काठमाडौं– टी–२० श्रृङ्खलाअन्तर्गत भारतको आसामबीच भएको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ ।
भारतको गुवाहाटीमा बिहीबार भएको खेलमा नेपाल ‘ए’ आसामसँग १५ रनले पराजित भएको हो । आसामले प्रस्तुत गरेको एक सय ९१ रनको लक्ष्य पछयाएको नेपालले आठ ओभरमा तीन विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो ।
त्यसपछि खेल खेलाउन सम्भव नभएपछि आसामलाई डक वर्थ लेविस (डिएसएल) नियमका आधारमा विजेता घोषणा गरिएको हो । खेल रोकिनुअघि नेपाल ‘ए’ का शुभ कङ्साकार ३३ तथा सन्दीप जोरा दुई रन बनाएर खेलिरहेका थिए । यसैगरी कप्तान अनिलकुमार साहले २०, पवन सर्राफले ६ र इशान पाण्डेले एक रन बनाए ।
बलिङतर्फ आसामका मरिनमोय दत्त र आकाश सेनगुप्ताले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आसामले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ९० रन बनायो ।
आसामका लागि सुमित घाडीगाँउकरले ३४, अभिनव चौधरीले २६, आकाश सेनगुप्ताले अविजित २४, रोहित शेनले २४, सुमित कश्यपले २२, साहिल जैनले १७ तथा अविलश गोगोइ र आयुशमान मालाकारले समान १३ रन बनाए ।
बलिङतर्फ नेपालका लागि आकाश चन्दले तीन, सागर ढकाल र विवेककुमार यादवले दुई-दुई तथा आदिल आलम अन्सारीले एक विकेट लिए । पाँच खेलको शृङ्खलामा नेपाल १-० ले पछि परेको छ । शृङ्खलाको दोस्रो खेल शुक्रबार हुनेछ ।
प्रतिक्रिया