विराटनगर- विराटनगर महानगरपालिकाले अविरल वर्षाका कारण महानगर क्षेत्रमा प्रभावित परिवारलाई राहत वितरणमा कुनै कमी हुन नदिने जनाएको छ । महानगर प्रमुख नागेश कोइरालाले आज यहाँ क्रियाशील सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूसँग छलफल गरी यस कार्यमा सहयोग गर्न आग्रहसमेत गरेका छन् ।
महानगरको समन्वयमा आज बिहानको खाना अग्रवाल सेवा समितिले उपलब्ध गराएको थियो भने अहिले साँझको खाना राउण्ड टेबलले उपलब्ध गराउने भएको छ । महानगर प्रमुख कोइरालाले रेडक्रसलगायत अन्य विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग समेत छलफल गरी सहयोगका लागि सहजीकरण गरिएको बताए ।
त्यसक्रममा रेडक्रसले त्रिपाल र ‘म्याट्रेस’ उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । अग्रवाल सेवा समितिको सहयोगमा विराटनगर–१२ स्थित सम्पन्न बस्तीका बाढीपीडितलाई खाद्यान्न वितरण गरिएको पनि जनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा महानगर प्रहरीले आइतबार ३०० परिवारलाई उद्धार गरी बखरी आधारभूत विद्यालयमा राखेको छ ।
प्रतिक्रिया