धानको बीउ बिक्रीबाट किसानको आम्दानी वृद्धि « Khabarhub

धानको बीउ बिक्रीबाट किसानको आम्दानी वृद्धि


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका- ८ का किसान बुद्धिराम चौधरी गुणस्तरीय बीउ बिक्रीबाट आम्दानी बढ्न थालेपछि बीउ खेतीमै रमाइरहेका छन् ।  । गुणस्तरीय बीउ तयार पार्न बीउ कम्पनीको प्राविधिक सहयोगमा उनको खेतमा यतिबेला गरिएको हर्दिनाथ- ६ र सर्जू- ५२ जातको धानखेती सप्रेको छ । उनले गहुँको मूलबीउ पनि उत्पादन गर्दै आएका छन् ।

उनले वार्षिक प्रतिकठ्ठा एक हजार पाँचसय रुपैयाँमा अढाई बिघा जग्गा भाडामा लिई मूल बीउका लागि खेती गर्दै आएका छन् । उनले भने, ‘गुणस्तरीय बीउ उत्पादनमा मेहनत, सिँचाइ, मलखाद, खनजोत लगायतको लागत खर्च कटाएर वार्षिक तीनदेखि चार लाख बचत भइरहँदा सन्तुष्ट छु, अझै थप जग्गा भाडामा लिएर बिजवृद्धि गर्ने लक्ष्य लिएको छु ।’

जिल्लाको पूर्वी क्षेत्र जानकी गाउँपालिकाको मुनुवा गाउँका विजयकुमार कठरिया पछिल्ला वर्षमा कैलाली जिल्ला धान र गहुँको गुणस्तरीय बीउ उत्पादनमा आत्मनिर्भर बनेको बताउँछन् । उनले आफ्नो तीन बिघा जग्गामा यतिबेला सर्जु- ५२ र चैते- ५२ जातको धानबालीको बिजवृद्धि गरिरहेका छन् ।

किसानले बिजवृद्धिबाहेक आफ्नो घरायसी उपभोगका लागि पनि खाद्यान्न खेती गर्दै आएका छन् । बिजविद्धि सहकारी संस्था मुनुवामा समेटिएका किसानले एक सय हेक्टर जग्गामा बिजवृद्धि गरिरहेका छन् । बिजवृद्धिमा लाग्दा कृषि उपजको उचित मूल्य पाइरहेको भए पनि समयमै मलखादको अभावको समस्या झेल्नु परेको किसानले बताएका छन् ।

कैलाली जिल्लामा वर्षभरिमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको गुणस्तरीय बीउ आवश्यकता पर्ने गरेकोमा उक्त परिमाण भन्दा बढी बीउ उत्पादन भइरहेको छ ।

जिल्लामा झण्डै ७२ हजार ५०० हेक्टर जग्गामा बर्खे धानखेती र ३५ हजार हेक्टरमा गहुँखेती हुने गरेको छ । कतिपय क्षेत्रमा बर्खे धान र चैते धान गरेर वर्षमा दुई पटक धानखेती हुने गरेको छ । प्रति हेक्टरमा धानखेती गर्न ५० किलो र गहुँखेती गर्न १२० किलो गुणस्तरीय बीउ आवश्यक पर्ने कृषि प्राविधिको भनाइ छ ।

सरकारी स्वामित्वको बीउबिजन कम्पनीले उन्नत बीउको उत्पादन र बिक्री गर्दै आएकोमा पछिल्ला वर्षमा सहकारी संस्था, निजी बीउबिजन कम्पनी र किसान समूहलेसमेत गुणस्तरीय बीउ उत्पादन गर्दै आएका छन् ।

कतिपय बीउ कम्पनीले सरकारबाट अनुमति लिएर धान र मकैमा हाइब्रिड उत्पादनसमेत गर्न थालेका छन् । खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व बढाउन नयाँ जातको बीउको विकास भएको मात्र नभइ खेती गर्न नयाँनयाँ प्रविधिसमेत भित्रिन लागेकोले खेती गर्दा लागत खर्च पनि घटेको बताइन्छ । घरमै राखिएको स्थानीय जातको बीउको प्रयोग गर्दाको तुलनामा उन्नत बीउको प्रयोगले धान र गहुँबालीको उत्पादकत्व पनि वृद्धि भइरहेको छ ।

पञ्चशक्ति सिड कम्पनी धनगढीका प्रमुख विष्णुराज बुर्लाकोटी जिल्लामा उत्पादन भएको बढी परिमाणमा गहुँ र मकैको बीउ जिल्ला बाहिर जाने गरेको बताउँछन् ।

उन्नत बीउको प्रयोग बढेसँगै रैथाने जातको कालो धान, आइरेट, गुर्रा, राइमनुवा, सौँटेरी जस्ता धानको बीउ भने हराउन थालेको किसानको भनाइ छ । कृषि प्राविधिक स्थानीय जातको बीउ प्रयोग गर्दा हुने उत्पादकत्वको तुलनामा उन्नत जातको बीउ प्रयोगले २० देखि २५ प्रतिशतले उत्पादकत्व वृद्धि हुने गरेको बताउँछन् ।

बालीको उत्पादकत्व वृद्धि भइरहेको भए पनि नेपालमा बर्सनि ठूलो परिमाणमा खाद्यान्न विदेशबाट आयात भइरहेको तथ्याङ्क छ । (रासस)

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १० : ५९ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक