तत्काललाई टारे ओलीले संकट, राजीनामा माग्नेहरूलाई भने : महाधिवेशनमा भेटौँला | Khabarhub Khabarhub

तत्काललाई टारे ओलीले संकट, राजीनामा माग्नेहरूलाई भने : महाधिवेशनमा भेटौँला



काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि निम्तिएको संकट तत्काललाई टार्न सफल भएका छन् ।

तीन दिनदेखि भक्तपुरस्थित गुन्डुमा बसेको सचालय बैठकमा बहुमत सदस्य ओलीलाई अध्यक्ष पदबाट राजीनामा गराउनुपर्ने पक्षमा थिए ।

बहुमत सचिवालय सदस्य आफ्नो विपक्षमा खुलेको अवस्थामा ओलीले पार्टीलाई नयाँ नेतृत्वको निर्णयका लागि यही मंसिर अन्तिम साता ११ औँ महाधिवेशनमा लगेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले राजीनामा दिनुपर्ने दबाब बढ्दो छ । तर तीनै दलका नेता पद छाड्न तयार छैनन् ।

ओली भने आफ्नै टिमका नेताहरूको साथ नलिने पनि अहिलेको संकटलाई महाधिवेशनसम्म लगेर टार्ने कोसिसमा लागेका हन् ।

आइतबार मध्यान्ह १२ बजेपछि सुरु भएको सचिवालय बैठक करिब ९ घण्टा  बसेको थियो । बैठकमा बहुमत सदस्यले कि मार्गप्रशस्त गर्नुपर्ने कि महाधिवेशन गर्नुपर्ने भनेपछि ओली दोस्रो विकल्पमा पुगेका हुन् ।

शुक्रबार बसेको सचिवालय बैठकमा ६ जना पदाधिकारीले पार्टी यही अवस्थामा निर्वाचनमा जान नसक्ने धारणा राखेका थिए । आइतबार ५ जना नेताले पनि त्यही कुरा राखेपछि ओली अल्पमतमा परेका थिए ।

‘कि महाधिवेशनमा जानुपर्‍यो कि अध्यक्षले छाड्नुपर्‍यो भन्ने विकल्प आएपछि यो निर्णय भएको हो,’ बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘उहाँले हाम्रो कुरा सुन्नुभयो, अन्तिममा महाधिवेशनमा जाने निर्णयमा दिनुभयो ।

एमाले सचिव पद्मा अर्यालका अनुसार अब बस्ने केन्द्रीय कमिटी बैठकले मसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्ने छ ।

महाधिवेशनमा छाड्ने भनेनन्

नेकपा माओवादी केन्द्रले पनि मंसिरमा महाधिवेशन गर्ने भएको छ । तर त्यस महाधिवेशनबाट फेरि अध्यक्षमा फर्किने योजना हाल आफैंले घोषणा गरेर संयोजक बनेका प्रचण्डले बनाइसकेका छन् । ओलीले पनि प्रचण्डकै शैलीमा आगामी मंसिरको महाधिवेशनबाट नेतृत्व छाड्ने भनेनन् । बरू अरू नेतालाई फकाएर ११ औँ महाधिवेशनबाट फर्किने दाउ उनले हेरेका छन् । उनले महाधिवेशनबा जो जितेर आए पनि पार्टी नयाँ शिराबाट अगाडि बढ्ने बताए ।

एमालेका अर्का पदाधिकारीले फेरि नेतृत्वमा फर्कने तयारी अनुसार नै ओलीले महाधिवेशन बोलाएको बताए । तर केन्द्रीय कमिटी बैठकबाट उनलाई रोक्ने योजना ल्याउने नेताहरूको तयारी छ ।

राजीनामा माग्नेलनई भने : महाधिवेशन फेस गरौँ

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शुक्रबार नै ‌ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेकी थिइन । यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, विष्णु पौडेल, रामबहादुर थापा बादल लगायत विपक्षमा उभिएका थिए।

शनिबार ओली अस्वस्थ्य भएका कारण रोकिएको सचिवालय बैठकले आइतबार निरन्तरता पाएको थियो । शुक्रबारको बैठकमा वरिष्ठ उपाध्यक्ष पोख्रेल, उपाध्यक्षहरू  शाक्य, ज्ञवाली, बादल, पौडेल, पाण्डे, महासचिव शंकर पोख्रेल र उपमहासचिव प्रदीप ज्ञवाली बोलेका थिए।

आइतबारको  बैठकमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्टले धारणा राखेका छन् ।  तीमध्ये गुरुङ, भट्टराई, विष्ट, विश्वकर्मा र अर्याल ओलीको विपक्षमा उभिए ।

सचिव विस्ट र भट्टराईले पनि ओलीको राजीनामा मागे । अरू नेताले उनीहरू जसरी प्रष्ट कुरा राखेनन् । उता ओलीले विकल्प खोज्ने नेताहरूलाई महाधिवेशन फेस गर्न चुनौती दिएका छन् ।

‘मेरो राजीनामा माग्ने र मेरो विकल्प खोज्ने साथीहरूलाई म के भन्छु भने महाधिवेशन फेस गरौँ । अहिले मैले किन राजीनामा दिनु ?’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘पार्टीलाई संकट परेको र नेतृत्वमाथि हमला भएको बेला मेरो राजीनामा माग्ने र विकल्प खोज्ने साथीहरूले पार्टी कसरी चलाउनुहोला । यसरी पार्टी चल्छ र ? बाहिर भ्रम छरिएको छ, यहीँ कुरा गर्नु न ।’

शंकर, प्रदीप र विष्णुको बचाउ

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार नै बचाउ गर्दै पार्टीमा अध्यक्ष ओलीलाई एकल्याउनु भनेको पार्टीलाई थप द्वन्द्वतिर लानु रहेको बताए । 

‘चौतर्फी पार्टी नेतृत्वलाई हमला भइरहेको छ । यही अवस्थामा निर्वाचनमा जान सम्भव छैन। यो सरकारले निर्वाचन गर्ने वातावरण नै बनाएको छैन। अहिले लिडर परिवर्तन गर्ने पक्षमा जानु हुँदैन,’ ज्ञवालीको भनाइ उद्धृत गर्दै अर्का नेताले भने, ‘अहिले पार्टीमा नेतृत्वको विकल्प खोज्नेभन्दा जति सक्दो चाँडो महाधिवेशन गर्ने हो कि । महाधिवेशन गरेर पार्टीलाई नयाँ दिशाबाट अगाडि लान सकिन्छ तर अहिले नेतृत्वको विकल्प खोज्नु भनेको कठिन समयमा पार्टीमाथि थप प्रहार गर्नु हो’, ज्ञवालीले भने ।

ज्ञवाली भन्दा अगाडि बोलेका पोखरेलले पनि अहिले नेतृत्वको विकल्प खोज्ने कुरा गर्नुभन्दा पार्टीलाई नयाँ सिराबाट अगाडि बढाउनुर्ने बताएका थिए। उनले पार्टीलाई अहिले चौतर्फी घेराबन्दी बनाइरहेका बेला पार्टीभित्र पनि नेतृत्वलाई खुइल्याउन नहुने तर्क गरे ।  यस्तै उपाध्यक्ष गुरु बरालले पनि ओलीको बचाउ गर्दै अहिले राजीनामा दिन नहुने तर्क गरे।

आइतबारको बैठकमा उपमहासचिव विष्णु रिमाल कडा रुपमा ओलीको बचाउमा उत्रिए । रिमाल भदौ २४ गतेसम्म प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार थिए ।

ओलीको बचाउमा उपाध्यक्ष बरालले बाहिर हल्ला फिँजाएकै आधारमा नेतृत्वलाई हेप्न नहुने तर्क गरे।

महाधिवेशनको पक्षमा एकै स्वर

बैठकमा अहिलेको टिम पूरै भङ्ग गरेर नियमित महाधिवेशन नभएसम्म आयोजक कमिटी बनाउँदै अगाडि बढ्नुपर्ने आवाज उठेको थियो। अध्यक्ष ओलीले राजीनामा दिएर सबै कमिटी भङ्ग गर्दै महाधिवेशन आयोजक कमिटी बनाउनुपर्ने नेताहरूको धारणा थियो।

यता ओली पक्षका नेताहरूले नियमित महाधिवेशन गरेर नेतृत्व चुन्नुपर्ने आवाज उठाएका थिए । ओलीको विपक्षका नेताहरूले नियमित महाधिवेशन अगाडि नै ओलीले राजीनामा दिनुपर्ने धारण राखे । 

बैठकमा महाधिवेशनको मिति तय गर्नुपर्ने पक्षमा पनि बहुमत नेता बोले। वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू शाक्य, पाण्डे, ज्ञवाली र पौडेल उपमहासचिव गुरुङ, सचिवहरू विष्ट र भट्टराई लगायतले यही बैठकबाटै महाधिवेशनको मिति तय गर्नुपर्ने कडा अडान राखे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले बचाउन र निर्वाचनपछि पहिलो शक्तिका रूपमा उभ्याउन पनि नेतृत्वले अब विकल्प दिनुपर्ने बेला आएकाले यसलाई आनाकानी रूपमा सोच्न नहुने धारणा राखे।

‘नेतृत्वले पद ओगटिराखे एमालेले निर्वाचनपछि ठूलो हार बेहोर्नुपर्छ । एमालेलाई माया गर्ने व्यक्तिहरूले पनि एमाले हो भनेर हिँड्न सक्ने वातावरण बनिरहेको छैन । पद ओगटि रहनुभन्दा पनि अब सोच्ने बेला आएको छ’, बैठकमा पोखरेलले भनेका थिए, ‘हामीले यही बैठकबाट महाधिवेशनको मिति तय गर्न सक्यौँ भने साँच्चिकै एमाले लोकतान्त्रिक रहेछ भन्ने भाइ र म्यासेज जान्छ।’

यो बैठकमा ओलीको टिममा रहेका भनिएका एमाले सचिव छविलाल विश्वकर्मा पनि पार्टीलाई नयाँ सिराबाट अगाडि बढाउन अहिलेकै अवस्थामा अगाडि जान बढ्न नसकिने बताएका थिए।

महासचिव पोख्रेल, उपमहासचिव ज्ञवाली र रिमालले केन्द्रीय कमिटी बैठकपछि मात्रै महाधिवेशनको मिति तय हुनुपर्ने धारणा राखेका थिए । त्यसपछि सबैको धारणा सुनेर ओली निर्वाचनअगाडि नै महाधिवेशन गर्ने निष्कर्षमा पुगेको स्रोतको दाबी छ ।

सरकारको आलोचना

वर्तमान सरकारको भने एमालेका सबै नेताले आलोचना गरेका थिए । उनीहरूले सरकारले निर्वाचन गर्न नसक्ने भन्दै यसप्रति सजग हुनुपर्ने बताए । चुनावी सरकार भए पनि निर्वाचन गर्ने र देशमा सामान्य अवस्थामा राजनीति गर्ने वातावरण नभएको भन्दै नेताहरूले यसबारे सोच्नुपर्ने बेला आएको बताए ।

यसबारे अन्य दलसँग पनि छलफल गरेर जाने बैठकमा सहमति जुटेको छ । उपमहासचिव ज्ञवालीले बैठकपछि गरेको ब्रिफिङमा पनि निर्वाचनको माओला बिथोलिएकाले आफूहरू प्रतिनिधि सभा पुनर्स्थापनाको लागि अदालत जाने तयारी गरेको बताए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ११ : ०६ बजे

तत्काललाई टारे ओलीले संकट, राजीनामा माग्नेहरूलाई भने : महाधिवेशनमा भेटौँला

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि निम्तिएको संकट

प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालको भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच

खुल्यो शुक्लाफाँटा निकुञ्जमा सफारी

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ

प्यालेस्टिनी सात नेतालाई तत्काल रिहा गर्नुपर्ने हमासको अडान

गाजा शहर – हमासले गाजामा युद्धविराम सम्झौता अन्तर्गत इजरायलले रिहा

भद्रपुरबाट चार लाखको अवैध पटाका बरामद

झापा – भारतबाट भन्सार छलेर ल्याएको रु चार लाखको पटाका