राजमार्ग ठप्प हुनेगरी इलामको राजदुवालीमा कसरी गयो पहिरो ? « Khabarhub

राजमार्ग ठप्प हुनेगरी इलामको राजदुवालीमा कसरी गयो पहिरो ?

भूगर्भविद् भन्छन्– पहिरो शून्यमा झार्न सम्भव छैन



काठमाडौं– असोज १८ गतेदेखि तीनसम्म परेको अविरल वर्षाका कारण मेची राजमार्ग ११ दिनदेखि सञ्चालन हुन सकेको छैन । इलाम नगरपालिका–९ राजदुवालीमा खसेको पहिरो पन्छाउन नसक्दा सडक सुचारु गर्न समस्या भएको हो । जसकारण सरकारबाट ३ महिनासम्म विपदग्रस्त घोषणा गरिएका इलामसहित पूर्वी जिल्लाहरुमा राहत व्यवस्थापन, आवतजावत र ढुवानीमा समस्या भएको छ ।

लामो समयदेखि समस्या दिइरहने राजदुवाली क्षेत्रको भौगर्भिक अवस्था, सरकारको पहलकदमी र त्यसले निम्तिएको क्षतिसँगै तत्काल राजमार्ग सुचारु गर्न भइरहेका प्रयासबारे सडक विभागबाट राजदुवाली खण्ड मर्मतमा खटिएका भू–प्राविधिक विशेषज्ञ मधुसुदन आचार्यसँगको कुराकानीका आधारमा तयार पारिएको सम्पादित अंशः

११ दिन बितिसक्दा पनि मेची राजमार्गको राजदुवालीखण्ड सुचारु हुन सकेको छैन । उक्त खण्डमा बारम्बार पहिरो र सडक भासिने समस्या के कारण निम्तिएको होला ?

यो करिब ६० वर्षदेखि चलेको राजमार्ग हो । त्यो समयमा पनि पहिरो बीचबाट नै सडक लगिएको थियो । सडक खोल्ने समयमा पानी निकास गर्ने प्रणालीको व्यवस्थापन गरेका थियौँ । समयक्रममा सडक दबिएर, बिग्रिएर ती निकास टालिए होलान र पानीले निकास नपाउँदा सडकले पहिरोको रुप लियो ।

यसपटक राजदुवालीमा कस्तो किसिमको क्षति निम्तिएको पाउनुभयो ?

राजदुवाली खण्डमा करिब ४० मिटर मोटाइमा माटोको मात्रै सतह रहेको पाइएको छ । त्यो बाक्लो माटोमा तलदेखि ४÷५ वटा घुम्ती हुँदै सडक माथिसम्म विस्तार गरिएको थियो ।

चट्टान नभएपछि भारी वर्षा हुँदा पानी सहजै सतहबाट भित्र छिर्ने गर्छ । त्यसले माथिदेखिकै सडक बगाएको हो । त्यही कारण अहिले त्यहाँ तलदेखि माथिसम्म ७/८ ठाउँमा पानीको मुहान निस्किएको भेटिएर हामीले त्यसको निकास गरिसकेका छौँ । अन्य लिकेज पनि खोज्ने क्रम जारी छ ।

त्यसरी भेटिएका मुहान व्यवथापन नगरी जमिन सुख्खा हुँदैन । माटो भासिने क्रम पनि रोकिदैन । हामीले अहिले त्यस्ता मुहान खोज्ने, खन्ने र त्यसलाई व्यवथापन गर्ने काम गरिरहेका छौँ । त्यसरी भेटिएका मुहानबाट तल्लो भागमा अहिले हाम्रो ४० मिलिलिटरको पाइप भरेर पानी फालेका छौँ ।

सडकलाई असर गर्ने मुहानहरु रोक्न सकिने सम्भावना कस्तो छ ?

ती मुहानहरुरोक्नै नसकिने भन्ने हुँदैन, सकिन्छ । यो खण्डले ठूलो पानी पर्दा पहिले पनि दुःख दिँदै आएको थियो । त्यतिबेला सबै लुप अर्थात् घुम्तिका खण्ड एकैपटक खसेका हुँदैनथे । एक दुई दिनमा बाटो खुल्थ्यो । यसपटक भने ३ वटा घुम्ति माथिदेखि तलसम्म एकैपटक खसेर ठूलो पहिरोको रुप लियो ।

लामो समयदेखि सास्ती दिएको यस खण्डमा पहिरो रोक्न विभागले केही पहल थालेको थियो कि थिएन ?

गत वर्ष पनि म आफैँ आएर निरीक्षण गरेको थिएँ । पहिरो नियन्त्रणका उपायसहित डिजाइन गरेर गत वर्ष नै ठेक्का सम्झौता भई दशैंपछि काम सुरु गर्ने गरी करिब २० करोड रुपैयाँमा ठेक्का लागिसकेको थियो । काम सुरु नगर्दै पहिरो खसिहाल्यो । पहिरो शून्य नै बनाउन सकिन्छ त भन्न मिल्दैन तर अहिले तयार रहेको डिजाइनमा रहेर मर्मतसम्भार गर्दा यो खण्डले विगतका दिनमा जस्तो समस्या भने नदेला भन्न भने सकिन्छ ।

यति ठूलो पहिरो व्यवस्थापन गर्न भन्दा विकल्पमा काम गर्दा सहज र छिटो हुने त्यहाँका स्थानीय बताउँछन्, यहाँलाई के लाग्छ ?

वैकल्पिक उपायहरु नभएका त होइनन् , छन । तर त्यसमा लाग्दा योजना, डिजाइन, ठेक्का लगायतको प्रक्रिया झन् लामो हुन्छ । दुई तीन वर्ष यसैमा जान्छ । आजको भोलि खोल्न सकिदैन । त्यसैले अहिले भइरहेको यसै खण्डलाई मर्मत गरिनु उपयुक्त हुन्छ । पहिरोका कारण अन्य खण्ड बन्द हुँदा पनि यहाँ लोड परेको हो ।

पब्लिक प्रेसर धेरै भएर काममा समस्या भइरहेको हो । जस्तो कि सामान्य मर्मत गर्नेबित्तिकै हामीलाई हतारो छ, पास गराइदिहाल्नु भन्न थाल्नु भयोे । शनिबार बेलुका केही गाडी पास गराइयो । त्यसले गर्दा बाटो फेरि लच्कियो । त्यो बाटो त हामीले गाडी हिँड्न लायक बनाएकै थिएनौं । अझैँ केही समय कुर्नुपर्ने थियो त्यो हुन सकेन ।

अस्थायी रुपमा खोल्न पनि समस्या लाग्छ । रातको ११ बजेसम्म बत्ती बालेर काम गरेका छौँ । स्लोपलाई मिलाउने, पानीका मुहान खोज्ने र व्यवस्थापन गर्ने तथा ग्राभेल ल्याउने काम गर्नुपर्नेछ । ग्राभेल हालेपछि सडक खुलाउन सकिन्छ । त्यसका लागि आवश्यक निर्माण सामाग्री ल्याउन सडक छैन ।

त्यसैले, अहिले सडक विभाग लगायत सबै सरोकारवाल निकाय राजदुवालीसँगै जोगमाई खोलाको पुल बगाएको स्थानमा डाइभर्सन निर्माणको काममा जुटेका छौँ । निर्माणका लागि जिम्मा दिएका छौँ, हामी पनि लागेका छौँ । ३०/४० वटा ह्यूमपाइप हाल्न समय लागिहाल्छ । खोलाको बहाव पनि ठूलो छ । तर, गर्न सकिन्छ भनेर लागेका छौँ । सोमबार काम गर्दा डाइभर्सन निर्माण गर्न अपुग भएको ह्यूमपाइप सडक डिभिजन कार्यालयमा आइसकेको छ ।

सकेसम्म साना ठूला गाडी आवतजावत हुनेगरी डाइभर्सन निर्माण हुनेछ । ठूला सवारीको हकमा एकदुई ठाउँको साँघुरो घुम्तिमा भने केही असहजता हुनसक्छ । सोमबार काम गर्ने क्रममा जोगमाई हाइड्रोको केनल पल्टाउन नसकेपछि काम रोकिएको थियो ।

त्यसलाई तीन टुक्रा बनाएर डाइभर्सनमा त्यो पनि प्रयोग गर्ने गरी काम गरेका छौँ । राजदुवाली खण्डमा भने हामीले मुख्यतया भूमिगत पानी नियन्त्रण गरिसकेका छौँ । ठेक्का लागिसकेकाले अब निर्माण कम्पनीले भित्तामा प्वाल पारेर पानीको निकास गराउनुहुन्छ । त्यसबाट दीर्घकालिन रुपमा पहिरो रोकथामका लागि काम हुनेछ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ४ : १८ बजे

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण