काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सरकार प्रदेशको समृद्धिका लागि लगानीमैत्री वातावरण निर्माणमा लागेकोले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
मंगलबार काठमाडौंमा नेपाल पश्मिना उद्योगसँगको छलफल तथा अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् । मुख्यमन्त्री शाहले सुदूरपश्चिममा लगानीको पर्याप्त सम्भावना रहेको बताए ।
कार्यक्रममा मुख्यमन्त्री शाहले भने, ‘सुदूरपश्चिममा पर्याप्त ऊनको सम्भावना छ, उच्च पहाडी र हिमाली क्षेत्रमा हजारौँ भेडा च्याङ्ग्राहरू पालन भइरहेका छन्, हामी अब त्यसको व्यवसायलाई प्रवर्द्धन गर्न गइरहेका छौँ ।’
उनको गुणस्तर वृद्धि गरेर अन्तर्राष्ट्रिय बजारमा सुदूरपश्चिमको गलैँचा पुर्याउने लक्ष्य रहेको बताउँदै व्यवसायीहरूलाई भने, ‘हामी प्रवर्द्धनमा लागिरहेका छौँ, तपाईँहरू लगानी गर्नुहोस् ।’
नागरिकको समेत सहभागितामा उद्योग व्यवसायलाई अगाडि बढाउने नीति सरकारले लिएको भन्दै मुख्यमन्त्री शाहले साझा सुविधा केन्द्र स्थापनामा समेत चासो राखिएको उल्लेख गरे । ‘पीपीपी मोडलमा हामी अगाडि बढ्छौँ । साझा सुविधा केन्द्र स्थापनाको लागि पनि पहल सुरु गर्छौँ,’मुख्यमन्त्री शाहले भने ।
साझा सुविधा केन्द्रबाट इन्स्योरेन्स, औषधिको व्यवस्था, नस्ल सुधार लगायतको सेवा दिँदै पशुपालक किसानहरूलाई सहज बनाउने प्रदेश सरकारको नीति रहेको उनले बताए ।
पूर्व आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीले सुदूरपश्चिममा भेडा पालनबाट ठूलो आम्दानी सिर्जना गर्न सकिने बताए ।
‘हिमाली गाउँपालिका, स्वामिकार्तिक गाउँपालिकामा त्यसको प्रयास पनि भइरहेको छ,’ उनले भने, ‘प्रदेश सरकार लागिरहेको छ, हामी त्यहीबाट समृद्धिको सम्भावना देखिरहेका छौँ । रानिसैन र स्वामिकार्तिकमा भेडा बैंक स्थापना गर्ने लक्ष्य रहेको छ ।’
नेपाल पस्मिना इन्डस्ट्रिज एसोसियसका अध्यक्ष धन प्रसाद लामिछानेले कार्यपत्र प्रस्तुत गर्दै व्यवसायीक पशुपालकका लागि तालिम, साझा सुविधा केन्द्र लगायतको आवश्यकता रहेको टिप्पणी गरे ।
गलैँचा उत्पादक संघका बलराम गुरुङले कच्चा पदार्थ तिब्बत र न्युजिल्यान्डबाट ल्याउनु परेको बाध्यता सुनाउँदै अब तत्काल सुदूरपश्चिममा लगानी गर्न तयार रहेको बताए ।
५/६ अर्ब हामीले कच्चा पदार्थका लागि खर्च गरिरहेका छौँ, सुदूरपश्चिम र कर्णालीमा हामी लगानी गर्न तयार छौँ । सरकारले त्यसको वातावरण तयार गरिदिनुपर्छ,’ उनले भने ।
छुर्पी सङ्का अध्यक्ष रेशम पोखरेलले नागरिकहरू सचेत हुन आवश्यक रहेको बताए । ‘हिमाली भेगमा चौरी पालन गर्न सक्छौँ, सुदूरपश्चिममा सम्भावना छ । गाई मात्र होइन, अब चौरीपालनको पनि थालनी गर्नु पर्छ,’ उनले भने ।
गलैँचा उद्योगी नरेश श्रेष्ठले गाई र भेडामार्फत न्युजिल्यान्ड सम्पन्न भएको उदाहरण दिँदै सुदूरपश्चिमलाई पनि सम्पन्न बनाउन धेरै समय नलाग्ने बताए । ‘जग्गा र लगानीमा सरकारले सहजता पैदा गर्दा थुप्रै लगानीकर्ता सुदूरपश्चिम आउन चाहिरहेका छन्,’ उनले भने ।
प्रतिक्रिया