काठमाडौं– केन्द्रीय सुरक्षा समितिको बैठक आइतबार गृह मन्त्रालयमा सम्पन्न भएको छ । बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
‘विभिन्न माग राखेर भइरहेका धर्ना, जुलुस, आन्दोलन तथा अवाञ्छित गतिविधिहरूलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ ।’ प्रवक्ता काफ्लेले भने, ‘मुलुकभरको शान्ति सुरक्षाका विषयमा गहन समीक्षा भयो ।’
त्यसै गरी बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा प्रकोपलाई मध्यनजर गरी आवश्यक परेर तत्काल मेडिकल टिमसहित परिचालन गर्ने तयारी भएको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखकले हैजा प्रकोप मध्यनजर गरेर आवश्यक परेर तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् ।
‘चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ ।’ प्रवक्ता काफ्लेले भने, ‘सोही अनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ ।’
बैठकमा गृह सचिव गोकर्णमणि दुवाडीसहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि सहभागी थिए ।
प्रतिक्रिया