटा टिपोट उदाहरणका लागि हेरौं–

“तुम्खङ्वा, तुङघङवा, तुङघङ, तुङखङ, तुङखुङ, तुङहाङ, तुङगाहाङ, तुगुहाङ, तुम्हाङ अनि हिजोआज सुध्रिने तुम्बाहाङ सबै एउटै(थर) हो । आफ्नो थाँतथलो छोडेर देश विदेश पहिले नै जाने भ्रममा नपरौं र हाम्रो दाजुभाइ खवाँहाङ र होम्राक हुन्, त्यो पनि नभुलौं । अनि हाम्रो मिङस्रा छोराको वासाङदिङ कुवाप्मासा (र) छोरीको मेन्दुरिङ(मेन्नुरिङ) कुवाप्मासा (हो) । हाम्रो यक चोङसाहाङमा फुजुलुङ हो ।” (२२ अगष्ट २०१७ फेसबुक पोष्ट)

यो माथिको सानो उद्धरणले तुम्बाहाङ वंशका बारेमा मात्र नभई समस्त लिम्बू जातिकै लागि धेरै सन्देश दिएको छ । प्रस्तुत टिपोटले तुङघङ वंशको मिङस्रा र त्यसको अनेकता, वंश र वंश समूह र माङगेन्ना यक समेत स्पष्ट उल्लेख भएको छ ।

यहाँ विचारणीय कुरा के छ भने– खवाँहाङ र होम्राकहरुलाई तुङघङको दाजुभाइ मानिएको छ । स्मरणीय छ– होम्राक आठपहरिया वंश हो । होम्राकहरु आफूलाई आठपहरिया मान्दछन् ।

यही कुरा जान्दाजान्दै पनि भरतले होम्राकहरु आफ्नो दाजुभाइ रहेको तथ्य र इतिहासलाई लुकाएनन्, बरु कटु सत्यलाई सहजै स्वीकार गरे । उनले मसँगको एक वार्तामा एउटा यस्तो कथा सुनाए–

“एकजना तुङघङले हुचिल मारेर खाएछ । हुचिल खाएपछि उ ‘हुहु हुहुम’ भन्दै हिँड्न थालेछ । मानिसहरुले उसलाई हुचिल खाने भनेर गिज्याउँदै होम्राक भन्न थालेछन् । उ दाजुभाइहरुबाट पनि तिरस्कृत भएछ ।

तुङघङहरुकै छिमेकी आठपहरिया जातिमा ‘छोरालाई अंश छोरीलाई वंश’ भन्ने सामाजिक रीति छ । यस रीति अनुसार आठपहरियाका छोरी बिहे गरेर घरज्वाइँ बसेमा आठपहरिया वंशमा सामेल गरिन्छ । ठीक यही रीति बमोजिम दाजुभाइबाट तिरस्कृत होम्राकले आठपहरियाकी छोरी विवाह गरी आठपहरिया बनेको हो ।”

सन् २०१७ को अक्टोबरको अन्त्यतिर एक दिन हाम्रो जमघट भरतकै निवासमा भएको थियो । त्यस दिन भरत आफैंले दुई पटक ग्रीन टी बनाएर पिलाएपछि मैले ठट्टा गरें– ‘ज्वाइँ सुध्रेको हो कि नाति इमान्दार भएको हो ?’

भरतसँग मेरा दुईवटा नाता थिए– नाति र बहिनी–ज्वाइँ । मावली साइनोबाट नाति पर्ने र निजकी कान्छी श्रीमती मेरी फुपू बोजुकी नातिनी, मेरी बहिनी भएकीले ज्वाइँ पर्दथे ।

भरत पनि के कम ? व्यङ्ग हान्दै भने, ‘बाजेको जस्तो खान्दानी इञ्जिन नभएकाले हार्ड ड्रिंक्स पचाउनै नसकेर ‘ग्रीन टी’तिर पो लागियो !’

पुराना हातहतियारहरुको निजी संग्रहालयमा मुन्धुमविद भरत तुङघङ

ठट्टापछि हाम्रो लामो हाँसो चल्यो । तत्कालै उनले भद्र शब्दमा आफ्नो स्वास्थ्यका कारण हार्ड ड्रिंक्सहरु सेवन गर्न छाडेको बताए ।

सारै भद्र र सुशील थिए भरत । उनी आफ्ना विचारहरु स्पष्टसँग राख्थे । उनको स्वभाव शालीन र शिष्ट थियो । व्यक्तिगतरुपमा जतिसुकै व्यस्तता भए पनि जातीय सवालका भेला, गोष्ठी तथा छलफल कार्यक्रमहरुमा पुगिहाल्ने उनको बानी थियो । व्यक्तिगत क्षमताका कुरा गर्ने हो भने उनी पुराना लेखोटहरुमा लेखिएका कुराहरु तुरुन्त पढ्न, कण्ठस्थ भन्न र तुरुन्तै व्याख्या गर्न सक्थे ।

विभिन्न लिम्बू वंश र कुलवंशहरुका बारेमा फलानो मितिमा यी यी कुरा भएका हुन्, फलानो कागजमा यसरी लेखिएको छ भनेर भन्न सक्ने खुबी भरतमा थियो । आफूले अध्ययन गरेका पुस्तक, पत्रिका, लेखोटहरुको सारांश जहिले पनि एकनासले भन्न सक्थे । उनको स्मरण शक्ति पनि गजबकै थियो, आफ्नो अध्ययन भ्रमणका क्रममा वा अन्य अवस्थामा प्राप्त जानकारीहरु फटाफट भन्थे ।

उनी आफै स्वीकार गर्थे र भन्थे, ‘म एकघण्टा लगातार भाषण गर्न सक्छु, तीन घण्टा पढिरहन सक्छु तर दस मिनेट लेखिरहन सक्दिनँ । मेरो कमजोरी यही हो । मेरो यही कमजोरीलाई केही मान्छेले उपयोग गरे ।’

मेरो एक ठट्टा र जिज्ञासाको उत्तरमा उनले निष्कपट भावमा भने, ‘केही लिम्बू वंशहरुको वंशावली लेख्न मद्दत त गरेकै हुँ तर कुनै पारिश्रमिक लिइनँ । मसँग भएका पुराना कागजातहरुको भरपूर उपयोग भएकै हो । अहिले जग्गाको कारोबार पनि गर्छु, तर यो काम जागिरपछिको समयमा गर्छु । त्यसैले मेरो यो पेसा गलत हो जस्तो लाग्दैन ।’

लिम्बू जातिको उत्पत्तिका बारेमा उनको विचार स्पष्ट थियो । याक्थुङ मुन्धुमले लिम्बू जातिको उत्पत्तिस्थल ‘इङबिरी याङथाङवा’ सभ्यता भन्छ । ब्रह्माण्ड र मानव उत्पत्तिका बारेमा याक्थुङ मुन्धुमले आफ्नैखालको सृष्टिकथा वर्णन गर्छ । सारा चराचर जगतको उत्पत्ति, विकास र विस्तार तमोर सभ्यताबाटै भएको वर्णन गर्छ । तर विज्ञानले व्याख्या गरेको ब्रह्माण्डको सृष्टि, प्राणीको उत्पत्ति र विकास सम्बन्धी सिद्धान्त मुन्धुमसँग तादाम्य राख्दैन ।

मुन्धुम र विज्ञानलाई सँगसँगै बुझ्ने सामथ्र्य भरतसंग थियो । उनी भन्थे, ‘अहिले कतिपय लिम्बू वंश र वंशावलीहरुले उनीहरुको उत्पत्तिस्थल ईङबिरी याङथाङवा नभई पूर्वाेत्तर एशिया, एशिया माइनर, कासी (तिब्बत) आदि बताएका छन् । त्यस्तै उनीहरुले आफूलाई काशीवंशी, ताइश्यानवंशी, सेनवंशी, सौमरवंशी पनि बताएका छन् । अर्काे शब्दमा भन्नुपर्दा इङबिरी याङथाङवा सभ्यता माबोवंशी लिम्बूहरुको हो भन्नुमा कुनै द्विविधा छैन ।’

भरतको उच्च शिक्षा नेपाली भाषा भए पनि लिम्बू जातिको इतिहास, संस्कृति र परम्पराका उनी प्राज्ञ थिए । उनी जिज्ञासु, अध्ययनकर्ता मात्र होइन, अथाह ज्ञानका भण्डार पनि थिए, यसमा कुनै शंका छैन ।

भरको असमायिक महाप्रस्थानले उनको व्यक्तिगत क्षतिसँगै सम्पूर्ण लिम्बू जातिका लागि अपूरणीय क्षति भएको छ, जसको भरपाई हुने कुनै सम्भावना नै नभएजस्तो प्रतीत हुन्छ ।

भरतबारे मैले दोहोर्‍याएर भन्नुपर्ने कुनै कुरा छैनन् । उनको मृत्युपछि एक मित्रको लेख स्थानीय अखबारमा प्रकाशित भएको थियो, सो लेखमा मैले यस्तो टिप्पणी गरेको थिएँ–
‘भरतका बारेमा थुप्रैले लेखे, धेरैले बोले, तर मलाई लाग्छ– भरतलाई धेरैले नजिकबाट चिन्न सकेका थिएनन् । धेरैले भरतलाई बोलाउँथे– आग्रह गर्थे, केही न कही माग्थे अनि केही अनि कोही उनलाई दंग्याउँथे र केही उनलाई धम्क्याउँथे तर उनी डराएनन् । साँच्चै उनी आँटिला थिए, कोही कसैसंग झुकेनन् । आस्था र विचारलाई त्याग गरेनन्, कहिल्यै गलत विचारलाई साथ दिएनन्, भरतले; यसकारण म भरतलाई सदा सम्मान र संझना गरिरहन्छु । उनको विद्वतालाई हामीले उपयोग गर्न सकेनौं । भरतसँग धेरै कुरा थिए तर हामीले माग्यौं मात्र, लिन सकेनौं । मलाई यही कुराको अफसोस छ !’

केही बर्षको छोटो संगतमा भरत र मेरो सान्निध्य यति बढ्यो कि हामीबीचको भेट नभएको अवस्था खैनी वा चुरोटको तलतल लागे झैं हुन्थ्यो । कहिले फोनबाट त कहिले घरैमा भेटेर पनि हामी आपसी भेटघाटको तलतल मेट्ने गर्थ्यौं ।
धेरैजसो भरत नै मेरो घरमा आउँथे । यसको मूल कारण मेरी आमा र उनकी आमा मथुरा निङलेकु छिमेकी र दौंतरी साथी हुनुहुन्थ्यो । सायद स्वर्गीय आमाको तिर्सना मेट्न भरत आइरहन्थे होलान् ।

प्रायः मसँगको गफगाफ सकेपछि फेरि उत्ति नै समय भरतले मेरी आमासँंग गफ गरेर बिताउने गर्दथे । कहिलेकाहीँ मेरी आमाकै कथाकहानी र कविताहरु पढेरै समय बिताइ दिन्थे । मेरी आमासँंग उनले तेह्रथुमका पुराना घरानियाँ कुराहरु सोध्थे ।

ऊबेला तेह्रथुमका तुम्बाहाङफे परिवार र राणा खलकको राम्रो सम्बन्ध थियो । त्यस्तै पछिबाट नारायणहिटी दरबारसँग पनि तुम्बाहाङफे परिवार निकट नै रहेको थियो । उनको चासो ती अदृश्य पाटाहरु बारे हुन्थे, जो लिम्बू र तत्कालिन राज्यसत्ताको सम्बन्धबारे हुन्थे ।

भरतकै परिवार पनि दरबारसँग निकट सम्बन्ध राख्थ्यो । धनकुटा गौंडाका अड्डा अदालत त उनको परिवारका लागि सहज र पहुँचमा रहेका थिए ।

सारै फस्र्याइला थिए– भरत । अनि, ठट्यौला मुन्धुमविद पनि । मेरो जीवनमा भरतबारे सदा खटकिरहने धेरै कुराहरु मध्ये एउटा कुरा छ– फोटो सम्बन्धमा ।

हामी दुईले केही थान फोटो खिचेका थियौं । तर, के भएर हो ? मसँग कुनै पनि फोटो सुरक्षित रहेनन् । अहिले पनि मलाई थकथकी लागिरहन्छ । कम्तिमा एउटा सेल्फी लिएको फोटो त बच्नुपर्थ्यो । सायद हामी दुईको नियतिमा यही कुराको मञ्जुरी थियो होला, कि मृत्यु उपरान्त तिमी दुईको सान्निध्य, मित्रता र एकताको केही प्रमाण नभेटियोस् !

उनले मलाई दिएका केही थान मोहर र रुक्काका प्रतिलिपि बाहेक मसँग अरु केही छैन । उनको अप्रत्यासित र कहालीलाग्दो महाप्रस्थानले मसँग भौतिक सान्निध्य पनि छैन । त्यसैले उनी मेरो सम्झनामा मात्र जीवित रहेका छन् ।

कहिलेकाहीँ उनको फेसबुक पेज खोलेर हेर्छु । तर, उनको पेज कहिल्यै अपडेट भएको हुँदैन । अनि म मनमनै आफैँलाई भन्छु– तैंले भरतलाई सम्झने कम्तिमा एउटा बहाना त पाएको छस् !

बस् । भरतबारे यत्ति नै !

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ५ : ५३ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका