‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा « Khabarhub

‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्लाका एक युवा समूहले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा जिल्लाका चार सय ३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा दिएका छन् । 

नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईको अगुवाइमा सञ्चालन गरिएको अभियानमा विभिन्न स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेका हुन् ।

जिल्लाका दशवटै स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत छोरीचेलीलाई घरदेखि माइतीघर र माइतीघरदेखि घरसम्म तथा मावलीघरसम्म लैजान र फर्काउने सेवा दिएका छन् । चाडपर्वको मौकामा अर्थाभाव तथा यातायातको पहुँच नपुगेको र सार्वजनिक सवारीसाधन भरिभराउ हुँदा भनेजस्तो सिट नपाएर माइती-मावली जान नपाउने छोरीचेलीलाई लक्षित गरेर अभियान चलाइएको हो ।

दसैँको टीकासम्म सञ्चालन गरिएको अभियानका क्रममा जिल्लाका विभिन्न सडकखण्डको ३५ किलोमिटर दूरीभित्रका छोरीचेलीलाई माइत, मावल र घर फर्काउने सेवा दिइएको थियो । अभियानमा जोडिएका युवाले ६६ वटा मोटरसाइकल र शुभम् फाउण्डेसनको एउटा चारपाङ्ग्रे जीपमार्फत सेवा दिएका हुन् ।

दशवटै स्थानीय तहमा संयोजक तोकेर सञ्चालन गरिएको अभियानअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारबाट २०५ जनालाई मोटरसाइकल र ९० जनालाई जीपबाट निःशुल्क यातायात सेवा प्रदान गरिएको युवा समूहले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी बजारबाट २३ जना, केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारबाट ७५, दिप्रुङ चुइचुम्माबाट २१ तथा रावाबेँसीबाट २२ जनाले मोटरसाइकल सेवा लिएका छन् ।

पहाडी भूगोल, कच्ची सडक र बर्खायामका कारण बिग्रेर अवरुद्ध बनेका सडकमा सबैतिर सार्वजनिक यातायात पुग्न नसक्ने अवस्था भएपछि छोरीचेलीलाई घरदेखि माइती तथा माइतीघरदेखि आफ्नो घरसम्म आवतजावत गराउन अभियान सञ्चालन गरिएको संयोजक राईले जानकारी दिए । 

‘बिनास्वार्थ चाडपर्वमा समयमै गन्तव्य पुग्न र फर्कन सहज होस् भन्ने मानवीय भावनाले अभियान चलाएका हौँ । अब तिहारलक्षित अभियान पनि चलाउने योजना बनाएका छौँ’ उनले भने, ‘तिहारका लागि आउँदो कात्तिक ५ देखि ७ गतेसम्म अभियान चलाउने तयारी गरिएको छ । यस वर्षको दसैँ र तिहारमा करिब एक हजार छोरीचेलीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।’

यस वर्षका लागि अभियान चलाउन जनसम्पर्कका लागि दिक्तेल बजारस्थित किरातचोकमा सचिवालय नै स्थापना गरिएको थियो । मौसममा आएको खराबी तथा सबै ठाउँमा मोबाइल फोनको टावर नटिप्ने भएकाले सम्पर्कका लागि सचिवालय स्थापना गरेर निःशुल्क यातायात सेवा प्रदान गरिएको थियो ।  

आर्थिक अवस्था कमजोर भएका र सवारीसाधनको पहुँच नभएका छोरीचेलीलाई घरबाट माइतीघर र माइतीघरबाट घरसम्म आउनेजाने सेवा दिइएको युवा समूहले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा स्थापना गरिएको सचिवालयमा सेवाग्राहीको विवरण संकलन गर्दै निःशुल्क यातायात सेवा दिइएको सचिवालय सदस्य अनिशा रम्तेलले जानकारी दिए। 

युवा समूहले सञचालन गरेको अभियानका लागि विभिन्न निकायले इन्धन तथा अन्य आवश्यक सामग्री उपलब्ध गराएको थियो । यो समूहले गत वर्षको दसैँतिहारमा चार सय १५ छोरीचेलीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराएको थियो ।
 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : ४६ बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त