सरकारले बालबालिकालाई खुवाउन लागेको आयुर्वेदिक थोपा के हो ? | Khabarhub Khabarhub

सरकारले बालबालिकालाई खुवाउन लागेको आयुर्वेदिक थोपा के हो ?


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आधुनिक चिकित्सा विज्ञानको सुरुवातसँगै ओझेलमा परेको हाम्रो पौराणिक आयुर्वेदिक उपचार पद्धतिलाई  फेरि ब्युँताउन थालिएको छ । 

बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्धतिको स्वर्णप्रासन थोपा प्रदान गर्ने अभियान सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले घोषणा गरेका छन् ।

देशैभर जन्मेको ६ महिनादेखि ५ वर्षसम्म बालबालिकालाई यो थोपा प्रदान गर्ने निर्देशिका स्वीकृत भएसँगै अभियान अन्तर्गत देशभरका २५ आयुर्वेदिक स्वास्थ्य संस्थाहरुमार्फत पहिलो चरणमा कार्यक्रम शुरु हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । 

आगामी वर्षमा देशका सबै आयुर्वेदिक संस्थामा यस्तो कार्यक्रम विस्तार गर्ने योजना रहेको प्रवक्ता बुढाथोकीले बताए । ‘देशभित्रकै आयुर्वेदिक प्रविधिको प्रवर्द्धन र प्रयोगमार्फत नागरिकको स्वास्थ्य रक्षामा यो महत्वपूर्ण कदम हो’ उनले भने ।

मन्त्री पौडेलले आयुर्वेदिक औषधी तथा उपचार विधि प्रवर्द्धन गर्न स्वदेशी उत्पादनलाई विदेश निर्यातमा सहयोग पुग्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड जिएमपी प्राप्त गर्ने व्यवस्था मिलाएका छन् । विदेश निर्यात गर्न तथा देशभित्रै स्तरीय उत्पादन गरिरहेका आयुर्वेदिक उत्पादकले औषधी व्यवस्था विभागबाट यो प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था मिलाइएको बताइएको छ । 

नयाँ बजेटमा देशका सबै स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रम अघि बढाइएको छ । 

 के हो स्वर्णबिन्दु प्राशन ?

नरदेवी आयुर्वेदिक चिकित्सालयकी चिकित्सक डा. ऐश्वर्या श्रेष्ठका अनुसार यो एउटा आयुर्वेदिक औषधि हो । जसमा मुख्य रूपमा स्वर्ण भष्ममा घिउ , मह लगायत  स्मृति वृद्धि गर्ने औषधीहरू ब्राह्मी, शंखपुष्पी, वचा, अश्वगन्धा लगायतका द्रव्यहरु मिसाएर तयार पारिन्छ । 

यी सबैलाई मिलाएर बालबालिकाको जिब्रोमा सानो बिन्दु जस्तै राखिन्छ, त्यसैले यसलाई स्वर्णबिन्दु भनिने उनले बताइन् । यसले बच्चाहरूलाई शारीरिक तथा मानसिक रुपमा बलियो बनाई रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने डा. श्रेष्ठको भनाइ छ । 

औषधी बनाउँदा पूर्व दिशातिर फर्केर बनाउने र खुवाउँदा पनि बच्चालाई पूर्वतर्फ राखेर पुष्य नक्षत्रमा खुवाउँदा अझै राम्रो हुन्छ भन्ने मान्यता रहेको उनको भनाई छ । 

 स्वर्णबिन्दु प्राशनको महत्व 

‘हाम्रो संस्कार अनुसार जातसंस्कार भनेर बच्चा जन्मिनेबित्तिकै स्वर्णभष्म, मह र घिउ मिसाएर थोरै चटाउने चलन थियो । तर पछिल्लो समय यो छुट्दै गएको छ । अहिलेको आधुनिक चिकित्सा विज्ञानको युगमा आयुर्वेदले आफ्नो तरिकाले गर्न खोजेका काम गर्न सक्दैन’ डा. श्रेष्ठले भनिन् । 

बच्चा जन्मेको एक वर्षसम्म घिउ र मह दिनुहुँदैन त्यसले बच्चाहरूमा विभिन्न किसिमका एलर्जीहरू आउँछन् भन्ने मान्यताका कारण अवरोध आइरहेका छन् । जसले गर्दा यो चलन छुट्दै गएको उनले बताइन् । 

हुन त त्यस्ता एलर्जीहरू नआऊन् भन्नका लागि बच्चालाई स्वर्णबिन्दु प्राशन दिइएको हुन्छ । त्यसैले अहिलेको आधुनिक चिकित्सा विज्ञानको भनाइ मध्यनजर गर्दै ६ महिनादेखि १६ वर्ष सम्मका बच्चालाई दिन सकिने डा. श्रेष्ठ बताउँछिन् । 

कुन उमेरमा कति खुवाउने ?

स्वर्णबिन्दु प्राशन दिनुअघि उमेरअनुसार सही मात्रा र समय थाहा हुनु अत्यन्तै महत्वपूर्ण हुने डा. श्रेष्ठले बताइन् । आयुर्वेदको ग्रन्थ एवं शास्त्रीय मान्यता अनुसार बच्चाको उमेर र शारीरिक अवस्था हेरेर मात्रा तोकिएको हुन्छ ।जस्तै जन्मेदेखि ६ महिनासम्मको बच्चालाई १ बिन्दु हप्तामा १ पटक वा पुष्य नक्षत्रमा खुवाउन सकिन्छ भने ६ महिनादेखि एक वर्षको बच्चालाई दुई बिन्दु हप्तामा एक पटक खुवाउन सकिन्छ । 

त्यस्तै एकदेखि ५ वर्षसम्मको बच्चालाई हप्तामा एक पटक २ देखि ३ बिन्दु खुवाउन सकिन्छ भने ५ देखि १० वर्षसम्मलाई ३ देखि ५ बिन्दु महिनामा १ देखि २ पटक खुवाउन सकिन्छ । 

त्यो भन्दा माथि १० देखि १६ वर्षकालाई ५ देखि ७ बिन्दु महिनामा एक पटक खुवाउन सकिनेछ ग्रन्थमा भनिएको छ । ज्वरो, रुघाखोकी, पखालालगायत पेट सम्बन्धी विकार र विभिन्न स्वास्थ्य समस्या हुँदा नखुवाउन उनको सल्लाह छ । अन्य सामान्य अवस्थामा सवै बच्चाहरूलाई आयुर्वेदिक चिकित्सकको सल्लाह अनुसार खुवाउन सकिने डा. श्रेष्ठ बताउँछिन् । 

 सरकारको कदमले सकारात्मक सञ्चार

पहिले पहिले संस्थागत रुपमा समुदायमा गएर खुवाउने भन्ने त थिएन । तर आयुर्वेदिक चिकित्सक आफैँले घरमै बनाएर आफ्नो वा नजिकका बच्चाहरूलाई खुवाएको पाइन्थ्यो । अब भने राष्ट्रिय स्तरमै यो कार्यक्रम गर्दा धेरै बच्चाहरूलाई फाइदा पुग्ने डा. श्रेष्ठको विश्वास छ । 

डा. श्रेष्ठले भनिन-खासमा यो काम सरकारले धेरै अगाडि नै गर्नुपर्ने हो । यसलाई आयुर्वेदिक चिकित्साले एकदमै सकारात्मक रुपमा लिएको छ । बच्चाले जन्मेदेखि नै वृद्धि विकासमा टेवा पुग्ने तत्त्वहरू पायो भने देशले स्वस्थ नागरिक उत्पादन गर्छ । 

अहिलेका बच्चाहरूमा रोगप्रतिरोधात्मक क्षमता कमी आउने, विभिन्न किसिमका एलर्जीहरु आउने, एकाग्रतामा कमी आउने, मानसिक आघातहरु, राम्रोसंग विकास नभएका बच्चाहरू, अटिजम हुने जस्ता समस्याबाट बचाउन स्वर्ण द्रव्यको महत्वपूर्ण भूमिका रहने आयुर्वेदमा भनिएको उनले उल्लेख गरिन् । 

यसको कुनै पनि साइड इफेक्ट छैन 

रुघाखोकी, ज्वरो लगायतको समस्या भएको बच्चालाई खुवाउँदा खोकीलाई झन बढाउँछ कि भनेर मात्रै नखुवाउने भनिएको हो । 

तर, थोरै मात्रामा खुवाइने भएकाले त्यस्तो घातक असर केही पनि गर्दैन । बच्चाको पाचन शक्ति कमजोर भएको अवस्थामा खुवाएर काम नगर्ने भएपछि किन खुवाउने भन्ने हो । त्यो बाहेक यसको कुनै पनि साइड इफेक्ट नरहेको डा. श्रेष्ठ बताउँछिन् । 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ५ : २१ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी