दीपकुमार उपाध्यायलाई प्रश्न : प्रधानमन्त्रीले भारतसँग उठाउनुपर्ने नेपालका मुद्दा के के हुन् ? | Khabarhub Khabarhub

दीपकुमार उपाध्यायलाई प्रश्न : प्रधानमन्त्रीले भारतसँग उठाउनुपर्ने नेपालका मुद्दा के के हुन् ?


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्व गरेको १५ महिनापछि भदौ मसान्तमा छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

उनलाई भारतीय समकक्षी नरेन्द्र मोदीले भ्रमणका लागि विदेश सचिव विक्रम मिस्रीमार्फत् आइतबार औपचारिक निमन्त्रण पठाइसकेका छन् ।

मिस्रीले आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणा बुझाएका छन् । आमन्त्रणअनुसार प्रधानमन्त्री ओली आगामी भदौ ३१ गतेदेखि असोज २ गतेसम्म भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

सुरूमा दुई दिने भनिए पनि भ्रमण कार्यक्रम लम्बिएको छ । भारतले यस पटक प्रधानमन्त्रीद्वय ओली र मोदीबीचको भेटवार्ता नयाँदिल्लीमा नभएर बिहार राज्यको बोधगयामा गराउने भएको छ ।

भारतीय पक्षले नेपालको लुम्बिनीमा जन्मिएका भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरेको बोधगयामा दुई नेताबीच वार्ता हुने तय गरेको हो । बुद्धले बोधिसत्व लिएको ऐतिहासिक तथा धार्मिक सहर बोधगयाको महाबोधी सांस्कृतिक केन्द्रमा दुई नेताबीच औपचारिक भेटवार्ता हुने छ ।

ओलीलाई बोधगयामा स्वागत गर्न भारतीय प्रधानमन्त्री मोदी स्वयम् उपस्थित हुने छन् । बिहारका मुख्यमन्त्री नीतिश कुमार, राज्यपाल अरिफ मोहम्मद खान र भारतका दुईमध्ये एकजना विदेश राज्यमन्त्रीले समेत बोधगयामा प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीलाई सिधै बोधगया लैजाने वा नयाँ दिल्लीमा उतार्ने निधो भइसकेको छैन । यद्यपि नेपाली सेनाले ओलीलाई बोधगया लैजाने विशेष जहाज पनि तयारी अवस्थामा राखेको बताइएको छ ।

ओलीले मोदीसँगको वार्तापछि कुनै समयको विश्वप्रसिद्ध नालन्दा विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम बनाइएको छ । त्यससँगै भदौ ३१ गते ओली र मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । त्यसपछि संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । पत्रकार सम्मेलनसँगै मोदीले ओलीका लागि बोधगयामै दिवाभोज कार्यक्रम राखेका छन् ।

सरकारको नेतृत्व गरेको १५ महिनापछि भारत जान लागेको ओलीलाई यस पटक बिहारमा गर्न लागिएको स्वागतबारे विभिन्न टिका टिप्पणी भइरहेका छन् ।

मोदीले अन्य देशका सरकार र राष्ट्र प्रमुखलाई पनि प्रायःजसो दिल्लीमै स्वागत गर्थे । तर नेपाली समकक्षीलाई बुद्धले ज्ञान पाएको बोधगया नै किन स्वागतका लागि रोजे त ? प्रधानमन्त्री ओलीको आशन्न भारत भ्रमणबारे खबरहबले भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायसँग कुराकानी गरेको छ ।

तपाईं त भारतका लागि पूर्वराजदूत, अहिले दुई देशबीचको सम्बन्ध कुन् मोडमा पुगेको देख्नु भएको छ ?

नेपाल–भारत सम्बन्ध जस्तो थियो, त्यस्तै छ । खास तात्विक भिन्नता होला जस्तो मलाई लाग्दैन । विश्व परिस्थिति, हाम्रो पनि अतिआग्रह, भारतलाई पनि इंगेजमेन्ट जरूरी छ, नेपालजस्तो देशसँग सम्बन्ध किन बिग्रियो भनेर त्यहाँ पनि प्रश्न त उठेको थियो । उठ्छ । त्यसलाई मत्थर पार्न भेटघाटको चाँजोपाँजो मिलाइएको हो । यो भ्रमणबाट धेरै अपेक्षा म गर्न चाहन्नँ । किनभने भारतले स्वीकृति नदिँदासम्म एजेन्डामै प्रवेश गर्न सकिँदैन ।

दुई देशबीच विभिन्न समस्या छ । हामीबीच सीमा विवादका कुरा छन्, त्यसमा वार्ता होस्, समाधानको बाटो खोजियोस् भन्ने हो । २१ औँ शताब्दी भनेको पानीको शताब्दी पनि हो । अहिले पानीको यति ठूलो महत्व छ । मैले यहाँ खानेपानीको कुरा गरेको हुँ । ग्रीन इनर्जीको दिनदिनै महत्व बढ्दो छ । संसारभर खानेपानीको ठूलो महत्व छ २१ औँ शताब्दीमा ।

जसबाट बिजुली पनि निकाल्न सकिन्छ । त्यसलाई स्टोरेज गरेर जेका लागि पनि प्रयोग गर्न सकिन्छ । पानीको बहुउपयोगमा भारतले एकलौटी गरिरहेको छ । गर्न पनि चाहन्छ । त्यो हाम्रो पीडा हो । नेपालको व्यापार घाटालाई कसरी कम गर्ने, प्रविधि र आर्थिक लगानी कसरी भित्र्याउने, हाम्रो इकोनोमीलाई गति दिने भन्ने त हाम्रा प्रयासहरू हुन् ।

नेपालका माल वस्तु सहज रूपमा भारत जाने भनिएको पहिलेभन्दा धेरै कुरो छ । आईसीपी (इन्टरगेटेड चेकपोस्ट)देखि लिएर भन्सारका, क्वारेन्टाइनका धेरै कुरामा सम्झौता भएका छन् । तर कार्यान्वयन हुँदैनन्, लागू हुँदैनन् ।

यी सबै कुरामा हामीले तयारी गरेर भारतलाई पनि कन्भिन्स गरेर, यी विषयहरूमा वार्ता प्रवेश नगरी हुँदैन भनेर नेपालले भन्न सक्दैन । भारतले स्वीकृति नदिई यीबारेमा वार्ता नै हुँदैन ।

ठीक छ, ठीक छ, अब न्यानोपन बढ्यो, अब सम्बन्ध सुध्रियो भन्ने वक्तव्य आउने हो । अरू के हुने हो र ? प्रधानमन्त्रीको भारत भ्रमणलाई परिणाममै हेर्नुपर्छ ।

हाम्रा प्रधानमन्त्रीसँग भारतका प्रधानमन्त्रीले बिहारको बोधगयामा भेटवार्ता गर्ने तय भएको छ । यसले कस्तो सन्देश दिन्छ ?

अहिलेसम्म मैले देखेको, बुझेको दिल्लीमा राष्ट्रपति भवनमै ‘सेरेमोनी’ हुन्छ ‘भिजिट’को । त्यो हुने भएन । दिल्लीको राष्ट्रपति भवनमा पाहुना राख्ने, राष्ट्रपति भवनमै समारोहसहित सम्मान दिने प्रचलन थियो, त्यो यसपालि हुने भएन ।

फेरि मोदीजीको जन्मदिन पनि परेको रहेछ । बोधगयामा भारतको सम्बन्ध आफ्नै किसिमको छ । कुनै नेताले कुनै समयमा गरेको भन्दा इतिहासको विरासत छ । सांस्कृति सम्बन्ध प्रगाढ होस्, अरू कुरा हाम्रो बीचमा जे–जे भए पनि सांस्कृतिक सम्बन्धलाई सुधारौँ, बुद्ध पनि नेपालमा जन्मिए, बोधगयामा ज्ञानप्राप्त गरे । बुद्धसँग सम्बन्धित चार धाममध्ये तीनवटा भारतमै छन् ।

यी सबैलाई हामीले सांकेतिक रूपमा बुझ्नु पर्छ । मूल कुरा हामीले जति तयारी गरे पनि भारतले कति कुरालाई दुईपक्षीय वार्ताका लागि ग्रहण गर्छ । नेपालको कूटनीतिक चातुर्यता, गाम्भीर्यता, परिपक्वता कौशल त्यसमा हो । त्यसको तयारी कतिको हुन्छ, समय त कम नै छ । सरकारले कति गर्छ हेर्न बाँकी छ ।

आशन्न भारत भ्रमणमा नेपालले उठाउनुपर्ने मुद्दा के–के हुन् । पूर्वराजदूतको हैसियतमा सरकारलाई के सुझाव दिनु हुन्छ ?

हामीले सीमा विवादका कुरा उठाउनुपर्छ । अरू त ९७ प्रतिशत हामीले डिजिटल म्यापिङ गरिसकेका छौँ, त्यसलाई समाधान गर्ने भनिएको छ । त्यसका लागि मेकानिजमका मिटिङ पनि सुरु भएको छ । त्यो राम्रो पक्ष हो ।

तर, जुन मूल मुद्दा हामीलाई बिझेको छ नि, कालापानी, लिपुलेक, लिम्पियाधुरासम्मको एरिया, सुस्ताको एरियालाई विवादित भनेर भारतले मान्थ्यो । त्यसलाई हामी दुवै परराष्ट्र मन्त्रालयको प्राटोकलमा विवादित क्षेत्र भन्ने कुरो थियो ।

त्यो पनि हराएर भारतले एकलौटी आफ्नो प्रभावमा, एक किसिमले प्रशासनमा राखिसकेको अवस्था छ । भारतले यसलाई वास्तै गर्दैन । त्यसको पनि कम्तिमा पनि वार्ताबाट इङ्गेजमेन्ट सुरू हुनुपर्‍यो । त्यसपछि समाधान हुन समय लाग्ला, तर वार्ता नै नहुने भन्ने कुरा होइन । त्यसमा भारत अडिग छ ।

