वैदेशिक रोजगारीको बेथिति : चिया पकाउन नजान्नेलाई ‘कुक’ को जागिर !   | Khabarhub Khabarhub

वैदेशिक रोजगारीको बेथिति : चिया पकाउन नजान्नेलाई ‘कुक’ को जागिर !  



काठमाडौं– वैदेशिक रोजगार विभागको कार्यालय ताहाचल परिसरमा महोत्तरीका ८१ वर्षका रामबाबु राय हातमा निवेदन बोकेर ब्लग ‘ए’ को १८, १९ र २६ नम्बरको कोठा–कोठा भौँतारिरहेका थिए । एक महिना अगाडी साउदी पठाएको छोरो अलपत्र परेपछि छोराको उद्धारको लागि मेनपावर धाए । तर मेनपावरले बेवास्ता गरेपछि उनी सरकारी निकायमा पुगेका छन् । 

खबरहबसँग कुरा गर्दै भन्छन्, ‘मेनपावर भनेको पैसा लिने बेलामा मात्रै हामीसँग हाँसेर बोल्ने रहेछ । यिनीहरू हामीले हातमा पैसा नदिँदासम्म राम्रो व्यवहार गर्ने तर समस्या परेपछि नचिन्ने रहेछन् । गल्फ लिङक ओभरसिजले मेरो छोरा फिर्ता ल्याउन कुनै सहयोग गरेन । सञ्चालक समीक्षा पाण्डेले बेवास्ता गरिन् ।’ 

रायका दुई छोरामध्ये साउदी पुगेको आशिष् जेठा छोरा हुन् । २८ वर्ष उनका ३ बालबच्चा छन् । गाडी चलाउने काममा पठाएको महिना दिन बित्न लाग्यो तर काम दिएको छैन । लेबर काम गर्न बाध्य पारेको छ । राम्रोसँग बस्न खान पाएको छैन । राती ११ बजे आएर कोठा खाली गर्न धम्की दिएको छ । 

अर्को राय परिवारले मेनपावरलाई एक लाख ३० हजार रुपैयाँ बुझाएको छ । तर पैसा कुनै भौचर वा विद्युतीय कारोबार नभई हातमा पैसा बुझाएका छन् । रायका अनुसार आशिष् सर भन्नेलाई नगदै दिएको बताए । 

पैसा बुझाएको मानिसको पुरा नामसमेत उनीहरूलाई थाहा छैन । तर मेनपावरको सीसी क्यामेरामा कैद भएको प्रमाण आफूहरूसँग भएको उनी बताउँछन् । ‘मेडिकल गर्दा र यताउता खर्च जम्मा ८० हजार लागेको छ । अब यो मुद्दामा कति दिन काठमाडौंमा रोकिनुपर्ने हो थाहा छैन । मेरो छोरा र पैसा फिर्ता गरिदिनुपर्‍यो’ रायले भने । 

विभाग धाउँदा–धाउँदै गलेँ, गाउँ फर्किन्छु : ऋषिराम चौधरी

टिकापुर कैलालीका ४५ वर्षीय ऋषिराम चौधरी वैदेशिक रोजगार विभागको कार्यालय धाउँदा धाउँदा आफू गलेको बताएका छन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘काठमाडौंमा खादा, बस्दा र पठाओ चढ्दा दिनको २ हजार बढी खर्च भएको छ । एकहप्ता बित्यो । अझै कति दिन बस्नुपर्ने हो । यहाँ बस्ने खर्च धान्न सकिन्न । अब पैसाको आस मारेर फर्किऊ जस्तो भइसक्यो ।’
 
ऋषिरामका २४ वर्षीय छोरा रमेश चौधरी पहिलो पटक वैदेशिक रोजगारको क्रममा साउदी गएका हुन् । ११ सम्म अध्ययन गरेका छोरालाई क्लिनरको काम गर्ने भनेर लगेर अहिले मेनपावरले अलपत्र छोडिदिएको छ । ३ महिनादेखि छोरा बेरोजगार बस्नुपर्‍यो । गोठ जस्तो ठाउँमा राखे । घरबाटै पैसा पठाएर खाना किनेर खानु परेपछि २४ दिन जेल बसेर स्वदेश फिर्ता भए । 

तर छोरालाई जेलमा अत्यन्त चिसो एसीमा राखिएका कारण टाइफाइड भएको उनी बताउँछन् । भन्छन्, ‘नेपाल फर्किन मेनपावरले पहल नगरेपछि जेल बसेर फिर्ता आयो । जेल बस्दा पनि दलाललाई पैसा बुझाउनु पर्छ । कमाएर फर्कनुपर्ने छोरा ओछ्यानमा बिरामी भएर थला परेर घर आएको छ । मेरो मन जति घरमा छोरालाई के भयो ? कसो भयो ? भन्नेतिर छ । यहाँ विभागले मेनपावरबाट पैसा फिर्ता गराइदिन ढिला गर्‍यो ।’

पैसा मन मारेर घर फर्किने सोच बनाएको चौधरीको भनाइ छ । मेनपावरका मुख्य मान्छे राजेश्वर यादव र विनोद विष्ट हुन् । टेल्सा ओभरसिज सिनामंगलमा रहेको छ । काम दिन सकेन भने फिर्ता ल्याइदिने र लागत पैसा पनि फिर्ता गर्ने मौखिक सहमति भएको हो । त्यही अनुसार फिर्ता गर्नुपर्‍यो । २ लाख १५ हजार पैसा बुझाएको हो ।

ऋषिका छोरासँगै अरु चार जना साउदी गएका थिए । त्यसमध्ये एक जना बिरामी भएर कम्पनीले फिर्ता पठाएको थियो । दुई जना जेल बसेर फर्किए । अझै एक जना उतै अलपत्र छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्याङ्कले पनि वैदेशिक रोजगारमा हरेक वर्ष ठगीमा पर्नेहरूको संख्या बढ्दो छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको त्रिवर्षिय तथ्याङ
आर्थिक वर्ष मुद्दा संख्या फछ्र्यौट हुन बाँकी जम्मा विगो 
२०७९/०८० २०४ ३२ ४,१४,२८,१००
२०८०/०८१ ५७८ ४५० ६,४५,५९,५५०
२०८१/०८२ ५२६ ३९६ ९,१६,४१,१००

अर्काको पैसा चलाउन मेनपावर दर्ता भएका छन् ः प्रहरी 

काठमाडौं उपत्यका अपराध अनुसन्धानका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यले विदेश पठाउन नभई, अर्काको पैसा चलाउन मात्रै पनि मेनपावर दर्ता हुने गरेको बताउँछन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘अर्काको पैसा ६ महिनादेखि दुई वर्ष चलाउन वैदेशिक रोजगारको प्रलोभनमा पारेको देखिन्छ । आधिकारिक मेनपावर कम्पनी हुँदैन । त्यो नाम मात्रको हुन्छ ।’ 

‘वैदेशिक रोजगारीको क्रममा हुने ठगी मुद्दा हेर्ने विभाग हो । विभागले पैसा जम्मा गर्ने भौचरमा लेखिएकोलाई प्रमाण मान्छ, प्रवक्ता थप्छन्, ‘तर कतिपय बिचौलियाहरूले भौचरबाट नलिई सापटी लिएजस्तो ह्याण्डक्यास लिने गरेका छन् । ऋण लिएको भनेर कागज बनाएको पनि देखिन्छ । त्यस्ता पीडितमा प्रहरीकोमा आउँछन् ।’

अर्को वैदेशिक रोजगारको नाममा अनलाइन स्क्याम हुने गरेको आचार्यको भनाइ छ । ‘विदेश जाने शुल्क भनेर पैसा जम्मा हुन्छ । मेनपावरले कुनै एजेन्टको खातामा जम्मा गर्दिन भन्छन् । अब एजेन्टको खातामा जम्मा गरेको पैसाको पछि मेनपावर जिम्मेवार हुँदैन, उनी थप्छन्, ‘जसलाई पैसा हालिदिएको हो उसैलाई खोज भन्छ । मेनपावरको खातामा पैसा हुन्न । पीडितलाई न्याय ढिला मिल्नुको मुख्य कारण यही हो ।’

नागरिकहरूले नै राम्रोसँग बुझ्न सकिरहेका छैनन् । राज्यले श्रम स्वीकृति दिएको देशमा मात्रै जान सकिन्छ । अन्य देशमा जान सकिँदैन भन्ने सामान्य कुरा बुझ्न सकिरहेका छैनन् । श्रम स्वीकृति नभएको देशमा धेरै पैसा कमाउने प्रलोभन परेर ठगिएका छन् । मेनपावर कम्पनीको आधिकारिकता नबुझी हतार गरेका छन् ।  

अर्को मुख्य समस्या भनेको योग्यता र क्षमता नभएको कामका लागि विदेश पठाइदिन्छु भन्दा पनि पत्याउनेहरू धेरै ठगीमा परेको प्रवक्ताको भनाइ छ । ‘नेपालमा चिया पकाउन नजानेको व्यक्ति विदेशमा कुकमा जाने कोसिस गरेका छन् । जबकि विदेशमा भाँडा माझ्नसमेत तालिम लिएको हुनुपर्छ । हरेक मानिसलाई थाहा छ । त्यो नहुँदा  पनि विदेशमा उक्त कामको लागि जान्छु भनेर हिम्मत गर्ने ?’ उनी प्रश्न गर्छन् । 

प्रवक्ता आचार्यले वैदेशिक रोजगारमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू बुँदागत रूपमा भनेका छन् । 
– मेनपावर कम्पनी आधिकारिक हो वा होइन बुझ्ने 
– श्रम स्वीकृति भएको देश हो वा होइन बुझ्ने 
– भौचर विना, ह्याण्डक्यास नबुझाउने
– आधिकारिक मेनपावरको खातामा मात्रै पैसा जम्मा गर्ने 
– आफ्नो योग्यता नभएको काममा नजाने 
– विदेश जानेबारे घरपरिवार, साथीभाइ र आफन्तसँग सल्लाह गर्ने 
– सम्भव भएसम्म प्रहरीसँग समेत सल्लाह लिने 

कानुनमा के छ ? 

वैदेशिक रोजगार ऐन २०६४ को दफा ३६ को उपदफा २ मा रोजगार दाताले सम्झौता बमोजिम रोजगार उपलब्ध नगराएको प्रमाणसहित विभागमा उजुरी परे । पीडितलाई विदेश जान लागेको सम्पूर्ण खर्चको क्षतिपूर्ति भराइदिने आदेश दिन सक्छ । 

दफा ४३ का अनुसार ऐन विपरीत वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरी झुटो आश्वासन दिएर रकम लिएमा वा विदेश पठाएमा लिएको रकम र सोको ५० प्रतिशत जरिवाना हुनेछ । त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च भराई निजलाई ३–५ लाख रुपैयाँ जरिवाना र ३–७ वर्षको कैद सजाय हुनेछ । 

विदेश नपठाइसकेको भए यसको आधा सजाय हुन्छ । त्यसैगरी दफा ४६ ले सरकारले श्रम स्वीकृति नदिएको देशमा पठाएमा ३–७ लाख जरिवाना र ३–५ वर्ष कैद सजाय हुनेछ । दफा ५५ अनुसार करार विपरीत कम्पनीमा लगाएमा एक लाख रुपैयाँ जरिवाना गरिएको छ । तर एक वर्षभित्रमा उजुरी नदिएमा सोउपर कारबाही हुनेछैन ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ६ : २४ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका