केपी ओलीले मात्रै देश बिगारेका होइनन्, कांग्रेस पनि उत्तिकै जिम्मेवार छ : दीपकुमार उपाध्याय | Khabarhub Khabarhub

केपी ओलीले मात्रै देश बिगारेका होइनन्, कांग्रेस पनि उत्तिकै जिम्मेवार छ : दीपकुमार उपाध्याय


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतका लागि पूर्व नेपाली राजदूत तथा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायसँग वर्तमान राजनीतिक अवस्था, नेपाली कांग्रेसको भावी राजनीतिक कार्यदिशा र समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

चिकित्सा शिक्षा विधेयकका सन्दर्भमा देखाएको अडानमा नेपाली कांग्रेस दह्रो रुपमा प्रस्तुत हुन सकेन । संसदबाट विधेयक पास हुँदा प्रमुख प्रतिपक्षी दल निरिहजस्तै देखियो । यस्तो निरिहताले कांग्रेस कसरी गरि खान्छ ?

यसलाई हामीले वस्तुपरक रुपमा विश्लेषण गर्दा उपयुक्त हुन्छ । कांग्रेस त जिम्मेवार प्रतिपक्ष हो, पहिले संसदमा हात हालाहाल, कुर्सी भाँचाभाँच हुन्थे । कांग्रेसले त्यस्तो गर्न मिलेन, गरेन । तर, चिकित्सा शिक्षाको सम्बन्धमा कांग्रेसले आफ्नो धारणा प्रस्ट नै राखेको छ, खास गरेर डा. गोविन्द केसीले उठाएका मागहरुका सम्बन्धमा । डा. केसीले पहिलेदेखि नै, जुनसुकै पार्टीको सरकार हुँदा पनि अनशन बस्नुभएको छ । उहाँ चिकित्सा सिक्षा सुधारको माग अगाडि सारेर पटक पटक अनशन बस्नुभयो । तर, यसपटक सरकारले उहाँसँग गरेका सम्झौतालाई कार्यान्वयन गर्ने विषयमा नैतिकता देखाउन सकेन ।

पाईं केही महिना विदेश पनि बसेर आउनुभयो, बाहिरबाट नेपालको राजनीतिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

अहिले यत्रो प्रविधिको युग छ । प्रविधि सबैका लागि सर्वसुलभ छ । त्यसलाई प्रयोग गर्ने कि नगर्ने, ग्रहण गर्ने कि नगर्ने भन्ने हाम्रो कुरा हो ।

अहिलेको सन्दर्भलाई सही रुपमा व्यख्या गर्दा, नैतिकता र इमान्दारिताको खडेरीका कारण नेपाल फसेको हो । नेपालको भौगोलिक अवस्थाले यहाँ धेरैका भू–राजनीतिक स्वार्थ पनि जोडिएका छन् । तर, हामीले आफ्नो स्वार्थ बुझ्ने हो नि !

राजनीतिक पार्टीको कुरा गर्दा कांग्रेस पार्टीकै सन्दर्भमा भन्दा निर्लज्जता छ, हेर्नुहोस् । महासमितिको वैठक तोकिएको मितिभन्दा एक महिनाभन्दा बढी सारियो । तर, त्यसले पनि राम्रो सन्देश दिन सकेन । अन्तिम दिनमा, निर्लज्जताका साथ, त्या पनि बलजफ्ती सक्ने काम गरियो ।

यस्तो अवस्थामा कांग्रेस कसरी अगाडि जान्छ त ?

गाह्रो छ हेर्नुहोस् । नेताहरुले ‘मेरो गुट र म मात्रै’ भन्ने प्रवृत्ति त्यागेनन् भने कांग्रेस अगाडि जान गाह्रो छ । देश संघीय व्यवस्थामा अगाडि बढिसकेको छ । तर, कांग्रेस हिजोकै २४० निर्वाचन क्षेत्र र ४ हजार इकाइहरुमा अल्झिरहेको छ । अब त्यसलाई त छिटोभन्दा छिटो चुनाव गरेर हामी नयाँ संविधानअनुसार अगाडि बढ्नुपर्‍यो नि ! यस्तो कुरामा पनि तेरो–मेरा, तँ र म भनेर अलमल गर्ने हो र ?

भातृ संस्थाको अवस्था पनि त्यस्तै दयनीय छ । अहिलेको अवस्था भन्नुहुन्छ भने अत्यन्तै लज्जास्पद छ ।

एउटा पुस्ताले हामीलाई अहिलेको एउटा सग्लो नेपाल दियो । अब यसलाई अगाडि बढाउनका लागि हामीहरु तयार हुनु पर्छ । अब नेताहरुले आत्मस्वीकारोक्ती गर्नुपर्छ, हामीबाट त्रुटी भयो भनेर ।

तपाईंले भनेको जस्तो कांग्रेसको अवस्था दयनीय हुनुमा कुनै एक व्यक्तिको मात्रै दोष छ र ?

कुनै एउटा व्यक्तिको मात्रै दोष छ भन्न पाइँदैन । अहिले केही भनिरहेका छन्, एउटा मात्रै व्यक्तिको दोष छ भनेर पनि । तर, केही पूर्व र वर्तमान अवस्थामा महत्वपूर्ण जिम्मेवारी रहेका व्यक्तिको कमजोरी अवश्य नै छ ।

देशप्रति माया छ भने, देशलाई जोगाउनु छ भने सबैको सहमतिको विन्दू खोज्नुपर्छ । त्यसमा मूख्य भूमिका सरकारको हुन्छ । तपाईंको प्रश्नमा कुरा गर्दा कांग्रेसलाई गाह्रो के छ भने, बोल्यो कि फेरि आफैंलाई पोल्छ ।

केपी ओली आएर १ वर्षमै सबैकुरा बिग्रेको त हैन । कुशासनका कुरा, भ्रष्टाचारका कुरा, अहिले देशमा जे–जति पनि वेथिति छन्, त्यसका लागि हामी पनि उत्तिकै जिम्मेवार छौं । अझ हिसाव जोड्यो भन्ने सबैभन्दा बढी हाम्रै भागमा आउला ।

अब कांग्रेसको भूमिका के हुन्छ त, राष्ट्रिय राजनीतिमा ?

महासमितिको वैठक पनि भयो । परिमार्जनसहित अब हामीले विधान पास गर्ने भनिएको छ । अरु रणनीतिहरु पनि बनाउने भनेको छ । अहिलेको अवस्थामा महत्वपूर्ण अग्नीपरीक्षामा नेताहरु हुनुहुन्छ । सरल ढंगबाट, जो भएपनि, योग्य मान्छे, कांम गर्ने मान्छे नेतृत्वमा आउनु प¥यो । कांग्रेसको एउटा उदार दृष्टिकोण बन्नसक्नु पर्‍यो ।

कम्युनिस्टहरु मिल्छन् भने सबै गैरकम्युनिस्टहरुलाई कांग्रेसको छहारीमा अटाउन सक्ने वातावरण बनाउनु पर्‍यो । तर, यहाँ आफैंलाई भाग पुग्दैन । आफैंभित्र लडाइँ छ ।

नेतृत्वमा फेरि पनि तपाईंले भनेकोजस्तै पुरानै प्रवृत्तिका व्यक्ति दोहोरिन खोजिरहेका छन् । कांग्रेस परिवर्तन हुन नसक्ने नै भएको हो ?

यसका लागि शुद्धीकरण नै पहिलो अभ्यास हो । त्यसपछि मात्रै नयाँ नेतृत्व आउने हो । हामी अन्य मुलुकमा पनि देख्छौं नि, शुद्धीकरणको प्रक्रियाबाटै नयाँ नेतृत्वको उदय भएको छ । नेपालमा प्रक्रियामा नै अलिकति अवरोध पुगेको छ ।

लोकतान्त्रिक राज्य व्यवस्थामा नेतृत्ववर्गमा इमान र नैतिकता नभएपछि परिवर्तन हुन गाह्रो हुन्छ । विदेशमा हामी देख्छौं, भूलबस भएको सानो गल्तीमा पनि नेतृत्वमा रहेका व्यक्तिले पदबाट राजीनामा दिन्छन् । तर, यहाँ त्यस्तो छैन ।

कांग्रेसको नेतृत्वको विषयमा भन्दा, वर्तमान पार्टी सभापति शेरबहादुर देउवा जी महाधिवेशन नहुन्जेलसम्मको पार्टी सभापति हो । तर, कतिपय सन्भर्दमा उहाँ पनि चुक्नु भएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा व्यहोरोको हारको जिम्मेवारी लिने सन्दर्भमा पनि उहाँ चुक्नुभो ।

केन्द्रीय समितिले हारको जिम्मेवारी लिएपछि नेतृत्वमा रहेको सभापतिले पनि नैतिक जिम्मेवारी लिनु पथ्र्यो । उहाँले नैतिक जिम्मेवारी मेरो हो, कहाँ के सुधार्नु पर्छ म तयार छु, भन्नसक्नुपर्थ्याे  । यदि त्यस्तो गर्नसक्नुभएको भए उहाँकौ निकै प्रशंसा हुन्थ्यो ।

अहिलेको अवस्थामा सबै राजनीतिक दलप्रति आम नागरिकमा वितृष्ण जागिसकेको छ । तर, कसैले पनि नागरिकको चासोलाई सम्बोधन गर्ने कुनै व्यवहार प्रदर्शन गर्न सकिरहेका छैनन् । के सधैं यस्तै अवस्था रहेर देश चल्छ त ?

त्यसका लागि सबै राजनीतिक दलको नेतृत्व तहमा रहेका व्यक्तिले सच्चिनु पर्‍यो । खासगरी अहिलेलाई सरकारको नेतृत्व गरिरहेको पार्टीका नेताहरुले मात्रै ‘रियलाइजेशन’ गरे भने मात्रै पनि देशमा सुधार आउने छ । त्यो नहुन्जेलसम्म त्यसैको प्रतिविम्व तल जाने हो ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ४ : ५३ बजे

सुहाङ ५ हजार ६६२ मतले अगाडी 

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका