काठडमाडौं– ल्याटिन अमेरिकामा वामपन्थी राजनीतिको केन्द्र मानिने बोलिभियामा समाजवादी उम्मेदवारको हार भएको छ । आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी उम्मेदवार नराम्ररी पारजित भएका छन् । यससँगै बोलिभियामा दुई दशकदेखि चलिरहेको समाजवादी हालीमुहाली समाप्त भएको छ ।
समाचार संस्था एपीका अनुसार पूर्वराष्ट्रपति इभो मोरालेजको ‘समाजवादका लागि आन्दोलन’ एमएएस पार्टीका औपचारिक उम्मेदवार एदुवार्दो देल कास्तिलोले केबल ३.२ प्रतिशत मत प्राप्त गरेका छन् । अर्का वामपन्थी उम्मेदवार एवम् सिनेटका अध्यक्ष एन्ड्रोनिको रोड्रिग्वेजले ८ प्रतिशत मत प्राप्त गरेका छन् ।
निर्वाचनमा क्रिस्चियन डेमोक्र्याटिक पार्टीका मध्यपन्थी उम्मेदवार एवम् पूर्वराष्ट्रपति जेमी पाजका छोरा रोड्रिगो पाजले सबैभन्दा धेरै मत प्राप्त गरेका छन् । उनले ३२ प्रतिशत मत प्राप्त गरेका छन् । पछिल्लो समय उनको अभियानले धेरैको ध्यान खिँचेको थियो । सामाजिक सञ्जालमा सक्रिय पूर्वप्रहरी अधिकारी एडमन लारासँग गठबन्धन गरेपछि उनको चर्चा बढेर गएको एपीले उल्लेख गरेको छ ।
त्यसैगरी, निर्वाचनमा प्रमुख दाबेदार मानिएका दक्षिणपन्थी पूर्वराष्ट्रपति होर्हे टुटो कुइरोगा दोस्रो भएका छन् । उनी सन् २००१ देखि सन् २००२ सम्म एक वर्षका लागि बोलिभियाको राष्ट्रपति बनेका थिए । कुइरोगाले २७ प्रतिशत मत प्राप्त गरेका छन् ।
तेस्रो भएका उदारवादी स्यमुअल डोरिया मेडिनाले २० प्रतिशत मत ल्याएका छन् । उनले आफ्नो पराजय स्वीकार गरिसकेको स्पेनी अखबार एल पाइसले उल्लेख गरेको छ ।
बोलिभियामा पहिलो चरणको निर्वाचनमा स्पष्ट ५० प्रतिशतभन्दा धेरै मत ल्याउने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने प्रावधान छ । अथवा त्यसो हुन नसकेको खण्डमा सबैभन्दा धेरै मत प्राप्त गर्ने उम्मेदवारले निकटतम प्रतिद्वन्द्वीभन्दा कम्तीमा १० प्रतिशत धेरै मत ल्याउनुपर्छ ।
कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त नगरेको खण्डमा दोस्रो चरणको प्रतिस्पर्धा गर्नुपर्छ । सन् १९८२ मा लोकतन्त्र पुनस्र्थापना भएयता बोलिभियामा राष्ट्रपतीय निर्वाचन दोस्रो चरणसम्म पुगेको थिएन ।
तर, यस पटकको निर्वाचनमा कसैले पनि त्यस मापदण्ड पूरा नगरेकाले पाज र कुइरोगाबीच दोस्रो चरणको निर्वाचन हुने भएको छ । यी दुईबीच आगामी अक्टोबर १९ का दिन प्रतिस्पर्धा हुनेछ ।

निर्वाचनमा अग्रता लिएका पाजले समर्थकलाई सम्बोधन गर्दै मुलुकको आर्थिक व्यवस्थामा व्यापक परिवर्तन आवश्यक रहेको उल्लेख गरेका छन् । त्यसैगरी, दोस्रो भएका कुइरोगाले पाजलाई अग्रता कायम गरेकोमा बधाइ दिएका छन् । यस निर्वाचनबाट बोलिभियाले विश्वलाई स्वतन्त्र राष्ट्रको रुपमा बाँच्न चाहेको सन्देश दिएको उनको टिप्पणी छ ।
हुन पनि बोलिभिया हाल आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । दुई वर्षअघिसम्म २ प्रतिशत रहेको मुद्रास्फीति हाल २५ प्रतिशत पुगेको छ । हाल इन्धनको चरम अभाव देखा परेको छ ।
बीबीसीका अनुसार कतिपय अवस्थामा मानिसहरु सवारीमा इन्धन भर्न रातभरी लाइनमा बस्नुपर्ने बाध्यता छ । विदेशी मुद्रा सञ्चितिको अभावमा खानेकुराजस्ता अत्यावश्यक वस्तुको आयात हुन सकेको छैन ।
यस्तो सङ्कटका बेला सत्तारुढ एमएएस पार्टी भने आन्तरिक विवादमा फसेको छ । पछिल्लो समय एमएएसमा पूर्वराष्ट्रपति इभो मोरालेज र वर्तमान राष्ट्रपति लुइस आर्के एक अर्काविरुद्ध वाद विवादमा उत्रिएका छन् ।
त्यसमाथि कुनै समय ल्याटिन अमेरिकी समाजवादका आदर्श नेता मानिएका मोरालेज आफैँ गम्भीर मुद्दामा फसेका छन् । उनीमाथि राष्ट्रपति हुँदा नाबालिग किशोरीलाई गर्भवती बनाएको आरोप लागेको छ । यस्तो आरोप लगोपछि मोरालेज हाल आफ्नो राजनीतिक गढ मानिने कोचबाम्बा क्षेत्रमा गएर बसेका छन् ।
उनले आफ्नो समर्थकलाई कुनै पनि उम्मेदवारका लागि मतदान नगर्न आह्वान गरेका थिए । उनको आग्रहलाई स्वीकार गर्दै बोलिभियाका झण्डै २० प्रतिशत मतदाताले पेटिकामा खाली मतपत्र खसालेको द गार्जियनले जनाएको छ । यसअघि बोलिभियामा हुने निर्वाचनमा औसत ५ प्रतिशत मात्रै खाली मतपत्र खस्ने गरेको थियो । यसबाट मोरालेज अझै पनि बोलिभियामा एक हदसम्म लोकप्रिय रहेको विश्लेषण गरिएको छ ।
सन् २००५ को निर्वाचनमा ५४ प्रतिशत मत प्राप्त गरी जित हासिल गरेका मोरालेजले सन् २०१९ सम्म शासन चलाएका थिए । मोरालेजलाई बोलिभियामा सामाजिक र आर्थिक सुधारको जस दिने गरिन्छ । औपचारिक रुपमा सन् २००६ मा राष्ट्रपति पद सम्हालेका मोरालेजले गरिबी निवारण र विदेशी कम्पनीहरूको प्रभाव कम गर्ने समाजवादी आर्थिक नीति अङ्गीकार गरेका थिए ।
उनले तेल, ग्यास र खानीजस्ता क्षेत्रको राष्ट्रियकरण गर्दै राष्ट्रिय आम्दानी वृद्धि गर्न सफल भएका थिए । मोरालेजले यसरी आम्दानी भएको पैसा सामाजिक कल्याणका कार्यक्रममा लगानी गर्दै गरिबमुखी र जनमुखी राष्ट्रपतिको छवि बनाएका थिए । फलस्वरुप यी नीतिका कारण उनी विशेषगरी आदिवासी र गरिब समुदायमा निकै लोकप्रिय बन्न पुगे ।
आफैँ आदिवासी आयमारा समुदायको प्रतिनिधित्व गर्ने मोरालेजले सन् २००९ मा बोलिभियालाई ‘बहुराष्ट्रिय राज्य’ को रुपमा परिभाषित गर्दै नयाँ संविधान जारी गरेका थिए । यसबाट बोलिभियाका आदिवासी समुदायको अधिकार अझ मजबुत बन्न पुग्यो ।

विवादास्पद रुपमा सन् २०१९ को निर्वाचन जितेका मोरालेजका विरुद्ध राष्ट्रव्यापी प्रदर्शन भएपछि उनले पद त्याग गरेका थिए । उनको ठाउँ लिएका नेताहरुले मोरालेजको विरासतलाई कायम राख्न सकेनन् । परिणामस्वरुप एमएएस पार्टीभित्र विवाद र आरोप प्रत्यारोप शुरु भयो ।
अझ पछिल्लो समय आर्थिक संकट देखा परेसँगै मोरालेजमाथि गम्भीर आरोप लागेपछि एमएएस पार्टी अलोकप्रिय बन्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यही अलोकप्रियताको परिणाम यस निर्वाचनले देखाएको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया