केरा बिक्री नहुँदा किसान चिन्तित | Khabarhub Khabarhub

केरा बिक्री नहुँदा किसान चिन्तित


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दाङ– राप्ती गाउँपालिका– ७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले व्यावसायिक रुपमा केराखेती गरेको सात वर्ष भयो । उमेरले ५४ वर्ष भएका सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित छन् । सुरुमा दुई बिघाबाट केराखेती सुरु गरेका उनले हाल भने ५४ बिघा क्षेत्रफलमा खेती गर्दै आएको बताए । केरा बिक्री नभएर बारीमै कुहिएर जाँदा यस वर्ष आम्दानी घटेको उनले बताए ।

बजारमा दर्जनलाई १२० रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री भइरहेको केरा व्यवसायीले भने २५  रुपैयाँमा दिँदासमेत नलगेको किसान सुवेदीले बताए । ‘यो साल केरा बिक्री नहुँदा कारोबार घटेको छ, केरा बिक्री नहुँदा बोटमा नै पाकेर खेर जाने अवस्था छ’, उनले भने । थोक व्यवसायीले सस्तोमा भारतबाट केरा भित्र्याउँदा स्थानीय उत्पादनले बजार नपाएको उनको भनाइ छ ।

उनका अनुसार तयार भएको केरा खेर जाने अवस्था भएको र बिक्रीका लागि व्यवसायी नआउँदा बारीमा जानसमेत मन नलाग्ने उनको भनाइ छ । उनले गएका वर्षहरूमा नियमित रुपमा ३५ जना स्थानीयलाई रोजगारी दिने गरेको भए पनि हाल तलब दिनसमेत समस्या हुँदा १५ जना मात्रै कामदार रहेको बताए ।

राप्ती केरा प्रवर्द्धन कृषक समूहका अध्यक्ष समेत रहेका सुवेदीले अघिल्ला वर्षहरूमा सवा करोड रुपैयाँसम्मको कारोबार गर्ने र जसबाट ३० लाख रुपैयाँसम्म बचत गर्दै आएको भए पनि यस वर्ष भने घाटा व्यहोर्ने अवस्था सिर्जना भएको उनले बताए । राप्ती केरा प्रवर्द्धन कृषक समूहमा राप्ती गाउँपालिका– ७ भित्रका व्यवसायिक १८ जना केरा किसान आबद्ध छन् । यस वर्ष केरा बिक्रीमा समस्या हुँदा १० लाख रुपैयाँ कम आम्दानी हुने उनको आकलन रहेको छ ।

हरितालिका तीजदेखि छठ पर्वसम्म फलफूल बढी नै बिक्री हुने गर्दछ । त्यसमा केरा अधिक बिक्री हुन्छ । चाडपर्व लक्षित गरेर उत्पादन भएको केराले बजार नपाएपछि उत्पादन भएको धेरै केरा बारीमै कुहिएर जान थालेको सोही ठाउँका अर्का किसान तीर्थ ज्ञवाली बताउँछन् ।

उनले पनि व्यवसायिक रुपमा ५० कट्ठामा केराखेती गर्दै आएका छन् । केरा बिक्रीमा समस्या भएपछि ‘डोर टू डोर सेलिङ’ गर्ने योजना रहेको उनले बताए । व्यापारीले नै लैजाने मूल्यमा स्थानीयलाई दिएर घरघरमा लगेर बिक्री गर्न दिने योजना उनको छ । 
यस्तै, सिसहनिया निवासी गायत्री चौधरीले केरा बिक्री नहुँदा समस्या भएको बताइन् । दुई बिघा जग्गामा गरेको केराखेतीबाट उत्पादित केरा बिक्री नहुँदा बारीमा कुहिन थालेको उनले दुखेसो गरिन् । केरा बिक्रीका लागि तयार भए पनि मूल्य नपाउँदा बिक्री गर्न नसकेको किसान चौधरीको भनाइ छ ।

खेती गर्न सजिलो र राम्रो आम्दानी हुने भएकाले धान, तोरी, मुसुरो खेती छाडेर केराखेतीमा लागे पनि भारतीय केराका कारण स्थानीय उत्पादनले ठाउँ नपाउँदा लाखौँ रुपैयाँ डुब्ने जोखिम बढेको किसानको भनाइ छ ।

मालभोग, हरिसाल, चिनी केरालगायत जातका केरा दाङको ६०० बिघा क्षेत्रफलमा खेती हुने गरेको छ । केराको जात हेरेर २५० देखि ५०० रुपैयाँमा एउटा केराको बोटमा किसानको लगानी भएको हुन्छ । स्वदेशमा नै उत्पादन भएको केराको समर्थन मूल्य तोकेर बजारको ‘ग्यारेन्टी’ सरकारले गर्नुपर्ने माग केरा उत्पादक किसानको रहेको छ । (रासस)

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ११ : ५३ बजे

तामझामसहित विमानस्थलमा उत्रिएका दुर्गा प्रसाईंले भने : सिंहदरबार जलाए अब, देश टुक्राउँदैछन्

काठमाडौं- राष्ट्र,राष्ट्रियता, धर्म, सांस्कृतिक, नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय संयोजक

भक्तपुरमा माटोका पाला बनाउन भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौं– तिहार नजिकिएसँगै भक्तपुरका स्थानीय प्रजापति समुदाय माटोका पाला बनाउन

सैन्य आधार तालिमको दीक्षान्त

चितवन– श्री नयाँ सबुज गण दल भरतपुरमा सञ्चालित सिसं ४

साताको कार्टुन : ओली-लेखकलाई छायाँमा पारेर महरा जेलमा

काठमाडौं- जेनजी आन्दोलनमा प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिने पूर्वप्रधानमन्त्री केपी

पर्सामा २१ हजार जनालाई हैजा विरुद्धको खोप लगाइयो

काठमाडौं– हैजा प्रभावित पर्सामा हालसम्म २१ हजार जनालाई खोप प्रदान