पानीको बहुउपयोगको कुरा गरेँ । भारतले जहिले पनि आफ्नो हात माथि पार्दै आएको छ । कोशी र गण्डककै कुरा गरौँ न । सम्झौताअनुसारको पानी नेपालले पाउनु पर्दैन ? पाउनु पर्छ नि । सम्झौताअनुसार कोशी र गण्डकबाट हुने बाढी, कटान, डुबानबाट नेपाली किसानले क्षतिपूर्ति पाउनु पर्दैन ? सधैँ ती फाइनलहरू थन्किएर बसेका हुन्छन् ।

म राजदूत भएको बेला यसबारे त्यो बेलाका अर्थमन्त्री अरूण जेट्लीसँग कुरा गरेको थिएँ । पछि त्यो कुरा हराएर गयो । भारतले दबाब परेपछि केही गरेको जस्तो गर्छ । फेरि जहाँको त्यहीँ हुन्छ । त्यहाँ (कोशी, गण्डक) संरचनामै डिफेक्ट छ । नेपालतर्फ पानी आउँदैन । वर्षातमा बाढी त सबैतिर जाने हो । अरू कुरा छाडौँ, पानी नै पनि सम्झौताअनुसार नेपालले पाइराखेको अवस्था छैन ।

अन्तर्राष्ट्रिय कानुन र नियम उल्लंघन गरेर भारतले सबैतिर बाँध बनाएको छ । म त तराईको मान्छे, डुबान हुन्छ । भारतले गेट नखोलिदि यहाँ धान काट्न सकिँदैन, गहुँ धर्न सकिन्न । त्यो अवस्था यथावत छ ।

यस्ता समस्या समाधान गर्नेबारे कुरा गर्नुपर्छ । व्यापार घाटाका कुरा गर्नुपर्छ । कनेक्टिभिटीकै कुराहरू छन् । मोदीजीकै प्रस्ताव हो है फेरि । लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्ट भारतसमेत अन्तर्राष्ट्रिय जगतको आह्वानमा हामीले बनायौँ । त्यसपछि पोखरामा पनि बनायौँ । त्यसलाई चलायमान बनाउन भारतको अलिकति अर्घेल्याईं देखिएको छ । यो किन भइराखेको छ भन्ने कुरा पनि हामीले प्रष्ट रूपमा एजेन्डामा लैजानुपर्छ । रामायण सर्किट, महाभारत सकिर्ट र बुद्धिस्ट सर्किटबारे पनि कुरा उठाउनुपर्छ ।

अन्तर्राष्ट्रियस्तरका एयर कनेक्टिभिटी, रोड कनेक्टिभिटी गर्ने भन्ने त भारतको प्रस्ताव हो । यो कुरा त हामी ठोस रूपमा भन्नै सक्दैनौँ– तपाईंकै प्रस्तावमा हामीले यति गर्‍यौँ, तै पनि किन अगाडि बढ्दैन भनेर भन्नु पर्‍यो नि । हाम्रा यिनै एजेन्डा हुन ।

भारतले आफ्नो स्वार्थअनुसार पानीका एजेन्डा त विस्तार–विस्तारै आफनो अनुकूल पार्दै लगेको छ । जस्तो कि अरूण भ्यालीमा सबै प्राजेक्ट उसले आफ्नो हातमा लैजान खोजिरहेको छ । त्यसमा हामी सजग हुनुपर्छ । हाम्रो सबैभन्दा ठूलो स्ट्रेन्थ पानी हो । अन्तर्राष्ट्रिय कुनै मध्यस्थकर्ता जसलाई भारतले पनि पत्यार गरोस्, नेपालले पनि पत्यार गरोस् ।

त्यस्तो किसिमको अन्तर्राष्ट्रिय कम्पनीलाई जिम्मा दिएर उसलाई डीपीआर बनाउने, उसले अन्तर्राष्ट्रिय कानुनअनुसारको ‘वीन वीन सिचुयसन’को भारतलाई पनि लाभ होस्, नेपाललाई पनि लाभ होस् । कति पानी, कति ऊर्जा, कसरी उपयोग गर्दा दुवै देशलाई भलो हुन्छ भन्ने कुरालाई दुवै देशले स्वीकार गरे विवाद नै छैन । त्यो गर्न भारत चाहँदैन । आफ्नै एकलौटी गर्न चाहन्छ । आफ्नै हात माथि राख्न चाहन्छ । आफैँ डीपीआर गर्ने, आफ्नै सर्तमा बनाउने भन्ने उसको दबाब हुन्छ । त्यस्ता कुरामा हामी सजग हुनुपर्छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ७ : ४८ बजे

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार

११ दिनदेखि ठप्प मेची राजमार्ग खुल्यो

काठमाडौं– माईजोगमाई गाउँपालिका ४ नामसालिङ र इलाम नगरपालिका १० गोदाक

बिमा प्राधिकरणले गर्‍यो कृषि, पशुपन्छी तथा जडिबुटी बीमा सम्बन्धी अन्तरक्रिया

काठमाडौं– नेपाल बीमा प्राधिकरणद्वारा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा