काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले डिल्ली बजार जेलबाट रिहा भएपछि पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
गत चैत १५ गते पत्रका सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनबीचमै भागेका उनी चैत २६ गते भारतको आसामबाट समातिएका थिए ।
हिंस्रक प्रदर्शनलाई भड्काउन भूमिका खेलेको आरोपमा उनलाई जेठ ३० गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
गत साउन १९ गते डिल्ली बजार कारागारबाट रिहा भएदेखि मौन बस्दै आएका प्रसाईंले सोमबार भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गर्दै अन्य राजावादी दल र समूहलाई सक्दो गाली गरेका छन् ।
उनले चैत १५ को घटनाबारे पनि सार्वजनिक रुपमा बोल्दै आफूलाई ‘इन्काउन्टर’ गर्ने सरकारको योजना थाहा पाएपछि भारततिर भागेको बताएका छन् ।

के भने ? उनकै शब्दमा
चैत १५ गते, के हो त चैत १५ गते ? चैत १५ गते हामी यहाँबाट निस्क्यौँ । हामीले ०७९ फागुन १ गतेदेखि एउटा अभियान चलायौँ । त्यो अभियानले के गर्यो भन्दा आमजनतामा हामी कहाँ छौँ, के रहेछ भन्ने प्रष्ट्यायो । इभन तपाईंहरूलाई पनि बुझायो । सबैलाई सचेत गरायो ।
आज बैंकको पैसा किन लगानी हुँदैन ? यही सचेतना हो । यी–यी तस्कर हुन भन्ने कुरा चिने । त्यसकारणले गर्दाखेरि हामी चैत १५ गतेको पर्खाइमा थियौँ । चैत १५ गते हामीलाई मार्छन् भन्ने योजना मलाई त्यही दिन राति थाहा थियो ।
तर, पनि म तापाईंहरूलाई भन्छु– म नभनी गएँ । मैले भन्यो भनेँ फेरि भोलि कोही आउँदैन । मैले अघि नै भन्यो भनेँ । म तयारीका साथ गएको थिएँ । तर, मलाई त्यहाँ गएर बाँच्नु थियो । म जाने बित्तिकै त्यो मञ्चको पछाडिको घरबाट गोली प्रहार भएको थियो मलाई । म छतमा थिएँ । म यहाँबाट जाँदाखेरि खुशी मनाउँदै १० औँ हजार मान्छेसँग म गएको गाडीको छतमा बसेर । सबै जनालाई सम्बोधन गर्दै, हातले नमस्ते गर्दै ।
हातले सम्बोधन गर्दै गएको मान्छे, तीनकुने त्यो ट्राफिक आइल्यान्डमा पुग्दाखेरि एकैचोटि त्यहाँ गोली चलिराखेको छ अघिदेखि । म पुग्नुभन्दा ४५ मिनेट अगाडिदेखि गोली चलेको हो । तपाईंहरू सबैलाई थाहा छ नि । तपाईंहरू त त्यहीँ हुनुहुन्छ ।
जब म पुगिसकेपछि मैले हेरेँ, आँखा पोल्यो । आँखा के ले पोल्यो भनेर मलाई थाहा छैन त्यहाँ पुग्दाखेरि कि गोली चल्दैछ । गोली त म पुगेपछि चल्छ होला भनेको, अघिदेखि चल्न थालेको रहेछ ।

त्यसपछि मैले अगाडि हेर्दाखेरि के देखेँ भन्दाखेरि त्यहाँ मान्छेहरू लडिराखेको, मञ्चमा धुँवा उडिराखेको, मञ्चको पछाडिपट्टीको घरबाट मलाई ताकेर गोली हानेको मैले देखेपछि छतबाट म गाडीबाट हाम फालेर, मैले ड्राइभरलाई निकालेर, मेरो ड्राभइर को थियो मलाई थाहा छैन अहिलेसम्म । ड्राइभरलाई निकालेर मैले गाडी चलाएँ । म अघि बढेँ ।
मैले लगभग १० वर्ष भएको थियो गाडी नकुदाएको । तर, पनि म गाडी राम्रो कुदाउँदो रहेछु त्यो दिनको घटनाले मलाई थाहा दियो, प्रुभ गर्यो । मलाई किन भनेदेखि त्यहाँ मलाई अघिल्लै दिन बेलुक के आएको थियो भने घुसपैठ हुन्छ, र तँलाई मार्ने योजना छ भनेर भन्या थियो । तर, कसरी हुन्छ होला भन्ने थाहा थिएन ।
पछि सोसल मिडियाले यसरी प्रष्ट पारिदियो, ड्रेस बिनाका मान्छेहरू, हो कि होइन ? हातमा पेस्तोल, कान्तिपुरको साइडमा त खुकुरी र लठ्ठी लिएर बसेका थिए रे । किन खुकुरी र लठ्ठी लिएर बस्ने ? त्यहाँ त हाम्रो उद्घाटन कार्यक्रम हो नि त । हामीले एउटा टाइम तोकेर गर्ने कार्यक्रम थियो ।
त्यो कार्यक्रम किन त्यस्तो गरे त भन्दाखेरि राज्यसत्ता हामीसँग डरायो । जो नयाँ आउँछ नि त्योसँग राज्यसत्ता डराउँछ । र, तपाईंहरूले एउटा कुरा के बुझ्नुस् भने त्यसपछाडि म एकैचोटि गाडी लिएर कहाँ गएँ भन्दा पुलिसकोमा गएँ । मैले त्यो गाडी हाँकने बेलामा हाँक्दाहाँक्दै मैले के सोचेँ भने मार्ने योजना छ भने एकदुई जनालाई, दुईचार जनालाई भनेको हुन्छ, सबैलाई त भनेको हुँदैन ।
त्यसकारणले गर्दाखेरि मैले पुलिसकै गुँडभित्र छिर्नुपर्छ भनेर म पुलिसकै गुँडभित्र छिरेँ । त्योपछाडि मलाई एकजना डीएसपी साबले आएर तपाईंले जे गर्नुभयो, ठीक गर्नुभयो प्रसाईंजी अब गएर तपाईं आफ्नो कार्यक्रम सकेर निस्किनुस् भनेर मलाई मञ्चमा पुर्याउँदाखेरि जाँदै थिएँ यहाँ बीचमा हाम्रो पत्रकार साथी हुनुहुन्थ्यो, उहाँसँग मेरो पर्यो ।
अब के गर्नु भन्नुहुन्छ, त्यहाँ भागेको भाग्यै छ, हिँडेको हिँड्यै छ, अब के गर्छु भन्नु ? आँखा पोलेको पोल्यै छ । उहाँ नै है फेरि (पत्रकारतर्फ इंगित गर्दै) । त्यसपछाडि मञ्चमा चढेर बोल्न थाल्दाखेरि मैले भनेको शब्द त्यही हो नि ? पुलिससँग धक्कामुक्की नगर्नुस्, ढुंगा नहान्नुस्, पुलिसले पनि घरमाथिबाट के नगर्नुस् भने अश्रुग्यास हान्ने काम, गोली चलाउने काम नगर्नुस् भन्या हो नि मैले ?
त्यति भन्दाखेरि फेरि छतबाट गोली आउन थालिसकेपछि मलाई त्यतिखेरै एकजना कोही मान्छे, पुलिसकै मान्छे हो, सिविलको मान्छे, आएर मलाई शुभचिन्तक छन्, धेरै मान्छे, आएर मलाई तपाईंलाई मार्ने योनजा छ– तपाईं यहाँबाट निस्किनुस् भनेपछि म त्यहाँबाट निस्किएँ ।

कफ्र्यु लाग्दा मैले काठमाडौं छोडिसकेको थिएँ । मैले बुझेँ किन भने मलाई इन्काउन्टर गर्ने आदेश रहेछ । हेर्नुस् । किन इन्काउन्टर गर्न आँट्यो भन्दाखेरि हेर्नुस्– यो देशमा मदन भण्डारी बाँचेको थियो भने नि अरूको चान्स आउँदैन थियो अहिलेसम्म । त्यही भएर मदन भण्डारीलाई मारियो । यो कुरा बुझ्नुस् ।
राजा वीरेन्द्र शाहलाई नमारेको थियो भने नि यो देशमा तपाईंको के भन्छ यो हिन्दु भन्ने शब्द हटाएर के भन्छ यो धर्म निरपेक्ष बनाउन पाइँदैन थियो क्या । त्यो प्रतिमुर्ती नै फ्याँकियो, राजा वीरेन्द्रलाई मारेर । कुरा बुझ्नु भो ? मदन भण्डारीलाई मार्ने एक जना मरिसके, अरू जिवितै छन् । कसको योजनामा हो भन्ने समयले देखाउँछ । समयले देखाउँछ ।
चैत १५ को घटना पछि म भागेँ । मलाई ट्रोल पनि बनाइयो– म भाग्दिन, भाग्दिन भनेर । म त्यो दिन नभागेको थियो भने चार वटा टिम छाडेको थियो इन्काउन्टर गर्नलाई । मलाई हेर्नुस् यो देशमा जसले राष्ट्रको लागि, देशको लागि, नागरिकको लागि कुरा गर्छ नि, माया गर्छ, राष्ट्रपे्रमी हुछ नि, राष्ट्रप्रेमी हुनु गाह्रो रहेछ यहाँ । यहाँ दलाल भएर बाँच्न सजिलो रहेछ ।
म ८–१० दिन पछाडि आउने नै वाला थिएँ, भाग्नेवाला थिएनँ । म भाग्दिनँ । तिमीले मार्दैनौँ भने म भाग्दिनँ मैले तिम्रा हिरासत पनि देखेँ, जेल पनि देखँ । म भाग्दिनँ । म शासकहरूलाई भन्छु– मेरो पालो आएको दिन तिमीहरू पनि भाग्न पाउँदैनौँ । यो कुरा बुझ । मेरो समय आएको बेलामा । अहिले मेरो समय छैन । गीतामा त्यही भनेको छ । गीतामा के भनेको छ भने– ‘मै समय हुँ । मेरो समय आने से मै सिसे से पत्थरको काटुङ्गा’ भनेको छ ।
एक दिन नेपाली नागरिक र सर्वहारा वर्ग, भुइँमान्छे, गरिब, उत्पीडन (उन्तीडित) वर्गको समय आउँछ । त्यसको नेतृत्व दुर्गा प्रसाईंले गर्छ । यो कुरा लेखेर राख्नुस् ।
प्रतिक्रिया