लिपुलेकका विषयमा भारत र चीनबीचको सम्झौता स्वीकार्य छैन : सांसदहरू « Khabarhub

लिपुलेकका विषयमा भारत र चीनबीचको सम्झौता स्वीकार्य छैन : सांसदहरू


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा भारत र चीनबीच नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग बनाउने भनी गरिएको सहमति कुनै पनि हालतमा स्वीकार्य नभएको सांसदहरूले बताएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भाग लिने अधिकांश सांसदहरूले नेपालको भूमि फिर्ता ल्याउन सरकारको दरिलो कूटनीतिक पहलका लागि अनुरोध गरे । प्रतिनिधिसभा सदस्य तारा लामाले नेपालको लिपुलेक भएर भारत र चीनले व्यापार गर्ने विषय नेपाललाई कुनै पनि हालतमा मान्य नभएको बताइन् । 

उनले भनिन्, ‘लिपुलेक नेपालको अभिछिन्न भूभाग हो । त्यो भूमि फिर्ताका लागि सरकारले दरिलो कूटनीतिक पहल गर्न सभामुखमार्फत सरकारलाई अनुरोध गर्दछु ।’

सांसद दुर्गा राई नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाभिमानलाई आँच पुग्ने गरी भारत र चीनले नेपालको  लिपुलेक प्रयोग गर्ने सहमति सम्झौता मान्य नहुने उल्लेख गरिन् ।

उनले भनिन्, ‘सत्तापक्ष र प्रतिपक्षबीच यस विषयमा  एक पटक फेरि राष्ट्रिय सहमति कायम गरौँ । भूगोलमा सानो भए पनि नेपाल सार्वभौम छ, लिपुलेकका सम्बन्धमा भारतको दाबी सत्यता र प्रमाणमा आधारित छैन, एकतर्फी कृत्रिम दाबी नेपालाई स्वीकार्य हुँदैन, यस विषयमा कूटनीतिक पहल गर्न ढिलाइ गरिनु हुन्न ।’

सांसद नारायणी शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै अभिन्न भूभाग भएकाले भारत र चीनले नेपालसँग कुनै छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग सञ्चालनका लागि भएको सहमतिलाई स्वीकार्य गर्न नसकिने बताइन् । उनले सबै राजनीतिक दलले एउटै सङ्कल्प गरेर प्रधानमन्त्रीको नेतृत्वमा समस्या समाधानका लागि पहल गर्न आग्रह गरिन् । 

सांसद नैनकला थापाले सार्वभौम र स्वाधीन नेपालीलाई लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिले चिन्तित बनाएको बताइन् । उनले चीन र भारतले नेपालाई हेप्ने प्रवृत्ति देखाएकाले त्यो सोच तत्काल सच्याउन आवश्यक रहेको धारणा राखिन् । 

सांसद प्रभु हजाराले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग भए पनि नेपाल र भारतले नेपालसँग कुनै परामर्श नगरी त्यस क्षेत्रमा व्यापारिक नाका बनाउने निर्णय नेपालीका लागि अमान्य रहेको प्रतिक्रिया दिए ।

सांसद देवेन्द्र पौडेलले हरितालिका विशेष अवसरमा सम्पूर्ण नेपालीजनप्रति शुभकामना व्यक्त गर्दै ढोरपाटन सिकार आरक्ष जाने सडक अस्तव्यस्त रहेकाले मर्मत र सुधारका लागि ध्यानाकर्षण गराए । 

सांसद ठाकुर गैरेले तीजका नाममा अहिले पनि कतिपय सामन्ती अवशेषका प्रवृत्तिका कारण भड्किलो, खर्चिलो, रवाफिलो बन्दै गएकाले सुधारको खाँचो औँल्याए ।

उनले सामाजिक एकतालाई बलियो बनाउँदै राष्ट्रिय हितको पक्षमा सामाजिक न्याय, लोकतन्त्र, जनजीविका र सुशासनको पक्षमा तीजले एकताबद्ध  तुल्याउने विश्वास व्यक्त गरे ।

सांसद नारायणप्रकाश साउदले विद्यालय शिक्षा विधेयक पारित गरे पनि सबैलाई स्वीकार्य गरी अघि बढाउन पर्ने सुझाव दिए ।

सांसद नारायणप्रसाद आचार्य पाल्पाको रामपुर खण्डको सडक, कृषि, नगदेवाली र शिक्षा क्षेत्रमा ठूलो महत्त्व राख्ने भएकाले समयमै मर्मत र सुधारका लागि अनुरोध गरे ।

सांसद पुष्पबहादुर शाहले राष्ट्रिय परिचय पत्र बनाउन जाने क्रममा यसै साता पनि ज्येष्ठ नागरिकको लडेर मृत्यु भएकाले घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितणको व्यवस्थाका लागि अनुरोध गरे ।

सांसद प्रकाश ज्वालाले जाजरकोट केन्द्रवीन्दु भएर गएको  भूकम्पमा सल्यान जिल्लामा पनि पूर्वाधार क्षेत्रमा ठूलो नोक्सानी भएकाले सरकारले त्यसमा समेट्न, छिटो पुनः निर्माणका कार्यक्रम सञ्चालन गर्न र जिल्लामा दमकलको व्यवस्था गर्न  सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रतीक्षा तिवारीले तीजका उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गर्दै नजिकिँदो चाडबाडका अवसरमा  अत्यावश्यक वस्तुमा हुन सक्ने मूल्यवृद्धि, कालोबजारी र कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमनको माग गरिन् ।

सांसद प्रेम महर्जनले  भारत र चीनसँग नेपालका घनिष्ठ सम्बन्ध रहेकाले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन दरिलो कूटनीतिक प्रयासको खाँचो औँल्याए । रासस
 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : २७ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको