लमजुङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ माथि सामाजिक सञ्जालको विषयलाई लिएर गम्भीर आरोप लगाएका छन् ।
लमजुङको बेँसीशहरमा आइतबार आयोजित राप्रपाको जिल्ला अधिवेशनमा बोल्दै शाहीले मन्त्री गुरुङले झुट बोलेको दाबी गर्दै सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।
शाहीले मन्त्री गुरुङले सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने भनेर अभिव्यक्ति दिएकोमा आपत्ति जनाए । दर्ता र सूचीकरण (लिस्टिङ) दुई फरक प्रक्रिया भएको बताउँदै उनले मन्त्रीले सूचीकरणलाई नै दर्ता भनी जनतालाई भ्रममा पारेको आरोप लगाए ।
‘दर्ता र सूचीकरणमा आकाश र जमिनको फरक छ,’ शाहीले भने, ‘तर मन्त्री गुरुङले सामाजिक सञ्जाल बन्द गर्न खोज्दै सूचीकरणलाई दर्ता भनेर जनतालाई ढाँट्नुभएको छ।’ उनले मन्त्रीको यो कार्यलाई निरङ्कुशताको पराकाष्ठा समेत भनेका छन् ।
नेता शाहीले लमजुङका जनताले आगामी चुनावमा मन्त्री गुरुङलाई पराजित गर्ने चेतावनी समेत दिएका छन्। ‘अब लमजुङका जनताले सञ्चार मन्त्रीलाई लमजुङबाटै चुनाव हराउनेछन्,’ उनले दाबी गरे ।
मन्त्री गुरुङले केही समयअघि नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता गराउनुपर्ने र यदि दर्ता नगरिए ती बन्द गर्न सकिने बताएका थिए ।
प्रतिक्रिया