वामपन्थी गढ बोलिभियामा ढल्यो समाजवादी किल्ला « Khabarhub

वामपन्थी गढ बोलिभियामा ढल्यो समाजवादी किल्ला


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठडमाडौं– ल्याटिन अमेरिकामा वामपन्थी राजनीतिको केन्द्र मानिने बोलिभियामा समाजवादी उम्मेदवारको हार भएको छ । आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी उम्मेदवार नराम्ररी पारजित भएका छन् । यससँगै बोलिभियामा दुई दशकदेखि चलिरहेको समाजवादी हालीमुहाली समाप्त भएको छ ।

समाचार संस्था एपीका अनुसार पूर्वराष्ट्रपति इभो मोरालेजको ‘समाजवादका लागि आन्दोलन’ एमएएस पार्टीका औपचारिक उम्मेदवार एदुवार्दो देल कास्तिलोले केबल ३.२ प्रतिशत मत प्राप्त गरेका छन् । अर्का वामपन्थी उम्मेदवार एवम् सिनेटका अध्यक्ष एन्ड्रोनिको रोड्रिग्वेजले ८ प्रतिशत मत प्राप्त गरेका छन् ।

निर्वाचनमा क्रिस्चियन डेमोक्र्याटिक पार्टीका मध्यपन्थी उम्मेदवार एवम् पूर्वराष्ट्रपति जेमी पाजका छोरा रोड्रिगो पाजले सबैभन्दा धेरै मत प्राप्त गरेका छन् । उनले ३२ प्रतिशत मत प्राप्त गरेका छन् । पछिल्लो समय उनको अभियानले धेरैको ध्यान खिँचेको थियो । सामाजिक सञ्जालमा सक्रिय पूर्वप्रहरी अधिकारी एडमन लारासँग गठबन्धन गरेपछि उनको चर्चा बढेर गएको एपीले उल्लेख गरेको छ ।

त्यसैगरी, निर्वाचनमा प्रमुख दाबेदार मानिएका दक्षिणपन्थी पूर्वराष्ट्रपति होर्हे टुटो कुइरोगा दोस्रो भएका छन् । उनी सन् २००१ देखि सन् २००२ सम्म एक वर्षका लागि बोलिभियाको राष्ट्रपति बनेका थिए । कुइरोगाले २७ प्रतिशत मत प्राप्त गरेका छन् ।

तेस्रो भएका उदारवादी स्यमुअल डोरिया मेडिनाले २० प्रतिशत मत ल्याएका छन् । उनले आफ्नो पराजय स्वीकार गरिसकेको स्पेनी अखबार एल पाइसले उल्लेख गरेको छ ।

बोलिभियामा पहिलो चरणको निर्वाचनमा स्पष्ट ५० प्रतिशतभन्दा धेरै मत ल्याउने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने प्रावधान छ । अथवा त्यसो हुन नसकेको खण्डमा सबैभन्दा धेरै मत प्राप्त गर्ने उम्मेदवारले निकटतम प्रतिद्वन्द्वीभन्दा कम्तीमा १० प्रतिशत धेरै मत ल्याउनुपर्छ ।

कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त नगरेको खण्डमा दोस्रो चरणको प्रतिस्पर्धा गर्नुपर्छ । सन् १९८२ मा लोकतन्त्र पुनस्र्थापना भएयता बोलिभियामा राष्ट्रपतीय निर्वाचन दोस्रो चरणसम्म पुगेको थिएन ।

तर, यस पटकको निर्वाचनमा कसैले पनि त्यस मापदण्ड पूरा नगरेकाले पाज र कुइरोगाबीच दोस्रो चरणको निर्वाचन हुने भएको छ । यी दुईबीच आगामी अक्टोबर १९ का दिन प्रतिस्पर्धा हुनेछ ।

निर्वाचनमा अग्रता लिएका पाजले समर्थकलाई सम्बोधन गर्दै मुलुकको आर्थिक व्यवस्थामा व्यापक परिवर्तन आवश्यक रहेको उल्लेख गरेका छन् । त्यसैगरी, दोस्रो भएका कुइरोगाले पाजलाई अग्रता कायम गरेकोमा बधाइ दिएका छन् । यस निर्वाचनबाट बोलिभियाले विश्वलाई स्वतन्त्र राष्ट्रको रुपमा बाँच्न चाहेको सन्देश दिएको उनको टिप्पणी छ ।

हुन पनि बोलिभिया हाल आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । दुई वर्षअघिसम्म २ प्रतिशत रहेको मुद्रास्फीति हाल २५ प्रतिशत पुगेको छ । हाल इन्धनको चरम अभाव देखा परेको छ ।

बीबीसीका अनुसार कतिपय अवस्थामा मानिसहरु सवारीमा इन्धन भर्न रातभरी लाइनमा बस्नुपर्ने बाध्यता छ । विदेशी मुद्रा सञ्चितिको अभावमा खानेकुराजस्ता अत्यावश्यक वस्तुको आयात हुन सकेको छैन ।

यस्तो सङ्कटका बेला सत्तारुढ एमएएस पार्टी भने आन्तरिक विवादमा फसेको छ । पछिल्लो समय एमएएसमा पूर्वराष्ट्रपति इभो मोरालेज र वर्तमान राष्ट्रपति लुइस आर्के एक अर्काविरुद्ध वाद विवादमा उत्रिएका छन् ।

त्यसमाथि कुनै समय ल्याटिन अमेरिकी समाजवादका आदर्श नेता मानिएका मोरालेज आफैँ गम्भीर मुद्दामा फसेका छन् । उनीमाथि राष्ट्रपति हुँदा नाबालिग किशोरीलाई गर्भवती बनाएको आरोप लागेको छ । यस्तो आरोप लगोपछि मोरालेज हाल आफ्नो राजनीतिक गढ मानिने कोचबाम्बा क्षेत्रमा गएर बसेका छन् ।

उनले आफ्नो समर्थकलाई कुनै पनि उम्मेदवारका लागि मतदान नगर्न आह्वान गरेका थिए । उनको आग्रहलाई स्वीकार गर्दै बोलिभियाका झण्डै २० प्रतिशत मतदाताले पेटिकामा खाली मतपत्र खसालेको द गार्जियनले जनाएको छ । यसअघि बोलिभियामा हुने निर्वाचनमा औसत ५ प्रतिशत मात्रै खाली मतपत्र खस्ने गरेको थियो । यसबाट मोरालेज अझै पनि बोलिभियामा एक हदसम्म लोकप्रिय रहेको विश्लेषण गरिएको छ ।

सन् २००५ को निर्वाचनमा ५४ प्रतिशत मत प्राप्त गरी जित हासिल गरेका मोरालेजले सन् २०१९ सम्म शासन चलाएका थिए । मोरालेजलाई बोलिभियामा सामाजिक र आर्थिक सुधारको जस दिने गरिन्छ । औपचारिक रुपमा सन् २००६ मा राष्ट्रपति पद सम्हालेका मोरालेजले गरिबी निवारण र विदेशी कम्पनीहरूको प्रभाव कम गर्ने समाजवादी आर्थिक नीति अङ्गीकार गरेका थिए ।

उनले तेल, ग्यास र खानीजस्ता क्षेत्रको राष्ट्रियकरण गर्दै राष्ट्रिय आम्दानी वृद्धि गर्न सफल भएका थिए । मोरालेजले यसरी आम्दानी भएको पैसा सामाजिक कल्याणका कार्यक्रममा लगानी गर्दै गरिबमुखी र जनमुखी राष्ट्रपतिको छवि बनाएका थिए । फलस्वरुप यी नीतिका कारण उनी विशेषगरी आदिवासी र गरिब समुदायमा निकै लोकप्रिय बन्न पुगे ।

आफैँ आदिवासी आयमारा समुदायको प्रतिनिधित्व गर्ने मोरालेजले सन् २००९ मा बोलिभियालाई ‘बहुराष्ट्रिय राज्य’ को रुपमा परिभाषित गर्दै नयाँ संविधान जारी गरेका थिए । यसबाट बोलिभियाका आदिवासी समुदायको अधिकार अझ मजबुत बन्न पुग्यो ।

विवादास्पद रुपमा सन् २०१९ को निर्वाचन जितेका मोरालेजका विरुद्ध राष्ट्रव्यापी प्रदर्शन भएपछि उनले पद त्याग गरेका थिए । उनको ठाउँ लिएका नेताहरुले मोरालेजको विरासतलाई कायम राख्न सकेनन् । परिणामस्वरुप एमएएस पार्टीभित्र विवाद र आरोप प्रत्यारोप शुरु भयो ।

अझ पछिल्लो समय आर्थिक संकट देखा परेसँगै मोरालेजमाथि गम्भीर आरोप लागेपछि एमएएस पार्टी अलोकप्रिय बन्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यही अलोकप्रियताको परिणाम यस निर्वाचनले देखाएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ८ : ३७ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो