‘भैरहवामा एयर रुटको कुनै समस्या छैन’ « Khabarhub

अन्तर्वार्ता

‘भैरहवामा एयर रुटको कुनै समस्या छैन’

  पोखरा विमानस्थलमा भ्रष्टाचार भएको प्रमाण ल्याउन चुनौती दिन्छु : महानिर्देशक अधिकारी



काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले आगामी केही महिनाभित्र आफ्नो कार्यकाल पूरा गर्दैछन् । पछिल्लो साढे तीन वर्षको अवधिमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण हुनुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे विस्तार भइरहेको छ । अधिकारीको कार्यकालमा प्राधिकरणले केही दीर्घकालीन महत्वका काम गरेको छ ।

अधिकारीको कार्यकालमा विशेष गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा ठूलो भ्रष्टाचार भएको र सो विषयमा महानिर्देशक अधिकारीसमेत जोडिएको भन्दै राजेन्द्र लिङदेन नेतृत्वको संसदीय अध्ययन उपसमितिले प्रतिवेदन नै सार्वजनिक गरेको छ । जसले महानिर्देशक अधिकारीलाई विवादमा तानेको अवस्था छ ।

त्यसैगरी प्राधिकरणलाई छुट्याएर दुईवटा संरचना बनाउनेसम्बन्धी संसदमा विचाराधीन विधेयकमाथि पनि महानिर्देशक अधिकारीले फरक मत राखेका छन् । प्राधिकरण फुटाउन नहुने उनको मत छ । जसका कारणले पनि उनी बेलाबखत विवादमा आइरहन्छन् । हालै त्रिभुवन विमानस्थलको भीआइपी कक्षमा कडाइ गरेका कारणले पनि उनी चर्चामा आएका छन् ।

पोखरा विमानस्थलमा भ्रष्टाचार भएको प्रमाण देखाउन अधिकारीले सांसद राजेन्द्र लिङदेनलाई चुनौती दिएका छन् । साथै उनले भैरहवा विमान स्थलमा एयर रुटको कुनै समस्या नरहेको समेत दाबी गरेका छन् ।

पोखरा विमानस्थलको विवाद लगायत नागरिक उड्डयन प्राधिकरणसँग जोडिएका विविध विषयमा खबरहबका लागि नारायण अर्यालले महानिर्देशक अधिकारीसँग गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग भयो भन्ने विषय तपाईमार्फत नै बाहिर आएको छ, खास यो समस्या कुन स्तरमा छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै नभएर अन्य दुईवटा विमानस्थल र अन्य आन्तरिक विमानस्थलमा पनि यो समस्या छ । नेपाल सरकारले राजपत्रमा तोकिएका व्यक्तिले मात्रै भीआईपी कक्ष प्रयोग गर्न पाउने भन्ने भीआईपी कक्षमा पनि टाँसिएको छ र यो सार्वजनिकरूपमा नै प्रकाशित भएको विषय हो । तर, त्यो बाहेक पनि भीआईपी कक्ष प्रयोग गर्न दिने अभ्यास हामीले गरिरहेका छौँ । हाम्रो सामाजिक संरचनाले भीआईपी कक्षको प्रयोगमा जुन पद्दति प्रयोग हुनुपर्ने हो, त्यो नभएको कुरा म स्वीकार गर्छु ।

काठमाडौं विमानस्थलमा भीआईपीको विषय धेरै पेचिलो र समस्याग्रस्त छ । भीआईपी प्रयोग गर्दा कति प्रोटोकलमा छुट दिइएको हुन्छ । सुरक्षा जाँच, अध्यागमनको प्रक्रियामा उहाँहरूलाई सहुलियत हुन्छ । त्यो सहुलियत राज्यको तोकेको व्यक्तिलाई दिने हो, राज्यको नतोकेका व्यक्तिहरू जो शक्तिको अभ्यास गर्छन्, प्रशासनलाई दबाव दिन्छन् । जुन सुविधा कानुनले दिएको नै छैन, त्यो सुविधा मान्छेले किन प्रयोग गर्न खोज्छ भन्ने प्रश्न छ ।

भीआईपीको प्रयोग गर्दा अन्य क्रियाकलाप वा अन्य गैरकानुनी क्रियाकलापको जिम्मेवारी कसले लिने हो ? त्यसले गर्दा पनि यसमा कडाइ गर्न आवश्यक छ । यही कारणले तोकिएका व्यक्ति जसको विषयमा राजपत्रमा नै प्रकाशित भएको छ, सोही विषयलाई हामीले अवलम्बन गर्ने निर्णय मात्र गरेका हौँ ।

नागरिक उडड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे विस्तार लगायत विभिन्न काम अगाडि बढाएको थियो, ती कामको अवस्था के–कति पूरा भयो र अहिले के भइरहेको छ ?

त्रिभुवन विमानस्थलमा अहिले मुलतः तीनवटा काम भइरहेको छ । एउटा, समानान्तर ट्याक्सी वे निर्माणको काम, अर्को ह्याङ्गर निर्माणको काम र अन्तर्राष्ट्रिय पार्किङ निर्माणको काम । रनवेसँग समानान्तर रूपमा रहने ट्याक्सी वे जसलाई हामीले कनेक्टिङ ट्याक्सी वे भन्छौँ, केही समय अगाडि विमानस्थललाई १० घण्टा बन्द गरेर निर्माणको काम सकिसकेका छौँ । तोकिएको गुणस्तरमा त्यो काम सकिएको छ ।

ह्याङ्गर एप्रोनको काम पनि एकदमै प्रगतिमा गएको छ । अर्को पार्किङ एप्रोन जहाँ १८ वटा न्यारोबडी जहाज राख्न सक्ने क्षमता छ, त्यो पनि अन्तिम चरणमा छ । मोटामोटी आगामी ६ महिनाभित्रमा यी सबै काम सकिन्छ ।

र नेपालको कुनै विमानस्थल छैन, जहाँ अहिले काम नभएको होस् । विराटनगर, भरतपुरमा, नेपालगन्जमा अत्याधुनिक टर्मिनल बन्ने क्रममा रहेको छ । राजबिराजमा रात्रीकालिन उडानको लागि लाइटिङ जडान गरेर सञ्चालनमा आइसकेको छ ।

बन्द हुनै लाइसकेको सुर्खेत विमानस्थलमा अहिले एटीआर जहाज उडान भइरहेको छ भने तुम्लिङटार विमानस्थलमा पनि एटीआर ७२ जहाज सञ्चालन भइरहेको छ ।

देशभरिका झण्डै २० वटा विमानस्थल अहिले सञ्चालनमा नरहेको प्राधिकरणकै तथ्यांकले देखाएको छ । यस्तो अवस्था किन आयो ?

हामीले के बुझ्नपर्छ भने यी २० वटा विमानस्थलका सन्दर्भमा सडक सञ्जालको अवस्थाको पनि विश्लेषण गर्नुपर्छ । जस्तै– यहाँबाट साढे दुई घण्टामा पुगिने पालुङटार विमानस्थल कहिले र किन बन्यो ? जब त्यतिबेला सडक थिएन, त्यहीबेला विमानस्थलले राज्यलाई जोडेको थियो ।

केही विमानस्थलहरू बाटोको सञ्जाल पुगेपछि निर्माण भएको देखिन्छ, ती बाहेक सबै विमानस्थलहरू जुनबेला हामीसँग सडक थिएन, क्षेत्रीय सहरदेखि दुर्गम ठाउँ र राज्य जोड्ने भनेकै विमानस्थल थियो, त्यो हिसाबले बनेका हुन् ।

१५ औँ योजनामा २९ वटा विमानस्थललाई कालोपत्रे गर्ने भनेर लेखिएको छ । हामी योजनाभन्दा अगाडि भयौँ र ४० वटा विमानस्थल कालोपत्रे गर्‍यौँ । अहिलेको २१ औँ शताब्दीमा घाँसे मैदानमा विमान उडाउनु लज्जाको विषय हो ।

तर, पूर्वाधारमा खासै चित्त दुखाउनुपर्ने अवस्था मैले देख्दिनँ । पहाडका विमानस्थलमा ६ सय मिटर पिच भएको छ, खासै ठूलो खर्च भएको छैन तर, त्यसको रणनीतिक महत्व हेर्ने हो भने निकै ठूलो छ । जस्तै – जाजरकोटमा भुइँचालो जाँदा चौरजहारीमा विमानस्थल नभएको भए त्यति छिटो राज्य पुग्न सक्दैनथ्यो ।

तर, नेपाल यस्तो देश भइदियो कि जहाँ हामीले योजना लेख्दा विमानस्थल सुदृढ गर्ने भनेर लेख्यौँ, तर जहाज थप्ने भनेर लेखेनौँ । एयरपोर्टको विस्तार राम्रो भयो तर, सिस्टममा जहाजहरू घटे ।

व्यवसायिक दृष्टिकोणबाट हेर्दा कतिपय विमानस्थल नै उपयुक्त छैनन् कि ?

सबै विमानस्थल नेपाल सरकारको लगानीमा बनेका हुन् । प्राधिकरणलाई कुनै एउटा व्यापारिक संस्था मात्रै भनेर बुझ्ने कुरा गलत हुन्छ । प्राधिकरण राज्यको दायित्व निर्वाह गर्ने निकाय हो । राज्यको मात्रै होइन, अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्ने निकायसमेत हो ।

राज्यले त नाफा घाटा मात्रै हेर्दैन । हुम्लाका नागरिकले कालोपत्रेमा उड्न पाउन पर्दैन ? यसमा चित्त दुखाउनुपर्ने कुरा छैन । कुनै सहरमा हुर्केर दुरदराजको जनता नबुझ्ने वा आफूलाई उड्न पाए हुन्छ, हुम्लाको जनतालाई नचाहिने भन्ने सोच राम्रो होइन ।

भोलि यस्तो दिन आउला, नेपाल एयरलाइन्समा यस्तो नेतृत्व आउला र यस्तो संरचना बन्ला कि उसले १० वटा जहाज थपोस् । यो असम्भव छैन । नेपाल एअरलाइन्सका १२ वटासम्म ट्वीनअटर थिए । भोलिका दिनमा यी सबै विमानस्थल सञ्चालनमा आउँछन् ।
चालु आर्थिक वर्षमा नयाँ विमानस्थल विस्तार गर्ने कार्यक्रम पनि छ प्राधिकरणसँग ?

म महानिर्देशक भएको साढे तीन वर्ष भइसकेको छ । मेरो कार्यकालमा कुनै नयाँ विमानस्थाल निर्माणको काम सुरू गरेको छैन । नचलेको विमानस्थलमा लगानी गरेको छैन । प्राधिकरणमा एउटा प्रणाली हुन्छ, तर, कार्यकारी प्रमुखको हिसाबले यो काम गर्न हुन्छ, यो काम गर्न हुन्न भन्ने मत त रहन्छ । तर, चालु आर्थिक वर्षमा नयाँ विमानस्थल निर्माण गर्ने नीति छैन । बजेट पनि छैन ।

नेपाल सरकारले अलिकति बजेट छुट्याएको अवस्था छ । तर, कार्यान्वयनमा जान चाहिँ जटिल छ, किनकि त्यो बजेटले पुग्ने अवस्था पनि छैन र पुगेको खण्डमा पनि विमानस्थल चल्ने अवस्था छैन । कतिपय राजनीतिक दृष्टिकोण पनि हुन्छ, त्यसो हुनाले राजनीतिक कुरालाई पनि हामीले व्यवस्थापन गर्नपर्छ, त्यसो हुँदा पनि जथाभावी लगानी गर्ने काम हामीले गरेका छैनौँ ।

पोखरा विमानस्थल अझै पनि पूर्ण हस्तान्तरण हुन बाँकी छ, कहिले हस्तान्तरण हुन्छ ?

पोखरा विमानस्थल हामी चाँडै हस्तान्तरण गर्ने अवस्थामा छौँ । लगभग काम सबै सम्पन्न भएको अवस्था छ । सामान्यतया काम सकिएको एक वर्षसम्म ‘डिफेक्ट लायबिटिज पिरियड’ भन्ने हुन्छ । कहिँ त्रुटि भएको छ भने कन्ट्रयाक्टरले सच्याउँछ ।

तर, यो विमानस्थल सञ्चालन गरेकै तीन वर्ष हुन लाग्यो, तीन वर्षसम्म पनि कुनै त्रुटि देखिएको छैन । त्यसैले विमानस्थललाई ह्यान्डओभर र टेकओभर गर्ने प्रक्रिया गर्दा कुनै असहज हुने अवस्था देखिँदैन । अब निकट भविष्यमा नै हस्तान्तरण हुन्छ ।

केही काम अझै बाँकी रहेको अवस्थाले अल्झिएको हो वा अरु कारण छ ?

थोरै काम बाँकी छ तर त्यो कामले त्यति फरक पार्दैन । जस्तो– गार्डेनिङ गर्ने, रङरोगन गर्ने काम बाँकी छ । ती काम सकिने अवस्थामा पनि छन् । ढिलो भएको कारण प्राधिकरणले नै विभिन्न निकाय र समाजबाटै पनि विभिन्न टिकाटिप्पणी भए, यसलाई होल्ड गरेर यसलाई सुधार गर्न सकिन्छ कि भन्ने विषयले पनि ढिलाइ भएको हो ।

कन्ट्रयाक्टरको साइडबाट हेर्दा उसले ह्यान्डओभर गरेर हामीले तीन वर्ष सञ्चालन गरिसक्यौँ । तीन वर्षको आम्दानी खाइसक्यौँ । ह्यान्डओभर गर्न ढिला भयो भन्छु मैले ।

पोखरा र भैरहवा विमानस्थल क्षमताअनुसार सञ्चालन हुन सकेनन् भन्ने छ, खासमा किन सकेनन् ? के नसक्ने नै हुन् ?

यसको डिजाइन के हो ? एयरक्राफ्ट क्षमतामा चल्न सके कि सकेनन् भन्ने एउटा कुरा हो, यो पनि विषय उठेको हो । दोस्रो– जति यसको फ्रिक्वेन्सी हो, क्षमताअनुसार जति जहाज आउनुपर्दथ्यो, त्यो नआएको भन्ने पनि प्रश्न हुन सक्छ ।

पहिलो सन्दर्भमा मैले भन्दै आएको छु, पोखराको हकमा डिजाइन भनेको न्यारोबडी एयरक्राफ्ट हो, जहाँ १५५ देखि १६५ यात्रु बोकेर जहाजहरू उडान–अवतरण गर्छन् । त्यो परीक्षण पनि भैसकेको छ । प्राविधिक रूपमा पोखरामा प्रश्न उठाउने कोसिस गरिएको थियो, त्यो पुष्टि भैसकेको छ ।

भैरहवामा त न्यारोबडी र वाइडबडी दुवै जान्छन् । दुवै विमानस्थलमा डिजाइन एयरक्राफ्टअनुसार काम भइरहेको छ ।
जहाँसम्म हामीले सोचेअनुसार अन्तर्राष्ट्रिय उडान भएन भन्ने छ, यो अलि वृहत् प्रश्न हो । प्राधिकरणले मात्रै गर्न सक्छ भन्ने कोणबाट जवाफ दियो भने यो प्रश्नको उत्तर अपुरो हुन्छ ।

पहिला हामीले के बुझ्नुपर्छ भने कुनैपनि विमानस्थलमा त्यसमा आउने यात्रुको सम्बन्ध भनेको त्यो क्षेत्रको मात्रै नभएर देशकै कुल गार्हस्थ्य उत्पादनसँग त्यसको सम्बन्ध रहन्छ । अहिले विश्वव्यापी नै मन्दी रहेको छ । यो विश्वव्यापी सम्बन्धित विषय पनि हो । विश्वव्यापी अप्ठ्यारोमा परेको क्षेत्र हो एभिएसन । पोखरा र भैरहवामा अहिले फ्लाइट नभएको कारण चाहिँ विश्वव्यापी मन्दी नै हो । त्यसमाथि हाम्रो अर्थतन्त्र पनि सोचेजस्तो राम्रो छैन ।

यी विमानस्थल बनाउनुको कारण पनि काठमाडौं विमानस्थलको क्षमता भनेको ९२ लाख मात्रै हो । यो भन्दा बढी काठमाडौंले धान्न सक्दैन । जुनबेलामा काठमाडौं विमानस्थल स्याचुरेट अवस्थामा पुग्छ, जुन बेलामा पूर्ण क्षमतामा पुग्छ, त्योबेलामा के हाम्रो एयर ट्राफिक ग्रोथ रोकेर बस्ने हो त ? त्यो अवस्था नआओस् भन्ने हिसाबले भैरहवा र पोखरा तयार गरेको हो । भैरहवाको क्षमता करिब ३० लाख हो र पोखराको क्षमता करिब १५ लाख हो, जम्मा ३५ लाख क्षमताका विमानस्थल हुन यी ।

कोभिडको कारणले काठमाडौं विमानस्थल स्याचुरेट भएन, यदि कोभिड नभएको भए २०२२ मा यो विमानस्थल स्याचुरेट अवस्थामा पुग्नेथियो । अझै एक वर्ष काठमाडौं विमानस्थलको क्षमता बढ्नेवाला छ । धेरै कारणले गर्दा पोखरा र भैरहवा विमानस्थल चल्न नसकेको हो ।

एउटा विमानस्थलबाट दुईवटा विमानस्थल बन्नु नराम्रो कुरा होइन । तर, यी कसरी चल्छन् भनेर कल्पना गरौँ हामीले । एभिएसन सिस्टम भनेको ट्रीपल ए हो । एयरपोर्ट, एयरक्राफ्ट र एयररुट ।

एयर रुट र एयरपोर्ट हामीसँग छ, तर एयरक्राफ्ट हामीसँग भएन । आज राष्ट्रिय ध्वजावाहकसँग अन्तर्राष्ट्रिय उडान गर्न सक्ने चारवटा विमान छन् । हामीसँग १०/१५ वटा मात्रै जहाज भइदिएको भए पनि भैरहवा र पोखरा विमानस्थल चलाउन समस्या हुने थिएन । हाम्रो बिडम्बना के भइदियो भने एयरपोर्ट हाम्रो, जहाज अरुको । विमानको परनिर्भरता अरुमाथि भयो ।

एयरक्राफ्टहरूलाई कन्भिन्स गरेर त्यहाँ लैजान त्यतिबेला सम्भव हुन्छ, जतिबेला त्यहाँ बिजनेस हुन्छ । पोखरा वा भैरहवामा विमानस्थल चलेन भनेर त्यहाँका जनताको गुनासो छ । तर, उहाँहरूका लागि त्यहाँ अरु मान्छे गइदिने होइन नि । त्यसका लागि त्यहाँ बिजनेस हुनपर्‍यो ।

यो विमानस्थल बनाउँदा जनताले तिरेको करबाट तिरियो भन्ने भाष्य निर्माण गरिँदैछ । म सबै नेपाली जनतालाई के भन्छु भने हामीले कर तिरेको पैसाबाट यो गरिरहेका छैनौँ । हामीले सेवा दिएवापत पैसा कमाएर ऋण तिरिरहेका छौँ । देशका लागि, जनताका लागि प्राधिकरणले गरिरहेको छ । आफैँले कमाएर तिर्छु भन्दा पनि आलोचित हुनुपर्ने हो त ? हामीले समाजलाई कहाँ पुर्‍याइरहेका छौँ ?

प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ, खास गरेर भैरहवामा भारतले नदिइरहेको एयर रुटको समस्यालाई कसरी अगाडि बढाउनुपर्ला ?

पहिला म के विषयमा स्पष्ट पार्न चाहन्छु भने भैरहवामा रुटको कुनै समस्या नै छैन । भैरहवामा रुटको समस्या भए त्यहाँ अन्तर्राष्ट्रिय विमान कम्पनीका जहाज कसरी आएका छन् त ? हामीले नतिजा हेर्ने हो । नतिजामा उडान र अवतरण भइरहेको छ भने समस्या कसरी भयो ? बरु समस्या हाम्रो बिजनेसमा भयो । हाम्रो अर्थतन्त्रमा भयो । समस्या हामीसँग जहाज नहुनाले भयो ।

सम्माननीय प्रधानमन्त्रीज्यूको आसन्न भ्रमणमा एयर रुट, नियर बोर्डर अप्रेसनको विषय उठाउने तयारी छ । पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग हामी समन्वयमा छौँ, उहाँहरूले पनि के–के विषय उठाउने भनेर सोधिरहनुभएको छ ।

प्रधानमन्त्रीको भ्रमणमा नियर बोर्डर अप्रेसन भैरहवाका लागि र अन्य एयर रुट, जस्तो– महेन्द्रनगरबाट हामी जान सक्छौँ, आउन सक्दैनौँ । अहिले सिमराबाट मात्रै प्रवेश गर्ने हामीसँग रुट छ, महेन्द्रनगरबाट दुईतर्फी रुट भयो भने १५/२० समय घट्ने छ । यी रुटको विषयमा पहिलेदेखि नै अनवरत रुपमा छलफल भइरहेको पनि छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको भनेर राजेन्द्र लिङदेन नेतृत्वको उपसमितिले संसदमै विषय उठान गर्‍यो । अहिले सो विषय कहाँ पुगेको छ ?

सार्वजनिक लेखा समितिको उपसमितिले प्रतिवेदन दियो । त्यहाँ यो भएन, यो भएन भनेर ८/९ वटा विषय लेखियो । त्यो किन भएन भन्ने प्रमाण तपाइँले हेर्नुभयो ? प्रमाण त छैन । विषय उठाइयो तर, त्यो विषयको प्रमाण त दिनुपर्‍यो नि ।

त्यो विषय उठाइसकेपछि प्राधिकरण प्रमुखको हिसाबले मलाई बोलाएर सोधियो ? सार्वजनिक लेखा समितिमा जुन दिन बहस भयो, त्यो दिन मलाई बोलाएर लाइभ गरेको भए के हुन्थ्यो ? मलाई जवाफ दिन लगाएको भए के हुन्थ्यो ? नेपालमा हामीले जुन व्यवस्थाको अभ्यास गरिरहेका छौँ, यो व्यवस्थाले त्यो परिकल्पना गरेको छ त ? सार्वभौमसत्ता सम्पन्न जनताले चुनेका प्रतिनिधिहरूलाई समिति बनाउने अधिकार छ तर, प्रमाणबिना लेख्ने अधिकार जनताले चुनेको मान्छेलाई छ कि छैन ? मेरो प्रश्न यति मात्रै हो ।

जे लेख्नुभएको छ, त्यसको प्रमाण जनतालाई दिनुस् । जसरी यो समितिमा छलफल हुनुभन्दा अगाडि लिक गरेर सबै पत्रकार मित्रलाई बाँडेर हल्ला गर्नुभयो, प्रमाण पनि दिएर हल्ला गर्नुस् न एकपटक । मेरो चुनौती यो हो कि प्रमाण दिनुहोस् । लेखेको प्रमाण दिनुहोस् बस् । मलाई यो भन्दा अरु केही चाहिँदैन ।

मिडियाका मित्रलाई पनि मेरो अनुरोध के छ भने म अन्यायमा परेँ नि त, सोध्नुभयो मलाई ? यो विषयमा तपाइँको धारणा के छ भनेर सोध्नुभएन नि । तपाइँहरू ज–जसले यो प्रतिवेदन लेख्नुभएको थियो, त्यो प्रत्येक बुँदाको प्रमाण माग्नुस् त ।

मैले यो विषयमा धेरै बोलिसकेँ, जस्तो १५ अर्बलाई २२ अर्ब पुर्‍यायो भन्ने आयो । दुईवटा काम गर्नुस, त्यो एयरपोर्टको पूर्वाधारको एससमेन्ट गर्नुस्, भ्यालुएसन गर्नुस् । एउटा सिभिल इन्जिनियर, अर्को कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्स इन्जिनियर र इलेक्ट्रो मेकानिकल इन्जिनियर पठाउनुस् । यी तीनजना इन्जिनियर पठाएर यसको भ्यालुएसन गर्नुस् । भ्यालुएसन के गर्नुस् भने २०१४ मा सम्झौता गर्दा त्यसको भ्यालुएसन २२ अर्ब थियो कि थिएन ? आज त्यो कतिको सम्पत्ति भयो त्यो हेर्नुस् । यो सबै कुराको भेरिफाइड भएको छ ।

यसको निर्माण र टेन्डरको विषयमा कुनै दुविधा भएमा विज्ञको सल्लाह लिने प्रचलन छ । हाम्रा लागि यसको एकमात्र र आधिकारिक विज्ञ भनेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक क्याम्पस हो । पुल्चोक क्याम्पसले त्यसको एसेस्मेन्ट गरेर २२ अर्ब भन्दा बढीको थियो, तिमीले २२ अर्बमा गरेका रहेछौ, ठिक छ भनेर अर्थ मन्त्रालयलाईसुझाव दिएको छ ।

सरकारले यसको यसै ऋण सम्झौता गरेको छैन नि त । दुई सरकार बीचको विषय हो यो । प्राधिकरणको स्टिमेटलाई मात्रै उनीहरूले आधार मानेको देखिँदैन । प्राधिकरणको स्टिमेटलाई पनि बीचको थर्ड पार्टी भेरिफिकेसन गरेर उनीहरूले ऋण सम्झौता गरेका छन् । दुई सरकारले स्वीकार गर्ने विषय हो यो ।

वास्तविक मूल्यांकन गर्नुस्, २२ भन्दा घटीको काम भएको छ भने २२ भन्दा घटीको काम भयो भनेर लेख्नुस् । अथवा हामीले कामको स्पेसिफिकेसन बनाएका छौँ, त्योभन्दा ‘डेभिएड’ भएको छ भने गुणस्तरमा सम्झौता भएको छ भनेर त्यो लेख्ने हो नि त ।

मलाई के अचम्म लाग्छ भने मान्छेले एक रुपैयाँ कमाउनका लागि दुई रुपैयाँ खर्च गर्छ ? २२ अर्बको परियोजनामा १५ अर्ब भ्रष्टाचार भयो भन्ने, १५ अर्ब कसले बाँड्यो ? चीन सरकारले बाँड्यो ? बाँकी रह्यो सात अर्ब, विमानस्थल नबनाई कसैले पनि सात अर्ब खानका लागि १५ अर्ब भ्रष्टाचार गर्छ ? यो हावादारी विषय पनि बिक्यो के । जुन सरकार (चीन) ले भ्रष्टाचार गर्‍यो भने झुन्ड्याउँछ, कसले बाँड्यो १५ अर्ब ? कस–कसको खातामा गयो ? यस्तो कुरा पनि पत्याइयो । अनि त्यहाँ ७/८ जना मान्छेको नाम लेखिएको छ, जो त्यहाँको कुनै प्रक्रियामा छैनन् ।

फेरि, मैले के भनिरहेको छैन भने त्यो २२ अर्बमा बनाउने मान्छे गलत हो भनिरहेको छैन । कागज ल्याएर यी मान्छे छन् कि छैनन् भनेर हेर्दा पुष्टि हुन्छ कि हुँदैन ? जे भने पनि हुने हो ? जे लेखे पनि हुने हो ?

माटोको कुरो चाहिँ के हो ?

उहाँहरूले ‘पेरिफेरि रोड’ बनाउँदा माटोको काम गरेको, आयल निगमको ट्यांकी नबनाएको, एसीको बिल चाइनिजले तिर्नुपर्नेमा प्राधिकरणले तिरेको यावत विषय लेख्नुभएको छ । मैले के भन्छु भने प्राधिकरण सञ्चालक समितिले बजेटको व्यवस्था गर्छ, ०७२ सालदेखि ०७९ सालसम्मको प्राधिकरणको बजेट मागेर हेर्दाखेरि प्राधिकरणले खर्च गरेको छ कि छैन भनेर थाहा हुँदैन ?

जुन चाइनिजले तिर्नुपर्ने प्राधिकरणको खाताबाट एक रुपैयाँ चिनियाँ कम्पनीको खातामा गएको देखाइदिनुस् । यो सबै खारेज भयो कि भएन अब ? के प्रतिवेदनको नाम चाहिँ लेनदेनको प्रतिवेदन हो । कुनै एउटा चिजको प्रमाण देखाउनुस् । तपाइँले सोध्नुभयो कुनै विषय नै होइन यो । यो कुरा गर्न लाएकको विषय नै होइन ।

विषयको उठान भइसकेपछि राज्यका निकायले यसलाई टुंग्याउनु त पर्ने होला नि फेरि ?

यो विषय के छ र टुंग्याउन पर्ने ? एक रुपैयाँ गएको देखाउन सक्नुहुन्न भने यो विषय रहन्छ बाँकी ? एक रुपैयाँ प्राधिकरणको खाताबाट निर्माण व्यवसायीको खातामा गएको देखाउन पर्यो । सबै स्वीकार गर्ने ल । मैले स्वीकार गर्छु । देखाउन सक्नुहुन्न भने यो कुनै विषय हुन्छ र ? कुनै प्रतिवेदन हुन्छ र ? यसलाई के गर्नुपर्छ र यसलाई केही पनि गर्नुपर्दैन ।

निकै लामो समयदेखि नेपाली उड्डयनले झेल्दै आएको युरोपियन युनियनको सुरक्षा सूचीको पछिल्लो अवस्था के छ ?

युरोपियन युनियनसँगको छलफल जारी छ । मेरो पदीय जिम्मेवारीअनुसार मैले उहाँहरूसँग वार्ता गरिरहेको छु । विगत एक वर्ष भन्दा बढी समय हाम्रो आकाशमा कुनै दुर्घटना भएको छैन । यहि समयमा विश्वका कतिपय मुलुकमा दुर्घटना भएको छ, भन्नुको अर्थ आईकाओले एक सय नम्बर दिएको मुलुकमा पनि दुर्घटना हुनसक्छ, ४० नम्बर दिएको देशमा पनि हुनसक्छ ।

हामीले पाठ सिकेर दुर्घटना हुन नदिन भविष्यमा के–के गर्ने भन्ने विषयमा छलफल गर्ने हो । उसले जारी गरेका गाइडलाईन परिपालना गराउने काम गर्नुपर्छ । हवाई सुरक्षा भनेको निरन्तर लाग्ने विषय हो, यसमा हामी लागिरहेका छौँ । तर, अर्को मैले भन्न खोजेको के हो भने भोलि अफ्रिकन युनियन, अरब युनियनले एउटा लिस्ट बनाइदियो र लिस्टमा राख्यो भने तपाइँ सहेर बस्नुहुन्छ त ?

आईकाओले महत्वपूर्ण रूपमा स्वीकार गर्ने विषय भनेको देशको सार्वभौमसत्ता हो । देश स्वतन्त्र छ, आईकाओले जारी गरेका निर्देशनहरू मैले मान्दिनँ भन्न पनि पाउँछ भन्नेखालको अभ्यास गर्ने खालको अवधारणा राखेको छ । त्यही आईकाओको सदस्य देश हो नेपाल ।

आईकाओले सेफ्टी ओभरसाइट अन्तर्गत अडिट गरेर विश्व औसत र एसिया प्यासिफिक औसत भन्दा बढी स्कोर दिएको देश हो नेपाल । तर, आज किन कुनै युनियनले हाम्रो देशलाई लिस्टमा राखिरहेको छ ? कसले गरेको अडिटको विश्वास गर्ने अब ? यो विषयमा हामी बोल्नु पर्छ कि पर्दैन ? हवाइ सेवामा सुरक्षाका कुरा गर्ने, हवाई सुरक्षा बढाउने कुराहरूमा हामी सबै लागेका छौँ । तर, कुनै युनियनले तपाईँको देशलाई कालोसूची नाम दिएर त्यो सूचीमा राखेर संसारभरि बदनाम गरेको छ ।
भनेपछि, यो प्राविधिक नभएर अन्य कुनै विषय हो ?

यो कुनै प्राविधिक विषय हुँदै होइन । प्राविधिक विषय हेर्ने भनेको तपाइँ आईकाओको लिस्ट हेर्नुस् न, यो प्राविधिक विषय होइन भन्ने कुरा त नतिजाले देखाउँछ, अंकले देखाउँछ । म प्राविधिक विद्यार्थी हुँ, म त सधैँ प्रमाणमा बोल्ने हो ।

प्राधिकरणमा तपाइँले झण्डै कार्यकाल पूरा गर्न लाग्नुभएको छ । आफ्नो कार्यकालमा प्राधिकरणमा के कति काम गर्न सफल हुनुभयो ? आफ्नो कामको समीक्षा कसरी गर्नुहुन्छ ?

म २०२२ जनवरीमा यो जिम्मेवारीमा आएको हो । त्योबेलाको नागरिक उड्डयन र अहिलेको नागरिक उड्डयन के परिवर्तन भएको छ भनेर मैले डाटा नै दिने हो । एउटा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईवटा थप भएर तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल भएको छ ।
कालोपत्रे गर्ने काम पनि सरकारको योजनाको लयमा सबै सकिएको छ । भैरहवा, नेपालगञ्ज, धनगढी, चन्द्रगढी, विराटनगर, सिमरा र जनकपुरमा रात्रीकालीन उडान हुन्छ । भरतपुर र सुर्खेतमा भएको छैन ।

काठमाडौंमा ५१ वटा जहाज पार्किङ गरेर राखेको अवस्था थियो, अहिले सबै जहाज तराईमा पठाइदिएँ, जहाँ रात्रीकालीन उडान हुन्छ । मोफसलबाट विहानै जहाज राजधानी आउँछ । विहान ६ बजे मोफसलबाट काठमाडौं आएर रातिको १२ बजे घर फर्किन सकिन्छ । यो परिकल्पना मेरै होला नि । मैले त नतिजा देखाइरहेको छु ।

मेरै कार्यकालमा आईकाओको अडिट भयो । मैले मात्रै गरेको भन्दा पनि नागरिक उड्डयन स्थापना हुँदादेखि नै क्युमिलेटिभ हुँदै हुँदै आएको हो । मेरो केही योगदान रह्यो होला र हामी ग्लोबल औसत र एसिया प्यासिफिक औसत भन्दा माथि आयौँ ।

काठमाडौं विमानस्थलमा कामको हिसाबले त चमत्कार भएको छ । नेपालमा कामै हुँदैन, समयमा काम सकिँदैन भन्ने व्यक्तिहरूको लागि यो एउटा राम्रो जवाफ हो जस्तो लाग्छ । तोकिएको समयमा तोकिएको गुणस्तरमा काम भयो । अब एक वर्षभित्र काठमाडौंको त कायापलट हुन्छ ।

हवाइ सुरक्षाको हिसाबले पनि धेरै दुर्घटना हुने पोखरा–जोमसोम, काठमाडौं–लुक्ला, नेपालगञ्ज–सिमिकोट पहाडी क्षेत्रमा लाइभ वेदर क्यामेरा राखेका छौँ । त्यो सुविधा अहिले हरेक पाइलटले, हरेक एयरलाइन्सले प्रयोग गरिरहेको छ । हवाइ सुरक्षामा ठूलो परिवर्तन भएको छ । फ्रन्टलाइन अफिसरहरू, पाइलट, इन्जिनियर, विमान कम्पनीका सञ्चालकहरू, व्यवस्थापक सबै सचेत हुनुहुन्छ । यो मनोभावना एउटा संस्कृति विकास भएको छ । यो समयमा धेरै काम भएको छ, जुन नतिजामा छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १२ : २८ बजे

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति