बाजेपुस्ताको बेरुजुमाथि नातिपुस्ताको प्रश्न | Khabarhub Khabarhub

बाजेपुस्ताको बेरुजुमाथि नातिपुस्ताको प्रश्न



नेपालको राजनीतिमा चौबीस घण्टापछि के हुन्छ, पत्तो हुँदैन । एमालेको विधान अधिवेशनबाट पार्टी नेतृत्वमा अनन्तकाल रहने आफ्नो अभिष्ट पूरा गरेर फर्किएका केपी ओलीलाई एकदिन नटर्दै विभत्सको यो घडी आउला भन्ने सुरसार नै थिएन । सम्भवतः यो अप्रत्याशित चट्याङ उनको राजनीतिक जीवनकै नमेटिने कलङ्क प्रमाणित हुनेछ ।

नाममा विधान अधिवेशन भनिए पनि २४ घण्टाअघि सम्पन्न त्यो ओलीलाई थप अहंकारी बनाउन आयोजना गरिएको महायज्ञ थियो । देशभरिका कार्यकर्ता चरु लिएर सहभागी थिए । त्यहाँ बाँडिएको खाना महापुराणको प्रसादी थियो । अरु त अरु त्यहाँ बेच्न राखिएका पुस्तकका स्टलमा समेत ओलीगानको सिन्डिकेट थियो । भेलालाई पटक पटक सम्बोधन गरेका ओलीले फेसबुक कम्पनीदेखि आन्दोलनमा उत्रिएको नातिपुस्तालाई दपेट्न भ्याए ।

‘केपी बा’लाई ब्यासासनको चाँजो मिलाएर फर्किएका कार्यकर्ता घर नपुग्दै तखता पलटको अवस्था आएको छ । एमालेजनका केपी बालाई हजारौँ सङ्ख्यामा देशभर उत्रिएको नातिपुस्ताले पाइतालामा कुल्चिएर स्वतन्त्रताको लडाईं प्रारम्भ गरेको छ । दुईचार वर्षअघि बाको पोस्टर टाँस्नमा गौरव गर्नेहरु नै निर्ममतापूर्वक खनिएका छन् । यो आह्वान यसकारण अजेय छ, जुन संगठित छैन । असंगठित आवाज सुनामीजस्तै हो, जसले जहाँ जतिबेला पनि बढार्न सक्छ । एउटा कहावत छ– यो कब्रस्तान तिनीहरुले भरिएको छ, जसले कुनैबेला म बिना यो संसार चल्दैन भन्ने ठान्थ्यो ।

बाटो गलत भए पनि गन्तव्य सही छ भने त्यसले दिने परिणाम नकारात्मक हुँदैन् । अहिलेको आन्दोलनले पाएको समर्थनको जग पनि त्यही हो । शहर जलिरहँदा बाँसुरी बजाउने निरोको पुनरावृत्ति नेपालमा बाक्लै देखिने गरेको छ । पटक पटक जनताका नाममा भएका आन्दोलन तिनै जनता अल्मल्याउने हतियार भएको प्रमाणित हुन्छ । राणा मिल्काउने अभियानमा लागेको कांग्रेस भित्रभित्रै अर्कै शक्ति लागेर राजालाई ‘लिलिपुट’ बनाइएको पत्तै भएन । राजालाई दरबारबाट पाल्पा लाने तयारीमा रहेको आन्दोलनकारी नेतृत्व हठात राजा दिल्ली उत्रिएपछि झसङ्ग भयो । क्रान्ति सफल भए लगत्तैसत्ताको बागडोर राणाकै हातमा पुग्यो ।

०७ सालदेखि ०१४ सालसम्म लाठे रोपाईंमा अलमलिएको राजनीतिले ०१५ सालको चुनावपछि लय त समायो तर राजा महेन्द्र र बीपी कोइरालाबीच व्यक्तित्वको टकरावमा राजा हावी भए । आफ्ना विश्वासपात्र जति सबै राजाले आफ्नो पोल्टामा पारेको बीपीले पत्तै पाएनन् । कतिसम्म भने राजाले ‘कू’ गर्दा उनी सार्वजनिक कार्यक्रममा भाषण गर्दै थिए । त्यहीँबाट बीपीलाई सेनाले नियन्त्रणमा लियो । त्यसपछिका कथाव्यथा बीपीले पुस्तकमा लेखेर चित्त बुझाउनुपर्‍यो । आत्मसाक्षी राखेर त्यसको दूधपानी छुट्याउने काम भएन ।

राजा महेन्द्रले आफ्नो भिजन लागू गर्न निर्दलीय व्यवस्था बीजारोपण गरे । हिजो बीपीलाई घात गर्नेहरु राजाका सहयोगी बने । अन्ततः पञ्चेकै सहयोग नपाउँदा राजा महेन्द्र वाक्क, दिक्क, प्याक्क भए । आफ्नो सोच अनुसार राज्य व्यवस्था मिलाउन नसकेका राजा महेन्द्रको अन्त्य सुखद भएन । उनको मृत्युका विषयमा धेरै संशयको भरपर्दो जवाफ अहिलेसम्म प्राप्त भएको छैन ।

पञ्चायत विरुद्ध दलहरुको क्रियाशीलता कायमै थियो । राजा बीरेन्द्रले बाउको बाटो त पछ्याए, तर नाराले मात्र चिउरा भिजेन ।भावनाले देश बन्दैन । देश बनाउन त बेल्चा नै चाहिन्छ । पुरै व्यवस्था राजा रिझाउनमै केन्द्रित भयो । अन्ततः कांग्रेस–एमालेको सहकार्यले पञ्चायत घुँडा टेक्यो । तर पञ्चायत विरोधी क्रियाकलापमा लाग्दा राजा हुने रहर पलाएका नेताहरुले सुशासन दिन सकेनन् । बरु अधिकारको श्रीपेचले उनीहरुलाई लोभ्यायो ।

सत्तालाई स्वार्थको केन्द्रमा राखेर अनैतिक कामले प्रश्रय पाउँदा माओवादी जन्मियो । उसले जनयुद्ध भने पनि त्यो व्यभिचार चुलेसीले फर्सी, फर्सीले चुलेसी काटे पनि अन्ततः फर्सी काटिए जस्तै नेपाली जनताको भाग्यमाथि बञ्चरो हान्ने काम भयो । माओवादीको हिंसात्मक आन्दोलनले २,४ सय माओवादीको काया फेरे पनि अरुलाई खाडीकै पाहुना बनायो ।

नेताबाट राजा, राजाबाट नेताले शासन फिर्ता लिँदाको दृश्यमा फरक देखिएन । राजासँग कपाली तमसुक गरेर ल्याइएको गणतन्त्रले संस्थागत लुटलाई मलजल गर्‍यो । जनताले तिरेको करमा ब्रम्हलुट मच्चाउन दलहरुबीच हानाथाप चल्यो । आन्दोलित २८ वर्षमुनिका अभिभावक राज्यको बेथितिबाट चरम पेलिएको पुस्ता हो ।

नेताहरुको निर्देशनलाई त्यो पुस्ताले आफ्नो जीवनको दैनिकी बनायो । उनीहरुले दिएको सुशासनको कथित भाषणलाई शिरमा सिउँरियो । पार्टीका घोषणापत्रलाई वेद, त्रिपिटक, बाइबल ठान्यो । तिनैका सन्तानले यो निर्मम दृश्य टुलुटुलु हेरिरहे । हजुरबा पुस्ताको गणतन्त्र र लोकतन्त्रले उनीहरुको जीवनमा कहिल्यै परिवर्तन ल्याएको अनुभूति गराएन । नाना, छाना र खानाको सपना सधैँ धरापमा पर्‍यो ।

राज्यको दृष्टिमा उनीहरु कहिल्यै गन्तीमा परेनन् । आफ्नै देशमा विदेश जान खुट्टा उचालेको ट्रान्जिट शक्तिका रुपमा बद्नाम गरियो । युवा देशमा नरहेको भनेर ‘मिम’ बनाइयो । उनीहरु न घरमा बोल्न पाए, न स्कुलमा । एकप्रकारले सबै बुझेको कुण्ठित शक्तिका रुपमा भित्रभित्रै पाकेर बस्यो । ओली सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि धैर्यको बाँध फुट्यो ।

जेनजी पुस्ता सडकमा उत्रिएको दृश्यले यसअघि हुने प्रदर्शनका धेरै वटा मानक भत्काएको छ । उनीहरुले उठाएका मुद्दा हजार प्रतिशत नेपाली जनजनले भोगेको धड्कनको आवाज बोलेको छ । पहिला पहिलाका आन्दोलनमा कांग्रेस, एमाले, माओवादी, राजावादी हुन्थे । अहिले निर्दोष किशोर छन् । यो पुस्ताबीचको लडाईं हो ।

बा, हजुरबाबाट इज्जत नपाउँदा सडकमा भड्किएको आवाज हो । पार्टीका मानिसहरु आन्दोलित हुँदा पुलिस, सेनाको गाडीसँग डराउँथे, यिनीहरु दोस्ती गाँस्न पुगेका छन् । आफ्नो आवाजमा अडिग छन् । मागमा प्रष्ट छन् । आन्दोलित पुस्ता त्यही बन्दुक बोक्ने सिपाहीको भाइ छोरो हो, कांग्रेस–एमाले–माओवादीका नेता कार्यकर्ताकै परिवारको सदस्य हो ।

न्यायकर्मी, पुलिस, पत्रकार, व्यापारी, कर्मचारी सबै सबै परिवारबाट विशुद्ध एजेण्डाका लागि कुलद्रोहीका रुपमा उत्रिएको नौजवान हो । यो शक्तिले सत्ताको जोडघटाउ, कमिसनको जालो चिन्दैन । बरु सत्तालाई पारिवारिक सम्पति बनाउने, आफ्ना हुक्के, ढोके, चम्चेको श्रीवृद्धिमा रमाउने दरिद्र सोच पालेका नेतृत्वविरुद्धको विद्रोह हो ।

सुरुमा शानदार तरिकाले मुखमा सल्केको चुरोटले अन्तिममा पैतालामुनि किचिएझैँ झण्डै चार दशकदेखि राज्यसत्तामा निर्लज्ज राज गरिरहेका विरुद्धको यो लडाईं प्रवृत्तिमाथिको आक्रमण हो । जेनजी पुस्ता निम्छरा अभिभावकको आवाज हो । यी पुस्ताको रगत, पसिना र जवानी केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहालजस्ता ६,७ जना पात्रलाई सत्ताको रजगजमा पुर्‍याउनमै खरानी भएको छ । पातले रुखको साथ छोड्छ, दोष हावालाई जान्छ भनेझैँ झण्डै चारदशक हजुरबा पुस्तालाई राज्यले पालेको सुनेका देखेका जेन जी पुस्ताको रगत उम्लिनु अस्वाभाविक थिएन ।

साइरनमा हिँड्नेहरु सूचनाको कुन हदसम्म बाँचेका हुन्छन् भन्ने आफैँलाई प्रधानमन्त्री बनाउने सार्वभौम संसद क्रिडास्थल बन्ला भन्ने यिनीहरुलाई होस नै भएन । पब्लिक अडिट कसरी हुन्छ र त्यसको हिसाबकिताब कसरी राखिन्छ भन्ने चेत बल्ल आएको हुनुपर्छ । देशको कानुन बनाउँदा हेलचेक्र्याइँ गर्नेलाई त्यो भन्दा महत्वपूर्ण ठाउँ दिएर पुरस्कृत गरिएको दृश्य कम ननिको थिएन । कांग्रेस–एमाले मिलिभगत गरेर राज्यका हरेक निकायमा बाँडफाँड गरिएको निर्मम दृश्य भवितव्य निम्त्याउने कारक हुन् ।

पत्याउनुहुन्छ ? निक्कै विलासी भनिएको देश बेलायतका विद्यार्थीहरु सानो भन्दा सानो विषयमा पनि बेखबर ठहरिए । भर्खरै गरिएको एक अनुसन्धान अनुसार बेलायतका १० जनामा एकजनालाई गोलभेंडा बोटमा फल्छ भन्ने पत्तै छैन । उनीहरुको बुझाइमा यो माटोमुनि फल्छ । एक तिहाई प्राथमिक विद्यालयका विद्यार्थीहरु भन्छन्– चीज रुखमा फल्छ । १८ प्रतिशत साना विद्यार्थी माछाबाट बनाइने फिस फिङ्गर कुखुराको मासुबाट बनेको ठान्छन ।

के यसो भन्दैमा बेलायतको लोकतन्त्र कमजोर भएको हो त ? हैन नि । मानिस भएको ठाउँमा कमजोरी हुन्छ नै । तर, नसुधार्नु चाहिँ गलत हो । भनिन्छ – ‘उपयोगबिनाको धन काम छैन । नम्रताबिनाको विद्या काम छैन । सहयोगबिनाको हात काम छैन । स्वार्थले भरिएको प्रेम काम छैन । होसबिनाको जोस काम छैन । पापसँगैको धर्म काम छैन । परोपकारबिनाको जीवन काम छैन । योग्यता भएको मानिस कहिलेकाहीँ इमान्दार हुँदैन ।’

राष्ट्रियता भनेको के हो ? जुन प्रकरणले एकमुष्ट उत्तर दिन्छ । वेदान्तको प्रचार प्रसार गर्ने सिलसिलामा स्वामी रामतीर्थ जापान पुगे । त्यहाँ उनको भव्य स्वागत सत्कार भयो । स्वामीलाई जापानकै एक विद्यालयले अभिनन्दनका लागि बोलायो । स्वामीले त्यही विद्यालयमा पढिहेको एक शिशुलाई बोलाएर सोधे– ‘तिमी कुन धर्म मान्छौ ?’ ‘बौद्ध धर्म मान्छु ।’ शिशुले सहज शैलीमा उत्तर दियो । स्वामी फेरि प्रश्न थपे, ‘बुद्धका बारेमा तिमीलाई के थाहा छ ?’ बुद्ध भनेका महान भगवान हुन । यति भन्दै त्यो सानो बालकले चुपचाप ध्यान गरी बुद्धप्रति नतमस्तक हुँदै अभिवादन गर्‍यो । ‘मानिलेउ जापानलाई जित्ने उद्देश्यले कुनै तेस्रो देशबाट सैनिकको एक डफ्फा यहाँ आयो । र, त्यो डफ्फाको नेतृत्व बुद्ध र कन्फ्यूसियसले गरेका रहेछन भने त्यतिबेला तिमी के गर्छौ ?’

स्वामीले प्रश्न सक्दानसक्दै बालकले जोशपूर्ण उत्तर दियो – ‘त्यतिबेला म तरबारले बुद्धको टाउको काटिदिन्छु र उक्त काटिएको टाउको कन्फ्युसियसको खुट्टामा राखिदिन्छु ।’ बालकको यस्तो जवाफ सुनेर रामतीर्थ खुसीले गद्गद् भए । विद्याथीलाई अँगालो मारे । उनको मुखबाट निस्कियो, ‘जुन देशका विद्यार्थीमा यसप्रकारको देशभक्ति हुन्छ, त्यो देश कुनै देशको गुलाम हुँदैन । त्यो देशको उन्नतिलाई कसैले रोक्न सक्दैन ।’ बुद्धको जन्मस्थलका युवाले त्यही सन्देश प्रवाहित गरेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : २८ बजे

सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन

काठमाडौँ – नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज

सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द

आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ

काठमाडौँ – वायु सेवा सञ्चालक सङ्घ नेपालले पछिल्लो राजनीतिक सङ्कटमा

जेनजीलाई पारसको आग्रह : अब नयाँ नेपालको निर्माणमा लाग्नुपर्छ

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ

पूर्वी युक्रेनमा रुसी हवाई आक्रमण : कम्तीमा २० जनाको मृत्यु

एजेन्सी – युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा मङ्गलबार भएको रुसी हमलामा