‘बालेनले पार्टी खोल्नु हुन्‍न, मेयरमा पनि दोहोरिनु हुन्‍न’ « Khabarhub

‘बालेनले पार्टी खोल्नु हुन्‍न, मेयरमा पनि दोहोरिनु हुन्‍न’



काठमाडौं– जेन-जी आन्दोलनमा पर्दा पछाडि बसेर भूमिका खेलेका भनिएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ सुशीला कार्कीको नेतृत्वमा सरकार बनिसकेपछि विवादमा परिरहेका छन् ।

सामाजिक सञ्जालललाई नै माध्यम बनाएर उदाएका उनी जेन-जीको आन्दोलनपछि लुकेर बसेको भन्दै समर्थक नै रिसाइरहेका छन् ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा होमिएका युवाहरूले केपी शर्मा ओली सत्ताच्युत भएपछि बालेनलाई मुलुकको नेतृत्व गर्न आह्वान गरेका थिए । तर, उनी बाहिर निस्केनन् । यस्तो अवस्थामा उनलाई कुना पसेर बसेको आरोप लाग्यो ।

त्यतिमात्रै होइन, उनी जेन-जी आन्दोलनमा शहीद भएकाहरूको सामूहिक दाहसंस्कारका क्रममा मलामी समेत गएनन् । उनले भौतिक रूपमा उपस्थित भएर श्रद्धाञ्जली पनि दिएनन् । आन्दोलनका घाइते भएर विभिन्न अस्पतालमा उपचार गराइरहेकाहरूप्रति सहानुभूति राख्नसमेत गएनन् ।

यो बालेनप्रति कुनै बनिबनाउ आरोप या टिप्पणी होइन । बालेनकै व्यवहारका कारण सार्वजनिक भएकै विषय हो ।

कुनै पनि आन्दोलन सफल वा असफल जे हुँदा पनि नेतृत्वले घट्नाक्रम, क्षति र उपलब्धिको जिम्मेवारी लिन्छ । तर, बालेनलाई लाखौँ युवाहरूले नयाँ परिस्थितिको नेतृत्व लिन आह्वान गर्दा तयार भएनन्, आन्दोलनपछिको अवस्थामा मैदानमा समेत देखिन सकेनन् ।

उनीनिकट विश्वस्त व्यक्तिबाट प्राप्त सूचनाअनुसार भदौ २३ को घट्नापछि बालेनलाई सडकमा जानुपर्छ भनेका थिए । तर, उनले आफू सडकमा जाने विषयमा संशय प्रकट गर्दै आफ्नोबारे ‘सुरक्षा चासो’ लिएर के होला भन्ने भाव प्रकट गरेका थिए ।

आन्दोलनपछि मुलुक सरकारविहीन बनेको अवस्थामा बालेन किन सार्वजनिक भइरहेका छैनन् ? जिम्मेवारी र नेतृत्व लिन किन तयार भइरहेका छैनन् भन्ने धेरैजनाले जिज्ञासा राखिरहेका थिए । 

विस्तारै केही युवा पंक्ति र आममान्छेले पनि बालेनको भूमिका सकारात्मक नभएको भन्दै सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्न गर्दै थिए । तर, उनी अझै पनि बाहिर निस्किन्छन् भन्ने आशा ती मान्छेहरूले गरेको देखिन्थ्यो । त्यहीबीचमा टीकाराम यात्रीसँग सौरभले अन्तरवार्ता दिने क्रममा बालेनलाई ‘लुसिफर’ को संज्ञा दिए ।

बालेनबारे सौरभको उक्त परिभाषाले सामाजिक सञ्जालदेखि मिडिया र चियापसलसम्म ठाउँ पायो । जसले बालेनको पुरानो कदलाई पनि केही घटाएको देख्न सकिन्छ ।

सुशीला कार्की नेतृत्वमा सरकार निर्माण भएसँगै उनले पहिलो सम्बोधनमै जेन-जी आन्दोलनका क्रममा भएको क्षतिलाई विध्वंस भनेर चित्रित गरिन् । साथै, उनले सुधारको कुनै खाका प्रस्तुत गरिनन्, मात्रै चुनाव गराउने बताइन् ।

आम जेन-जीले अघोषित रूपमा स्वीकार गरेका बालेनले पनि जेन-जीका माग के हुन्, तिनलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुराको नेतृत्व गर्ने र सरकारलाई सहयोग वा दबाब दिने कामको सुरुवात गरेनन् । जसले गर्दा जेन-जी नै नेतृत्वविहीन भए ।

पछिल्ला दिनमा जेन-जीको नाममा देखिएका कतिपय नेता तथा व्यक्तिको पृष्ठभूमि र भूमिकाले जेन-जी आन्दोलनले स्थापित गरेको शक्ति क्षयीकरण हुँदै गएको देखिएको छ । त्यससँगै परम्परागत राजनीतिक दलले जेन-जीको मागअनुसार नसुध्री टाउको उठाउने प्रयत्न गरेका छन् । जसको नेतृत्व अहिले कांग्रेसभन्दा एमालेले गरेको छ ।

जेन-जी आन्दोलनको पूर्वतयारीका क्रममा र आन्दोलनकैबीचमा युवालाई उचाल्ने गरी सामाजिक सञ्जालमा लेख्दै आएका बालेनले त्यसपछि आफ्ना स्टाटसहरू आफ्ना कामतर्फ केन्द्रित गर्न लागे । उनले आफूलाई ‘लुसिफर’को रूपमा स्थापित गरिएको विषयको पनि प्रतिवाद गरेनन् । 

सोमबार मात्रै उनले आफू सत्यको पक्षमा रहेको भन्न खोज्नेगरी कविता लेखे । तर, कवितामा प्रयोग गरिएको ‘किसानझैँ फोहोर’ भन्ने शब्दप्रति धेरैले आक्रमण गरे । एमालेको किसान महासंघले त विज्ञप्ति नै निकालेर विरोध गर्‍यो । यद्यपि उनले कवितामा किसानलाई फोहोर भनेर भन्न खोजेको भने देखिँदैन । तर त्यो कविता उनले आफ्नो किताब ‘बालेन’मा लेखिसकेका थिए । एक वर्षअघि पनि उनले त्यही कविता फेसबुकमा हालेका थिए ।

सोमबारको कवितासम्म आउँदा सामाजिक सञ्जालमा बालेनको बलियो उपस्थिति कमजोर हुँदै गएको देखिएको छ । जेन-जीको आन्दोलनपछिको अवस्थामा उनी प्रतिरक्षाको स्थितिमा पुगेको देखिन्छ । यो सामाजिक सञ्जालबाट गरिएको मूल्यांकन भए पनि उनकानिकटहरूसँग उनले आफू ‘ब्याक’ भएको बताएका छन् ।

यही हप्ता बालेनले आफ्नानिकट सहयोगीहरूलाई ‘आफूले अब पार्टी नखोल्ने र आगामी मेयरको निर्वाचनमा पनि नउठ्ने’ बताएका छन् । खासगरी आफूलाई सहयोग गर्दै आएको ‘शक्ति पछाडि हटेको र आफू अगाडि बढ्ने स्थिति नरहेको’ भनाइ उनले राखेको एकजना निकट सहकर्मीले खुलाएका छन् ।

जेन-जी आन्दोलनपूर्व उनका एक सहकर्मीले बालेनको नेतृत्वमा पार्टी निर्माण गर्ने वातावरण बने पनि त्यसमा निर्णय दिन नसकेको बताएका छन् । उनले बालेनमा निर्णय क्षमतामा अभाव रहेको बताएका थिए । यसका साथै उनले ‘उनको संगत कमजोर र अनुभवहीन व्यक्तिहरूसँग भएका कारण विश्वासको वातावरण पनि नभएको’ बताएका थिए ।

पछिल्लो समय बालेनलाई रवि लामिछानेको ठाउँमा लैजान राष्ट्रिय स्वतन्त्र पार्टीमा लबिइङ चलिरहेको छ । बालेन र ऊर्जामन्त्री कुलमान घिसिङलाई रास्वपामा भित्र्याउने गरी उपसभापति स्वर्णिम वाग्लेसहितले छलफल चलाइरहेका छन् ।

तर, बालेन अहिलेलाई अरू पार्टीमा पनि नजाने र आफू पनि दल नखोल्ने पक्षमा दे‍खिएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ५ : १७ बजे

आजका समाचार : ईश्वर पोखरेलले बुझाए महाधिवेशनमा लाने दस्तावेज, ११४ दलले चुनाव लड्ने र फेरि चर्कियो थाइल्यान्ड–क्याम्बोडिया युद्ध

ईश्वर पोखरेलको दस्तावेज : कांग्रेस नोकरशाही पूँजीवादको प्रतिनिधि, माओवादी षड्यन्त्रकारी

बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने

काठमाडौं– सरोकारवाला संस्थाहरूले नेपालमा बाल क्यान्सर हेरचाहलाई अझ प्रभावकारी, करुणामय

घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ, व्यवसायी, मजदुर, उपभोक्ता मारमा

घोडाघोडी– कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख

एमाले पदाधिकारीको दौडमा यी सात नेतृ

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा सातजना महिला नेतृहरू सचिवालयमा