महोत्तरी– तिहार र छठ पर्वका बेला तराईमा माटोको दियो र माटोकै भाँडाकुँडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा पर्दै गएको छ ।
झिलीमिली बत्ती, धातुका दियो, भाँडाकुँडालगायत वस्तुहरूका कारण तिहार र छठ पर्वका लागि पुस्तौँदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माटोको दियो र भाँडाकुँडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा परेको जलेश्वर नगरपालिका– ५ का ध्रुव रायले बताए ।
दिपावली र छठ पर्वको बेला वर्षेनी लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने कुमालेहरू अहिले बजारमा आएका बत्ती, प्लास्टिक र धातुका भाँडाकुँडाले गर्दा माटोको भाँडावर्तन र दियो (पाला) लगायतका सामग्रीको बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका– ६ का कुमाल गणेश पण्डितले बताए ।
पहिला माटोको भाँडा चोखो हुने भन्दै दियो, ढकनी, घैँटो, मटिया, कुसिया, कुरबारलगायत सामग्रीको माग हुने गरेको थियो । हाल आएर बनिबनाउ धातु र प्लास्टिकका भाँडाकुँडाले माटोका भाँडा उपभोक्ताको रोजाइमा नपरेपछि पेसा चौपट भएको महोत्तरी गाउँपालिका– ४ का कुमाल विजय पण्डितले बताए ।
पहिले जिल्लाभरकै हाट बजारमा माटोको सामग्रीहरू बिक्री हुने गरेकामा अहिले नगन्य मात्रामा ती बजारमा सामग्री बिक्री हुने जलेश्वर नगरपालिका– १ का कुमाल सुरेन्द्र पण्डितले बताए । विगतमा महोत्तरीको विभिन्न गाउँठाउँमा बनाइएका माटाका भाँडाकुँडाहरू तराई मधेसमा मात्रै नभएर काठमाडौं, पोखरा, हेटौँडा, जनकपुर र भारतीय सहर मधुबनी, दरभङ्गा, सितामढी र पटनासम्म निर्यात हुने गरेको थियो ।
माटोका सामग्रीहरू बिक्री नहुनु र बिक्री भए पनि लगानी नउठ्नुले यस पेसामा अब नयाँ पुस्ताहरू आउन नचाहने गौशाला नगरपालिका– ६ का कुमाल वीरजु पण्डितले बताए । सबैतिर आधुनिकता हावी हुँदै गए पनि बुढापाका र संस्कृति प्रेमीहरूले अझै माटोकै भाँडाकुँडा प्रयोग गर्न रुचाउने भएकाले कुमाल जातिका बुढापाकाहरूले जसोजतो ती सामग्रीहरू बनाएर जिविका चलाइरहेको बलवा नगरपालिका– ७ का पूर्वशिक्षक सुशील यादवले बताए । (रासस)
प्रतिक्रिया