एमाले महाधिवेशन : समूहगत प्रतिवेदनमाथिको प्रस्तुतीकरण सम्पन्न « Khabarhub

एमाले महाधिवेशन : समूहगत प्रतिवेदनमाथिको प्रस्तुतीकरण सम्पन्न


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण सकिएको छ । 

ललितपुरको गोदावरीमा जारी महाधिवेशन केन्द्रमा आइतबार तेस्रो दिन १० समूहमा विभाजन गरिएका महाधिवेशन प्रतिनिधिको समूहद्वारा प्रतिवेदनमाथिको प्रस्तुतीकरण सम्पन्न भएको हो ।

आज १० विभिन्न समूहगत नेताहरूको प्रस्तुति सकिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए । समूहगत नेताले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनसहित आयोगका प्रतिवेदनहरूमाथि केही सुझावसहित मूल अवधारणामा सहमत जनाएको उनले जानकारी दिए । 

छलफल प्रतिवेदन पेस गर्दै समूहगत नेताहरूले भावी पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका प्रचार विभाग प्रमुख गौतमले उल्लेख गरे । 

उनका अनुसार सुदूरपश्चिम प्रदेशबाट कृष्णप्रसाद जैसीले महाधिवेशनमा प्रस्तुत गरिएको प्रतिवेदनपूर्ण सहमति जनाएका छन् । ‘अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष ओलीको विकल्प नरहेको निष्कर्ष हाम्रो समूहको ठहर छ’, जैसीले भने ।

कर्णाली प्रदेशका अध्यक्ष एवं समूहगतका नेता गुलाबजङ्ग शाहले वर्तमान अवस्थामा नेतृत्वलाई थप स्थापित र सशक्त बनाउनुपर्ने समय आएकाले पार्टीको भावी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नरहेको बताए ।

लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

गण्डकी प्रदेशका उपाध्यक्ष एवं समूहगत नेता मीनप्रसाद गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्यमा पुर्‍याउन प्रतिवेदनहरूले प्रष्ट मार्ग निर्देश गरेको बताए ।

बागमती प्रदेशका अध्यक्ष एवं समूहगत नेता कैलाश ढुङ्गेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनुपर्छ भन्ने विधान संशोधनलाई अधिकांशले समर्थन गरेको बताउँदै केही मत भने उक्त व्यवस्था हटाउनु हुँदैन भन्ने सुझाव आएको जानकारी दिए । 

मधेस प्रदेशका अध्यक्ष एवं समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट पार्टी अध्यक्ष ओलीलाई नेतृत्व दिनुपर्नेमा जोड दिए । ‘पार्टीमाथि देशी/विदेशी शक्तिबाट चौतर्फी आक्रमण भइरहेको बेला नेतृत्व स्थापित गर्नका लागि आगामी महाधिवेशनबाट अध्यक्ष ओलीलाई नै पुनः नेतृत्व दिनुपर्छ’, उनले भने ।

कोशी प्रदेशका अध्यक्ष एवं समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्नुभएको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरे ।

उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक आयोगमा निर्वाचित र नियुक्ति भएकाहरूलाई राजनीतिमा नफर्किने भन्ने विषय पार्टीको विधान र संविधानमा लेखिनुपर्दछ ।’

साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने छन् ।

यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवासबाट भक्त गुरुङ तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालयबाट शिव अधिकारी , विभागीय संरचना र केन्द्रीय निकाय आयोजकका तर्फबाट चुडामणि जङ्गलीले प्रस्तुति गरेका थिए । 

समूहगत नेताको सुझावसहितको प्रस्तुतीकरणपछि प्रतिवेदनमाथि आएका सुझावमा सम्बन्धित नेताहरूले जवाफ दिनेछन्  । त्यसपछि सुझावसहित पार्टीको विधान पारित गरिने एमाले प्रचार विभागका प्रमुख गौतमले जानकारी दिए । 

उनका अनुसार आजै समसामयिक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको छ । महाधिवेशनमा आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यतालिका रहेको गौतमले जानकारी दिए  ।

‘निर्णायक राष्ट्रियशक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जनाको सहभागिता छ । महाधिवेशन आज सकिने कार्यतालिका रहेको एमाले प्रचार विभागले जनाएको छ । रासस

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १२ : ४२ बजे

दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने

कैलाली– युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नम्बर ४ तङ्ग्राम

प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश

नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई